‘राम्ररी बुझाउनुहोस्’
१. सेवाको काममा प्रेषित पावलले कस्तो राम्रो उदाहरण बसाले?
१ “सेवाको काम राम्ररी पूरा गर।” (२ तिमो. ४:५) प्रेषित पावलले निर्धक्क भई साहसका साथ तिमोथीलाई उक्त सल्लाह दिन सके किनभने इ.स. ४७ देखि ५६ सम्ममा तिनले तीनवटा मिसनरी यात्रा पूरा गरिसकेका थिए। पावलले “राम्ररी साक्षी” दिएको कुरा प्रेषितको किताबमा थुप्रै पटक उल्लेख गरिएको छ। (प्रेषि. २३:११; २८:२३) आज हामी कसरी राम्ररी साक्षी दिन सक्छौं?
२. घर-घरको प्रचारकार्यमा हामी कसरी राम्ररी साक्षी दिन सक्छौं?
२ घर-घरको प्रचारकार्य: सुसमाचार कहिल्यै नसुनेका व्यक्तिहरूलाई भेट्न तिनीहरूको घरमा फरक-फरक समयमा जानुपर्ने हुन्छ। सायद घरको पुरुषलाई साँझ वा सप्ताहन्तमा भेट्न सकिन्छ। प्रत्येक घरमा कोही न कोहीलाई साक्षी दिने प्रयास गर्नुपर्छ। अघिल्लो पटक घरमा नभेटिएकाहरूलाई भेट्न पनि पटक-पटक कोसिस गर्नुपर्छ। तर अनेक प्रयास गर्दा पनि घरको मान्छेलाई भेट्न सकिएन भने नि? यस्तो अवस्थामा चिठी लेख्नु वा फोन गर्नु प्रभावकारी हुन सक्छ।
३. सार्वजनिक अनि अनौपचारिक साक्षी दिन तपाईंसित कस्ता मौकाहरू छन्?
३ सार्वजनिक अनि अनौपचारिक प्रचारकार्य: आज यहोवाका सेवकहरूले सुन्न इच्छुक सबैलाई “बुद्धि”-का कुराहरू बताउँदै छन्, कहिलेकाहीं “खुल्ला सडकहरू”-मा त कहिले “चोकहरू”-मा। (हितो. १:२०, २१) आफ्नो दिनचर्यामा लाग्दा के हामी साक्षी दिन सजग छौं? के हामी “वचन प्रचार गर्नमा व्यस्त” छौं? (प्रेषि. १८:५) छौं भने, अरूलाई ‘राम्ररी बुझाउने’ आफ्नो दायित्व पूरा गरिरहेका हुनेछौं।—प्रेषि. १०:४२; १७:१७; २०:२०, २१, २४.
४. राम्ररी साक्षी दिन प्रार्थना र मननले कसरी मदत गर्छ?
४ कहिलेकाहीं आफ्नै कमजोरी वा लजालु स्वभावको कारण साक्षी दिनदेखि पछि हटिरहेका हुन सक्छौं। यहोवालाई हाम्रो सीमितता थाह छ। (भज. १०३:१४) साक्षी दिने मौका पाउँदा निर्भयी भई बोल्न उहाँलाई प्रार्थना गरेर मदत माग्न सक्छौं। (प्रेषि. ४:२९, ३१) साथै, व्यक्तिगत अध्ययन गरेर अनि परमेश्वरको वचनमा मनन गरेर सुसमाचारको उत्कृष्ट मोलप्रति आफ्नो कृतज्ञता अझ बढाउन सक्छौं। (फिलि. ३:८) यसले गर्दा हामी जोसका साथ सुसमाचार घोषणा गर्न उत्प्रेरित हुनेछौं।
५. योएलको भविष्यवाणीको पूर्तिमा हामी कसरी भाग लिन सक्छौं?
५ यहोवाको भयानक दिन आउनुअघि उहाँका जन यताउता नअलमली अगाडि ‘बढिरहेका’ हुनेछन् अनि प्रचारकार्यमा भाग लिनदेखि तिनीहरूलाई कुनै कुराले रोक्नेछैन भनी योएलले भविष्यवाणी गरे। (योए. २:२, ७-९) कहिल्यै नदोहोरिने यस साक्षीकार्यमा हामी यथासक्दो गरौं!