प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्
१ “ठीक बेलामा . . . ठीक कुरा” भनेर कसैले प्रोत्साहन दिंदा हामी सबै नै त्यसको मोल गर्छौं। (हितो. २५:११) प्रचारमा सँगै भएको बेला, हाम्रो कुराकानी प्रोत्साहनदायी छ कि छैन भनेर कसरी निधो गर्न सक्छौं?
२ प्रोत्साहनदायी कुराकानी: प्रचारमा भाग लिंदा भाइबहिनीसितको कुराकानीमा आध्यात्मिक विषय समावेश गर्नु कत्ति प्रोत्साहनदायी हुन्छ। (भज. ३७:३०) हामी प्रचारमा प्रयोग गर्ने प्रस्तुतिबारे छलफल गर्न सक्छौं वा प्रचारमा हालै बटुलेका प्रोत्साहनदायी अनुभवहरू बताउन सक्छौं। (प्रेरि. १५:३, NRV ) व्यक्तिगत बाइबल अध्ययन गर्दा, नयाँ पत्रिकाहरू पढ्दा वा मण्डलीका सभाहरूबाट कुनै रोचक कुरा पाएका छौं कि? हामी हालै राज्यभवनमा सुनेको जनभाषणबारे पनि छलफल गर्न सक्छौं।
३ घरधनीले हामीले जवाफै दिन नसक्ने अड्को थाप्दा हामी निरुत्साहित हुन सक्छौं। त्यस घरबाट निस्केपछि, यस्तै अप्ठ्यारा परिस्थितिको सामना भविष्यमा कसरी गर्न सकिएला भनेर साथीसँग छलफल गर्न केही समय निकाल्नु फाइदाजनक हुन्छ। सायद यसको लागि रीजनिङ पुस्तकको मदत लिन सकिन्छ। अनि साथीको प्रचार गर्ने तरिका मन पऱ्यो भने मनैबाट प्रशंसा गरेर पनि उनलाई प्रोत्साहन दिन सक्छौं।
४ अग्रसर हुनुहोस्: हामीले पुस्तक अध्ययन समूहमा हालै सँगै काम नगरेका कोही छन् कि? उनीहरूलाई आफूसँगै प्रचारमा जान निम्तो दिएर हामी “एउटा अर्काबाट प्रोत्साहन” पाउन सक्छौं। (रोमी १:१२, NRV) अक्सर बिहान सबेरै वा साँझपख थोरै प्रकाशकले मात्र प्रचारकार्यमा भाग लिन्छन्। यस्तो बेला प्रचारमा जाने कोही साथी पाउँदा नियमित तथा सहायक अग्रगामीहरू धेरै खुसी हुन्छन्। प्रचारमा सँगै गएर हामी अग्रगामीहरूलाई मदत गर्न सक्छौं। स्वास्थ्य समस्याको कारण प्रचारमा त्यति भाग लिन नसकेका कोही प्रकाशक छन् कि? उनीहरूसँग काम गर्नु—सायद, बाइबल अध्ययनमा सँगै जाने प्रबन्ध मिलाउनु दुवैको लागि लाभदायी हुन सक्छ।—हितो. २७:१७.
५ गरेको काम सानै किन नहोस् प्रशंसा गर्दा वा त्यसको कदर गर्दा सधैं प्रोत्साहन मिल्छ। प्रचारमा अरूसँग काम गर्दा पनि हामी यो कुरा सम्झौं। किनकि हामी “एउटाले अर्कालाई दह्रिलो” पार्न चाहन्छौं।—१ थिस्स. ५:११, NRV.