प्रश्न पेटी
◼ ईश्वरतान्त्रिक सेवकाई स्कूल, सेवा सभा, जनभाषण र प्रहरीधरहरा अध्ययनको सुरुमा गीत गाउनुअघि के भन्नुपर्छ र कसले भन्नुपर्छ?
हरेक हप्ता हुने ईश्वरतान्त्रिक सेवकाई स्कूलको सुरुको गीत, हाम्रो राज्य सेवकाई, अक्टोबर महिनाको परिशिष्टमा दिइने ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिकामा दिइएको हुन्छ। हरेक हप्ता हुने सेवा सभाको लागि सुरुको र अन्तिम गीत, हाम्रो राज्य सेवकाई-को पृष्ठ २ मा दिइएको हुन्छ। त्यसरी नै, हरेक हप्ता हुने प्रहरीधरहरा अध्ययनको गीत सोही प्रहरीधरहरा-को पृष्ठ २ मा दिइएको हुन्छ। कुनै सभाको सुरुमा जुन गीत गाइन्छ, त्यो गीत त्यही सभाको भाग हो। त्यसकारण अघिल्लो सभाका चेयरम्यानले भन्दा पछिको सभाको सुरुको भाग जसले सञ्चालन गर्छन्, तिनैले गीत पनि प्रस्तुत गर्नुपर्छ।
उदाहरणका लागि, ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकले श्रोतागणलाई स्वागत गर्नेछन्, सुरुको गीत गाउन आग्रह गर्नेछन्, स्कूलको कार्यक्रम सञ्चालन गर्नेछन् अनि सिद्धिएपछि सेवा सभाको पहिलो वक्तालाई मञ्चमा बोलाउनेछन्। त्यसकारण सेवा सभाको पहिलो भाग प्रस्तुत गर्ने भाइले नै सेवा सभा सुरु गर्नुअघि सबैलाई गीत गाउन आग्रह गर्नुपर्छ।
त्यसरी नै, चेयरम्यानले जनभाषण सुरु गर्नुअघि केही भन्नेछन्। तिनले उपस्थित सबैलाई न्यानो स्वागत गर्नेछन् अनि जनभाषणको वक्ताले सुरुमा गाउन छानेका गीत गाउन आग्रह गर्नेछन्। तिनले (अथवा पहिल्यै खटाइएको अर्को योग्य भाइले) प्रार्थना गरेर सभा सुरु गर्नेछन्। चेयरम्यानले वक्तालाई बोलाउनेछन् अनि तिनको भाषणको विषय बताउनेछन्। भाषण सिद्धिएपछि, चेयरम्यानले भर्खरै भाषणमा बताइएको कुरा सारांशमा बताइरहनु पर्दैन। बरु वक्ताले दिएका निर्देशनको लागि छोटकरीमा कृतज्ञता व्यक्त गर्नेछन्। चेयरम्यानले नै आगामी हप्ताको जनभाषणको विषय बताउनेछन् अनि सबैलाई प्रहरीधरहरा अध्ययनमा बस्न आग्रह गर्नेछन्। अतिथि वक्ताको मण्डलीलाई प्रेम र नमस्कार पठाउन चाहनुहुन्छ कि भनेर चेयरम्यानले श्रोतागणलाई सोधिरहनु आवश्यक छैन। यसपछि चेयरम्यानले प्रहरीधरहरा अध्ययन सञ्चालकलाई मञ्चमा बोलाउनेछन्।
प्रहरीधरहरा सञ्चालकले नै अध्ययनको विषयसित मिल्ने गरी राखिएको पहिलो गीत गाउन आग्रह गर्नेछन्। प्रकाशित निर्देशन अनुरूप तिनले अध्ययन सञ्चालन गर्नेछन् अनि सिद्धिएपछि अन्तिम गीत गाउन भन्नेछन्। प्रहरीधरहरा अध्ययन सञ्चालकले जनभाषण दिने वक्तालाई नै प्रायजसो समापन प्रार्थनाको लागि मञ्चमा बोलाउनेछन्।
यी निर्देशनहरू पालन गऱ्यौं भने सबै मण्डलीका सभाहरूमा एकरूपता आउनेछ।