के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
१ हामी फेरि के गर्नेछौं? के हामी स्मरणार्थको दौडान सहायक अग्रगामी गर्नसक्छौं? फेब्रुअरी १९९७ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा ठूलठूला अक्षरले लेखिएको “४,००० सहायक अग्रगामीहरू चाहियो” भन्ने शीर्षकले हाम्रो ध्यान खिचेको थियो। तपाईंहरूले त्यो आह्वानलाई गम्भीरतापूर्वक विचार गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त थियौं। हामीले सर्वेक्षण गरिसक्दा झन्डै ४,२५० जना प्रकाशकहरूले मार्च, अप्रिल र मे महिनामध्ये कम्तीमा पनि एक महिना सहायक अग्रगामी गरेको थाह पाउँदा खुसीले गद्गद भयौं। अप्रिल १९९७ मा मात्र २,०९३ जनाले सहायक अग्रगामी गरे! सहायक अग्रगामीहरूको उक्त संख्यामा त्यही महिना रिपोर्ट बुझाउने ७९७ नियमित अग्रगामी तथा २८८ विशेष अग्रगामी जोड्यौं भने १८ प्रतिशतभन्दा बढी प्रकाशकहरू अग्रगामी सेवामा जुटेका थिए। के यो स्मरणार्थको दौडान हामी फेरि सहायक अग्रगामी गर्नेछौं?
२ गत वर्ष क्षेत्र सेवकाईमा साबिकभन्दा बढी भाग लिन थप प्रयास गर्नुहुने सबैको हार्दिक प्रशंसा गर्छौं। स्पष्टतया, तपाईंहरू सबै यहोवा परमेश्वर र छिमेकीप्रतिको निष्कपट प्रेमले उत्प्रेरित हुनुभएथ्यो। (लूका १०:२७; २ पत्रु. १:५-८) जीवनको फरक फरक परिस्थितिसँग जुधिरहेका प्रकाशकहरूले सहायक अग्रगामी गर्न काँटछाँट गरे। एउटा मण्डलीमा एकै महिनामा ५१ जना प्रकाशकहरूले अग्रगामी गरे। तीमध्ये धेरैजसो प्राचीनहरू, १५ महिना मात्र पुगेको छोरीकी आमा, जागिर छोडेर अग्रगामी गर्न आंशिक जागिर खाएकी बहिनी र पहिला कहिल्यै अग्रगामी नगरेकी एक जना वृद्ध बहिनी थिइन्। क्षेत्रीय निरीक्षकले यसरी लेखे: “प्रचारकार्यमा जोडतोडका साथ भाग लिइरहेका छन्। . . . यसले गर्दा क्षेत्रमा प्रभाव पर्नुका साथै मण्डली पनि जोसिएको छ। भाइहरूले एकअर्कालाई राम्ररी चिन्न पाउनुका साथै सेवकाईमा असल परिणाम पाइरहेका छन्।”
३ किशोरकिशोरीहरू पनि हात बाँधेर त्यसै बसेका छैनन्। एक जना १३ वर्षीया बप्तिस्मा अप्राप्त प्रकाशकले यहोवाप्रतिको आफ्नो समर्पणको प्रतिकात्मक रूप दिने समयको मीठो प्रत्याशा गरिरहेकी थिइन्। फेब्रुअरीमा बप्तिस्मा लिएपछि मार्चमा सहायक अग्रगामी गर्ने आफ्नो इच्छाबारे यसरी लेखिन्: “मेरो अघि अब कुनै बाधा नभएको हुनाले तुरुन्त आवेदन भरें। . . . तपाईंहरूले अग्रगामी गर्ने निमन्त्रणा नदिनुभएको भए त हामीले आनन्द उठाएका थुप्रै अद्भुत अनुभवहरू सपना नै रहने थियो। अग्रगामी गर्न कम्मर कस्नेहरूमाझ . . . हुने सुअवसर पाएकोमा म यहोवाप्रति कृतज्ञ छु।” तिनले फेरि अग्रगामी गर्ने लक्ष्य राखेकी छिन्।
४ गत मार्च महिनामा सहायक अग्रगामी गर्ने १,७१५ वा अप्रिल महिनाको २,०९३ अथवा मे महिनाको १,५२३ अग्रगामीहरूमध्ये तपाईं पनि एक हुनुहुन्थ्यो होला। के यो वर्ष फेरि गर्नुहुनेछ? गत वर्ष मार्च, अप्रिल र मे महिनामा अग्रगामी गर्न असमर्थ हुनुभएथ्यो भने यसपाली गर्न सक्नुहुन्छ कि? गत अप्रिल महिनामा सहायक अग्रगामी गर्नेहरूको संख्या २,०९३ थियो र भारतमा एकै महिनामा सहायक अग्रगामी गर्नेहरूको सर्वाधिक संख्या पनि त्यही नै हो। यसपाली सायद यो संख्यालाई उछिन्नसक्छौं कि?
५ अप्रिल र मार्च महिनामा ध्यान लगाउनुहोस्: यो वर्ष स्मरणार्थ उत्सव अप्रिल ११ शनिबारमा पर्छ। फलतः साबिकभन्दा बढी सेवकाईको काम गर्न अप्रिल महिना एक अत्युत्तम महिना हुनेछ। (२ कोरि. ५:१४, १५) महिनाको प्रारम्भिक ११ दिनको दौडान चासो देखाउने धेरैभन्दा धेरै व्यक्तिहरूलाई स्मरणार्थमा निम्त्याउन यथाशक्य गर्नेछौं। सहायक अग्रगामी गर्ने योजना बनाउनुभएको छ भने कृपया अग्रगामी थाल्नुअगावै आफ्नो आवेदन बुझाउनुहोस्।—१ कोरि. १४:४०.
६ मे महिनामा पाँच सप्ताहन्त भएको हुनाले जागिर खाने प्रकाशकहरूलाई पनि यो महिना सहायक अग्रगामी गर्न सजिलो हुनेछ। अनि मे महिनामा प्रायः केटाकेटीहरूको स्कूल बिदा हुन्छ। पाँचै सप्ताहन्तमा दस दस घण्टा क्षेत्र सेवकाईमा बिताउने तालिका बनाउनुभयो भने ६० घण्टा पुऱ्याउनको लागि महिनाको अन्य दिनहरूमा थप दस घण्टा बिताउने तालिका बनाए पुग्छ।
७ अप्रिल र मे दुवै महिनाको दौडान साहित्य वितरणको रूपमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउनेछौं। यसले गर्दा अझ मेहनत गरेर अग्रगामी गर्न अझ थुप्रैलाई प्रोत्साहित गर्नुपर्ने हो। किन यसो भन्न सकिन्छ? किनकि पत्रिकाहरू प्रस्तुत गर्नु सजिलो हुनुका साथै यसलाई सेवकाईमा चलाउनु रमाइलो पनि हुन्छ। यसलाई सेवकाईको हरेक पक्षमा उत्तिकै उपयुक्त ढंगमा चलाउन सकिन्छ, चाहे घर-घर तथा पसल-पसलको सेवकाई होस् या त सडक, बिसौनी क्षेत्र र पार्कमा मानिसहरूलाई भेट्दा तथा अन्य अनौपचारिक परिस्थितिमा नै किन नहोस्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा त, प्रहरीधरहरा र ब्यूँझनुहोस्!-ले परमेश्वरको राज्यको सच्चाइको समर्थन गर्छ। यी पत्रिकाहरूले परमेश्वरको राज्यले शासन गर्न थालिसकेको छ भन्ने प्रमाण पेश गर्दै बाइबल भविष्यवाणीको पूर्तितर्फ ध्यानाकर्षित गर्छन्। यसले मानिसहरूका वास्तविक आवश्यकताहरूको विषयमा कुरा गरेर पाठकहरूको जीवनलाई पनि असर गर्छन्। यी बहुमूल्य पत्रिकाहरूले हाम्रो जीवनलाई कसरी असर गरेका छन् भनी विचार गऱ्यौं भने यसलाई अप्रिल र मे महिनामा यथासम्भव व्यापक वितरण गर्न उत्प्रेरित हुनेछौं।
८ यो विस्तृत पत्रिका वितरण गतिविधिका लागि तयारी गर्नुहुँदा निम्न लेखहरू पुनरावलोकन गरेर लाभ उठाउन सक्नुहुन्छ। ती हुन्: “प्रहरीधरहरा र अवेक!—सत्यका समयसापेक्ष पत्रिकाहरू” (जनवरी १, १९९४, प्रहरीधरहरा), “हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्” (जनवरी १९९६ हाम्रो राज्य सेवकाई) र “पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्” (अक्टोबर १९९६ हाम्रो राज्य सेवकाई)।
९ प्राचीनहरूले अगुवाइ लिनेछन्: गत वर्ष मार्च, अप्रिल र मे महिनामा अग्रगामी गर्ने थुप्रै प्रकाशकहरूलाई सहयोग गर्न एउटा मण्डलीका प्राचीनहरूले महिनाको एक शनिबार सम्पूर्ण मण्डलीले नै भाग लिन विशेष सेवकाई गतिविधि दिन बनाए। त्यस दिन विभिन्न समयमा भेट्ने प्रबन्ध मिलाइयो र मण्डलीका सबैले विभिन्न प्रकारको साक्षी कार्यमा भाग लिने मौका पाए। त्यसमा व्यापारिक क्षेत्र र सडकमा साक्षी दिने, घर-घरको सेवकाईमा जाने, पुनःभेट गर्ने, पत्राचार गर्ने अनि टेलिफोनद्वारा साक्षी दिनेजस्ता साक्षीकार्य समावेश थिए। यसको प्रतिक्रिया बढो गजबको भयो, त्यस दिन जम्मा ११७ प्रकाशकहरूले क्षेत्र सेवकाईमा भाग लिए। तिनीहरूले सेवकाईमा जम्मा ५२१ घण्टा बिताए अनि ६१७ वटा पत्रिका, पुस्तिका तथा पुस्तकहरू वितरण गरे! उक्त शनिबारको रोमाञ्चकारी क्षण भोलिपल्ट आइतबारसम्मै कायम रह्यो किनकि त्यो आइतबार जनभाषण र प्रहरीधरहरा अध्ययनमा उपस्थिति निकै बढ्यो।
१० अप्रिल र मे महिनाको हरेक सेवा सभामा अर्को हप्ता कहाँ र कुन समयमा क्षेत्र सेवकाईको लागि भेला हुने भनेर मण्डलीलाई बताउनुपर्छ। विशेषगरि, साबिकभन्दा थप प्रबन्धहरू मिलाइएको छ भने यसरी बताउनुपर्छ। परिस्थिति मिल्छ भने नियमित अग्रगामीका साथै सहायक अग्रगामी नगर्ने प्रकाशकहरूलाई सामूहिक रूपमा मिलाइएका ती प्रबन्धहरूमा सहयोग गर्न प्रोत्साहित गरिन्छ।
११ सेवकाई निरीक्षकले पहिला सबैलाई प्रचार गर्न बाँकी रहेको क्षेत्रमा फेरि प्रचार गर्ने प्रबन्ध मिलाउन उक्त क्षेत्र सुम्पिएको भाइलाई भेट्नुपर्नेछ। घरमा नभेटिएका मानिसहरूलाई र सडक साक्षी तथा पसल-पसलको साक्षीकार्यमा बढी ध्यान दिन सकिन्छ। यी महिनाहरूमा दिन निकै लामो हुने भएकोले सन्ध्याकालीन साक्षीकार्य गर्न जोड दिन सकिन्छ। साबिकभन्दा बढी नै सेवकाई गतिविधि हुनसक्छ भन्ने आशा गर्दै अप्रिल र मे दुवै महिनालाई पुग्नेगरि पर्याप्त पत्रिका मगाउनुपर्छ।
१२ थुप्रै प्रकाशकहरू योग्य बन्नसक्छन्: सहायक अग्रगामी आवेदनको पहिलो वाक्यमा यसो भनिएको छ: “यहोवाप्रतिको मेरो प्रेम र उहाँ तथा उहाँका उद्देश्यहरूबारे अरूलाई सिकाउने इच्छाको कारण म सहायक अग्रगामी गरेर सेवकाईमा बढी भाग लिन चाहन्छु।” हाम्रो समर्पणको आधारभूत पक्ष नै यहोवाप्रतिको प्रेम र अरूलाई आध्यात्मिक रूपमा मदत गर्ने इच्छा हो। (१ तिमो. ४:८, १०) सहायक अग्रगामी गर्न योग्य हुन बप्तिस्मा लिएको, असल नैतिक आचरण भएको र महिनामा ६० घण्टा बिताउन सक्ने हुनुपर्छ। सबैले आ-आफ्नो परिस्थिति विचार गरेर यसअघि कहिल्यै अग्रगामी नगर्ने हामीमध्ये कसै कसैले के यस वर्ष अप्रिल र मे महिनामा अग्रगामी गर्नसक्छौं?
१३ आफ्नो जस्तै परिस्थिति भएका अन्य व्यक्तिहरूले अग्रगामी गरेको देख्दा मण्डलीका थुप्रै व्यक्तिले म पनि अग्रगामी गर्नसक्छु भन्ने विचार गर्नसक्छन्। स्कूल जाने केटाकेटीहरू, प्राचीन र सेवकाई सेवकलगायत अरू पाको उमेरका व्यक्तिहरू, जागिर खाने अनि अन्य व्यक्तिहरूले सफलतापूर्वक सहायक अग्रगामी गरेका छन्। एउटी गृहिणी तथा दुई बच्चाकी आमाले जागिर खाएर पनि एक महिना अग्रगामी गर्दा ६० घण्टा पुऱ्याउन सकिन्, १०८ वटा पत्रिकाहरू वितरण गरिन् र तीनवटा बाइबल अध्ययन सुरु गरिन्। तिनले कसरी यसो गर्न सकिन्? दिउँसो खाजा खाने समयमा कार्यालय नजिकैको क्षेत्रमा साक्षी दिने काम गरिन्, पत्राचारद्वारा साक्षी दिइन् र सवारीसाधन बिसौनी तथा सडक साक्षीमा पनि भाग लिइन्। तिनले मण्डलीका भाइबहिनीहरूसँग क्षेत्र सेवकाईमा भाग लिएर पनि हरेक हप्ता हुने बिदाको पूर्ण सदुपयोग गरिन्। तिनलाई सुरुमा त सहायक अग्रगामी गर्न असम्भव जस्तो लागेको थियो तर अरूको प्रोत्साहन तथा व्यवहारिक तालिकाले गर्दा त्यो सम्भव हुनसक्यो।
१४ येशूले आफ्ना चेलाहरूलाई यस्तो आश्वासन दिनुभयो: “मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:३०) यो आश्वासन अगस्त १५, १९९५ प्रहरीधरहरा-को प्रोत्साहनदायी लेखको शीर्षक थियो। उक्त लेखले समय निकाल्न असाध्यै मुस्किल पर्ने जागिर खाएकी एउटी बहिनीको चर्चा गरेको थियो। के तिनलाई सहायक अग्रगामी गर्नु आफ्नो क्षमताबाहिरको काम जस्तो लाग्यो? अहँ, लागेन। भनौं भने, तिनले हरेक महिना सहायक अग्रगामी गर्न सकिन्। किन? किनकि तिनलाई अग्रगामी कार्यले सन्तुलन कायम राख्न मदत गरेजस्तो लाग्छ। तिनको व्यस्त जीवनमा सबैभन्दा बढी आनन्द ल्याउने स्रोत नै मानिसहरूलाई बाइबल सत्य सिक्न मदत दिनु र परमेश्वरको अनुमोदन प्राप्त गर्न तिनीहरूले आफ्नो जीवनमा परिवर्तन गरेको देख्न पाउनु थियो।—हितो. १०:२२.
१५ अग्रगामी गर्न कुनै पनि व्यक्तिगत त्याग र काँटछाँट गऱ्यो भने प्रशस्तगरि आशिष् मिल्नेछ। एउटी बहिनीले सहायक अग्रगामी गर्दा बटुलेकी अनुभव यसरी लेखिन्: “यस कार्यले आत्मकेन्द्रित हुनुको साटो अरूलाई मदत गर्नमा बढी ध्यानकेन्द्रित गर्न सहयोग गरेको छ। . . . सक्नेजति सबैले यो कार्य गरून् भन्ने मेरो इच्छा छ।”
१६ राम्रो तालिका चाहिन्छ: यस परिशिष्टको अन्तिम पृष्ठमा फेब्रुअरी १९९७ हाम्रो राज्य सेवकाई-मा दिइएको नमुना तालिका फेरि छापेका छौं। तीमध्ये कुनै न कुनै तपाईंको परिस्थितिलाई मिल्ने हुनसक्छ। त्यसलाई पुनरावलोकन गर्नुहुँदा आफ्नो महिनाभरिको सामान्य तालिकालाई विचार गर्नुहोस्। अग्रगामी सुरु गर्नुअगावै घरका कस्ता कस्ता कामहरू पार लगाउन सकिएला वा अग्रगामी गरुञ्जेल केही समयको लागि थाँती राख्न सकिएला कि? के मनोरञ्जन र मोजमज्जा गर्न बिताइरहनुभएको समय अथवा फुर्सतको बेला गर्ने कामबाट केही समय निकाल्न सक्नुहुन्छ? चाहिएको ६० घण्टा पुऱ्याउनु मात्र होइन तर हरेक दिन र हरेक हप्ताको हिसाबले तालिका बनाउनुहोस्। अग्रगामी गर्न दिनमा २ घण्टा वा हप्तामा १५ घण्टा भए पुगिहाल्छ। नमुना तालिका नियाल्नुहोस् र पेन्सिल लिएर तपाईं र तपाईंको परिवारलाई उपयुक्त हुने किसिमको व्यक्तिगत सेवकाई तालिका बनाउन के गर्न सक्नुहुन्छ, मिलाउनुहोस्।
१७ गत वर्ष सेवकाईको निम्ति मण्डलीले देखाएको असल प्रतिक्रिया र अतिरिक्त सहयोगले गर्दा एक जना नियमित अग्रगामीको जोस झनै बढ्यो। तिनले यसप्रकार लेखिन्: “सहायक अग्रगामीहरूलाई सहयोग गर्न थप प्रयास गर्ने मायालु प्रोत्साहन दिनुभएकोमा तपाईंहरूलाई मुरीमुरी धन्यवाद। . . . तपाईंहरूले सुझाउ दिनुभएको तालिकाले गर्दा त्यसअघि कहिल्यै अग्रगामी नगर्नेहरूले पनि गर्न सकिंदो रहेछ भनेर बुझ्ने मदत पाए। . . . यहोवाको संगठनको भाग हुन पाएको र विश्वासी र बुद्धिमान् दासको मायालु डोऱ्याइ पाएकोमा म असाध्यै खुसी छु।”
१८ हितोपदेश २१:५ हामीलाई यस्तो आश्वासन दिन्छ: “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ।” हितोपदेश १६:३ यस्तो प्रोत्साहन दिन्छ: “आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्।” हो, हामीले निर्णय गर्दा यहोवालाई प्रार्थनाद्वारा मदत माग्नुका साथै उहाँले हामीलाई सफल गराउनुहुनेछ भन्ने दृढ भरोसा राखेर सहायक अग्रगामी गर्ने योजनाप्रति सकारात्मक दृष्टिकोण राख्नसक्छौं। सहायक अग्रगामी गर्न थालेको एक वा दुई महिनासम्म हाम्रो तालिका राम्ररी चलेको देखेपछि सहायक अग्रगामी आवेदनको पेटीमा चिह्न लगाउन सकिन्छ जहाँ यसो भनिएको छ: “थप सूचना नपाइञ्जेल सहायक अग्रगामी गरिरहन चाहनुहुन्छ भने यसमा ध्यान दिनुहोस्।” तर जे होस्, अगस्त महिनामा फेरि सहायक अग्रगामी गर्नसक्छौं किनकि त्यतिखेर पाँच सप्ताहन्त हुनेछ। अगस्तमा सेवा वर्ष पूरा हुनेभएकोले हामी सबै सेवकाईमा यथाशक्य भाग लिन कडा परिश्रम गर्नेछौं।
१९ येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, औ तीभन्दा ठूला काम पनि गर्नेछ।” (यूह. १४:१२) उक्त भविष्यवाणीको महान् पूर्ति भइरहेको समयमा परमेश्वरको सहकर्मी भएर सेवा गर्न पाउनु आनन्दमय सुअवसर हो। अनुकूल समय निकालेर सकेसम्म व्यापक रूपमा सुसमाचार प्रचार गर्ने समय अहिल्यै हो। (१ कोरि. ३:९; कल. ४:५) राज्य उद्घोषकको काम पूरा गर्ने एउटा सर्वोत्तम तरिका जब जब सम्भव हुन्छ तब तब सहायक अग्रगामी सेवा गर्नु हो। यसपालीको स्मरणार्थमा सहायक अग्रगामीहरूद्वारा कति स्तुति गुञ्जायमान होला, त्यो हेर्ने उत्कट प्रतीक्षामा छौं। (भज. २७:६) गत वर्ष मार्च, अप्रिल र मे महिनाको नतिजालाई ध्यानमा राखेर हामी विचार गर्छौं, ‘के फेरि गर्नसक्छौं?’ अवश्य गर्नसक्छौं भनी हामी विश्वस्त छौं!
[पृष्ठ ३-मा भएको पेटी]
के तपाईं सहायक अग्रगामी गर्न सक्नुहुन्छ?
“तपाईंको परिस्थिति जस्तोसुकै किन नहोस्, बप्तिस्मा लिनुभएको, असल नैतिक आचरण भएको, महिनामा ६० घण्टा क्षेत्र सेवकाईमा बिताउन सक्ने र एक वा त्योभन्दा बढी महिनासम्म सहायक अग्रगामी गर्नसक्छु भन्ने विश्वास छ भने यस कार्यको लागि तपाईंले भर्नुभएको आवेदनलाई विचार गर्न मण्डलीका प्राचीनहरू खुसी हुनेछन्।”—हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पृष्ठ ११४.