सेवा सभाको भाग सञ्चालन गर्नेहरूलाई निर्देशन
हाम्रो राज्य सेवकाई-को यस अंकदेखि सेवा सभाको तालिकामा प्रयोग गरिने शब्दहरू सरल बनाइएका छन्। निम्न निर्देशन र सम्झौटाहरूले हाम्रो राज्य सेवकाई, मे २००९ को “सेवा सभाको तयारी कसरी गर्नुपर्छ?” भन्ने लेखमा भनिएका कुराहरूलाई अझ स्पष्ट पार्नेछ।
◼ भाषण: यो भागले दिइएको स्रोतमा आधारित, श्रोतासित केही छलफल नगरी दिइने भाषणलाई बुझाउँछ। कुन कुरा मण्डलीको लागि सबैभन्दा व्यावहारिक हुनेछ, वक्ताले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्छ।
◼ प्रश्न-उत्तर: यो भाग एकदमै छोटो परिचय र समापनसहित प्रहरीधरहरा अध्ययन सञ्चालन गरिने तरिकामै सञ्चालन गरिन्छ र सबै अनुच्छेदमा प्रश्न गरिन्छ। सञ्चालकले चाहिनेभन्दा बढी टिप्पणी गर्नुहुँदैन। समयले दिन्छ भने मुख्य शास्त्रपदहरू पढ्न सकिन्छ। पढ्ने निर्देशन दिइएको छैन भने अनुच्छेदहरू पढ्नु हुँदैन।
◼ छलफल: यो श्रोताले केही हदसम्म भाग लिन मिल्ने खालको भाषण हो। यो भाषण मात्र पनि होइन र पूरै प्रश्न-उत्तरको भाग पनि होइन।
◼ प्रदर्शन र अन्तरवार्ताहरू: प्रदर्शन देखाउनुहोस् भन्ने निर्देशनको अर्थ भाग सञ्चालन गर्ने भाइ आफैले प्रदर्शन गरेर देखाउनुपर्छ भनेको होइन तर तिनले प्रदर्शन देखाउने प्रबन्ध मिलाउनुपर्छ। तिनले छानेका भाइबहिनीहरू सक्षम र उदाहरणीय हुनुपर्छ र सम्भव छ भने तिनीहरूसित सञ्चालकले अगाडिदेखि नै यसको प्रबन्ध मिलाउनुपर्छ। मञ्चमा जाने मौका दिनको लागि मात्र नयाँ तथा कम अनुभवी प्रकाशकहरूलाई प्रदर्शन देखाउन लगाउनु राम्रो होइन। तर केहीलाई घरधनीको रूपमा प्रयोग गर्न सकिन्छ। प्रस्तुति प्रदर्शन गरिरहेका प्रकाशकहरू श्रोता भएतिर फर्किनुपर्छ। अन्तरवार्ता दिन प्रयोग गरिएकाहरूले आफू बसेको ठाउँबाट नभई मञ्चमा गएर आफ्नो टिप्पणी दिनुपर्छ। प्रदर्शन र अन्तरवार्ताहरूका लागि अभ्यास गर्नुपर्छ। सभामा समय बढी गइरहेको छ र कुनै भाइले आफ्नो भाग छोट्याउनै पर्छ भने पनि तिनले प्रदर्शन र अन्तरवार्ता हटाउनुहुँदैन। प्रदर्शन वा अन्तरवार्ताका सहभागीहरूलाई छान्नुअघि सेवकाई सेवकहरूले प्राचीनहरूको निकायको संयोजक वा अरू कुनै प्राचीनलाई सम्पर्क राख्नुपर्छ।
कुनै खास भागको लागि विशेष निर्देशनहरू छन् भने त्यसलाई होसियारीसाथ लागू गर्नुपर्छ। सेवा सभाका भागहरूलाई माथि उल्लिखित तरिकाले सञ्चालन गरेर भाइहरूले सेवा सभालाई ‘शिष्ट र नियमपूर्वक’ गराउन योगदान पुऱ्याइरहेका हुनेछन्।—१ कोरि. १४:४०.