‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
१. हालैको विशेष सम्मेलन दिनको कार्यक्रमले तपाईं र अरूलाई कसरी मदत गऱ्यो?
१ विशेष सम्मेलन दिन धाएपछि हामी अक्सर यसो भन्ने गर्छौं: “कस्तो चाहिएकै कुरा सुन्न पाइयो!” हालैको कार्यक्रममा उपस्थित भएपछि आफ्नो क्षेत्रका कोही-कोहीले सेवाको काममा अझ धेरै भाग लिने इच्छा व्यक्त गरेको कुरा एक जना क्षेत्रीय निरीक्षकले बताए। एक जना परिभ्रमण निरीक्षकले यसो भने, “जीवनमा आफ्ना छनौटहरूलाई केलाएर हेर्दा समयको रफ्तारमा हामी कहाँ छौं भनेर स्पष्टसँग विचार गर्न यो कार्यक्रमले मदत गऱ्यो।” अर्का एक परिभ्रमण निरीक्षकले चाहिं यसो भने, “सबैभन्दा महत्त्वपूर्ण काम अर्थात् सेवाको काममा केन्द्रित रहन सकियोस् भनेर सुनिश्चित गर्न यो कार्यक्रमले घचघच्यायो भनेर थुप्रै प्रकाशकहरूले बताए।” विशेष सम्मेलन दिनले तपाईंलाई कसरी मदत गऱ्यो?
२. आगामी सेवा वर्षको दौडान हुने कार्यक्रममा के-के छलफल गरिनेछ?
२ आगामी सेवा वर्षको कार्यक्रममा पनि हामी चाहिएकै कुरा सुन्न पाउनेछौं। यस कार्यक्रमको मूल विषय छ: ‘यहोवामा शरण लिनुहोस्’ र यो, भजन ११८:८, ९ मा आधारित छ। कार्यक्रममा प्रस्तुत गरिने केही भाषणका विषय यसप्रकार छन्: “दुःखको समयमा यहोवा कसरी दृढ गढ हुनुहुन्छ?,” “यहोवाको पखेटामनि शरण लिन अरूलाई मदत गर्नुहोस्,” “शरण दिने कुरामा यहोवाको अनुकरण गर्नुहोस्,” “जवानहरू हो, यहोवालाई आफ्नो भरोसा बनाउनुहोस्!” र “आध्यात्मिक प्रमोदवन—शरण लिन यहोवाले गर्नुभएको प्रबन्ध।”
३. कार्यक्रममा उपस्थित भएर हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?
३ कसरी लाभ उठाउने? मिति घोषणा भएलगत्तै उपस्थित हुन ठोस योजनाहरू बनाउनुहोस् र तपाईंका बाइबल विद्यार्थीहरूलाई पनि सँगै आउन निम्तो दिनुहोस्। ‘धीरजसित फल फलाउन’ सुनेको कुरालाई बिर्सनै हुँदैन। (लूका ८:१५) त्यसैले कार्यक्रम एकदमै ध्यान दिएर सुन्नुहोस् र मुख्य बुँदाका साथै आफ्नो जीवन अनि सेवाको काममा लागू गर्ने विचार गर्नुभएका निर्देशनहरूको छोटो टिपोट लिनुहोस्। सम्मेलनपछि परिवार मिलेर कार्यक्रमबारे कुरा गर्न समय निकाल्नुहोस् अनि तपाईं र तपाईंको परिवारले लागू गर्न सक्ने जानकारीहरू तोकेरै छलफल गर्नुहोस्।
४. आउँदो विशेष सम्मेलन दिनको हामीले किन प्रतीक्षा गर्नुपर्छ?
४ स्वादिलो र पोषिलो खानाजस्तै यस वर्षको विशेष सम्मेलन दिन धेरै माया र सोचविचार गरेर तयार पारिएको छ। उपस्थित हुन र ख्रीष्टियान सेवकहरूलाई आध्यात्मिक तवरमा पोषण दिन ‘ठीक-ठीक समयमा दिइने खानाबाट’ लाभ उठाउन तपाईंले गर्नुभएको प्रयासमा यहोवाले आशिष् देऊन्।—मत्ती २४:४५.