सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू
१. प्रथम शताब्दीका ख्रीष्टियनहरूले कस्तो उदाहरण बसाले?
१ प्रथम शताब्दीका ख्रीष्टियनहरूले घर-घरमा मात्र प्रचार गरेनन्। तिनीहरूले जनसमक्ष पनि प्रचार गरे। (प्रेषि. २०:२०) उदाहरणको लागि तिनीहरू मन्दिरमा पनि प्रचार गर्न गए जहाँ धेरै मानिसहरू जम्मा हुन्थे। (प्रेषि. ५:४२) एथेन्समा हुँदा प्रेषित पावल हरेक दिन बजारमा ज-जसलाई भेटिन्छ उनीहरूलाई प्रचार गर्थे। (प्रेषि. १७:१७) आज हाम्रो सुसमाचार प्रचार गर्ने मुख्य तरिका भनेको घर-घरको प्रचारकार्य नै हो। तर हामी जहाँ-जहाँ मानिसहरू भेटिन्छन् त्यहाँ-त्यहाँ अर्थात् पार्किङ् गर्ने ठाउँमा, काम गर्ने ठाउँमा, पार्कहरूमा, व्यस्त सडकमा र अरू ठाउँहरूमा प्रचार गर्छौं। प्रत्येक प्रकाशकहरूलाई सार्वजनिक साक्षीकार्यमा सक्दो भाग लिन प्रोत्साहन दिइएको छ। तर अरू कोही-कोहीसित भने सार्वजनिक साक्षीकार्यको लागि गरिएको नयाँ प्रबन्धहरूमा भाग लिने सुअवसर छ।
२. नोभेम्बर २०११ मा कस्तो परीक्षण सुरु गरियो?
२ विशेष महानगरीय सार्वजनिक साक्षीकार्य: वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी) को पृष्ठ १६ अनि १७ मा बताइएझैं अमेरिकाको न्यु योर्क सहरमा नोभेम्बर २०११ मा सार्वजनिक साक्षीको एउटा नयाँ प्रबन्ध परीक्षणको लागि सुरु गरियो। थुप्रै मानिसहरूको आवतजावत हुने ठाउँमा टेबुल र ट्रलीमा विभिन्न भाषाका साहित्यहरू आकर्षक ढङ्गमा राखियो। यहोवाका साक्षीहरूलाई जान अनुमति नदिने अपार्टमेन्टका मानिसहरू र प्रायजसो घरमा नभेटिने मानिसहरू लगायत हजारौं मानिसहरू हरेक दिन त्यो बाटो भएर हिंडे। थुप्रै मानिसहरूले हाम्रो साहित्यमा चासो देखाए। एक महिनामा नै ३,७९७ पत्रिकाहरू र ७,९८६ किताबहरू वितरण गरियो। थुप्रै मानिसहरूले बाइबल अध्ययनको लागि अनुरोध पनि गरे। बाइबल अध्ययन सुरु गर्न जोड दिइएको थियो। त्यसैले चासो देखाउनेहरूले दिएका ठेगानाहरू तुरुन्तै सम्बन्धित मण्डलीहरूलाई पठाइयो। यसले गर्दा चासो देखाउनेहरूको घरमा नै साक्षीहरू जान सक्थे।
३. यस प्रबन्धलाई कसरी फैलाइएको छ?
३ यस प्रबन्धले गर्दा असल नतिजाहरू प्राप्त भयो। त्यसैले अहिले यो प्रबन्ध विश्वका त्यस्ता महानगरहरूमा फैलाइएको छ जहाँ धेरै मानिसहरू बसोबास गर्छन्। स्थानीय शाखा कार्यालयले कुन सहर उपयुक्त छ भनेर विचार गर्छ। प्रायः यस्ता सहरहरूमा धेरै सवारीसाधन ओहोरदोहोर हुने गर्छ वा थुप्रै काम गर्ने ठाउँहरू हुन्छन् अथवा अपार्टमेन्टहरू हुन्छन् जसले गर्दा यहाँ थुप्रै मान्छेहरूको आवतजावत हुन्छ। त्यसपछि शाखा कार्यालयले यस प्रबन्धमा भाग लिने मण्डलीहरूलाई पत्र पठाउँछ र थप निर्देशनहरू पनि दिन्छ। प्रायजसो नियमित र विशेष अग्रगामी सेवा गर्नेहरूलाई प्रयोग गरिन्छ तर कुनै-कुनै ठाउँमा सहायक अग्रगामी सेवा गर्नेहरूले पनि यस प्रबन्धमा भाग लिन सक्छन्।
४. विशेष महानगरीय सार्वजनिक साक्षीकार्य कसरी गरिंदैछ?
४ साक्षी कसरी दिइँदैछ? विशेष महानगरीय सार्वजनिक साक्षीकार्यमा भाग लिनेहरू टेबुल वा ट्रलीमा कोही मानिसहरू आओस् भनेर पर्खन्छन्। कोही आएमा तिनलाई चासो लाग्ने कुनै पनि साहित्य लिन आग्रह गरिन्छ। उक्त व्यक्तिको प्रश्नको जवाफ अग्रगामीहरूले बाइबलबाट दिन्छन्। त्यस व्यक्तिले साहित्य लिएमा अग्रगामीहरूले अनुदानको प्रबन्धबारे बताउनु जरुरी छैन। तर तिनले हाम्रो कामको लागि खर्च कसरी बेहोरिन्छ भनेर सोधेमा अग्रगामीहरूले साहित्यमा उल्लिखित ठेगानामा अनुदान पठाउन सकिन्छ भनेर बताउन सक्छन्। सकिन्छ भने अग्रगामीहरूले यस्तो प्रश्न सोध्न सक्छन्: “के तपाईंकहाँ कोही आएको चाहनुहुन्छ?” अथवा “यस प्रकाशनको साथै निश्शुल्क बाइबल अध्ययनको प्रबन्ध पनि छ भनेर के तपाईंलाई थाह छ?”
५. यस प्रबन्धमा भाग लिने एक दम्पतीले कस्ता आशिष् पाए?
५ यस प्रबन्धमा भाग लिनेहरूले आशिष् पाएका छन्। एक दम्पतीले यस्तो लेखे: “टेबुलसँगै उभिएर हामी हरेक दिन हजारौं मानिसहरू ओहोरदोहोर गरेको देख्छौं। यस्तो प्रबन्धले विश्वभरिका मानिसहरूलाई साक्षी दिन कत्ति ठूलो काम अहिले गरिंदैछ भन्ने महसुस हुन्छ। मानिसको भीडलाई देख्दा अनि यहोवा कसरी प्रत्येकको ख्याल राख्नुहुन्छ भन्ने कुरा विचार गर्दा प्रचारकार्यलाई आफ्नो जीवनको अभिन्न भाग बनाउने हाम्रो सङ्कल्प अझै बलियो भएको छ। टेबुलबाट भएर जाने मानिसहरूको मन यहोवा जाँच्दै हुनुहुन्छ अनि योग्य मानिसहरूलाई खोज्दै हुनुहुन्छ भनेर हामी कल्पना गर्छौं। हाम्रा सहकर्मी स्वर्गदूतहरूसित यत्ति नजिक भएर हामीले पहिला कहिल्यै काम गरेका थिएनौं।”
६. (क) थुप्रै मण्डलीहरूले सार्वजनिक साक्षी दिन कस्तो थप प्रबन्ध गरेको छ र यो कसरी विशेष महानगरीय सार्वजनिक साक्षीकार्यभन्दा फरक छ? (ख) सार्वजनिक साक्षीकार्य गर्दा मण्डलीहरूले आपसमा कसरी सहयोग गर्न सक्छन्?
६ स्थानीय तवरमा प्रबन्ध गरिएको सार्वजनिक साक्षीकार्य: विशेष महानगरीय सार्वजनिक साक्षीकार्यका साथै थुप्रै एल्डरहरूको निकायले आफ्नो स्थानीय इलाकामा अरू नयाँ प्रबन्धहरू मिलाउँदै छन्। यस प्रबन्धअन्तर्गत प्रकाशकहरूले आफ्नो मण्डलीको इलाकाभित्र धेरै मानिसहरू आवतजावत हुने ठाउँमा टेबुल वा ट्रलीमा साहित्यहरू राख्छन्। यो विशेष महानगरीय सार्वजनिक साक्षीकार्यभन्दा फरक छ, विशेष महानगरीय सार्वजनिक साक्षीकार्यमा शाखा कार्यालयले छानेको सहरमा थुप्रै मण्डलीबाट आएका सहभागीहरूले धेरै मानिसहरू आवतजावत हुने ठाउँमा प्रचार गर्छन्।—“आपसमा राम्रो सहयोगको खाँचो” शीर्षकको पेटी हेर्नुहोस्।
७. कस्ता ठाउँहरूमा साक्षीकार्य गर्नु उचित हुन्छ? एल्डरहरूले स्थानीय तवरमा कसरी सार्वजनिक साक्षीकार्यको प्रबन्ध मिलाउँछन्?
७ आफ्नो मण्डलीको इलाकामा धेरै मानिसहरूको आवतजावत हुने ठाउँ छ कि छैन भनेर एल्डरहरूले पक्का गर्छन्। त्यसपछि सार्वजनिक साक्षीकार्यको प्रबन्ध गर्नु व्यावहारिक छ कि छैन भनेर निर्णय गर्छन्। टेबुल अथवा ट्रलीमा साहित्यहरू राखेर देखाउन सकिने सम्भावित ठाउँहरूमा धेरै सवारीसाधन ओहोरदोहोर हुने ठाउँ, सार्वजनिक स्थल, पार्क, व्यस्त सडक, ठूलठूला बजार, क्याम्पस, विमानस्थल र मानिसहरू जम्मा हुने ठाउँहरू पर्छन्। एउटै ठाउँमा एकै दिनमा र एकै समयमा टेबुलहरू राख्नुको फाइदा छ। कुनै खास सामान किन्न मात्र भनेर मानिसहरू आउने ठूलो स्टोरमा टेबुल राख्नुभन्दा ठूलठूला बजारमा टेबुल राख्नु प्रभावकारी साबित भएको छ। कुनै-कुनै ठाउँहरू जस्तै व्यस्त सडकका पेटीहरूमा साना ट्रलीहरूमा साहित्यहरू राख्नु उपयुक्त हुन्छ। एल्डरहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका तथा बाइबलले सिकाउँछ किताबको पोस्टर बनाउनको लागि चाहिने फाइल हाम्रो वेबसाइटबाट डाउनलोड गर्न सक्छन्। यी फाइलहरू सार्वजनिक साक्षीकार्यको लागि भनेर नै तयार पारिएको हो। यस साक्षीकार्यमा भाग लिनेहरूले विशेष महानगरीय सार्वजनिक साक्षीकार्य जस्तै तरिकाले प्रचार गर्नुपर्छ र सेवा निरीक्षकको निर्देशन होसियारीपूर्वक पालन गर्नुपर्छ। आफ्नो इलाकामा नबस्ने कुनै चासो देखाएको मान्छेले ठेगाना दिएमा तिनीहरूले तुरुन्तै कृपया भेट्नुहोस् (S-43) फारम भर्नुपर्छ र सचिवलाई बुझाउनुपर्छ।
८. सार्वजनिक साक्षीकार्यको लागि मण्डलीमा कुनै व्यवस्थित प्रबन्ध छैन भने पनि सार्वजनिक तवरमा प्रचार गर्न सकिने कस्ता अवसरहरू छन्?
८ तपाईंको प्रचारकार्यमा सार्वजनिक साक्षी: कुनै-कुनै मण्डलीको इलाकामा टेबुल राख्न वा ट्रलीमा साहित्यहरू राख्न धेरै मानिसहरू आवतजावत हुने ठाउँ नहुन सक्छ। तर यस्ता मण्डलीहरूमा पनि प्रकाशकहरूलाई तिनीहरूको प्रचारकार्यमा सार्वजनिक साक्षीकार्यलाई समावेश गर्न सकिन्छ कि भनेर विचार गर्न प्रोत्साहन दिइएको छ। के तपाईंको इलाकामा किनमेल गर्ने ठाउँ, साना बजार वा व्यस्त स्टोर छ? पार्क वा मानिसहरू भेला हुने ठाउँ छ कि? के तपाईंको इलाकामा सार्वजनिक जमघटको लागि मानिसहरू भेला हुने ठाउँ छ? छन् भने तपाईंले सार्वजनिक साक्षीकार्यबाट आनन्द उठाउन सक्नुहुनेछ।
९. मानिसहरू भेटिने ठाउँमा प्रचार गर्न हामी किन सजग हुनुपर्छ?
९ यहोवा “सबै किसिमका मानिसहरूले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।” (१ तिमो. २:४) त्यसैले हामी अन्त आउनुअघि सकेसम्म धेरै मानिसहरूलाई राज्यसन्देश सुनाउने प्रयास गर्छौं। (मत्ती २४:१४) थुप्रै ठाउँमा मानिसहरूलाई घरमा भेट्टाउनु गाह्रो हुन्छ। तर हामी तिनीहरूलाई सार्वजनिक ठाउँहरूमा भेटेर कुरा गर्न सक्छौं। कुनै-कुनै मानिसहरूको लागि सुसमाचार सुन्ने एक मात्र तरिका सार्वजनिक साक्षीकार्य हुन सक्छ। त्यसैले जहाँ-जहाँ मानिसहरू भेटिन्छन् त्यहाँ-त्यहाँ प्रचार गरेर हामी सेवाको काम राम्ररी पूरा गरौं।—२ तिमो. ४:५.
[पृष्ठ ५-मा भएको पेटी]
आपसमा राम्रो सहयोगको खाँचो
नजिकैका मण्डलीका प्रकाशकहरूले एउटै सडकमा, एउटै पार्किङ् गर्ने ठाउँमा र काम गर्ने ठाउँहरूमा वा धेरै सवारीसाधन ओहोरदोहोर हुने ठाउँमा सार्वजनिक साक्षी गरिरहेका रिपोर्टहरू प्राप्त भएको छ। विभिन्न मण्डलीका प्रकाशकहरूले एउटै प्रतीक्षालयमा र काम गर्ने ठाउँहरूमा पत्रिकाहरू छोडेका छन्। यसले गर्दा प्रकाशकहरूले त्यस समयमा उक्त ठाउँमा प्रचार नगरे तापनि त्यहाँ काम गर्ने मानिसहरूलाई अनि छिमेकीहरूलाई कहिलेकाहीं दिक्क लाग्न सक्छ। त्यसैले सार्वजनिक साक्षीकार्य आफ्नै मण्डलीको इलाकामा गर्नु राम्रो हुन्छ।
नजिकैको मण्डलीको इलाकामा प्रकाशकहरू सार्वजनिक साक्षीकार्य गर्न चाहन्छन् भने तिनीहरूले आफ्नो सेवा निरीक्षकसित कुरा गर्नुपर्छ। त्यसपछि सेवा निरीक्षकले आफ्नो मण्डलीका प्रकाशकहरूले त्यहाँ साक्षी दिनुअघि नै अर्को मण्डलीको सेवा निरीक्षकसित सम्पर्क गरेर अनुमति माग्नुपर्छ। एउटै इलाकामा विभिन्न भाषाका मण्डलीहरूलाई प्रचार गर्न खटाइएको छ भने सेवा निरीक्षकहरूले एक-अर्कासित कुराकानी गर्नुपर्छ। यसो गर्दा इलाकाका मानिसहरूलाई बिनसित्ति दिक्क लाग्नेछैन। आपसमा राम्रो सहयोग गर्दा सबै कुरा “शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले” पूरा हुन सक्छ।—१ कोरि. १४:४०.
[पृष्ठ ६-मा भएको चित्र]
[पृष्ठ ६-मा भएको चित्र]