प्रचारमा जाँदा समयको सदुपयोग गर्नुहोस्
१ हामीले अझ धेरै प्रचार गर्न बाँकी नै छ। तर समय अल्प भएको छ। (यूह. ४:३५; १ कोरि. ७:२९) राम्रो तालिका बनायौं अनि पहिल्यै राम्रो तयारी गऱ्यौं भने, हामीले क्षेत्र सेवामा बिताउन छुट्याएको समय पूरापूर सदुपयोग गर्न सक्छौं।
२ तयारी गर्नुहोस्: क्षेत्र सेवामा निस्कनुअघि पर्याप्त साहित्य छ कि छैन पक्का गर्नुहोस्। अनि कुन-कुन प्रस्तुति चलाएर घरधनीसित कुरा गर्ने हो, तयारी गर्नुहोस्। क्षेत्र सेवाको सभापछि प्रार्थना सिद्धिनेबित्तिकै प्रचार गर्ने इलाकातर्फ सीधै लाग्नुहोस्। यसो गर्नुभयो भने तपाईं अनि तपाईंको साथीले प्रचारकार्यमा बिताउन छुट्याएको समय अरू कुरामा खेर जानेछैन।
३ क्षेत्र सेवाको सभा सञ्चालन गर्ने जिम्मेवारी पाउनुभएको छ भने समयमै सभा सुरु गर्नुहोस्। सभा सञ्चालन गर्न १०-१५ मिनेटभन्दा धेरै समय नलिनुहोस्। उपस्थित भाइबहिनीलाई प्रचारमा पठाउनुअघि सबैलाई आ-आफ्नो साथी को हो, अनि कुनचाहिं इलाकामा काम गर्ने हो, त्यो राम्ररी थाह भयो कि भएन, पक्का गर्नुहोस्।
४ प्रचार गर्दा: क्षेत्र सेवाको सभा सिद्धिएपछि, अनावश्यक कुराहरूमा नअलमलिनुहोस्। तुरुन्तै इलाकातिर जानुहोस्। यदि छिट्टै फर्कने विचार छ भने पहिल्यै साथीलाई खबर गर्नुहोस्। यसो गर्नुभयो भने तपाईं जानुभएपछि अरू प्रकाशकसित काम गर्ने प्रबन्ध तिनले मिलाउन सक्नेछन्। यसैगरि सँगै फर्कन तपाईंलाई पर्खिरहेका अरू भाइबहिनीको ख्याल गर्नुहोस्। घरधनीले लामो विवाद वा कुराकानी गर्न खोज्दैछन् भने विवेक चलाएर कुरा टुंग्याउनुहोस् अथवा चासो दिने घरधनी हुन् भने पछि भेट्ने कार्यक्रम बनाउनुहोस्।—मत्ती १०:११.
५ पुनःभेट गर्दा एउटा टोलमा भेट्नु पर्नेजति सबैलाई भेटिसकेपछि मात्र अर्को टोलमा जानुभयो भने समयको बचत हुन्छ। सकिन्छ भने, पहिल्यै फोन गरेर घरधनीलाई घरमै भेटिन्छ वा भेटिंदैन पक्का गर्नुहोस्। (हितो. २१:५) घरधनीसित लामो कुराकानी हुन सक्ने सम्भावना छ भने भाइबहिनीलाई पहिल्यै खबर गरेर नजिकै अरू घरमा प्रचार गर्न अथवा पुनःभेट गर्न लगाउनुहोस्। त्यसो गर्नु भयो भने, तिनले तपाईंलाई कुरेर बस्नु पर्नेछैन।
६ हामी अहिले विशाल आध्यात्मिक कटनीको समयमा बाँचिरहेका छौं। (मत्ती ९:३७, ३८) यो कटनीको काम छिट्टै सकिनेछ। त्यसैले अहिले समय बाँकी हुँदा नै सकेसम्म समयको सदुपयोग गरौं।