सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्
१. बाइबल अध्ययन सञ्चालन गर्दा हामीले किन विद्यार्थीलाई सिकेका कुराहरूप्रति कदर देखाउन मदत दिनुपर्छ?
१ बाइबल अध्ययन सञ्चालन गर्दा, विद्यार्थीलाई यहोवाको सेवा गर्न जुर्मुऱ्याउने हो भने हामीले राम्ररी तयारी गरेको हुनैपर्छ। बाइबलबाट सिकेका कुराहरूको कदर गर्न बाइबल विद्यार्थीलाई मदत दियौं भने असल परिणाम प्राप्त हुनेछ। फलस्वरूप, यसले विद्यार्थीलाई जुर्मुऱ्याउनेछ। (व्यव. ६:५; हितो. ४:२३; १ कोरि. ९:२६) त्यसोभए हामी कसरी यस्तो मदत दिन सक्छौं?
२. प्रार्थनाले हामीलाई अध्ययनको तयारी गर्न कसरी मदत गर्न सक्छ?
२ प्रार्थनापूर्वक तयारी गर्नुपर्छ: विद्यार्थीको हृदयमा सत्यको बीऊलाई बढ्न मदत दिने यहोवा नै भएकोले अध्ययनको तयारी गर्दा विद्यार्थी र उनको खास आवश्यकतालाई तोकेरै प्रार्थना गर्नु उपयुक्त छ। (१ कोरि. ३:६; याकू. १:५) विद्यार्थीको हृदयमा यहोवाको इच्छासम्बन्धी “सही ज्ञान,” [NW] कसरी अझ धेरै भर्न सकिन्छ, त्यो ठम्याउन पनि प्रार्थनाले हामीलाई मदत गर्न सक्छ।—कल. १:९, १०.
३. विद्यार्थीबारे सोच्दै हामी कसरी तयारी गर्न सक्छौं?
३ विद्यार्थीलाई विचार गर्नुहोस्: प्रभावकारी शिक्षा दिनुमा श्रोतालाई विचार गर्नु समावेश छ भनेर येशूलाई थाह थियो। कम्तीमा दुई चोटी येशूलाई यो एउटै प्रश्न सोधियो: “अनन्त जीवनको हकदार हुनलाई मैले के गर्नुपर्छ?” प्रत्येक चोटी उहाँले भिन्नाभिन्नै तरिकामा जवाफ दिनुभयो। (लूका १०:२५-२८; १८:१८-२०) हामीले पनि तयारी गर्दा विद्यार्थीबारे सोच्नुपर्छ। उल्लेख गरिएका कुन-कुन बाइबल पद विद्यार्थीसँग पढ्ने? कति विषयवस्तु ढाक्ने? छलफल गर्ने पाठको कुन-कुन बुँदा बुझ्न वा स्वीकार्न विद्यार्थीलाई गाह्रो हुन सक्छ? विद्यार्थीले सोध्न सक्ने प्रश्नहरूबारे पहिल्यै अनुमान लगाउन सक्यौं भने प्रभावकारी तरिकाले जवाफ दिन सक्नेछौं।
४. राम्रो तयारी गर्नुमा के समावेश छ?
४ विषयवस्तु पुनरावलोकन गर्नुहोस्: त्यही विषय पहिला हामीले जतिसुकै छलफल गरेको भए तापनि हामीले अध्ययन सञ्चालन गर्न लागेको विद्यार्थीको लागि भने त्यो पहिलो पटक हुनेछ। यदि हामी उनको हृदयमा पुग्ने हो भने प्रत्येक अध्ययनको लागि राम्रो तयारी गर्नु अत्यावश्यक छ। यसको मतलब हामी हाम्रो बाइबल विद्यार्थीलाई जे गर्न प्रोत्साहन दिन्छौं, त्यो आफैले गर्नु हो। विषयवस्तु तथा उल्लिखित बाइबल पदहरू विद्यार्थीबारे सोच्दै र सायद मुख्य बुँदाहरूमा चिन्ह लगाउँदै पुनरावलोकन गर्नुहोस्।—रोमी २:२१, २२.
५. हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?
५ यहोवा प्रत्येक बाइबल विद्यार्थीको उन्नतिमा गहिरो चासो राख्नुहुन्छ। (२ पत्रु. ३:९) प्रत्येक बाइबल अध्ययनको लागि तयारी गर्न समय निकालेर हामी पनि त्यस्तै मायालु चासो देखाउँछौं।