सार्वजनिक स्थलहरूमा प्रभावकारी साक्षी दिने
१. प्रथम शताब्दीका मसीहीहरूको अनुकरण गर्दै आज मसीहीहरूले सार्वजनिक स्थलहरूमा कसरी साक्षी दिइरहेका छन् र त्यसको कस्ता परिणामहरू प्राप्त भएका छन्?
१ येशूका प्रारम्भिक चेलाहरूले जस्तै आज मसीहीहरूले पनि मानिसहरू भेटिने सबै ठाउँमा सुसमाचार सुनाउने मौका छोप्छन्। (प्रेरि. १६:१३; १७:१७; २०:२०, २१) सार्वजनिक स्थलहरूमा साक्षी दिने त्यस्तो प्रयासले गर्दा उनीहरूले सम्भवतः घर-घरको सेवकाईमा कहिल्यै भेट्न नसकिने जिज्ञासु व्यक्तिहरू भेट्टाइरहेका छन्।
२. सार्वजनिक स्थलहरूमा साक्षी दिंदा विवेक चलाउनु किन आवश्यक छ र साक्षी दिने कामलाई व्यवस्थित गर्न हामी कसरी योगदान पुऱ्याउन सक्छौं?
२ सार्वजनिक स्थलहरूमा साक्षी दिंदा विवेक चलाउनु आवश्यक छ। साधारणतया, सबैको ध्यानाकर्षण नहुने किसिमले साक्षी दिनु बेस हुन्छ। उदाहरणका लागि, एउटै इलाका अथवा एउटै व्यापारिक इलाकामा भएभरका प्रकाशकहरू आएर साक्षी दिन थाले भने कतिपय मानिसहरू हाम्रो त्यति ठूलो हूल देखेर आत्तिन सक्छन्। यसो भयो भने हाम्रो काम मर्यादित ढङ्गमा हुन सक्दैन र हाम्रो प्रभावकारिता पनि घट्न सक्छ। यस्तो हुन नदिन के गर्न सकिन्छ? सार्वजनिक रूपमा साक्षी दिन सकिने थुप्रै क्षेत्रहरू भएका कुनै-कुनै मण्डलीले यस्ता क्षेत्रहरूलाई छुट्टाछुट्टै इलाकामा विभाजन गर्दा सजिलो भएको पाएका छन्। (१ कोरि. १४:४०) साथै, अर्को मण्डलीलाई मदत गर्न मण्डलीको सेवा समितिले छुट्टै प्रबन्धहरू नमिलाएसम्म मण्डलीलाई तोकिएको इलाकाभित्र मात्र काम गरेर हामी साक्षी दिने कामलाई व्यवस्थित गर्न योगदान पुऱ्याउन सक्छौं।—सन् १९९८, नोभेम्बर महिनाको हाम्रो राज्य सेवकाई, पृ. ६, अनु. १८-१९ हेर्नुहोस्।
३. सार्वजनिक स्थलहरूमा साक्षी दिने सन्दर्भमा कसै-कसैलाई कस्तो तरिका अपनाउनु प्रभावकारी लागेको छ?
३ मानिसहरूसित कुरा थाल्ने: इनारमा एउटी आइमाईसित कुरा गर्नुहुँदा येशूले सुरुमा धेरै कुरा गर्नुभएन र ती आइमाईले चासो देखाउन थालेपछि भने उहाँले कुराकानीलाई बिस्तारै तन्काउनुभयो। (यूह. ४:७-२६) आज पनि कुनै-कुनै अवस्थामा यस किसिमको तरिका अपनाउनु प्रभावकारी हुन्छ। कतिपय प्रकाशकलाई सार्वजनिक स्थलमा साक्षी दिने सन्दर्भमा अझ प्रभावकारी हुन मानिसहरूलाई अभिवादन गर्न केही मिनेट बिताउनु र राज्य सन्देश सुनाउनअघि उनीहरूमा व्यक्तिगत चासो देखाउनु मदतकारी लाग्छ। उनीहरू स्थानीय मानिसहरूलाई केमा चासो छ त्यसैबारे कुरा गर्छन्, जसले गर्दा कुराकानी गर्ने बाटो खुल्छ। अरूले आफ्नो मनका कुराहरू व्यक्त गर्दा उनीहरू ध्यान दिएर सुन्छन्। त्यसपछि उनीहरूले परमेश्वरको वचनबाट सान्त्वनादायी कुरा बताउँछन्।—रोमी १५:४.
४. हामी कसरी इच्छुक व्यक्तिहरूको चासो विकास गर्न सक्छौं?
४ चासो विकास गर्ने: रोचक छलफल भएपिच्छे हामीले चासो विकास गर्न प्रबन्धहरू मिलाउने कोसिस गर्नुपर्छ। हामी कसरी यसो गर्न सक्छौं? छलफल सिद्धिने बेलामा आफ्नो नोटबूक झिक्नुहोस् र यसो भन्नुहोस्: “तपाईंसित छलफल गर्न पाउँदा मलाई खुसी लाग्यो। अर्को समयमा हाम्रो यस कुराकानीलाई कायम राख्ने अरू कुनै उपाय छ कि?” अथवा यसो भन्नुहोस्: “तपाईं एउटा लेख पढ्नुहोस् भन्ने म चाहन्छु, जसले पक्कै तपाईंको चासो जगाउनेछ। म त्यो लेख तपाईंको घर अथवा अफिसमा ल्याइदिऊँ?” कतिपय प्रकाशकहरूले चाहिं यति मात्र भन्छन्: “तपाईंको टेलिफोन नम्बर पाउन सकिन्छ कि?” यसो गर्दा अक्सर सकारात्मक प्रतिक्रिया प्राप्त हुन्छ।
५. सार्वजनिक स्थलहरूमा साक्षी दिंदा हामीले कस्तो लक्ष्य राख्नुपर्छ?
५ सार्वजनिक स्थलहरूमा पहिलो चोटि भेट भएका थुप्रै व्यक्तिहरूले बाइबल अध्ययनको प्रस्ताव स्वीकारेका छन्। यस्ता अध्ययनहरू तिनै व्यक्तिको घरमा, काम गर्ने ठाउँमा, कुनै उपयुक्त सार्वजनिक स्थलमा अथवा टेलिफोनमार्फत सञ्चालन गर्न सकिन्छ। सार्वजनिक स्थलहरूमा प्रभावकारी साक्षी दिंदा हामी बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राख्न सकौं।