नयाँ विशेष सम्मेलन
प्रथम शताब्दीका मसीहीहरूले पवित्र आत्माको शक्ति पाएपछि चारैतिर जोडतोडले सुसमाचार प्रचार गरेका थिए। (प्रेरि. १:८; कल. १:२३) उनीहरूले छोडेको यस्तो असल उदाहरणको अनुकरण गर्न सन् २००७ सेवा वर्षको विशेष सम्मेलनले हामीलाई मदत गर्नेछ, जसको शीर्षक हुनेछ, ‘वचनको प्रचारमा व्यस्त होओ।’—प्रेरि. १८:५, NRV.
परमेश्वरको वचनबारे टिप्पणी गर्दै राजा दाऊदले एकपटक यसो भनेका थिए: “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (भज. १९:७) परमेश्वरको वचन, बाइबलले कसरी “सच्याउन” मदत गर्छ, यस नयाँ विशेष सम्मेलनका लागि भनी तयार पारिएका भाषणहरूले स्पष्ट पार्नेछ। अनि प्रचार गर्ने हाम्रो जिम्मेवारी पूरा गर्न मदत गर्नुका साथै समय खेर नफाली मानिसहरूलाई सिकाउन पनि प्रोत्साहन दिनेछ। (२ तिमो. ३:१६, १७) हरेक दिन बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा के फाइदा हुन्छ अनि कसरी हामी पासोमा पर्नदेखि जोगिन्छौं, त्यो पनि यस सम्मेलनले बुझाउनेछ। युवायुवती अनि बाइबल विद्यार्थीहरूलाई आध्यात्मिक उन्नति गर्ने मदत दिन परमेश्वरको वचनलाई कसरी चलाउन सक्छौं, यस सम्मेलनबाट हामी थुप्रै कुरा सिक्नेछौं।
तसर्थ, हामी यस विशेष सम्मेलन नछुटाऔं, बरु सुरुदेखि अन्तसम्मै सबै भाषणहरू ध्यान दिई सुनेर पूरापूर लाभ उठाऔं। कृपया आफूलाई काम लाग्ने बुँदाहरू लेखेर राख्न नबिर्सनुहोस्। सम्मेलनभरि के-के निर्देशन तथा सम्झौटाहरू दिइन्छ, त्यसलाई ध्यान दिएर सुन्नुहोस् र त्यसलाई कसरी व्यवहारमा लागू गर्ने हो, मनन गर्नुहोस्।
यस विशेष सम्मेलनले हामीलाई परमेश्वरको वचनको अझ कदर गर्न मदत गर्नेछ। आफू पनि जोसिलो भएर राज्यको सुसमाचार प्रचार गर्न र अरूलाई पनि त्यसै गरिरहने मदत दिन यस सम्मेलनले हामीलाई सम्झाउनेछ। तसर्थ, यहोवाले यस सम्मेलनमार्फत् दिनुहुने आध्यात्मिक निर्देशन अनि प्रशिक्षणको कुनै पनि अंश नछुटाउने हामी दृढ संकल्प गरौं।—यशै. ३०:२०ख, २१.