भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—नहूम
१. नहूमको किताबबाट हामी के सिक्न सक्छौं?
१ नहूमले भविष्यवाणी गरेझैं यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ र जत्तिसुकै खतरनाक शत्रु पनि उहाँको विरुद्धमा खडा रहन सक्दैन। पुरातन सहर निनवेको भग्नावशेषले यो कुरा प्रमाणित गर्छ। (नहू. १:२, ६) आउनुहोस्, नहूमको भविष्यवाणीलाई ध्यान दिएर केलाऔं र यसबाट हाम्रो प्रचारकार्यमा लागू गर्न सकिने कस्ता पाठहरू सिक्न सक्छौं, विचार गरौं।
२. हामी कसरी आफूले सुनाउने सन्देशमार्फत मानिसहरूलाई प्रोत्साहन दिन सक्छौं?
२ सान्त्वना र आशा दिनुहोस्: सरसर्ती हेर्दा नहूमको किताब पुरातन अश्शूरको राजधानी निनवेको विरुद्धमा सुनाइएको न्यायदण्ड मात्र हो जस्तो देखिन्छ। (नहू. १:१; ३:७) तर यो न्यायदण्डको घोषणा यहोवाका जनहरूका लागि भने खुसीको खबर थियो। नहूम नामको अर्थ “सान्त्वना दिने व्यक्ति” हो। तिनले सङ्गी यहूदीहरूलाई चाँडै तिनीहरूको शत्रुको विनाश हुनेछ भन्ने कुरामा ढुक्क बनाए। साथै यहोवा “संकष्टको दिनमा बलियो किल्ला” हुनुहुन्छ भनेर पनि सान्त्वना दिए। (नहू. १:७) प्रचारकार्यमा हामी पनि मानिसहरूलाई सुसमाचार सुनाउँछौं र यहोवामा शरण लिन प्रोत्साहन दिन्छौं।—नहू. १:१५.
३. प्रचारकार्यमा उदाहरण चलाउने सन्दर्भमा हामी कसरी नहूमको अनुकरण गर्न सक्छौं?
३ उदाहरण चलाउनुहोस्: यहोवा परमेश्वरले नहूमलाई निनवेको विनाशलाई थेबेस (नो-आमोन) भन्ने मिश्री सहरको विनाशसित तुलना गर्न लगाउनुभयो। थेबेस सहरलाई अश्शूरीहरूले नै ध्वस्त पारेका थिए। (नहू. ३:८-१०) यहोवा परमेश्वर आफूले गर्नुभएको भविष्यवाणीका स-साना अंशहरू पनि पूरा गर्नुहुन्छ भनेर बाइबलका थुप्रै भविष्यवाणीहरूले प्रमाणित गर्छन्। यस दुष्ट संसारको अन्तबारे मानिसहरूलाई बताउँदा हामी पनि त्यस्ता भविष्यवाणीहरूमा जोड दिन सक्छौं। उदाहरणको लागि, ईसापूर्व ६३२ मा बेबिलोनी र मादीहरू निनवे सहरलाई आक्रमण गर्न आउँदा ठूलो पानी परेकोले टाइग्रिस नदीमा बाढी आयो र बाढीले त्यस सहरको बलियो पर्खालको एउटा भाग भत्काइदियो। त्यसपछि यहोवा परमेश्वरले भविष्यवाणी गर्नुभएझैं निनवे सहरलाई तुरुन्तै कब्जामा लिइयो।—नहू. १:८; २:६.
४. हामी कसरी स्पष्ट र सजिलै बुझ्ने तरिकामा प्रचार गर्न सक्छौं?
४ स्पष्ट र सजिलै बुझ्ने तरिकामा बताउनुहोस्: नहूमले विस्तृत र जीवन्त ढङ्गमा किताब लेखे। तिनले भन्न खोजेको कुरा स्पष्ट थियो। (नहू. १:१४; ३:१) त्यसैगरि हामी पनि अरूले सजिलै बुझ्ने भाषाशैली प्रयोग गर्न चाहन्छौं। (१ कोरि. १४:९) पहिलो भेटमा आफू त्यहाँ आउनुको कारण घरधनीलाई स्पष्टै बताउनुहोस्। बाइबल अध्ययन सञ्चालन गर्नुहुँदा मानिसहरूलाई यहोवा परमेश्वर र उहाँको वचनमा विश्वास बढाउन मदत गर्नुहोस्। साथै बाइबलबाट सिकेको कुरा तिनलाई कसरी लागू हुन्छ भनेर बुझ्न मदत गर्नुहोस्।—रोमी १०:१४.
५. नहूमको भविष्यवाणीमा हामी कस्तो आश्वासन पाउँछौं?
५ यहोवाको वचन सधैं पूरा भएरै छाड्छ भन्ने कुरामा नहूम विश्वास गर्थे। तिनले आफ्नै नाममा लेखेको किताबमा तिनको यस्तो विश्वास झल्किन्छ। सैतानले अधीन गरेको यस संसारको अन्त नजिकिंदै जाँदा परमेश्वरले भन्नुभएको यो कुरामा हामी सान्त्वना पाउँछौं: “दुःख दोस्रो पटक आउँदैन।”—नहू. १:९, NRV.