फल फलाउने एउटा अभियान
विगतमा जस्तै अधिवेशनको तीन हप्ताअघिदेखि इलाकाका चासो दिने व्यक्तिहरूलाई उपस्थित हुन मण्डलीहरूले निम्तो पर्ची बाँड्ने अभियान सुरु गर्छन्। यस्तो वार्षिक अभियान गर्नुपछाडि राम्रो कारण छ। प्रायजसो निम्तो स्वीकारेर अधिवेशनमा आउनेहरू बाइबलआधारित भाषणहरू सुनेर, हाम्रो असल आचरण र एकता देखेर अनि विभिन्न विभागहरू स्वयम्सेवकहरूले व्यवस्थित तरिकाले सम्हालिरहेको देखेर प्रभावित भएका छन्। (भज. ११०:३; १३३:१; यशै. ६५:१३, १४) तर के हाम्रो अभियानले खास गरी त्यस्ता इलाकाहरू जहाँबाट चासो देखाउने मानिसहरूलाई आउन टाढा पर्छ, त्यहाँ पनि फल फलाउँछ?
सन् २०११ को अधिवेशनपछि एउटा शाखा कार्यालयले एक जना आइमाईबाट चिठी प्राप्त गऱ्यो। तिनले आफ्नो घरको ढोकामा निम्तो पर्ची पाएकी थिइन्। यहोवाका साक्षीहरूले ढोका ढकढक्याउँदा तिनी लुक्ने गर्थिन्। तिनले यस्तो लेखिन्: “मेरो घर राम्रो थियो, मेरो श्रीमान् पनि असाध्यै असल हुनुहुन्थ्यो। त्यसैले मलाई लाग्थ्यो, खुसी हुन जे जत्ति कुरा चाहिन्छ त्यो सबै मसित छ। तैपनि म खुसी थिइनँ अनि जीवनमा मेरो कुनै उद्देश्य थिएन। त्यसैले मैले शनिबारको कार्यक्रम धाउन गाडी चलाएर ३२० किलोमिटर यात्रा गर्ने निर्णय गरें।” तिनलाई अधिवेशन धेरै रोचक लाग्यो। यतिसम्म कि तिनले आफ्नो श्रीमान्लाई फोन गरेर आइतबारको कार्यक्रममा बसेर मात्र घर फर्किने कुरा बताइन्। “मैले सबै भाषणहरू सुनें, थुप्रै यहोवाका साक्षीहरूलाई भेटें र जिन्दगीभर यस्तै अनुभव गर्न चाहन्छु भनेर निर्णय गरें।” घर फर्केपछि तिनले बाइबल अध्ययन सुरु गरिन् र चार महिनापछि बप्तिस्मा अप्राप्त प्रकाशक बनिन्। “ढोकामा त्यो निम्तो पर्ची पाएकोमा म असाध्यै खुसी छु किनकि अब भने मेरो जीवनमा उद्देश्य छ।”
निम्तो पाएकाहरूमध्ये कोही-कोही उपस्थित हुनेछन्। त्यसैले यस महत्त्वपूर्ण अभियानमा जोडतोडका साथ भाग लिनुहोस्। बाँकी भएको निम्तो पर्ची अधिवेशन हुने सहरमा ल्याउनुहोस् र अनौपचारिक साक्षी दिन चलाउनुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
हामी कसरी निम्तो दिन सक्छौं?
इलाका ढाक्न निम्तो पर्ची दिंदा प्रस्तुति छोटो हुनुपर्छ। हामी यस्तै केही भन्न सक्छौं: “नमस्कार। हामी यो निम्तो संसारभरि नै बाँड्दै छौं। तपाईंलाई पनि निम्तो छ। थप जानकारी तपाईंले यस निम्तोमा पाउन सक्नुहुन्छ।” उत्साहित हुनुहोस्। सप्ताहन्तमा निम्तो पर्ची बाँड्दा उपयुक्त छ भने पत्रिका पनि दिन सकिन्छ।