“यसको जवाफ के होला?”
१. हामीमध्ये प्रायलाई के गर्न गाह्रो लाग्छ?
१ के तपाईंलाई बाइबल पढ्न मनपरे तापनि बाइबलको कुनै खास घटना वा पद भेट्टाउन गाह्रो लाग्छ? के तपाईं आफ्ना छोराछोरीले बाइबलमा उल्लिखित जानकारी तथा शिक्षा राम्ररी बुझेको चाहनुहुन्छ? ब्यूँझनुहोस्! पत्रिकाको पृष्ठ ३१ मा छापिने “यसको जवाफ के होला?” लेखले सानादेखि ठूला सबैलाई परमेश्वरको वचन बाइबलसित अझ राम्ररी परिचित हुन मदत गर्न सक्छ।—प्रेरि. १७:११.
२. “यसको जवाफ के होला?” लेखमा भएका विभिन्न पक्षलाई कसरी प्रयोग गर्न सकिन्छ?
२ तपाईं यस लेखबाट कसरी फाइदा उठाउन सक्नुहुन्छ? अप्रिल-जून २००६ अंकको ब्यूँझनुहोस्! पत्रिकामा यस्तो सुझाव दिइएको थियो: “त्रैमासिक संस्करणमा बेला-बेलामा प्रकाशित हुने यो नौलो आकर्षणमा विभिन्न प्रश्नहरूको पेटारो हुनेछ। एक पानामा प्रकाशित हुने यस आकर्षणका कुनै-कुनै पक्ष सानासाना केटाकेटीहरूलाई असाध्यै मन पर्नेछ भने कुनै-कुनै अंशको गाँठो फुकाउन बाइबलबारे अलि गहिरो ज्ञान भएकाहरूलाई समेत हम्मे-हम्मे पर्नेछ। “लौ भन्नुहोस्, कहिले भयो?” भन्ने अर्को अंशले बाइबलका पात्रहरू कुन समयका हुन् वा बाइबलमा उल्लिखित महत्त्वपूर्ण घटनाहरू कहिले भए भनेर इतिहासका विभिन्न मितिहरू सम्झेर राख्न मदत दिनेछ। “यो पत्रिका पढेर” भन्ने भागको जवाफ पत्रिकाकै लेखमा खोज्नु पर्नेछ। बाँकी प्रश्नहरूको जवाफ भने प्रश्न सोधिएकै पृष्ठमा हुनेछ। सीधै जवाफ हेर्नुभन्दा अनुसन्धान गरेर जवाफ पत्ता लगाए कसो होला? “यसको जवाफ के होला?” भन्ने शीर्षकको यो नयाँ प्रस्तुतिलाई परिवार वा साथीहरूसित मिलेर छलफल गर्न पनि चलाउन सक्नुहुन्छ।”
३. यस लेखबाट केही परिवारले के फाइदा उठाएका छन् र तपाईंलाई यस लेखको कुनचाहिं अंश सबैभन्दा मन पर्छ?
३ हो, वास्तवमा थुप्रै परिवारले पारिवारिक अध्ययन गर्दा यो लेख चलाएका छन्। ब्राजिलबाट एक जना बुबा लेख्छन्: “सात वर्षको मेरो छोरा मोइजेज र मलाई ब्यूँझनुहोस्! पत्रिकाको यो लेख मनपर्छ। यो लेखले गर्दा उसलाई अध्ययनमा ध्यान दिन, शास्त्रपदहरू खोज्न, चित्रहरूको अर्थ बुझ्न र मिति पत्ता लगाउन सजिलो भएको छ।” आठ वर्षका एश्ली लेख्छन्: “ब्यूँझनुहोस्! पत्रिकाको ‘यसको जवाफ के होला?’ लेखको लागि धेरै-धेरै धन्यवाद। यसबाट मैले बाइबलबारे धेरै कुरा थाह पाएँ।”
४. तपाईं ब्यूँझनुहोस्!-को यस लेखलाई आफ्नो पारिवारिक अध्ययनमा कसरी प्रयोग गर्न सक्नुहुन्छ?
४ त्यसोभए, आफ्नो पारिवारिक अध्ययनमा “यसको जवाफ के होला?” लेख छलफल गर्नुभए कसो होला? केही गाह्रा प्रश्नहरूको जवाफ खोज्न तपाईं इन्डेक्स अथवा कम्प्युटरमा वाचटावर लाइब्रेरी खोलेर हेर्न सक्नुहुन्छ। यसो गर्दा छोराछोरीले अनुसन्धान गर्न सिक्नेछन्। “म को हुँ?” र “लौ भन्नुहोस्, कहिले भयो?” जस्ता अलि गाह्रा प्रश्नहरूको जवाफ हुर्किसकेका छोराछोरीलाई अनुसन्धान गर्न लगाउनुभए कसो होला? आफूले अनुसन्धान गरेका बुँदाहरू उनीहरूले पछि अध्ययनको बेला बताउन सक्छन्। यस प्रकार, आमाबाबुले यस लेखको सदुपयोग गरेर परमेश्वरको वचन छोराछोरीको मनमा ठप्प राखिदिन र उनीहरूलाई सानैदेखि “पवित्र लेखोटहरू” बुझ्न मदत गर्न सक्छन्।—२ तिमो. ३:१५; व्यवस्था ६:७.