प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्
सन् २०१४ को सेवा वर्षमा यहोवाका साक्षीहरूले १,९४,५४,८७,६०४ घण्टा प्रचारकार्यमा बिताएका थिए। यसले हामी यहोवाको सेवामा व्यस्त रहन चाहन्छौं भन्ने कुराको प्रमाण दिन्छ। (भज. ११०:३; १ कोरि. १५:५८) “समय थोरै मात्र बाँकी छ” भनेर हामीलाई थाह छ। त्यसैले हाम्रो अमूल्य समयको पूर्ण सदुपयोग गरेर के हामी अझ धेरै मानिसलाई सुसमाचार सुनाउन सक्छौं?—१को ७:२९.
प्रचारमा समयको पूर्ण सदुपयोग गर्ने हो भने हामी केही छाँटकाँट गर्न तयार हुनुपर्छ। उदाहरणका लागि, तपाईंले प्रचारमा एक-दुई घण्टा काम गर्दा पनि प्रायजसो मानिसहरू भेटिंदैनन्। यस्तो भएमा तपाईं अझ धेरै मानिससँग कुरा गर्न केही छाँटकाँट गर्न सक्नुहुन्छ कि? हुन त इलाकाअनुसार परिस्थिति फरक-फरक हुन सक्छ। हामी समयको सदुपयोग गर्दैनौं भने “जथाभावी हावामा मुक्का” हान्ने मानिस जस्तो भइरहेका हुन्छौं। त्यसैले समयको सदुपयोग गर्न निम्न सुझावहरू लागू गर्नुहोस्।—१ कोरि. ९:२६.
घरघरको प्रचार: वर्षौंदेखि हामी बिहानै घरघरको प्रचार गर्दै आएका छौं। तर धेरै मानिस काममा व्यस्त हुने भएकाले तिनीहरूलाई बिहान घरमा भेट्न गाह्रो हुन सक्छ। त्यसैले दिउँसो ३/४ बजेतिर वा साँझ ६/७ बजेतिर घरघरको प्रचार गर्नु राम्रो हुन सक्छ। यस्तो समयमा मानिसहरू त्यति धेरै व्यस्त हुँदैनन्। अनि दिउँसोको समय सदुपयोग गर्न सडक साक्षी वा व्यापारिक इलाकामा प्रचार गर्दा राम्रो नतिजा पाउन सकिन्छ।
सार्वजनिक साक्षी: सार्वजनिक साक्षी दिंदा साहित्यहरू राखेको टेबुल वा ट्रली धेरै मानिस आवतजावत गर्ने ठाउँमा राख्नुपर्छ। (हाम्रो राज्य सेवा, जुलाई २०१३, पृ. ५ हेर्नुहोस्।) सार्वजनिक साक्षीको लागि तोकिएको ठाउँमा मानिसहरू आवतजावत गर्ने सङ्ख्या कम हुँदै गएको छ भने टेबुल वा ट्रली अर्को ठाउँमा सार्ने निर्णय मण्डलीको सेवा समितिले गर्न सक्छन्।
पुनःभेट र बाइबल अध्ययन: घरघरको प्रचारकार्य वा प्रचारकार्यका अन्य पक्षहरू त्यति फलदायी नहुने समयमा तपाईं पुनःभेट वा बाइबल अध्ययनमा जान सक्नुहुन्छ कि? उदाहरणको लागि शनिबार बिहान घरघरको प्रचारमा मानिसहरू भेट्न सजिलो छ भने के तपाईं आफ्नो बाइबल अध्ययन दिउँसो वा साँझ मिलाउन सक्नुहुन्छ? पुनःभेट गर्दा प्रकाशकहरूले एउटै इलाकामा भएका पुनःभेटहरू गर्नु राम्रो हो। यसो गर्दा समय बच्छ अनि सेवाको काममा अझ धेरै भाग लिन सकिन्छ।
हुन त प्रचारको जुनसुकै पक्षमा भाग लिए तापनि हामीले प्रचार गरेको समय रेकर्ड गर्न सक्छौं। तर प्रचारकार्य फलदायी भयो भने हामी अझ आनन्दित हुन सक्छौं। कुनै खास समयमा प्रचारकार्यको एउटा पक्ष त्यति फलदायी नभएको महसुस गर्नुभयो भने प्रचारकार्यको अर्को पक्षमा भाग लिनुहोस्। प्रचारमा समयको पूर्ण सदुपयोग गर्न “फसलका मालिक” यहोवालाई डोऱ्याइको निम्ति प्रार्थना गर्नुहोस्।—मत्ती ९:३८.