अनुभवी प्रकाशकहरूबाट सिक्नुहोस्
मण्डलीका अनुभवी प्रकाशकहरूको हामी असाध्यै कदर गर्छौं। यिनीहरूमध्ये कतिपयले लामो समयदेखि वफादार भई यहोवाको सेवा गरिरहेका छन्। कतिपयले भने हालसालै प्रचार गर्ने सीप तिखारेका हुन सक्छन्। यस अन्तको दिनमा प्रचारकार्य र चेला बनाउने काम व्यापक रूपमा फैलाएर येशूले मण्डलीलाई कसरी डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरा यिनीहरूले देखेका छन्। (मत्ती २८:१९, २०) प्रचारकार्यमा भाग लिएकोले यिनीहरूले चुनौती र परीक्षाहरूको सामना गर्दा “असाधारण शक्ति” पाएका छन्। (२ कोरि. ४:७) हामी यी अनुभवी प्रकाशकहरूबाट थुप्रै कुरा सिक्न सक्छौं। यिनीहरू आफूले सिकेको कुरा अरूसित बाँड्न पाउँदा खुसी हुन्छन्। (भज. ७१:१८) त्यसैले हामीले यिनीहरूबाट सिक्ने मौका खोज्नुपर्छ। हामी कसरी यसो गर्न सक्छौं?
प्रचारकार्यमा। नयाँ अथवा त्यत्ति अनुभव नभएका प्रकाशकहरूलाई प्रचारकार्यमा प्रभावकारी हुन तालिम चाहिन्छ। अनुभवी प्रकाशकहरूले कसरी प्रचार गर्छन्, त्यो अवलोकन गरेर थुप्रै कुरा सिक्न सकिन्छ। (प्रहरीधरहरा, फेब्रुअरी १५, २०१५ को “जोडतोडले प्रचार गरिरहनुहोस्” भन्ने लेखको “नयाँ प्रकाशकहरूलाई मदत गर्नुहोस्” भन्ने उपशीर्षकको तेस्रो अनुच्छेद हेर्नुहोस्।) तपाईंले अनुभवी प्रकाशकहरूसँगै प्रचार गरेर कस्तो लाभ उठाउनुभएको छ?
तपाईं अनुभवी प्रकाशकलाई आफूसँगै प्रचारमा जान आग्रह गर्न सक्नुहुन्छ कि? यदि उनी अशक्त छन् भने कहिलेकाहीं तपाईंको बाइबल विद्यार्थीलाई उनकै घरमा लगेर बाइबल अध्ययन गर्न सक्नुहुन्छ। अध्ययन सिद्धिएपछि उनीसित सल्लाह-सुझाव माग्नुहोस्।
उनीहरूसित समय बिताउनुहोस्: अनुभवी प्रकाशकहरूसित समय बिताएर उनीहरूलाई राम्ररी चिन्नुहोस्। उनीहरूमध्ये कसैलाई आफ्नो पारिवारिक उपासनामा बोलाउनुहोस् अनि अन्तरवार्ता लिनुहोस्। उनी अशक्त छन् भने उनकै घरमा पारिवारिक उपासना गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्छ कि? उनले कसरी सच्चाइ सिके, सोध्नुहोस्। उनले यहोवाबाट के-कस्ता आशिष् पाएका छन्? स्थानीय तवरमा के-कस्तो उन्नति भएको देखेका छन्? यहोवाको सेवा गर्दा कसरी आनन्दित हुन सकेका छन्?
समझदार हुनुहोस्, उनीहरूबाट धेरै आस नगर्नुहोस्। हामीले जस्तै उनीहरूले पनि सेवाको काममा फरक-फरक वरदान पाएका छन्। (रोमी १२:६-८) कोही-कोही वृद्ध भइसकेकोले उनीहरूलाई हामीसित समय बिताउन गाह्रो हुन सक्छ। तैपनि उनीहरूले वफादार भई यहोवाको सेवा गरिरहेका छन्, त्यसैले उनीहरूबाट हामी थुप्रै कुरा सिक्न सक्छौं।