सुसमाचार फैलाउन पर्चा प्रयोग गर्नुहोस्
१. यहोवाका सेवकहरूले कसरी पर्चा प्रयोग गर्दै आएका छन्?
१ सुसमाचार फैलाउन लामो समयदेखि यहोवाका सेवकहरूले बाइबलआधारित पर्चाहरू प्रयोग गर्दै आएका छन्। सन् १८८० देखि सी. टी. रसल र तिनका साथीहरूले बाइबल विद्यार्थीका पर्चाहरू (अङ्ग्रेजी) प्रकाशन गर्न थाले। यी पर्चाहरू सर्वसाधारणलाई वितरण गर्न भनेर वाच टावर पत्रिकाका पाठकहरूलाई बाँडियो। त्यतिबेला पर्चालाई एकदमै महत्त्व दिइन्थ्यो। त्यसैकारण सन् १८८४ मा सी. टी. रसलले राज्यसम्बन्धी सम्पूर्ण कुरालाई अघि बढाउने उद्देश्यले मुनाफारहित कानुनी सङ्गठन दर्ता गर्दा त्यस सङ्गठनको नाममा “ट्राक्ट” अर्थात् पर्चा भन्ने शब्द समावेश गरियो। त्यस सङ्गठनको नाम थियो—जायन्स् वाच टावर ट्राक्ट सोसाइटी। अहिले यसलाई वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया भनिन्छ। सन् १९१८ सम्ममा बाइबल विद्यार्थीहरूले ३० करोडभन्दा धेरै पर्चा वितरण गरिसकेका थिए। अहिले पनि पर्चा साक्षी दिन प्रयोग गरिने प्रभावकारी सामग्री हो।
२. पर्चा किन प्रभावकारी छ?
२ किन प्रभावकारी: पर्चाहरू रङ्गीन अनि आकर्षक हुन्छन्। पर्चामा दिइएको छोटो-मीठो सन्देश निकै रोचक अनि जानकारीमूलक हुन्छ। पत्रिका वा किताब पढ्न मन नपराउने घरधनीहरूको लागि पर्चा निकै प्रभावकारी हुन्छ। पर्चा प्रस्तुत गर्न एकदमै सजिलो भएकोले नयाँ प्रकाशक अनि केटाकेटीले पनि प्रयोग गर्न सक्छन्। साथै पर्चा सानो भएकोले बोक्न पनि सजिलो छ।
३. पर्चाको महत्त्व प्रकाश पार्ने व्यक्तिगत वा छापिएको अनुभव बताउनुहोस्।
३ पर्चामार्फत नै धेरैले सत्य सिक्ने मौका पाएका छन्। हाइटीका एक जना महिलाको उदाहरण विचार गर्नुहोस्। तिनले बाटोमा हाम्रो पर्चा भेट्टाइन्। पर्चा पढेपछि उत्साहित हुँदै तिनले यसो भनिन्, “मैले सत्य भेट्टाएँ!” पछि तिनी राज्यभवनमा गइन्, बाइबल अध्ययन सुरु गरिन् र बप्तिस्मा गरिन्। यस्तो राम्रो नतिजाको कारण हो—त्यस पर्चामा भएको परमेश्वरको वचनको शक्ति।
४. प्रस्तुत गरिने साहित्यको रूपमा पर्चा प्रयोग गर्दा हाम्रो लक्ष्य के हुनुपर्छ?
४ घरघरमा: पर्चा साक्षी दिने प्रभावकारी सामग्री भएकोले नोभेम्बर महिनाको सुरुदेखि यसलाई पनि प्रस्तुत गरिने साहित्यको रूपमा समय-समयमा प्रयोग गरिनेछ। हाम्रो लक्ष्य घरधनीलाई पर्चा दिनु मात्र होइन बरु तिनीसित कुराकानी थाल्न त्यसलाई प्रयोग गर्नु हो। घरधनीले पहिलो भेटमा वा पुनःभेटमा चासो देखाए भने बाइबलले सिकाउँछ किताब वा अन्य अध्ययन सामग्री प्रयोग गरेर बाइबल अध्ययन गर्ने तरिका देखाउन सकिन्छ। घरघरको प्रचारमा कसरी पर्चा प्रस्तुत गर्न सकिन्छ? हामीसित विभिन्न प्रकारका पर्चा छन्। त्यसैले पर्चा प्रस्तुत गर्नुअघि हामी आफैले राम्ररी पढ्नु आवश्यक छ।
५. घरघरको प्रचारकार्यमा कसरी पर्चा प्रस्तुत गर्न सकिन्छ?
५ हामीले इलाका अनि प्रयोग गर्ने पर्चाअनुसार प्रस्तुति छाँटकाँट गर्नुपर्छ। घरधनीलाई पर्चा दिएर हामी कुराकानी थाल्न सक्छौं। पर्चाको सुरुको आकर्षक पानाले घरधनीको चासो जगाउन सक्छ। विभिन्न विषयका पर्चा देखाएर तिनलाई कुन विषयमा बुझ्न मन लाग्छ, छान्न लगाउन पनि सकिन्छ। ढोका खोल्न हिचकिचाउने मानिसहरू भएको इलाकामा काम गर्दै छौं भने घरधनीलाई पर्चाको सुरुको पाना देखाउन सक्छौं। अथवा कुनै विषयमा घरधनीको राय बुझ्न ढोका मुनिबाट पर्चा छिराउन सकिन्छ कि भनेर तिनलाई सोध्न सक्छौं। यदि पर्चाको मूल विषय नै प्रश्नको रूपमा छ भने त्यही प्रश्न सोधेर घरधनीको विचार बुझ्न सक्छौं। अथवा घरधनीको चासो जगाउने अनि कुराकानी सुरु गर्न मदत मिल्ने प्रश्न बनाउन सक्छौं। त्यसपछि पर्चाको कुनै अंश पढ्न सक्छौं अनि पढ्ने क्रममा प्रश्नहरू भएको ठाउँमा रोकिंदै घरधनीलाई जवाफ दिन आग्रह गर्न सक्छौं। मुख्य शास्त्रपदहरू बाइबलबाटै पढ्न सकिन्छ। छलफल सिद्धिएपछि पुनःभेट गर्ने निश्चित प्रबन्ध मिलाउन सकिन्छ। घरमा कसैलाई भेट्न नसकेको अवस्थामा तपाईंको मण्डलीले साहित्य छोड्ने गरेको छ भने बाटोमा हिंड्नेहरूले नदेख्ने ठाउँमा पर्चा राखिदिन सक्नुहुन्छ।
६. सडक साक्षीमा कसरी पर्चा प्रयोग गर्न सकिन्छ?
६ सडक साक्षी: के तपाईंले सडक साक्षीमा पर्चा प्रयोग गर्नुभएको छ? कुनै-कुनै बटुवा हतारमा हुन्छन् अनि तिनीहरू हामीसित कुरा गर्न एकछिन पनि समय दिंदैनन्। त्यस्तो अवस्थामा तिनीहरू जिज्ञासु छन् कि छैनन् भनेर अनुमान लगाउन गाह्रो हुन्छ। त्यसकारण हामीले दिएको पत्रिका तिनीहरूले पढ्छन् कि पढ्दैनन्, थाह नहुने भएकोले नयाँ पत्रिका दिनुभन्दा कुनै पर्चा दिए कसो होला? पर्चाको सुरुको पाना आकर्षक अनि सन्देश पनि छोटो-मीठो हुने भएकोले मानिसहरू पर्चा पढ्न उत्सुक हुन सक्छन्। तर बटुवा हतारमा छैनन् भने तिनीहरूसित पर्चाबाट केही अंश छलफल गर्न सकिन्छ।
७. अनौपचारिक साक्षी दिंदा पर्चाको प्रयोग कसरी गर्न सकिन्छ, अनुभवहरू बताउनुहोस्।
७ अनौपचारिक साक्षी: पर्चा प्रयोग गरेर अनौपचारिक साक्षी दिन सजिलो छ। एक जना भाइ बाहिर जाँदा सधैं आफ्नो खल्तीमा केही पर्चा राख्ने गर्छन्। अनि पसले वा अरू कसैलाई भेट्दा तिनलाई पढ्नको लागि केही दिन सकिन्छ कि भनेर सोध्छन् अनि पर्चा दिन्छन्। एउटा दम्पतीले न्यु योर्क सहर घुमघाम गर्न जाँदा विभिन्न देशका मानिसहरूलाई भेट्न सकिने कुरा याद गरे। त्यसकारण उनीहरूले सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार (अङ्ग्रेजी) पुस्तिका अनि विभिन्न भाषाका केही पर्चा पनि लिएर गए। अनि उनीहरूले फुटपाथमा सामान बेचिरहेका मानिसहरूले अथवा पार्क वा रेस्टुराँमा आफू नजिकै बसेका मानिसहरूले विदेशी भाषा बोलेको सुन्दा तिनीहरूकै भाषाको पर्चा दिए।
८. पर्चा कुन अर्थमा बीउजस्तै हो?
८ ‘बीउ छर्नुहोस्’: पर्चालाई बीउसित तुलना गर्न सकिन्छ। किसानले प्रशस्त मात्रामा बीउ छर्छन् किनकि कुनचाहिं बीउ अंकुराउँछ भनेर तिनलाई थाह हुँदैन। उपदेशक ११:६ यसो भन्छ, “बिहान समयमानै बीउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड्, किनभने अहिले छरेको अथवा भरै छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन् होला भनी तँ जान्दैनस्।” त्यसकारण साक्षी दिने यो प्रभावकारी सामग्री प्रयोग गर्दै ‘ज्ञान फैलाइरहन’ सकौं।—हितो. १५:७.
[पृष्ठ ३-मा भएको चित्र]
पर्चा साक्षी दिने प्रभावकारी सामग्री भएकोले नोभेम्बर महिनाको सुरुदेखि यसलाई पनि प्रस्तुत गरिने साहित्यको रूपमा समय-समयमा प्रयोग गरिनेछ।