“विस्तृत साक्षी दिन” लगनशील हुनुहोस्
१, २. सुसमाचार प्रचार गर्ने सन्दर्भमा पावलको कस्तो दृष्टिकोणले तपाईंलाई प्रभाव पार्छ अनि “विस्तृत साक्षी दिने” सन्दर्भमा हामी कसरी तिनको उदाहरण अनुकरण गर्न सक्छौं?
१ येशू तथा पुरातन समयका अन्य थुप्रै विश्वासी सेवकहरूजस्तै प्रेरित पावल जस्तोसुकै परिस्थितिको बावजुद ‘विस्तृत साक्षी दिने’ सुसमाचारका एक जोसिला प्रचारक थिए। नजरबन्द गरिएको बेलासमेत “तिनीकहाँ आउनेहरू सबैलाई तिनले खुशीसाथ सत्कार गर्थे। औ तिनले विना रोक-टोक निर्धक्कसँग परमेश्वरको राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको विषयका कुराहरू सिकाउँथे।”—प्रेरि. २८:१६-३१, NW.
२ हामी पनि हरेक समय “विस्तृत साक्षी दिन” लगनशील हुन सक्छौं। त्यसो गर्नुमा सम्मेलन तथा अधिवेशनहरूमा जाँदा-आउँदा भेटिने मानिसहरूलाई प्रचार गर्नु समावेश छ।—प्रेरि. २८:२३, NW; भज. १४५:१०-१३.
३. हाम्रो अनौपचारिक साक्षीकार्यलाई संयोगवश हुने कुरा नबनाउन हामी के गर्न सक्छौं?
३ अनौपचारिक साक्षी भनेको के हो? अनौपचारिक साक्षी कुनै योजनाविना वा कम महत्त्वपूर्ण भएझैं गरी संयोगवश वा सोच विचारै नगरीकन हुने कुरा होइन। हाम्रो सेवकाईलाई निश्चय त्यसो भन्न मिल्दैन। साक्षी दिएर परमेश्वरलाई महिमा दिनु पावलका लागि जति महत्त्वपूर्ण थियो, हाम्रो लागि पनि त्यति नै महत्त्वपूर्ण छ अनि यो वर्ष यात्राको दौडान उपयुक्त मौका मिल्ने बित्तिकै साक्षी दिने लक्ष्य राख्नु खाँचो छ। तथापि, अरूसित कुरा गर्ने शैलीलाई अनौपचारिक भन्नु उचित हुन्छ—यस्तो कुराकानी नअतालीकन, मित्रैलो र स्वाभाविक हुनुपर्छ। यस्तो तरिकाबाट असल परिणामहरू प्राप्त हुन सक्छ।
४. आफू बसेको घरमा साक्षी दिन पावललाई कुन कुराले उत्प्रेरित गऱ्यो?
४ साक्षी दिन तयारी गर्नुहोस्: रोममा नजरबन्द भएको बेलासमेत पावलले साक्षी दिने मौका सृजना गर्नुपरेको थियो। आफू बसेको ठाउँबाटै तिनले स्थानीय यहूदीहरूका मुख्य-मुख्य मानिसहरूलाई बोलाउने कदम चाले। (प्रेरि. २८:१७) रोममा मसीही मण्डली भए तापनि त्यस शहरका यहूदी समुदायलाई मसीही विश्वासबारे खासै जानकारी थिएन भन्ने कुरा पावलले थाह पाए। (प्रेरि. २८:२२; रोमी १:७) तिनी येशू ख्रीष्ट र परमेश्वरको राज्यबारे “विस्तृत साक्षी दिन” पछि हटेनन्।
५, ६. अनौपचारिक साक्षी दिने हामी कस्ता-कस्ता अवसरहरू पाउन सक्छौं र प्रभावकारी ढंगमा यसो गर्न हामी कस्तो तयारी गर्न सक्छौं?
५ यात्राको दौडान भेट्न सक्नुहुने सबै मानिसहरूबारे सोच्नुहोस्, जसलाई यहोवाका साक्षीहरूबारे थोरै कुरा मात्र थाह छ। हामी निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राख्छौं भनेर समेत उनीहरूलाई थाह नहुन सक्छ। यात्राको दौडान, बिसौनीमा वा तेल हाल्न गाडी रोक्दा, किनमेल गर्दा, होटेलमा बस्दा, रेस्टुराँमा खाँदा, सार्वजनिक यातायातमा यात्रा गर्दा अनि यस्तै अन्य अवसरहरूमा मानिसहरूलाई साक्षी दिने मौकाहरूप्रति सजग हुनुहोस्। कुराकानी सुरु गर्न र छोटकरीमा साक्षी दिन कसरी कुरा थाल्न सकिन्छ भनेर पहिल्यै सोच्नुहोस्। पहिल्यैदेखि तपाईं छिमेकी, नातेदार, सहकर्मी तथा अन्य चिनेजानेकाहरूलाई अनौपचारिक साक्षी दिएर अभ्यास गर्न सक्नुहुन्छ।
६ अनौपचारिक साक्षी दिंदा तपाईंसित यथेष्ट प्रकाशनहरू हुनु जरुरी छ। कुन-कुन? के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा चलाउन सक्नुहुन्छ। अघिल्लो पाँचवटा अनुच्छेदलाई जोड दिनुहोस्, जहाँ बाइबल पढ्नुपर्ने विभिन्न कारणहरू बताइएका छन्। निश्शुल्क गृह बाइबल अध्ययन आग्रह गर्नको लागि पर्चाको पछिल्तिर दिइएको कुपन देखाउनुहोस्। चासो देखाउने व्यक्ति फेला पार्नुभयो भने, चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। अर्कै भाषा बोल्ने मानिसहरू भेट्न सकिने अपेक्षा गर्दै गुड न्युज फर अल नेसन्स् भन्ने पुस्तिका आफूसित लैजानुहोस्। यो चलाएर कसरी साक्षी दिन सकिन्छ भनेर यसको पृष्ठ २ ले बताउँछ। कारमा यात्रा गर्दै हुनुहुन्छ भने, राज्य सन्देशमा साँचो चासो देखाउने व्यक्तिहरूका लागि अन्य केही आधारभूत प्रकाशनहरू आफूसँग लैजान सक्नुहुन्छ।
७, ८. यात्राको दौडान र फुर्सतको समयमा आफ्नो व्यक्तिगत बाहिरी रूप र आचरणबारे हामीले कस्तो सजगता अपनाउनुपर्छ?
७ आफ्नो बाहिरी रूप र आचरणमा ध्यान दिनुहोस्: हाम्रो आचरण तथा लुगाफाटाका साथै कोरीबाटीले अरूलाई गलत छाप नपार्न वा यहोवाको संगठन ‘विरुद्ध बोल्ने’ कारण नदिन हामीले पक्का गर्नै पर्छ। (प्रेरि. २८:२२) यो कुरा सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुँदा मात्र नभई यात्रा गर्दा अनि फुर्सतको समयमा पनि लागू हुन्छ। अगस्त १, २००२ को प्रहरीधरहरा, पृष्ठ १८, अनुच्छेद १४ ले यस्तो चेतावनी दियो: “हाम्रो बाहिरी रूप भड्किलो, बेढंगी, उत्ताउलो, अंग प्रदर्शन गर्ने खालको हुनु हुँदैन। यसबाहेक हाम्रो पहिरन ‘परमेश्वरको भक्ति’ झल्किने खालको हुनुपर्छ। यो हामी सबैले विचार गर्नुपर्ने कुरा हो, होइन र? मण्डलीका सभाहरू [वा अधिवेशनहरूको दौडान] धाउँदा मात्र उचित पहिरन लगाउने अनि अरू समयमा चाहिं वास्तै नगर्ने हुनु हुँदैन। हाम्रो बाह्य रूपले सधैं श्रद्धेय वा आदरणीय मनोवृत्ति झल्काउनुपर्छ किनभने हामी दिनको चौबिसै घण्टा मसीही सेवकहरू हौं।”—१ तिमो. २:९, १०.
८ हाम्रो पहिरन भद्र र मर्यादित हुनुपर्छ। हाम्रो बाहिरी रूप र पहिरनले परमेश्वरमा सधैं हाम्रो विश्वास झल्काउँछ भने हामी कहिल्यै पनि आफ्नो व्यक्तिगत रूपको कारण अनौपचारिक साक्षी दिनदेखि पछि हट्नु पर्दैन।—१ पत्रु. ३:१५.
९. रोममा साक्षी दिंदा पावलले कस्तो सफलता हासिल गरे?
९ अनौपचारिक साक्षीकार्य फलदायी हुन्छ: रोममा दुई वर्ष नजरबन्दमा परेको बेला साक्षी दिन पावलले जे-जति प्रयास गरेका थिए, त्यसको राम्रो परिणाम देख्न पाए। “कतिले सो बोलेका कुरा विश्वास गरे” भनी लूकाले रिपोर्ट गरे। (प्रेरि. २८:२४) पावलले “विस्तृत साक्षी [दिए]”, जसको प्रभावकारिताबारे तिनी स्वयम्ले यस्तो लेखे: “ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढाउने काम भएको छ, यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्।”—फिलि. १:१२-१४, नयाँ संशोधित संस्करण।
१०. एक दम्पतीले गत वर्ष साक्षीकार्यबाट कस्तो सफलता प्राप्त गरे?
१० गत वर्ष, जिल्ला अधिवेशनपछि एक दम्पतीले आफूले लगाएको अधिवेशन बिल्लाबारे सोध्ने एउटी वेट्रेसलाई अनौपचारिक साक्षी दिएर फलदायी अनुभव बटुले। उनीहरूले तिनलाई अधिवेशन र मानिसजातिको भविष्यको लागि बाइबलले प्रदान गर्ने आशाबारे बताए। उनीहरूले तिनलाई के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा दिनुका साथै निश्शुल्क गृह बाइबल अध्ययनको प्रबन्धबारे पनि बताए। ती स्त्रीले कोही तिनीकहाँ आएको चाहन्छु भनिन् र पर्चाको पछिल्तिर आफ्नो नाउँ र ठेगाना भर्नुका साथै ती दम्पतीलाई कुनै प्रबन्ध मिलाइदिन आग्रह गरिन्। यस वर्ष “विस्तृत साक्षी दिन” लगनशील भएर तपाईं कस्तो सफलता प्राप्त गर्न सक्नुहुन्छ?
११. “विस्तृत साक्षी दिएर” सुसमाचार फैलाउनको लागि हामीले कस्ता गुणहरू विकास गर्नुपर्छ?
११ विस्तृत तवरमा सुसमाचार फैलाउनुहोस्: सँगी मसीहीहरूले आफ्नो जोसिलो उदाहरण पछ्याइरहेका छन् भन्ने खबर सुन्दा पावल कत्ति खुसी भए होलान्, कल्पना गर्नुहोस् त! हामी पनि आफ्नो बाइबल आधारित विश्वासबारे अनौपचारिक तवरमा साक्षी दिएर सुसमाचार फैलाउन यथासक्दो गर्न सकौं।
[पृष्ठ ३-मा भएको पेटी]
अनौपचारिक साक्षी दिन चाहिने प्रकाशनहरू
■ के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा)
■ परमेश्वर हामीबाट के चाहनुहुन्छ? (पुस्तिका)
■ गुड न्युज फर अल नेसन्स् (पुस्तिका)
■ अन्य आधारभूत प्रकाशनहरू
[पृष्ठ ४-मा भएको पेटी]
उनीहरूलाई नबिर्सनुहोस्!
कसलाई नबिर्सनु? ख्रीष्टको मृत्युको स्मरणार्थ वा विशेष भाषणमा उपस्थित भएका इच्छुक सबै जनालाई। के हामीले उनीहरूलाई यस वर्षको सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन निमन्त्रणा दिएका छौं? दयालु प्रोत्साहन दिएको खण्डमा उनीहरूमध्ये थुप्रै उपस्थित हुनेछन्। यी भेलाहरूमा उत्थानदायी संगति तथा प्रोत्साहनदायी आध्यात्मिक कार्यक्रमबाट आनन्द उठाउँदा, उनीहरू यहोवा अनि उहाँको संगठनको अझ नजिक हुनेछन्। निमन्त्रणा दिइहेरे कसो होला? हाम्रा सम्मेलन तथा अधिवेशनहरूको मिति, स्थानको जानकारी, कार्यक्रम सुरु तथा अन्त हुने समय र फेब्रुअरी २००३ को हाम्रो राज्य सेवकाई र जून ८, २००३ को ब्यूँझनुहोस्! अंकको पछिल्लो आवरण पृष्ठमा दिइएका कार्यक्रमहरूको पूर्वझलकलगायत आवश्यक सबै विस्तृत जानकारी उनीहरूलाई दिनुहोस्।