आध्यात्मिक स्फूर्ति दिने तीन दिन
१. यस वर्षको जिल्ला अधिवेशनबाट हामी कस्तो लाभ उठाउन सक्छौं?
१ आध्यात्मिक रूपमा सुखा यस सैतानको संसारमा यहोवाले आफ्ना सेवकहरूलाई निरन्तर रूपमा स्फूर्ति दिइरहनुभएको छ। (यशै. ५८:११) हामीलाई सुदृढ पार्न यहोवाले गर्नुभएको एउटा प्रबन्ध जिल्ला अधिवेशन हो। यस वर्षको अधिवेशन नजिकिंदै जाँदा आध्यात्मिक स्फूर्ति पाउन र दिनको लागि हामी कस्तो तयारी गर्न सक्छौं?—हितो. २१:५.
२. हामीले कस्ता कुराहरूको तयारी गरिसकेको हुनुपर्छ?
२ यदि अहिले सम्म कुनै तयारी गर्नुभएको छैन भने अधिवेशनको तीनै दिन उपस्थित हुन सक्नका लागि अहिले नै आफ्नो काम र व्यक्तिगत कुराहरूमा काँटछाँट गर्नुहोस्। हरेक दिन अधिवेशनस्थलसम्म पुग्न तपाईंलाई कति समय लाग्छ, हिसाब गर्नुभएको छ? यसो गर्दा कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै अधिवेशनमा पुग्न सक्नुहुन्छ र सिट पनि पाउन सक्नुहुन्छ। हामीलाई सुदृढ पार्न यहोवाले तयार पार्नुभएको एउटा पनि आध्यात्मिक भोजन कुनै पनि हालतमा हामी छुटाउन चाहँदैनौं। (यशै. ६५:१३, १४) के तपाईंले यात्रा र बासको लागि आवश्यक तयारी गरिसक्नुभयो?
३. कार्यक्रमबाट पूरापूर लाभ उठाउनको लागि कस्ता सुझावहरूले हामीलाई मदत गर्न सक्छन्?
३ कार्यक्रमको दौडान ध्यान दिएर सुन्न तपाईंलाई केले मदत गर्नेछ? अधिवेशनका रातहरूमा सकेसम्म पर्याप्त मात्रामा सुत्नुहोस्। वक्तालाई ध्यान दिएर हेर्नुहोस्। प्रत्येक शास्त्रपद आफ्नो बाइबलमा पल्टाएर हेर्नुहोस्। छोटो-मिठो टिपोट लिनुहोस्। छोराछोरीले कार्यक्रम ध्यान दिएर सुन्न सकोस् भनेर तिनीहरूलाई मदत गर्नको लागि पूरै परिवार एकसाथ बस्नु बेस हुन्छ। (हितो. २९:१५) हरेक साँझ कार्यक्रमका रोचक बुँदाहरू परिवारसँगै बसेर छलफल गर्न सक्नुहुन्छ। तपाईंको परिवारले अधिवेशनपछि पनि स्फूर्ति पाइरहन सकोस् भनेर त्यसपछिका साँझको पारिवारिक उपासनाहरूमा आफ्नो परिवारले लागू गर्न सक्ने खास बुँदाहरू छलफल गर्न समय छुट्ट्याउन सक्नुहुन्छ।
४. आफ्नो मण्डलीमा भएकाहरूलाई आध्यात्मिक स्फूर्ति पाउन हामी कसरी मदत गर्न सक्छौं?
४ स्फूर्ति पाउन अरूलाई मदत गर्नुहोस्: उपस्थित अरूले पनि अधिवेशनबाट लाभ उठाऊन् भन्ने हामी चाहन्छौं। तपाईंको मण्डलीमा अधिवेशनस्थलसम्म पुग्न मदत चाहिने वृद्ध प्रकाशकहरू वा अरू कोही छन् कि? के तपाईं तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ? (१ यूह. ३:१७, १८) त्यस्ता प्रकाशकहरूले आवश्यक मदत पाए/नपाएको कुरा एल्डरहरू र विशेषगरि समूह निरीक्षकहरूले पक्का गर्नुपर्छ।
५. अधिवेशनको निम्तो पर्ची हामी कसरी बाँड्नेछौं? (माथि दिइएको पेटी पनि हेर्नुहोस्।)
५ विगतमा जस्तै अधिवेशनको तीन हप्ताअघिदेखि हामी निम्तो पर्ची बाँड्ने अभियानमा भाग लिनेछौं। हरेक मण्डलीले आफ्नो भागमा परेको निम्तो पर्ची बाँडिसिध्याउने र सकेसम्म धेरै इलाका ढाक्ने लक्ष्य राख्नुपर्छ। अभियानको अन्तसम्ममा तपाईंको परिवारमा निम्तो पर्ची बाँकी भयो भने अधिवेशनको दौडान अनौपचारिक साक्षी दिनको लागि सँगै लिएर आउन सक्नुहुन्छ। यसबारे थप जानकारी बिहीबारको दिन कार्यक्रमको दौडान दिइनेछ। तपाईंको परिवारसँग बाँकी भएको निम्तो पर्ची अधिवेशन हुने सहरमा रहुन्जेल बाँडेर सिध्याउन सकिंदैन जस्तो लाग्छ भने अधिवेशन भवनमा भएका कुनै एक परिचारकलाई दिनुहोस्। शनिबार दिइने अन्तिम भाषणमा निम्तो पर्ची हेर्नुपर्ने भएकोले एक प्रति आफूसँगै राख्नुहोस्।
६. हामी कुन-कुन तरिकामा असल बानीबेहोरा देखाउन सक्छौं?
६ असल बानीबेहोराले स्फूर्ति दिन्छ: “आफैलाई मात्र प्रेम गर्ने” र अरूको भावनाको कदर नगर्ने मानिसहरू आज प्रशस्त छन्। यस्तो समयमा असल बानीबेहोरा देखाउन उत्कट प्रयास गर्ने सँगी ख्रीष्टियनहरूमाझ हुन पाउनु कत्ति स्फूर्तिदायी! (२ तिमो. ३:२) बिहान ८ बजे अधिवेशन भवनको ढोका खुल्दा व्यवस्थित तरिकामा र शान्तपूर्वक प्रवेश गरेर अनि एउटै घरमा बस्ने, सँगै यात्रा गर्ने वा आफूसित बाइबल अध्ययन गरिरहेकाहरूका लागि मात्र सिट रोकेर हामी असल बानीबेहोरा देखाउन सक्छौं। आ-आफ्नो सिटमा बसेर कार्यक्रमको सुरुमा बज्ने धुन सुन्न अध्यक्षले आग्रह गर्दा हामी त्यो निर्देशनअनुसार गर्नेछौं। कार्यक्रम भइरहँदा आफ्नो मोबाइल वा पेजर अरूलाई बाधा नपुग्नेगरि राख्दा पनि हामीले असल बानीबेहोरा देखाइरहेका हुनेछौं। साथै कार्यक्रम भइरहँदा अरूसँग गफ गर्ने, एस एम एस गर्ने, खाने वा बाहिर त्यसै डुलेर बस्नेजस्ता कामहरू नगर्दा पनि असल बानीबेहोरा देखाइरहेका हुनेछौं।
७. अरूसँग सङ्गति गरेर हामी कसरी स्फूर्ति पाउन र दिन सक्छौं?
७ स्फूर्तिदायी सङ्गति: अधिवेशनहरूमा हाम्रो स्फूर्तिदायी ख्रीष्टियन एकता र भाइचाराको आनन्द उठाउने मौका अझ धेरै पाउँछौं। (भज. १३३:१-३) “ठूलो मनका” हुन अग्रसर हुँदै अरू मण्डलीका भाइबहिनीसँग परिचय गरे कसो होला? (२ कोरि. ६:१३) हरेक दिन कम्तीमा एक जना नयाँ व्यक्ति वा एउटा परिवारसित चिनाजानी गर्ने लक्ष्य राख्न सक्नुहुन्छ। यसो गर्ने एउटा राम्रो मौका दिउँसोको खाजा खाने समयमा पाउन सक्नुहुन्छ। त्यसैले खानेकुरा किन्न वा होटेलमा खान अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा घरैबाट हल्काफुल्का खानेकुरा ल्याएर अधिवेशनस्थलमै रहेर खाजाका साथै सङ्गतिको आनन्द उठाउनुहोस्। यसो गर्दा आशिष्को रूपमा नयाँ अनि चिरस्थायी मित्रहरू पाउन सक्नुहुन्छ।
८. अधिवेशनमा हामीले किन स्वयम्सेवा गर्नुपर्छ? हामी यो कसरी गर्न सक्छौं?
८ सँगी उपासकहरू सँगसँगै पवित्र सेवामा भाग लिनु कत्ति स्फूर्तिदायी कुरा! कुनै विभागमा स्वयम्सेवा गर्न वा आफ्नो मण्डलीले पाएको सरसफाइ गर्ने जिम्मेवारीमा सघाउन सक्नुहुन्छ कि? (भज. ११०:३) यदि कुनै जिम्मेवारी पाउनुभएको छैन भने अधिवेशनको स्वयम्सेवा विभागमा सम्पर्क गर्नुहोस्। स्वयम्सेवकहरू जति धेरै भयो, काम पनि त्यति नै रमाइलो र हलुका हुन्छ।
९. अधिवेशनको दौडान हाम्रो चालचलन र पहिरन तथा कोरीबाटीमा किन विशेष ध्यान दिनुपर्छ?
९ हाम्रो चालचलनले अरूमा राम्रो प्रभाव पार्न सक्छ: हामी कार्यक्रम अवधिभरि मात्र नभई तीनै दिन अधिवेशनका प्रतिनिधिहरू हौं। अधिवेशन हुने सहरमा रहुन्जेल हामी र गैर-साक्षीहरू बीचको भिन्नता हामीलाई हेर्नेहरूले स्पष्ट देख्नुपर्छ। (१ पत्रु. २:१२) अधिवेशनस्थल, बास बसेको ठाउँ र रेष्टुराँहरूमा हाम्रो पहिरन र कोरीबाटी यहोवाको आदर गर्ने प्रकारको हुनुपर्छ। (१ तिमो. २:९, १०) यदि हामीले बिल्ला लगाएका छौं भने हामी यहोवाका साक्षीहरू हौं भनेर अरूले चिन्न सक्नेछन्। बिल्ला लगाउँदा अरूलाई हाम्रो अधिवेशनबारे बताउने र थप साक्षी दिने मौका पाउन सक्छौं।
१०. हाम्रो अधिवेशनप्रति होटेल र रेष्टुराँका कर्मचारीहरूले सकारात्मक दृष्टिकोण राखून् भन्नको लागि हामी के गर्न सक्छौं?
१० होटेल र रेष्टुराँमा काम गर्नेहरूलाई हामी कसरी सहयोग गर्न सक्छौं? हामीलाई चाहिनेबाहेक धेरै कोठा बुकिङ गर्नुहुँदैन। यदि त्यसो गऱ्यौं भने अधिवेशनमा आउने अरू प्रतिनिधिहरूलाई कोठा पाउन गाह्रो हुन्छ र होटेललाई पनि घाटा लागेको रकम उठाउन निकै गाह्रो पर्छ। हामी होटेलमा कहिलेदेखि बस्ने वा कहिले छोड्ने भनी बताउने बेला यदि होटेलका कर्मचारी व्यस्त छन् भने हामी धीरजी र दयालु हुन सक्छौं। (कल. ४:६) रेष्टुराँमा काम गर्नेहरू र हाम्रो झोला बोकिदिने, कोठा सफा गरिदिने र अन्य सेवा गर्ने होटेलका कर्मचारीहरूलाई चलनअनुसार टिप्स दिनुपर्छ।
११. हाम्रो ख्रीष्टियन चालचलनले गर्दा राम्रो साक्षी दिन सकेको अनुभवहरू बताउनुहोस्।
११ अधिवेशनको दौडान हाम्रो असल चालचलनले अरूमा कस्तो प्रभाव पार्छ? एउटा अखबारअनुसार अधिवेशन गर्नको लागि भवन दिने म्यानेजरले यसो भने: “सबै मानिसहरू एकदमै शिष्ट छन्। हामी तिनीहरूलाई हरेक वर्ष अधिवेशन गर्न दिन चाहन्छौं।” गत वर्ष एक जना गैर-साक्षीले आफ्नो पर्स अधिवेशनका प्रतिनिधिहरू बस्ने होटेलमा हराएका रहेछन्। त्यस होटेलमा बसेका एक साक्षीले म्यानेजरलाई त्यो पर्स जस्ताको तस्तै फिर्ता गरे। म्यानेजरले गैर-साक्षीलाई यसो भने: “धन्न! यहोवाका साक्षीहरूको अधिवेशन यहीं नजिकै भएकोले मात्रै तपाईंले यो पर्स पाउनुभयो। अनि होटेलभरि पनि तिनीहरू मात्र थिए। अरू भइदिएको भए सायद तपाईंले आफ्नो पर्स पाउनुहुन्न थियो होला।”
१२. अधिवेशन नजिकिंदै जाँदा हामीले कस्तो लक्ष्य राख्नुपर्छ र किन?
१२ यस वर्षको अधिवेशन निजिकिंदै छ। अधिवेशनको कार्यक्रम र वातावरण स्फूर्तिदायी बनाउन निकै समय र प्रयास खर्च भएको छ। यहोवा र उहाँको सङ्गठनले तपाईंको लागि तयार पारेको आध्यात्मिक भोजन खान तयार हुनुहोस् र तीनै दिन अधिवेशनमा उपस्थित हुने लक्ष्य राख्नुहोस्। आफ्नो असल बानीबेहोरा, रमाइलो सङ्गति र असल चालचलनबाट अरूलाई स्फूर्ति दिने अठोट गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले पनि गत वर्षका एक जना प्रतिनिधिले जस्तै महसुस गर्न सक्नुहुनेछ, जसले यस्तो लेखिन्, “यत्तिको सन्तुष्टि त मैले कहिल्यै अनुभव गरेको छैन।”
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
विगतमा जस्तै अधिवेशनको तीन हप्ताअघिदेखि हामी निम्तो पर्ची बाँड्ने अभियानमा भाग लिनेछौं
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
अधिवेशनस्थल, बास बसेको ठाउँ र रेष्टुराँहरूमा हाम्रो पहिरन र कोरीबाटी यहोवाको आदर गर्ने प्रकारको हुनुपर्छ
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
आफ्नो असल बानीबेहोरा, रमाइलो सङ्गति र असल चालचलनबाट अरूलाई स्फूर्ति दिने अठोट गर्नुहोस्
[पृष्ठ ४-७ मा भएको पेटी]
जिल्ला अधिवेशन २०११ का बेला ध्यान दिनुपर्ने कुराहरू
◼ कार्यक्रमको समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८ बजेदेखि नै खुला हुनेछ। कार्यक्रम सुरु हुनुअघि केही मिनेट धुन बज्दा हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। बिहीबार र शुक्रबार साँझ ४:५५ बजे कार्यक्रम विसर्जन हुनेछ भने शनिबारचाहिं साँझ ३:४० बजे विसर्जन हुनेछ।
◼ पार्किङ: पार्किङ गर्न छुट्ट्याइएका स्थानहरू अधिवेशन आउनेहरूको लागि उपलब्ध गराइनेछ।
◼ सिट रोक्ने: एउटै घरमा बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू अनि तपाईंका बाइबल विद्यार्थीहरूको लागि मात्र सिट रोक्न सकिन्छ।—१ कोरि. १३:५.
◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा खानेकुरा सँगै लिएर आउनु बेस हुन्छ। सिटमुनि राख्न मिल्ने टिफिन बट्टा ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्।
◼ अनुदान: अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति आफ्नो कृतज्ञता देखाउन सक्छौं। अनुदानस्वरूप दिइने चेक “यहोवाका साक्षीहरू समाज”-को नाममा भुक्तान गरिनुपर्छ।
◼ दुर्घटना तथा आपत्कालीन अवस्था: अधिवेशनस्थलमा बिरामी भएर वा चोटपटक लागेर आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्। त्यसपछि प्राथमिक उपचारमा दक्ष व्यक्तिले अवस्था कत्तिको गम्भीर छ, पक्का गर्नेछन् र आवश्यक मदत दिनेछन्।
◼ औषधी: यदि डाक्टरले सिफारिस गरेको औषधी सेवन गर्दै हुनुहुन्छ भने त्यो औषधी अधिवेशन स्थलमा उपलब्ध नहुने भएकोले आफूलाई चाहिनेजति औषधी छ कि छैन, पक्का गर्नुहोस्।
◼ जुत्ता: हरेक वर्ष जुत्ताको कारणले थुप्रैलाई चोटपटक लाग्ने गरेको छ। त्यसकारण भिरालो ठाउँ, भऱ्याङ, अल्झिएर लड्न सक्ने कुनै पनि ठाउँमा हिंड्दा चोटपटक नलागोस् भन्नको लागि भद्र देखिने र साइज मिलेको जुत्ता लगाउनु बेस हो।
◼ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यो प्रबन्धको फाइदा उठाउन तपाईंले इयरफोनसहितको ब्याट्रीबाट चल्ने सानो रेडियो ल्याउनुपर्ने हुन्छ।
◼ कृपया भेट्नुहोस् (S-43) फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन कृपया भेट्नुहोस् फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक/दुइटा फाराम ल्याउनुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।—नोभेम्बर २००९ अङ्कको हाम्रो राज्य सेवकाई, पृष्ठ ४ हेर्नुहोस्।
◼ रेष्टुराँ: रेष्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नाउँको सम्मान गर्नुहोस्।
◼ होटेल:
(१) चाहिनेभन्दा बढी कोठाहरू बुकिङ नगर्नुहोस् र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्।
(२) आपत्कालीन अवस्थामा बाहेक बुकिङ रद्द नगर्नुहोस्। रद्द गर्नुपरेमा होटेललाई तुरुन्त खबर गरिहाल्नुहोस्।—मत्ती ५:३७.
(३) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्।
(४) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने त्यस्ता सुविधाको दुरुपयोग नगर्नुहोस्।
(५) होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय पवित्र शक्तिको फल प्रदर्शन गर्नुहोस्। उनीहरूले होटेलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपरिरहेको हुन्छ। त्यसैले हामीले देखाउने दया, धीरज र व्यावहारिकताको उनीहरू कदर गर्छन्।
(६) अधिवेशन समितिले सिफारिस गरेका होटेलहरूको सूचीमा एकदिनको कोठा भाडा दिइएको हुन्छ। त्यसमा कर समावेश गरिएको हुँदैन। बढी पैसा लिन खोजेमा अथवा नमगाएको वा प्रयोग नगरेका कुराको लागि पैसा लिन खोजेमा त्यस्तो पैसा नतिर्नुहोस् र यसबारे अधिवेशनमा जतिसक्दो चाँडो आवास विभागलाई खबर गर्नुहोस्।
(७) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्। उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।
◼ स्वयम्सेवा: अधिवेशनमा उपस्थित हुँदा पाइने आनन्द त्यहाँ आवश्यक कार्यहरू गर्न मदत दिंदा झन् बढ्छ। (प्रेषि. २०:३५) यसो गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयम्सेवा विभागलाई जनाउ दिनुपर्छ। अधिवेशनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि आफ्नो आमाबाबु वा उनीहरूले स्वीकृति दिएका कुनै एक वयस्कको निरीक्षणमा रहेर योगदान पुऱ्याउन सक्छन्।
[पृष्ठ ५-मा भएको पेटी]
हामी कसरी निम्तो दिन सक्छौं?
इलाका ढाक्नको लागि निम्तो पर्ची दिंदा प्रस्तुति छोटो हुनुपर्छ। हामी यस्तै केही भन्न सक्छौं: “नमस्कार। हामी यो निम्तो संसारभरि नै बाँड्दै छौं। तपाईंलाई पनि निम्तो छ। थप जानकारी तपाईंले यस निम्तोमा पाउन सक्नुहुन्छ।” निम्तो पर्चीको पहिलो पाना मानिसहरूको ध्यानाकर्षण गर्ने प्रकारले तयार पारिएको छ। त्यसैले घरधनीले पहिलो पाना देख्न सक्नेगरि दिनुहोस्। उत्साहित हुनुहोस्। सप्ताहन्तमा निम्तो पर्ची बाँड्दा उपयुक्त छ भने पत्रिका पनि दिन सकिन्छ।