पत्रिका स्वीकार्ने व्यक्तिसित कसरी बाइबल अध्ययन सुरु गर्ने
१. हामी किन पत्रिका दिन्छौं?
१ शनिबार प्रायः हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका दिएर प्रचार गर्छौं। यो, निष्कपट मानिसहरूलाई सत्य सिकाउने लक्ष्य हासिल गर्ने पहिलो कदम हो। त्यसपछि पुनःभेट गरेर बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने र बाइबल अध्ययन कसरी सुरु गर्ने? यसबारे केही सुझाव तल दिइएका छन्। यी सुझावलाई तपाईंले इलाकाअनुसार छाँटकाँट गर्न सक्नुहुन्छ। यसबाहेक आफूलाई सजिलो र प्रभावकारी लागेको कुनै तरिका छ भने, त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ।
२. बाइबल अध्ययन सुरु गर्न बाइबलले सिकाउँछ पुस्तकका सुरुका पृष्ठहरू कसरी प्रयोग गर्न सक्छौं?
२ सुरुका पृष्ठहरू प्रयोग गर्नुहोस्: पुनःभेट गर्दा तपाईं यसो भन्न सक्नुहुन्छ: “मैले तपाईंलाई दिएको पत्रिकाको उद्देश्य बाइबलतर्फ तपाईंको ध्यान खिच्नु हो। तर बाइबल पढ्नु किन महत्त्वपूर्ण छ? म बाइबलबाटै जवाफ दिन्छु, ध्यान दिएर सुन्नुस् है।” यशैया ४८:१७, १८; यूहन्ना १७:३ वा अन्य उपयुक्त पद पढ्नुहोस्। त्यसपछि बाइबलले सिकाउँछ पुस्तक देखाएर घरधनीलाई पनि एउटा पुस्तक दिनुहोस् र यस्तै केही भन्नुहोस्:
◼ “बाइबलले भविष्यमा पक्कै पूरा हुने आशाबारे बताउँछ।” घरधनीलाई पृष्ठ ४ र ५ देखाउनुहोस् र सोध्नुहोस्: “तपाईंलाई यीमध्ये कुनचाहिं प्रतिज्ञा पूरा होस् जस्तो लाग्छ?” त्यसपछि तिनले छानेको प्रतिज्ञा कुन अध्यायमा छलफल गरिएको छ, त्यो पल्टाउनुहोस् र घरधनी राजी भएमा एउटा वा दुइटा अनुच्छेद छोटकरीमा छलफल गर्नुहोस्।
◼ अथवा तपाईं यसो भन्न सक्नुहुन्छ: “हाम्रो जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलमा पाइन्छ।” त्यसपछि घरधनीलाई पृष्ठ ६ देखाउनुहोस् र पृष्ठको अन्ततिर दिइएका प्रश्नहरूमध्ये कुनै मनमा कहिल्यै उब्जिएको थियो कि भनेर सोध्नुहोस्। तिनले छानेको प्रश्नको जवाफ दिने अध्याय पल्टाउनुहोस् र छोटकरीमा एउटा अथवा दुइटा अनुच्छेद छलफल गर्नुहोस्।
◼ अथवा पुस्तकको विषयसूची देखाउनुहोस् र घरधनीलाई कुनचाहिं विषय मन पऱ्यो, सोध्नुहोस्। त्यसपछि तिनले छानेको अध्याय पल्टाउनुहोस् र बाइबल अध्ययन कसरी गरिन्छ, छोटकरीमा देखाउनुहोस्।
३. घरधनीलाई (क) संसारको बिग्रँदो परिस्थिति (ख) परिवारिक जीवन (ग) बाइबल भरपर्दो छ कि छैन भन्ने विषयबारे पत्रिकाहरू दिइएको थियो भने अर्को भेटमा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ?
३ पहिलो भेटको अन्तमा एउटा प्रश्न सोध्नुहोस्: पहिलो भेटको अन्तमा पुनःभेटको निम्ति जग बसाल्नु, अध्ययन थाल्ने अर्को तरिका हो। घरधनीले पत्रिका स्वीकारेपछि एउटा प्रश्न गर्नुहोस् र अर्को भेटमा त्यसको जवाफ दिने वचन दिनुहोस्। कुन दिन, कतिबेला भेट्ने, पक्का गर्नुहोस् र वाचा गरेबमोजिम तोकिएको समयमै पुग्नुहोस्। (मत्ती ५:३७) पुनःभेट गर्दा अघिल्लो भेटमा सोधिएको प्रश्न सम्झन घरधनीलाई मदत गर्नुहोस्। त्यसपछि बाइबलले सिकाउँछ पुस्तकबाट छोटो जवाफ पढेर छलफल गर्नुहोस्। सँगसँगै अनुच्छेद पढ्न तिनलाई पनि एउटा पुस्तक दिनुहोस्। तल दिइएका केही नमुना विचार गर्नुहोस्:
◼ तपाईंले दिएको पत्रिकामा संसारको बिग्रँदो परिस्थितिबारे छलफल गरिएको थियो भने, यसो भन्न सक्नुहुन्छ: “परमेश्वरले पृथ्वीमा कस्ता परिवर्तनहरू गर्नुहुनेछ? यसबारे बाइबलले दिएको जवाफ हामी अर्को पटक छलफल गरौं है।” पुनःभेट गर्दा पृष्ठ ४ र ५ देखाउनुहोस्। अथवा तपाईं यो प्रश्न सोध्न सक्नुहुन्छ: “के परमेश्वर अप्रिय घटनाहरू होऊन् भनी चाहनुहुन्छ?” त्यसपछि पुनःभेट गर्दा घरधनीलाई अध्याय १ को अनुच्छेद ७ र ८ देखाउनुहोस्।
◼ तपाईंले दिएको पत्रिकामा परिवारिक जीवनबारे छलफल गरिएको थियो भने, अन्तमा यो प्रश्न गर्न सक्नुहुन्छ: “परिवारिक जीवन सुखी बनाउन प्रत्येक सदस्यले के गर्न सक्छन्?” पुनःभेटमा अध्याय १४ को अनुच्छेद ४ छलफल गर्नुहोस्।
◼ तपाईंले दिएको पत्रिकामा बाइबल भरपर्दो छ कि छैन भन्ने विषय छलफल गरिएको थियो भने, यो प्रश्न सोधेर पुनःभेट गर्ने बाटो खोल्न सक्नुहुन्छ: “के बाइबल वैज्ञानिक तवरमा ठीक छ?” पुनःभेट गर्दा अध्याय २ को अनुच्छेद ८ छलफल गर्नुहोस्।
४. घरधनीले बाइबलले सिकाउँछ पुस्तक लिन मानेनन् भने पनि हामीले के गर्नुपर्छ?
४ प्रत्येक भेटको अन्तमा एउटा प्रश्न गर्नुहोस् र अर्को भेटमा त्यसको जवाफ दिनुहोस्। अध्ययन नियमित हुन थालेपछि बाइबलले सिकाउँछ पुस्तक सुरुदेखि मेलैसित छलफल गर्नुहोस्। तर घरधनीले बाइबलले सिकाउँछ पुस्तक लिन मानेनन् भने नि? मानेनन् भने पनि तिनलाई पत्रिका दिन र बाइबलबाट छलफल गर्न नछोड्नुहोस्। यसरी बिस्तारै तिनको चासो जगाउँदै लाँदा तिनी पछि बाइबल अध्ययन गर्न राजी हुन सक्छन्।
५. पत्रिका दिने मात्र होइन, बाइबल अध्ययन नै सुरु गर्ने प्रयास किन गर्नुपर्छ?
५ वास्तवमा बाइबलले के सिकाउँछ, त्यो सिक्ने प्रोत्साहन प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाले दिन सक्छ। त्यसैले पत्रिका लिने मानिसहरूसित बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गर्नुहोस्। त्यसो गऱ्यौं भने, येशूले “चेला बनाओ, र . . . सिकाओ” भनेर दिएको निर्देशन हामीले पालन गरिरहेका हुनेछौं।—मत्ती २८:१९, २०.