प्रचार गर्दा यहोवासित हाम्रो सम्बन्ध बलियो हुन्छ
१. प्रचारकार्यबाट हामी कस्तो फाइदा पाउँछौं?
१ सक्रिय भएर प्रचारकार्यमा भाग लिंदा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ र हाम्रो आनन्द बढ्छ। हो, मुख्यतया हामी यहोवालाई खुसी पार्न प्रचारकार्यमा भाग लिन्छौं। तथापि “वचन प्रचार गर” भन्ने आज्ञा पालन गर्दा हामी यहोवाको आशिष् पाउँछौं र अन्य तरिकामा पनि लाभ उठाउँछौं। (२ तिमो. ४:२; यशै. ४८:१७, १८) त्यसोभए प्रचारकार्यले हामीलाई कसरी बलियो र आनन्दित बनाउन सक्छ?
२. प्रचारकार्यले हामीलाई कसरी बलियो पार्छ?
२ हामी बलियो पारिन्छौं र आशिष् पाउँछौं: प्रचारकार्यले हामीलाई अहिलेका समस्याहरूमा भन्दा राज्यले ल्याउने आशिष्हरूमा ध्यान लगाउन प्रोत्साहन दिन्छ। (२ कोरि. ४:१८) अरूलाई बाइबल शिक्षा सिकाउँदा यहोवाका प्रतिज्ञाहरूप्रतिको हाम्रो भरोसा बलियो हुन्छ र सत्यप्रति हाम्रो कृतज्ञता बढ्छ। (यशै. ६५:१३, १४) यहोवासितको सम्बन्ध बलियो बनाउँदा मानिस यस “संसारको” हुँदैन। अरूलाई यस्तो मदत दिंदा संसारबाट अलग रहने हाम्रो आफ्नै संकल्प पनि बलियो हुन्छ।—यूह. १७:१४, १६; रोमी १२:२.
३. प्रचारकार्यले ख्रीष्टियान गुणहरू खेती गर्न हामीलाई कसरी मदत गर्छ?
३ प्रचारकार्यमा भाग लिंदा हामी ख्रीष्टियानमा हुनुपर्ने गुणहरू फलाउने मदत पाउँछौं। उदाहरणको लागि ‘सबैका निम्ति सबै कुरा हुने’ प्रयास गर्दा हामी अझ धेरै नम्र हुने मदत पाउँछौं। (१ कोरि. ९:१९-२३) “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” मानिसहरूसित कुराकानी गर्दा हामी सहानुभूति र समानुभूतिजस्ता गुण विकास गर्ने मौका पाउँछौं। (मत्ती ९:३६) मानिसहरू उदासीन भए तापनि वा उनीहरूले हाम्रो विरोध गरे तापनि प्रचारकार्यमा लागिरहँदा हामी धैर्यवान् हुन सिक्छौं। अरूलाई मदत गर्न आफूलाई अर्पण गर्दा हाम्रो आनन्द बढ्छ।—प्रेरि. २०:३५.
४. प्रचार गर्न पाउनुलाई तपाईं कस्तो ठान्नुहुन्छ?
४ हाम्रो उपासना पाउन योग्य एकमात्र परमेश्वरको प्रशंसा गर्न सक्ने काममा भाग लिन पाउनु कत्ति ठूलो आशिष् हो! प्रचारकार्यले हामीलाई बलियो पार्छ। ‘सुसमाचारको [“विस्तृत,” NW] साक्षी दिने’ काममा पूरापूर भाग लिनेहरूले प्रचुर आशिष् पाउँछन्।—प्रेरि. २०:२४.