सत्यको गवाही दिने पत्रिका प्रस्तुत गर्नुहोस्
१. प्रहरीधरहरा-को भूमिका कस्तो छ?
१ प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ पत्रिकाले प्रचार गर्ने र चेला बनाउने काममा प्रमुख भूमिका खेल्दै आएको छ। (मत्ती २४:१४; २८:१९, २०) यो समय-सामयिक पत्रिकालाई राज्य सेवाका विभिन्न पक्षमा भाग लिंदा नियमित तवरले प्रस्तुत गरेर हामी औधी रमाउँछौं।
२. प्रहरीधरहरा पत्रिकामा कस्ता फेरबदलहरू भएका छन् र किन?
२ यो पत्रिकाको आकार र विषयवस्तु, साथै यसलाई वितरण गर्ने तरिकामा फेरबदल भएको हामीले वर्षौंदेखि देख्दै आएका छौं। यो पत्रिका अझै घतलाग्दो र प्रभावकारी होओस् जसले गर्दा राज्य सन्देश ‘सबै मानिसहरूको’ हृदयसम्मै पुगोस् र उनीहरूले ‘उद्धार पाऊन् र सत्यको सही ज्ञानमा आऊन्’ भन्ने उद्देश्यसहित यी फेरबदल गरिएका हुन्।—१ तिमो. २:४.
३. सेवकाईमा पत्रिकाको प्रयोग कसरी गरिनेछ?
३ जनवरी २००६ देखि हामी विभिन्न प्रस्तुति चलाएर ब्यूँझनुहोस्! पत्रिकाको त्रैमासिक अंक प्रस्तुत गर्न खप्पिस हुँदै आएका छौं। अब हामी यस्तै तरिका चलाएर प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ पत्रिकाको मासिक अंकलाई जन सेवकाईमा प्रयोग गर्नेछौं। यस पत्रिकाको नमुना प्रस्तुति हाम्रो राज्य सेवकाई-को पछिल्लो पृष्ठमा छापिन्छ। यस प्रस्तुतिमा अक्सर पत्रिकाको सुरुका लेखमध्येकै कुनैलाई जोड दिइनेछ तर कहिलेकाहीं भने थुप्रै मानिसहरूलाई असाध्यै चासो लाग्ने अन्य लेखतर्फ पनि ध्यान दिइन्छ। नमुना प्रस्तुतिको लेखलाई राम्ररी पढ्छौं र सुझावित प्रस्तुतिलाई आफ्नै शब्दमा इलाकामा प्रयोग गर्छौं भने त्यो नमुना प्रस्तुति एकदमै प्रभावकारी ढंगमा चलाउन सक्नेछौं।
४. हाम्रो राज्य सेवकाई-मा दिइने सुझावित प्रस्तुतिभन्दा बेग्लै प्रस्तुति चलाउनु पनि किन लाभदायी हुन सक्छ?
४ हाम्रो राज्य सेवकाई-मा हरेक पत्रिकाको लागि सुझावहरू दिइने भए तापनि तपाईं आफ्नै प्रस्तुति पनि चलाउन सक्नुहुन्छ। यसो गर्नुको एउटा कारण, तपाईंको इलाकाका थुप्रै मानिसका लागि अर्कै लेख बढी घतलाग्दो हुन सक्छ। अथवा तपाईं आफैलाई असाध्यै मन परेको लेख चलाउँदा प्रस्तुति अझ प्रभावकारी होला जस्तो तपाईंलाई लाग्ला।
५. चलाउन खोजिएको पत्रिकाको प्रस्तुति तयार गर्नुभन्दा पहिले के गरेको हुनै पर्छ?
५ प्रस्तुति कसरी तयार गर्ने: सबैभन्दा पहिला, आफूले चलाउन खोजेको लेखलाई तपाईंले राम्रोसँग पढेको हुनै पर्छ। हुनसक्छ, क्षेत्र सेवकाईमा प्रयोग गर्नुभन्दा पहिला नै पत्रिकाको हरेक लेखलाई तपाईंले सधैं नै राम्रोसँग पढ्न त नभ्याउनुहोला। तर कम-से-कम आफूले चलाउन खोजेको लेखबारे भने तपाईंमा जोस र निष्कपटता देखिनै पर्छ। प्रस्तुत गर्ने जानकारीबारे तपाईंलाई राम्ररी थाह छ भने मात्र यसो गर्न सक्नुहुन्छ।
६. हामी कसरी आफ्नै प्रस्तुतिहरू तयार गर्न सक्छौं?
६ अर्को हो, वार्तालाप सुरु गर्ने तयारी गर्दा लचकदार हुनु। लेखसँग सम्बन्धित चासो जगाउने खालको कुनै प्रश्न चलाएर वार्तालाप सुरु गर्न सकिन्छ। मानिसहरूको हृदय छुनको लागि सधैं नै परमेश्वरको वचनको शक्तिमाथि भर पर्नुहोस्। (हिब्रू ४:१२) तपाईंले चलाएको विषयसँग सम्बन्धित कुनै उपयुक्त बाइबल पद छान्नुहोस्, तपाईंले चलाइरहेकै लेखमा उल्लेख गरिएको वा उद्धरण गरिएको पद भए झनै बेस! त्यस पदलाई लेखसँग कसरी जोड्ने, विचार गर्नुहोस्।
७. हामी कसरी आफ्नो प्रस्तुतिलाई अझै परिष्कृत पार्न सक्छौं?
७ हरेक अवसरमा: प्रस्तुति साँच्चै नै प्रभावकारी बनाउन यसलाई प्रयोगमा ल्याउनै पर्छ। शनिबारको दिन मण्डलीसँग पत्रिका कार्यमा भाग लिनुहोस्। पहिला अन्य साहित्य स्वीकारेका मानिसहरूलाई पत्रिका दिनुहोस्। आफ्ना बाइबल विद्यार्थीहरू र पुनःभेटमा जाँदा भेट्ने नयाँ व्यक्तिहरूलाई सधैं पत्रिका दिनुहोस्। किनमेल गर्न जाँदा, यात्रा गर्दा अथवा डाक्टरलाई जचाउन आफ्नो पालो कुरेर बस्दा भेटिने मानिसहरूलाई तपाईं पत्रिका दिन सक्नुहुन्छ। महिनाभरि नै प्रस्तुतिहरूलाई अझ परिष्कृत पार्दै लानुहोस्।
८. प्रहरीधरहरा पत्रिका कुन तरिकामा बेजोड छ?
८ हो, प्रहरीधरहरा पत्रिका बेजोड छ। यसले यहोवालाई ब्रह्माण्डका सार्वभौमको रूपमा महिमित गर्छ। (प्रेरि. ४:२४) परमेश्वरको राज्यको सुसमाचारद्वारा यो पत्रिकाले मानिसहरूलाई सान्त्वना दिन्छ र येशू ख्रीष्टमा विश्वास गर्न प्रोत्साहन दिन्छ। (मत्ती २४:१४; प्रेरि. १०:४३) यसको अलावा, यो पत्रिकाले बाइबलका भविष्यवाणी पूरा गरिरहेका विश्व-घटनाहरूलाई जागा भएर नियाल्छ। (मत्ती २५:१३) त्यसकारण, हरेक उपयुक्त अवसरमा यो पत्रिका प्रस्तुत गर्न तयार भएर आफ्नो इलाकाका प्रत्येक मानिसलाई यसबाट लाभ उठाउन मदत गर्नुहोस्!
९. पुनःभेटको लागि कसरी आधार तयार पार्न सकिन्छ?
९ तपाईं कसैलाई पत्रिका दिन सफल हुनुहोस् वा आध्यात्मिक विषयमा मित्रैलो छलफल मात्र भएको किन नहोस्, पुनःभेट र अर्को आध्यात्मिक छलफलको लागि बाटो खुला गर्न कुनै एउटा प्रश्न वा सोच्न लगाउने खालको भनाइ तयार पार्नुहोस्। सत्यको बीऊ छर्ने काममा हामी जोसिला भयौं भने, यहोवालाई चिन्न र उहाँको सेवा गर्न निष्कपट इच्छा राख्नेहरूको हृदय उहाँले खोलिदिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।—१ कोरि. ३:६.