पछि नहट्नुहोस्—अयोग्यताको भावलाई जित्नुहोस्
१. कोही-कोही किन बाइबल अध्ययनको प्रस्ताव राख्नदेखि पछि हट्छन्?
१ प्रभावकारी तरिकामा बाइबल अध्ययन गराउन सक्दिनँ भन्ने सोचाइले गर्दा के तपाईं बाइबल अध्ययनको प्रस्ताव राख्नदेखि पछि हट्नुहुन्छ? मोशा र यर्मियाजस्ता वफादार सेवकहरूले समेत कुनै बेला आफूले पाएको जिम्मेवारी पूरा गर्न असक्षम भएको महसुस गरेका थिए। (प्रस्थ. ३:१०, ११; ४:१०; यर्मि. १:४-६) त्यसकारण हामीलाई पनि अयोग्यताको भावले सताउनु कुनै नौलो कुरा होइन। अयोग्यताको भावलाई कसरी जित्न सकिन्छ?
२. हामीले किन बाइबल अध्ययन गराउने काम अरूलाई नै छोडिदिएर घरघरको प्रचारमै चित्त बुझाउनु हुँदैन?
२ यहोवा हामीलाई कहिल्यै पनि हाम्रो क्षमताभन्दा बाहिरको काम गर्न लगाउनुहुन्न भन्ने कुरा नबिर्सनुहोस्। (भज. १०३:१४) त्यसैले ‘चेला बनाउने’ र ‘सिकाउने’ काम हाम्रो क्षमताभन्दा बाहिरको काम होइन। (मत्ती २८:१९, २०) यो काम यहोवाले हामीमाझ भएका धेरै अनुभवी वा सिपालु भाइबहिनीलाई मात्र दिनुभएको छैन। (१ कोरि. १:२६, २७) त्यसकारण बाइबल अध्ययन गराउने काम अरूलाई नै छोडिदिएर घरघरको प्रचारमै चित्त बुझाउनु हुँदैन।
३. यहोवाले हामीलाई बाइबल अध्ययन गराउने काममा कसरी योग्य बनाउनुभएको छ?
३ यहोवा हामीलाई योग्य बनाउनुहुन्छ: चेला बनाउने हाम्रो योग्यता परमेश्वरबाट आउँछ। (२ कोरि. ३:५) यहोवाले धेरै पढेलेखेकाहरूलाई समेत थाह नभएको बाइबल सत्य हामीलाई आफ्नो सङ्गठनमार्फत सिकाउनुभएको छ। (१ कोरि. २:७, ८) महान् शिक्षक येशूको सिकाउने तरिका हामीले अनुकरण गरोस् भनेर यहोवाले ती तरिकाहरू अहिलेसम्म सुरक्षित राख्नुभएको छ अनि मण्डलीमार्फत पनि निरन्तर तालिम दिइरहनुहुन्छ। साथै बाइबलको कुरा सिकाउन हामी आफैले पाठ्यसामग्री तयार पार्नुपरेको छैन। बाइबल सत्यलाई तर्कपूर्ण अनि सरल तरिकामा सिकाउन मदत दिने सामग्रीहरू यहोवाले प्रबन्ध गरिदिनुभएको छ। जस्तै:- बाइबलले सिकाउँछ किताब। बाइबल अध्ययन गराउने काम हामीले जति चुनौतीपूर्ण सोचेका छौं, त्यति नहुन सक्छ।
४. यहोवा हामीलाई मदत गर्नुहुन्छ भन्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौं?
४ मोशा र यर्मियाले यहोवाको मदत पाएर आफ्नो जिम्मेवारी पूरा गर्न सके। (प्रस्थ. ४:११, १२; यर्मि. १:७, ८) हामी पनि मदतको लागि यहोवालाई बिन्ती गर्न सक्छौं। बाइबल अध्ययन गराउँदा हामीले आखिर यहोवाबारे नै सिकाइरहेका हुन्छौं, जुन काम परमेश्वरको नजरमा असल छ। (१ यूह. ३:२२) त्यसकारण सबैभन्दा आनन्ददायी अनि इनामदायी काम अर्थात् बाइबल अध्ययन गराउने काममा भाग लिने लक्ष्य राख्नुहोस्।