सेवा सभाको तयारी कसरी गर्नुपर्छ?
१. सेवा सभाको उद्देश्य के हो र के गऱ्यौं भने यो सभाबाट पूरापूर फाइदा उठाउन सक्छौं?
१ सेवाको काममा हामीले राम्रो नतिजा पाउन सकौं भनेर सेवा सभा तयार पारिएको हो। सेवा सभामा छलफल गरिने मुख्य विषयहरू हुन्: राज्यको सुसमाचार प्रचार गर्नु, चेला बनाउनु र नजिकिंदै गएको ईश्वरीय न्यायदण्डबारे घोषणा गर्नु। (मत्ती २८:२०; मर्कू. १३:१०; २ पत्रु. ३:७) सेवा सभाको राम्रो तयारी गरेका छौं र टिप्पणी दिन सक्ने भएका छौं भने यस महत्त्वपूर्ण सभाबाट पूरापूर फाइदा उठाउन सक्छौं।
२. भाषण सुन्नको लागि कसरी तयारी गर्न सक्छौं?
२ भाषण: वक्तालाई दिइएको निर्देशनमा अक्सर भाषणको स्रोत दिइएको हुन्छ। दिइएको सामग्रीलगायत उल्लेख गरिएका शास्त्रपदहरू पहिल्यै हेरेर आउनुहोस् र उक्त जानकारीलाई सेवाको काममा कसरी प्रयोग गर्न सकिएला, विचार गर्नुहोस्।
३. प्रश्न-उत्तर छलफलको तयारी कसरी गर्न सक्छौं?
३ प्रश्न-उत्तर छलफल: यो भाग छोटो परिचय र समापनसहित प्रहरीधरहरा अध्ययन सञ्चालन गरिने तरिकामै सञ्चालन गरिनेछ। प्रत्येक अनुच्छेदको मुख्य-मुख्य बुँदामा चिन्ह लगाउनुहोस् र छोटो अनि अर्थपूर्ण टिप्पणी दिन सक्ने भएर आउनुहोस्।
४. श्रोतासितको छलफलको तयारी हामी कसरी गर्न सक्छौं?
४ श्रोतासित छलफल: यो भाग भाषणको रूपमा प्रस्तुत गरिने भए तापनि वक्ताले कहिलेकाहीं श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नेछन्। मुख्य-मुख्य बुँदामा चिन्ह लगाउनुभएको छ र उल्लेख गरिएका शास्त्रपदहरू हेर्नुभएको छ भने प्रश्न सोधिंदा जवाफ दिन सक्नुहुनेछ। यो भाग प्रस्तुत गर्ने भाइले मुख्य-मुख्य बुँदा ढाक्न श्रोतालाई समावेश गर्ने सक्दो प्रयास गर्नेछन्।
५. के गऱ्यौं भने प्रस्तुत गरिने प्रदर्शनहरूबाट पूरापूर फाइदा उठाउन सक्नेछौं?
५ प्रदर्शनहरू: छलफल गरिएको जानकारी स्थानीय इलाकामा कसरी प्रयोग गर्न सकिन्छ, त्यो देखाउन कुनैकुनै भागमा व्यावहारिक प्रदर्शनहरू प्रस्तुत गरिनेछन्। अनुभवी प्रकाशक वा अग्रगामी अथवा प्राचीनलाई प्रदर्शन प्रस्तुत गर्न आग्रह गरिनेछ। तपाईंले यो भागको लागि तयारी गर्दा सभामा प्रस्तुति कसरी देखाइएला भनेर पहिल्यै विचार गर्न सक्नुहुन्छ। अनि नमुना प्रस्तुति देखाइँदा उक्त प्रस्तुतिलाई आफ्नै शब्दमा कसरी व्यक्त गर्न सक्नुहुन्छ र घरधनीअनुसार प्रस्तुतिलाई कसरी ढाल्न सक्नुहुन्छ, त्यो पनि विचार गर्नुहोस्। सभामा आउँदा प्रदर्शनमा प्रयोग गरिने साहित्य वा पत्रिका ल्याउन नबिर्सनुहोस्। साँझको पारिवारिक उपासनामा यीमध्ये केही प्रस्तुति अभ्यास गर्नु तपाईंले फाइदाजनक पाउनुहुनेछ।
६. सेवा सभाको तयारी किन गर्नुपर्छ?
६ सेवा सभाको राम्रो तयारी गरेका छौं र सभामा कस्ता राम्रा निर्देशन दिइन्छ होला भनेर पहिल्यै विचार गरेका छौं भने सेवा सभा अझै रमाइलो हुन्छ। यी निर्देशनहरू पालन गऱ्यौं भने आपसमा प्रोत्साहन आदानप्रदान गर्न सक्नेछौं। (रोमी १:११, १२) सेवा सभाको तयारी गर्न समय निकाल्यौं भने हामीलाई दिइएको आदेश पूरा गर्न अझै सक्षम हुनेछौं।—२ तिमो. ३:१७.