के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?
१. भोजको लागि के-कस्तो तयारी गर्नुपर्छ?
१ भोज लगाउन निकै तयारी गर्नुपर्छ। खानेकुरा किन्नुपर्छ, स्वादिलो हुनेगरि पकाउनुपर्छ अनि त्यसपछि पस्कनुपर्छ। तयार पारिएको खाना बाँड्ने तरिका व्यवस्थित हुनुपर्छ। यसबाहेक, खाना खाने ठाउँ पनि मिलाउनैपर्छ। पाहुनाहरू तयार हुनैपर्छ र विशेषगरि टाढाबाट आउने पाहुनाहरू हुन् भने त धेरै तयारी गर्नुपर्छ। यसरी थुप्रै काम मिलाउनुपर्ने भए तापनि, साथीभाइ तथा परिवारसित मिलेर स्वादिष्ट र पोसिलो भोजनको आनन्द उठाउँदा भोज तयार गर्न गरेको मेहनत सार्थक हुन्छ। यहोवाका साक्षीहरूले निकै समयदेखि पर्खिरहेको आध्यात्मिक भोज अर्थात् “जागा रहो!” शीर्षकको जिल्ला अधिवेशन अब छिट्टै पृथ्वीभरि सम्पन्न हुनेछ। यस अधिवेशनमा यहोवाका साक्षीहरू स-साना झुन्डमा अथवा ठूलठूला समूहमा एकसाथ भेला हुनेछन्। कार्यक्रम तयार गर्नेलगायत अन्य तयारी प्रायः सिद्धिसक्यो। हामी सबैले निम्तो पाएका छौं। उपस्थित हुन र भरपूर लाभ उठाउन हामीले पनि व्यक्तिगत तवरमा तयारी गर्नैपर्छ।—हितो. २१:५.
२. आध्यात्मिक भोजमा सुरुदेखि अन्तसम्मै उपस्थित हुन के गर्नुपर्छ?
२ भरपूर लाभ उठाउनुहोस्: भोजमा पालैसित विभिन्न परिकार ल्याइएझैं यस आध्यात्मिक भोजमा पनि विभिन्न परिकार पस्किइनेछ। त्यसैले के तपाईंले यस भोजमा सुरुदेखि अन्तसम्मै उपस्थित हुन सबै योजना मिलाइसक्नुभयो? तपाईं अधिवेशनको पहिलो दिनदेखि नै सम्पूर्ण कार्यक्रममा उपस्थित हुनुहुनेछ भनेर हाकिम वा मालिकलाई खबर गर्नु आवश्यक भए खबर गरिहाल्नुहोस्। यात्रा अनि बाससम्बन्धी सबै प्रबन्ध मिलाइसक्नुभयो? वृद्ध तथा अशक्तहरूका साथै मदत चाहिने अरूको निम्ति पनि आवश्यक प्रबन्ध गरिसकिएको छ कि छैन प्राचीनहरूले पक्का गर्नुपर्छ।—यर्मि. २३:४; गला. ६:१०.
३. निम्तो नपाएको अन्तरराष्ट्रिय अधिवेशनमा हामी किन उपस्थित हुनुहुँदैन?
३ कतैकतै अन्तरराष्ट्रिय अधिवेशनहरू पनि हुनेछन्। नबिर्सनुहोस्, केही खास मण्डली र विदेशी प्रतिनिधिहरूले यी अन्तरराष्ट्रिय अधिवेशनमा निम्तो पाएका छन्। उपलब्ध सीट तथा होटलमा उपलब्ध कोठालाई विचार गर्दै कतिलाई निम्तो दिने हो, यसको प्रबन्ध मिलाउन शाखा कार्यालयले राम्ररी हिसाब गरेको छ। त्यसैले निम्तो नपाएको अन्तरराष्ट्रिय अधिवेशनमा पनि प्रकाशकहरू उपस्थित भए भने हूल हुन सक्छ।
४. हरेक दिनको कार्यक्रमको लागि तयार हुन कस्ता सम्झौटाले मदत गर्नेछ?
४ कार्यक्रम सुरु हुनु अगावै सीटमा बसिसक्न अधिवेशनमा हरेक दिन अलि छिटो आइपुग्नेगरि तयारी गर्नुहोस्। सेसन सुरु हुनुअघि छापिएको कार्यक्रम सरसरती हेर्नुहोस्। यसो गर्दा प्रस्तुत गरिने जानकारीमा मन दिन अर्थात् मन तयार पार्न मदत पाउनुहुनेछ। (एज्रा ७:१०) सेसन च्यरम्यानले धुन बज्ने जानकारी दिएपछि धुनको आनन्द लिनुहोस् र त्यसपछि सुरुको गीत तथा प्रार्थनामा भाग लिन तयार हुनुहोस्।
५. के गऱ्यौं भने हाम्रो परिवारले कार्यक्रमबाट भरपूर लाभ उठाउन सक्छ?
५ अधिवेशनमा सम्पूर्ण परिवार एकसाथ बसेका छन् भने छोराछोरीले कार्यक्रममा ध्यान दिएका छन् कि छैनन् आमाबाबुले पक्का गर्न सक्नेछन्। (व्यव. ३१:१२) बाइबल पदहरू पढिंदा सबैलाई सँगसँगै आ-आफ्नो बाइबल हेर्न प्रोत्साहन दिइन्छ। छोटो-मीठो टिपोट लिंदा कार्यक्रममा ध्यान दिन मदत मिल्न सक्छ। भाषणका मुख्य बुँदा सम्झन तपाईंलाई पछि यी टिपोटले मदत गर्नेछन्। कार्यक्रम चलिरहेको बेला त्यत्तिकै कुराकानी गर्ने वा सिटबाट त्यसै उठेर हिंड्ने झुकाव त्याग्नुहोस्। तपाईंसित मोबाइल-फोन छ भने कार्यक्रम भइरहेको बेला यसले तपाईंको वा अरूको ध्यान भङ्ग नगरोस्। हरेक दिन प्रत्येक सेसनपछि, तपाईंलाई घत लागेको बुँदाबारे अरूसित छलफल गरे कसो होला?
६. हाम्रा अधिवेशनहरूको एउटा उल्लेखनीय पक्ष के हो र के गऱ्यौं भने भरपूर लाभ उठाउन सक्छौं?
६ जिल्ला अधिवेशनमा हामी भाइबहिनीसित घनिष्ठ हुने मौका पाउँछौं, जुन कुरा यस संसारमा पाइँदैन। (भज. १३३:१-३; मर्कू. १०:२९, ३०) त्यसैले सँगैको सिटमा बस्ने व्यक्तिसित आफै अघि सरेर परिचय गर्नुभए र खाजा खाने छुट्टीमा तिनीहरूसित कुराकानी गर्नुभए कसो होला? बाहिर गएर रेष्टुराँमा खानुको साटो खाजा ल्याएर अधिवेशन भवनमै रहनुको फाइदामध्ये एउटा यो पनि हो। प्रोत्साहन आदानप्रदान गर्न सकिने यस्तो मौका कुनै पनि हालतमा नगुमाउनुहोस्।—रोमी १:११, १२.
७. हामीले आफ्नो पहिरनबारे कस्तो योजना बनाउनुपर्छ?
७ पहिरन: यहोवाले इस्राएलीहरूलाई लुगाको किनारमा नीलो संजाप लगाएको झम्का हाल्नु भनेर आदेश दिनु उल्लेखनीय छ। (गन्ती १५:३७-४१) यसले तिनीहरूलाई आफू यहोवाको उपासनाको लागि छुट्याइएको जाति हो भनेर सम्झना गराइरहन्थ्यो। अहिले हामीले अधिवेशनमा लगाउने भद्र अनि शालीन पोशाकले हामीलाई संसारबाट भिन्नै देखाउँछ। कार्यक्रम सिद्धिएपछि खाना खान बाहिर जाँदा पनि हामी आफ्नो पहिरनद्वारा हामीलाई देख्नेहरूलाई सशक्त साक्षी दिइरहेका हुन्छौं। त्यसैले कस्तो पहिरन लगाउनुहुनेछ, अहिलेदेखि नै होसियारीसाथ योजना बनाउनुहोस्।
८. अधिवेशन हुने सहरमा हुँदा अरूलाई कसरी साक्षी दिन सक्छौं?
८ साक्षी दिनुहोस्: पहिल्यै अलि विचार पुऱ्याएका छौं भने अधिवेशन हुने सहरमा हुँदा अरूलाई साक्षी दिन सक्नेछौं। अधिवेशन कार्यक्रमपछि आफ्नी पत्नीसहित रेष्टुराँ गएको बेला एक जना भाइले केवल अधिवेशनको बिल्ला देखाउँदै वेटरलाई सोधेछन्: “थुप्रै मानिसले यस्तै बिल्ला लगाएको याद गर्नुभयो कि?” याद गरेको र सबैले यस्तो बिल्ला किन लगाएका होलान् भनेर आफू अचम्ममा परेको कुरा वेटरले बताए। यसले गर्दा कुराकानी सुरु गर्न सकियो र भाइले उक्त वेटरलाई अधिवेशनमा आउन निम्तो दिए।
९. हामीलाई निम्ताउने यहोवाको कदर गरेको कुरा कसरी देखाउन सक्छौं?
९ सम्पूर्ण भाषण, अन्तरवार्ता र प्रदर्शन भाइहरूले नै प्रस्तुत गर्ने भए तापनि वर्षेनी हुने यस्ता आध्यात्मिक भोजको मायालु प्रबन्धकर्ता स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा स्वयम् हुनुहुन्छ। (यशै. ६५:१३, १४) त्यसैले प्रत्येक दिन अधिवेशनमा उपस्थित भएर अनि पस्किएको आध्यात्मिक भोजको एक-एक सिता स्वाद लिईलिई खाएर हामीलाई निम्ताउने परमेश्वरको कदर गरेको कुरा देखाउँछौं। यसो गर्न के तपाईंले सम्पूर्ण तयारी गरिसक्नुभयो?
[पृष्ठ ५-मा भएको पेटी]
जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू
◼ कार्यक्रमको समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८:०० बजेदेखि नै खुला हुनेछ। कार्यक्रम सुरु हुनुअघि केही मिनेट धुन बज्दा हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। बिहीबार र शुक्रबार साँझ ४:५५ बजे कार्यक्रम विसर्जन हुनेछ भने शनिबारचाहिं साँझ ४:०० बजे विसर्जन हुनेछ।
◼ सिट रोक्ने: एउटै छतमुनि बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरूको लागि मात्र सिट रोक्न सकिन्छ।
◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा कृपया घरबाटै खानेकुरा लिएर आउनुहोस्। सिटमुन्तिर राख्न मिल्ने टिफिन बट्टा ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्।
◼ अनुदान: राज्यभवन वा अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “यहोवाका साक्षीहरू समाज”-को नाउँमा भुक्तान गरिनुपर्छ।
◼ दुर्घटना तथा आपत्कालीन अवस्था: अधिवेशनस्थलमा बिरामी भएर वा चोटपटक लागेर आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्। त्यसपछि प्राथमिक उपचारमा दक्ष व्यक्तिले अवस्था कत्तिको गम्भीर छ, पक्का गर्नेछन् र आवश्यक मदत दिनेछन्। आवश्यक परेमा तिनले एम्बुलेन्स बोलाउनेछन्।
◼ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यो प्रबन्धको फाइदा उठाउन तपाईंले इयरफोनसहितको ब्याट्रीबाट चल्ने सानो रेडियो ल्याउनुपर्ने हुन्छ।
◼ सांकेतिक भाषा: कार्यक्रम सांकेतिक भाषामा अनुवाद गरिनेछ। यो प्रबन्ध आवश्यक पर्नेहरू सबैलाई सांकेतिक भाषाको लागि छुट्याइएको स्थानमा बस्न आग्रह गरिन्छ।
◼ रेकर्डिङ: रेकर्ड गर्ने कुनै पनि किसिमका उपकरण अधिवेशन भवनको विद्युतीय वा ध्वनि प्रणालीमा जोड्नुहुँदैन र अरूलाई बाधा नपुऱ्याउने किसिमले मात्र यसलाई प्रयोग गर्न सकिन्छ।
◼ फलो-अप फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन प्लीज फलो अप (S-43) फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक/दुइटा फलो-अप फाराम ल्याउनुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।—फेब्रुअरी २००५ अंकको हाम्रो राज्य सेवकाई, पृ. ६ हेर्नुहोस्।
◼ रेष्टुराँ: रेष्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नाउँको सम्मान गर्नुहोस्।
◼ होटल: (१) बुकिङ रद्द गर्नुपरेमा होटललाई तुरुन्त खबर गरिहाल्नुहोस्। (२) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्। (३) होटलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय आत्माको फल प्रदर्शन गर्नुहोस्। उनीहरूले होटलमा आएका थुप्रै गेस्टको ख्याल गर्नुपरिरहेको हुन्छ। त्यसैले उनीहरू हाम्रो दयालु, धैर्यवान् र व्यावहारिक व्यवहारको कदर गर्छन्। (४) होटलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्।