नयाँ डिजाइनमा तयार पारिएका पर्चाहरू
१. नयाँ डिजाइनमा तयार पारिएका सामग्री के-के हुन्?
१ सन् २०१३ को “परमेश्वरको वचन सत्य हो” विषयको जिल्ला अधिवेशनमा पाँचवटा नयाँ पर्चा विमोचन गरियो। साथै यी पर्चामा “के मरिसकेकाहरू फेरि बाँच्नेछन्?” विषय भएको राज्य समाचार न. ३८ पनि थपियो। यी छवटै पर्चा नयाँ डिजाइनमा तयार पारिएका छन्। यी पर्चा किन नयाँ डिजाइनमा तयार पारिए? यी पर्चामा भएका विशेषताहरूलाई हामी कसरी घरघरको प्रचारकार्यमा प्रयोग गर्न सक्छौं?
२. नयाँ डिजाइनका पर्चाहरूले के गर्न मदत गर्छ?
२ किन नयाँ डिजाइनमा तयार पारिए? प्रभावकारी प्रस्तुतिमा प्रायः यी चारवटा कदम हुन्छन्: (१) घरधनीको विचार बुझ्न प्रश्न सोध्ने। (२) बाइबल पद देखाउने। (३) साहित्य दिने। (४) अर्को चोटि छलफल गर्न प्रश्न छोड्ने र पुनःभेटको प्रबन्ध मिलाउने। नयाँ डिजाइनका पर्चाहरूले हामीलाई यी चारवटा कदम चाल्न मदत गर्छ।
३. प्रचारकार्यमा हामी यी पर्चा कसरी प्रयोग गर्न सक्छौं?
३ कसरी प्रयोग गर्न सकिन्छ? (१) अभिवादन गरेपछि पहिलो पृष्ठमा भएको प्रश्न र त्यसको तीनवटा जवाफ देखाउनुहोस्। त्यसपछि घरधनीको विचार सोध्नुहोस्। (२) पर्चा खोलेर “पवित्र शास्त्र के भन्छ?” भन्ने भाग छलफल गर्नुहोस्। परिस्थितिले दिन्छ भने त्यसमा दिइएको शास्त्रपद बाइबलबाटै पढ्नुहोस्। घरधनीसित समय छ भने “तपाईंको लागि यसको अर्थ?” भन्ने भाग छलफल गर्नुहोस्। (३) पर्चा दिनुहोस् र त्यसको बाँकी भाग फुर्सदमा पढ्न प्रोत्साहन दिनुहोस्। (४) अन्तमा, पर्चाको अन्तिम पृष्ठमा भएको “यसबारे सोच्नुहोस्” भन्ने भागमा दिइएको प्रश्न देखाउनुहोस् अनि त्यसबारे छलफल गर्न पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
४. नयाँ पर्चाहरू पुनःभेटमा कसरी प्रयोग गर्न सक्छौं?
४ नयाँ पर्चाबाट पुनःभेट गर्न पनि सजिलो छ। पहिलो भेटमा छोडेको प्रश्नको जवाफ पर्चाको अन्तिम पृष्ठमा दिइएका बाइबल पदहरूबाट दिनुहोस्। अन्तमा, पर्चामा दिइएको सुसमाचार पुस्तिकाको चित्र घरधनीलाई देखाउनुहोस्। अनि पर्चामा दिइएको पाठ उक्त पुस्तिकाबाट देखाउनुहोस्। त्यसपछि पुस्तिका घरधनीलाई दिनुहोस्। घरधनीले पुस्तिका स्वीकारे भने अर्को पटक सोही पुस्तिकाबाट छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्। बाइबल अध्ययन सुरु गर्न कति सजिलो! सुसमाचार पुस्तिकाको साटो अरू पर्चा पनि दिन सक्नुहुन्छ र त्यसबाट छलफल गर्न पुनःभेटको प्रबन्ध मिलाउन सक्नुहुन्छ।
५. पर्चाहरू कत्तिको महत्त्वपूर्ण छन्?
५ हामीले प्रचारकार्यमा पर्चा प्रयोग गर्दै आएको १३० वर्षभन्दा धेरै भइसक्यो। पर्चाहरूको साइज अनि डिजाइन फरक-फरक भए पनि साक्षी दिनको लागि ती एकदमै प्रभावकारी साबित भएका छन्। संसारभरि बाइबलको ज्ञान फैलाइरहन नयाँ डिजाइनमा तयार पारिएका यी पर्चाको सदुपयोग गरौं!—हितो. १५:७क.