पछि नहट्नुहोस्!
१. केको लागि साहसको खाँचो पर्छ र किन?
१ गिल्ला गर्लान् भन्ने डरले स्कूलमा साक्षी दिनदेखि के तपाईं कहिल्यै पछि हट्नुभएको छ? खासगरि तपाईं लजालु स्वभावको हुनुहुन्छ भने निश्चय पनि साहसको खाँचो पर्छ। त्यसोभए, तपाईंलाई साहसी हुन केले मदत गर्छ?
२. स्कूलमा साक्षी दिन किन समझको खाँचो पर्छ?
२ समझ चलाउनुहोस्: तपाईंले स्कूललाई आफ्नो व्यक्तिगत इलाका ठान्न सक्नुहुन्छ। तर यो कुरा मनमा राख्नुहोस्, घर-घरको प्रचारकार्यमा जस्तै स्कूलमा पनि तपाईंले भेटे जति सबैसित परमेश्वरबारे कुरा सुरु गर्नै पर्छ भन्ने छैन। समझ चलाउनुहोस् र कहिले कुरा गर्दा उपयुक्त हुन्छ, निधो गर्नुहोस्। (उप. ३:१, ७) कक्षामा कुनै खास विषयबारे छलफल हुँदा वा स्कूलले कुनै असाइनमेन्ट दिंदा तपाईंले आफ्नो विश्वास व्यक्त गर्ने मौका पाउन सक्नुहुन्छ। अथवा तपाईंको साथीले ‘फलाना-फलाना कार्यक्रममा किन भाग नलिएको’ भनेर सोध्न सक्छ। कोही-कोही ख्रीष्टियनले नयाँ कक्षामा पुग्नेबित्तिकै शिक्षकहरूलाई आफू यहोवाको साक्षी भएको कुरा बताउनुका साथै हाम्रो विश्वासबारे बताइएका साहित्यहरू दिन्छन्। साथीहरू आफै प्रश्न सोध्न आऊन् भन्नको लागि अरू कतिपयले भने उनीहरूले देख्नेगरि आफ्नो बेन्चमा साहित्यहरू राख्छन्।
३. स्कूलमा साक्षी दिन तपाईंले कसरी तयारी गर्न सक्नुहुन्छ?
३ तयार हुनुहोस्: तपाईं तयार हुनुहुन्छ भने तपाईंको विश्वस्तता बढ्नेछ। (१ पत्रु. ३:१५) त्यसैले साथीहरूले कस्ता प्रश्नहरू गर्न सक्छन् र त्यसको जवाफ कसरी दिन सकिन्छ, पहिल्यै विचार गर्नुहोस्। (हितो १५:२८) मिल्छ भने बाइबल र अरू केही प्रकाशन जस्तै: रीजनिङ (अङ्ग्रेजी) किताब, युवा जनहरूका प्रश्न र सृष्टिबारे लेखिएका प्रकाशनहरू आफ्नो साथमा राख्नुहोस्। यसो गर्दा तपाईंले चाहिने बेला ती चलाउन सक्नुहुन्छ। पारिवारिक उपासनामा यससम्बन्धी अभ्यास पनि समावेश गर्न आमाबाबुलाई भन्नुहोस्।
४. तपाईंले स्कूलमा साक्षी दिन किन छोड्नुहुँदैन?
४ सकारात्मक हुनुहोस्: साक्षी दिंदा स्कूलका साथीहरूले तपाईंलाई सधैं जिस्क्याउँछन् भन्ने अनुमान नलगाउनुहोस्। केहीले तपाईंको साहसको प्रशंसा गर्न सक्छन् र तपाईंको कुरा सुन्न पनि सक्छन्। तर यदि कसैले पनि सुनेनन् भने निरुत्साहित नहुनुहोस्। तपाईंको प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ। (हिब्रू १३:१५, १६) “निर्भयी भएर तपाईंको वचन बोलिरहन” उहाँसँग मदत मागिरहनुहोस्। (प्रेषि. ४:२९; २ तिमो. १:७, ८) कसैले तपाईंको कुरा सुन्दा तपाईंलाई कत्ति खुसी लाग्नेछ, कल्पना गर्नुहोस्। ती व्यक्ति यहोवाको सँगी सेवक पनि बन्न सक्छन्!