हामी प्रचारकार्यमा जोसिलो भइरहनैपर्छ
१ सन् १९९२ देखि संसारभरि यहोवाका साक्षीहरूले जोसिलो हुँदै राज्यको प्रचार गर्ने तथा चेला बनाउने काममा वर्षेनी एक अरबभन्दा धेरै समय बिताइरहेका छन्। यस्तो अद्भुत सफलता प्राप्त गर्न हामीले पनि सानो योगदान गर्न पाएकोमा हामी औधी खुसी छौं।—मत्ती २८:१९, २०.
२ यस्तो अद्भुत सफलताको लागि यहोवा धन्यवाद अनि प्रशंसाको पात्र हुनुहुन्छ। यस ‘डरलाग्दो समयमा’ उहाँले हामीलाई सेवाको काम पूरा गर्न चाहिने सहयोग अनि समर्थन गर्नुभएको छ। (२ तिमो. ३:१) तर यस महत्त्वपूर्ण कार्यमा जोसिलो भइरहन हामीले के गर्नैपर्छ?
३ जोसको आधार: परमेश्वर र छिमेकीप्रतिको गहिरो मायाका साथै आफ्नो समर्पण अनुरूप जीवन बिताउने उत्कट चाहनाले हामीलाई प्रचारकार्यमा जोसिलो हुन उत्प्रेरित गर्छ। (मत्ती २२:३७-३९; १ यूह. ५:३) प्रेमले हामीलाई त्यागहरू गर्न जुरमुऱ्याउँछ र यसरी त्यागहरू गर्दा हामी प्रचारकार्यमा पूरापूर भाग लिन सक्छौं।—लूका ९:२३.
४ जोसिलो भइरहन अथक प्रयास गर्नुहोस्: प्रचारकार्यप्रतिको हाम्रो जोस सेलाओस् भनेर हाम्रो शत्रु शैतानले हरेक परिस्थितिको नाजायज फाइदा उठाइरहेको छ। भावशून्य मानिसहरू, संसारको आकर्षण, हामीले दिनहुँ सामना गर्ने दबाबलगायत खस्कँदो स्वास्थ्य स्थिति आदिलाई हतियार बनाएर शैतानले हामीलाई हतोत्साहित पार्न खोज्छ।
५ त्यसैले जोसिलो भइरहन हामीले अथक प्रयास गर्नैपर्छ। हामीले ‘पहिला प्रेमलाई’ अझै प्रगाढ बनाइरहनु जरुरी छ। यसो गर्न परमेश्वरको वचन बाइबल नियमित तवरले पढ्ने र मनन गर्ने अनि ‘विश्वासी र बुद्धिमान् दासले’ प्रबन्ध गरेका सम्पूर्ण आध्यात्मिक प्रबन्धको पूरापूर सदुपयोग गर्नुपर्छ।—प्रका. २:४; मत्ती २४:४५; भज. ११९:९७.
६ यहोवाले अभक्त मानिसहरूलाई नष्ट गर्ने समय द्रुत गतिले नजिकिंदैछ भनेर बाइबल भविष्यवाणीहरूले स्पष्ट संकेत गरेको छ। (२ पत्रु. २:३; ३:१०) आउनुहोस्, यसलाई मनमा राख्दै अहिले सारा संसारमा भइरहेको प्रचार गर्ने तथा चेला बनाउने काममा जोसिलो भई पूरापूर भाग लेऔं!