के तपाईं स्कूलमा साक्षी दिन तयार हुनुहुन्छ?
१. स्कूलमा पढ्दै गरेका तपाईंहरूसित कस्तो मौका छ?
१ स्कूलमा तपाईं जतिसुकै कक्षामा पढिरहनुभएको होस्, तपाईं जवान ख्रीष्टियानहरूले चुनौती तथा दबाबहरू खेप्नुपर्छ। तर तपाईंहरूसित ‘सत्यको गवाही’ दिने मौका पनि छ। (यूह. १८:३७) साक्षी दिनको लागि के तपाईंले राम्रो तयारी गर्नुभएको छ? अनि के तपाईं साक्षी दिन तयार हुनुहुन्छ?
२. स्कूलमा साक्षी दिन तपाईं कुन-कुन तरिकामा तयार हुनुहुन्छ?
२ जीवनका हरेक पक्षमा सफल हुनको लागि यहोवा, आमाबाबु अनि विश्वासी र बुद्धिमान् दासमार्फत तपाईंले प्रशस्त प्रशिक्षण पाउनुभएको छ। (हितो. १:८; ६:२०; २३:२३-२५; एफि. ६:१-४; २ तिमो. ३:१६, १७) स्कूलमा कस्ता चुनौती आइपर्ने आशा गर्न सकिन्छ, तपाईंलाई पक्कै पनि थाह छ। परमेश्वरले दिनुभएको प्रशिक्षण र स्कूलमा सामना गर्नुपर्ने चुनौतीहरूलाई याद गर्दै साक्षी दिन आफूलाई तयार राख्नुहोस्। (हितो. २२:३) युवा जनहरूका प्रश्न पुस्तकका दुईवटा खण्डलगायत अवेक! पत्रिकामा नियमित रूपमा प्रकाशित हुने सम्बन्धित लेखहरूमा पाइने निर्देशन र मदतकारी धर्मशास्त्रीय सल्लाहलाई गम्भीर भएर विचार गर्नुहोस्।
३. साक्षी दिन तपाईं कसरी तयार हुन सक्नुहुनेछ?
३ तपाईंको विशेष इलाका स्कूलमा तपाईंलाई विभिन्न तरिकामा साक्षी दिने मौका मिल्नेछ। जब अरूले तपाईंको उदाहरणीय पहिरन र कोरीबाटी, आनीबानी र बोलीचाली, कक्षाका साथीहरू र शिक्षकहरूप्रति तपाईंले देखाउने आदर र पढाइप्रतिको तपाईंको झुकाव देख्छन् अनि तपाईंले जीवनमा बलियो जग बसाल्नुभएको छ भन्ने कुरा महसुस गर्छन्, तब कसै-कसैले सोध्न सक्छन्, “तिमी अरूभन्दा किन फरक छौ?” (मला. ३:१८; यूह. १५:१९) यतिबेला साक्षी दिने र आफ्नो विश्वासबारे बताउने मौका मिल्न सक्छ। (१ तिमो. २:९, १०) यस वर्षभरि तपाईंले राष्ट्रिय दिवसहरू तथा चाडबाड मनाउनेजस्ता विभिन्न चुनौती सामना गर्नुपर्ने हुन सक्छ। किन नमनाएको भनेर सोध्दा के तपाईं यस्तो जवाफमात्र दिनुहुनेछ: “यो मेरो धर्मविपरीत छ; म एक जना यहोवाको साक्षी हुँ” अथवा त्यसलाई तपाईं अझ आफ्नो मायालु पिता यहोवाबारे साक्षी दिने मौकाको रूपमा लिनुहुनेछ? यहोवाको निर्देशनअनुसार गरिएको राम्रो तयारीले तपाईंलाई शिक्षकहरू, सहपाठीहरू र अरूलाई राम्रो साक्षी दिन सक्ने बनाउनेछ।—१ पत्रु. ३:१५.
४. स्कूलमा तपाईं सफल हुन सक्नुहुन्छ भन्ने कुरामा तपाईं किन विश्वस्त हुनुहुन्छ?
४ तपाईंलाई स्कूलमा साक्षी दिन अलि डर त लाग्ला तर यो कुरा बुझ्नुहोस्, स्कूलमा तपाईं सफल भएको चाहने थुप्रैको समर्थन तपाईंसित छ। साथै, तपाईंको विशेष इलाकामा साक्षी दिने जुन मौका तपाईंसित छ, त्यसको लागि हामी तपाईंसितै रमाउँछौं। त्यसकारण साहसी हुनुहोस् र स्कूलमा साक्षी दिन तयार हुनुहोस्!