स्मरणार्थमा उपस्थित हुनेहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
१. मार्च २२, २००८ मा कस्तो सशक्त साक्षी दिइनेछ?
१ मार्च २२, २००८ मा संसारभरका करोडौं मानिसले सशक्त साक्षी पाउनेछन्। फिरौतीको प्रबन्ध गरेर यहोवाले मानिसजातिलाई देखाउनुभएको महान् प्रेमबारे स्मरणार्थमा उपस्थित हुनेहरूले बुझ्नेछन्। (यूह. ३:१६) तिनीहरूले परमेश्वरको राज्यबारे सिक्नेछन् र यहोवाले यस राज्यलाई सारा पृथ्वीमा आफ्नो इच्छा पूरा गर्न कसरी चलाउनुहुनेछ, त्यो पनि थाह पाउनेछन्। (मत्ती ६:९, १०) तिनीहरूले परमेश्वरका जनहरूबीच छाएको प्रेम र एकता प्रत्यक्ष अनुभव गर्नेछन् र हामीबाट न्यानो स्वागत पाएको महसुस गर्नेछन्।—भज. १३३:१.
२. स्मरणार्थमा उपस्थित बाइबल विद्यार्थीहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
२ बाइबल विद्यार्थीहरू: उपस्थितमध्ये कतिपय हामीसँग भर्खरै मात्र बाइबल अध्ययन सुरु गरेकाहरू हुनेछन्। उनीहरूलाई भाइबहिनीसित चिनजान गराइदिनुहोस्। साप्ताहिक सभाहरूबारे बताउनुहोस् र एकछिन राज्यभवनमा घुमाउनुहोस्। वक्ताले यहोवालाई अझ राम्ररी चिन्न यी नयाँ व्यक्तिहरूलाई भाषणमा प्रोत्साहन दिनेछन्। वक्ताले दिने सल्लाहलाई आधार बनाएर तपाईं आफ्नो विद्यार्थीलाई प्रोत्साहन दिन सक्नुहुन्छ।
३. उपस्थित भएका निष्क्रिय प्रकाशकहरूलाई प्रोत्साहन दिन के गर्न सकिन्छ?
३ निष्क्रिय प्रकाशकहरू: उपस्थितमध्ये कतिपय निष्क्रिय प्रकाशकहरू हुनेछन्। तिनीहरूलाई न्यानो स्वागत गर्न उत्सुक हुनुहोस्। व्यक्तिगत प्रश्नहरू सोध्न वा उनीहरूलाई लज्जित तुल्याउने कुराहरू भन्नदेखि सतर्क हुनुहोस्। स्मरणार्थमा उपस्थित भएका निष्क्रिय प्रकाशकहरूलाई प्राचीनहरूले जतिसक्दो छिटो भेट्नेछन्, स्मरणार्थमा उपस्थित हुन गरेको प्रयत्नको सराहना गर्नेछन् र मण्डलीको आउँदो सभामा उपस्थित हुन निम्तो दिनेछन्।
४. हामी प्रत्येकले नै आगन्तुकहरूलाई कसरी मदत गर्न सक्छौं?
४ आगन्तुकहरू: भेला भएकामध्ये कतिपय हामीसँग परिचित मानिसहरू अथवा हामी आफैले बोलाएका परिवारका सदस्यहरू हुन सक्छन्। अनि अरू कतिले चाहिं विशेष अभियानको दौडान निम्तो पाएका हुन सक्छन्। नचिनेको व्यक्ति देख्नुभयो भने पनि आफ्नो परिचय दिन र उनीहरूलाई स्वागत गर्न अग्रसर हुनुहोस्। सायद, यसअगि तिनीहरू कहिल्यै हाम्रा राज्यभवनमा आएका थिएनन् कि? उनीहरूलाई फेरि कसरी सम्पर्क गर्न सकिएला, कुराकानीको दौडान सोध्नु बेस हुन्छ। स्मरणार्थको केही दिनपछि आफै भेट्न गएर वा टेलिफोन गरेर अझ बढी सिक्न वा बाइबल अध्ययन गर्न प्रस्ताव राख्न सक्नुहुन्छ।
५. बाइबल अध्ययन सुरु गर्न के भन्न सक्छौं?
५ पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब चलाउन स्मरणार्थ भाषणको जानकारीलाई प्रयोगमा ल्याउन सकिन्छ। उदाहरणको लागि, स्मरणार्थका वक्ताले यशैया ६५:२१-२३ पढ्नेछन्। पुनःभेट गर्दा तपाईं भाषणबारे उल्लेख गर्दै यसो भन्न सक्नुहुन्छ: “येशूको बलिदानले गर्दा हामीले अरू कस्ता आशिष् पाउन सक्ने भयौं, के म तपाईंलाई बताऊँ?” त्यसपछि, बाइबलले सिकाउँछ किताबको पृष्ठ ४-५ मा ध्यान खिच्नुहोस्। अथवा तपाईं यसो भन्न सक्नुहुन्छ: “यशैयाले गरेका भविष्यवाणी पूरा भएको के कहिल्यै देख्न पाइएला र भनेर धेरै जनाले शंका व्यक्त गर्छन्।” त्यसपछि, अध्याय ९ को अनुच्छेद १-३ छलफल गर्नुहोस्। अर्को सजिलो तरिकाचाहिं, स्मरणार्थ भाषण दिने व्यक्तिले भनेका कुरा उल्लेख गर्नु, बाइबलले सिकाउँछ किताब देखाउनु र बाइबल अध्ययन गर्ने तरिका सिकाउनु हो।
६. येशूको मृत्युको सम्झना गर्न उहाँले दिनुभएको आदेश पालन गर्न भेला हुँदा हामीले कस्ता मौकाहरू पाउँछौं?
६ स्मरणार्थमा उपस्थित बाइबल विद्यार्थी, निष्क्रिय प्रकाशक र आगन्तुकलाई मदत गर्ने मौका खोज्न हामी सबै सजग होऔं। (लूका २२:१९) परमेश्वरको राज्य प्रचार गर्न हामी जे-जति मेहनत गर्छौं, त्यसलाई यहोवाले निश्चय नै आशिष् दिनुहुनेछ।