प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 सेप्टेम्बर pp. ८-१३
  • प्रचारकार्यमा लागिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यमा लागिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एकाग्र हुनुहोस्‌
  • धैर्य गर्नुहोस्‌
  • विश्‍वास बलियो बनाइराख्नुहोस्‌
  • प्रचारकार्यमा लागिरहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाउनुहोस्‌
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • धीरज—हाम्रो सेवाको एउटा चिनारी
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 सेप्टेम्बर pp. ८-१३

अध्ययन लेख ३७

प्रचारकार्यमा लागिरहनुहोस्‌

“बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह।”—उप. ११:६.

गीत ६८ राज्यको बिउ छरौँ!

परिचयa

१-२. उपदेशक ११:६ र राज्यको सुसमाचार प्रचार गर्ने कामबीच कस्तो सम्बन्ध छ?

केही देशका मानिसहरूले सुसमाचार सुन्दा असाध्यै राम्रो प्रतिक्रिया देखाउँछन्‌। वास्तवमा तिनीहरू यस्तै कुराको खोजीमा हुन्छन्‌! अरू कतिपय देशका मानिसहरू भने परमेश्‍वर वा बाइबलमा त्यत्ति चासो देखाउँदैनन्‌। तपाईँको इलाकाका प्रायजसो मानिसहरूले चाहिँ कस्तो प्रतिक्रिया देखाउँछन्‌? मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि यहोवाले पुग्यो नभन्‍नुभएसम्म हामी प्रचारकार्यमा लागिरहेको उहाँ आशा गर्नुहुन्छ।

२ यहोवाले तोक्नुभएको समयमा प्रचारकार्य बन्द हुनेछ र त्यसपछि “यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४, ३६) यहोवाले पुग्यो नभन्‍नुभएसम्म सुसमाचार प्रचार गर्ने काममा लागिरहन हामीले के गर्नुपर्छ?—उपदेशक ११:६ पढ्‌नुहोस्‌।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ अघिल्लो लेखमा “मानिसहरूको जलारी”-को रूपमा प्रभावकारी हुन हामीमा हुनुपर्ने चार वटा कुराबारे छलफल गरिएको थियो। (मत्ति ४:१९) यस लेखमा जस्तोसुकै परिस्थिति आए पनि प्रचार गरिरहने सङ्‌कल्पलाई बलियो बनाउन हामीले गर्नुपर्ने तीन वटा कुराबारे छलफल गर्नेछौँ। (१) एकाग्र हुनु, (२) धैर्य गर्नु र (३) विश्‍वास बलियो बनाइराख्नु किन महत्त्वपूर्ण छ भनेर बुझ्नेछौँ।

एकाग्र हुनुहोस्‌

४. यहोवाले दिनुभएको काममा हामी किन एकाग्र भई लाग्नुपर्छ?

४ येसुले अन्तको दिनलाई सङ्‌केत गर्ने र चेलाहरूलाई प्रचारकार्यमा लाग्नदेखि अलमल्याउन सक्ने घटनाहरू र परिस्थितिहरूबारे भविष्यवाणी गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई “जागा रहो” भन्‍नुभयो। (मत्ति २४:४२) नुहको समयका मानिसहरू विभिन्‍न कुरामा अलमलिएकोले नुहको चेतावनीमा ध्यान दिएनन्‌। आज हामीलाई पनि त्यस्तै कुराहरूले अलमल्याउन सक्छ। (मत्ति २४:३७-३९; २ पत्रु. २:५) त्यसैले यहोवाले दिनुभएको काममा हामी एकाग्र भई लाग्न चाहन्छौँ।

५. प्रेषित १:६-८ अनुसार प्रचारकार्य कत्तिको व्यापक हुने थियो?

५ आज हामी राज्यको सुसमाचार प्रचार गर्ने काममा एकाग्र भई लाग्नु अत्यन्तै महत्त्वपूर्ण छ। यो काम अझ व्यापक रूपमा गरिनेछ र आफ्नो मृत्युपछि पनि लामो समयसम्म चलिरहनेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो। (युह. १४:१२) येसुको मृत्युपछि उहाँका कोही-कोही चेला पहिलाकै माछा मार्ने व्यवसायमा फर्के। फेरि जीवित हुनुभएपछि येसुले केही चेलालाई चमत्कारपूर्ण ढङ्‌गमा थुप्रै माछा पक्रन मदत गर्नुभयो। त्यस मौकामा उहाँले मानिसहरूको जलारीको रूपमा चेलाहरूले पाएको जिम्मेवारी अरू कुनै पनि कामभन्दा महत्त्वपूर्ण छ भनेर जोड दिनुभयो। (युह. २१:१५-१७) स्वर्ग जानुअघि येसुले आफूले सुरु गरेको साक्षीकार्य इस्राएलमा मात्र सीमित रहनेछैन, बरु टाढा-टाढासम्म फैलिनेछ भनेर चेलाहरूलाई बताउनुभयो। (प्रेषित १:६-८ पढ्‌नुहोस्‌) यसको वर्षौँपछि येसुले प्रेषित युहन्‍नालाई एउटा दर्शनमार्फत “प्रभुको दिनमा”b के-कस्ता घटना हुनेछन्‌ भनेर देखाउनुभयो। दर्शनमा युहन्‍नाले यस्तो एउटा उदेकलाग्दो घटना पनि देखे: “सदासर्वदा रहने सुसमाचार” एक जना स्वर्गदूतको डोऱ्‍याइमा “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” घोषणा गरिँदै थियो। (प्रका. १:१०; १४:६) कुरा स्पष्ट छ, यहोवाले पुग्यो नभन्‍नुभएसम्म आज हामीले यो व्यापक साक्षीकार्यमा भाग लिएको उहाँ चाहनुहुन्छ।

६. हामी प्रचारकार्यमा कसरी एकाग्र भई लाग्न सक्छौँ?

६ हामीलाई प्रचारकार्यमा सघाउन यहोवाले कत्ति धेरै काम गरिरहनुभएको छ भनेर विचार गर्दा हामी यस काममा एकाग्र भई लाग्न सक्छौँ। उदाहरणको लागि, छापिएको र डिजिटल प्रकाशन, अडियो र भिडियो रेकर्डिङ र JW ब्रोडकास्टिङमार्फत उहाँले प्रशस्त मात्रामा आध्यात्मिक भोजन उपलब्ध गराइरहनुभएको छ। सोच्नुहोस्‌ त, हाम्रो आधिकारिक वेबसाइटमा १ हजारभन्दा धेरै भाषामा जानकारी उपलब्ध छ! (मत्ति २४:४५-४७) राजनैतिक, धार्मिक र आर्थिक कारणले विभाजित यस संसारमा परमेश्‍वरका ८० लाखभन्दा धेरै सेवक एकताबद्ध भई सेवा गरिरहेका छन्‌। जस्तै: सन्‌ २०१९, अप्रिल १९ शुक्रबारको दिन संसारभरका यहोवाका साक्षीहरूले दैनिक पद छलफल गरिएको एउटै कार्यक्रम हेरे। त्यही साँझ येसुको मृत्युको स्मरणार्थ मनाउन संसारभर २ करोड ९ लाख १९ हजार ४१ जना भेला भए। आधुनिक समयमा भइरहेको यस्तो चमत्कार आफ्नै आँखाले हेर्ने र यसको भाग बन्‍ने सुअवसर पाएको कुरामा मनन गर्दा हामी प्रचारकार्यमा एकाग्र भई लाग्न उत्प्रेरित हुन्छौँ।

पन्तियस पिलातस येसुलाई केरकार गर्दै छन्‌, जसलाई दुई जना रोमी सिपाहीले पहरा दिइरहेका छन्‌।

येसु सत्यको साक्षी दिनदेखि रोक्ने कुनै पनि कुरामा अलमलिनुभएन (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. येसुको उदाहरणले हामीलाई एकाग्र भई लाग्न कसरी मदत गर्छ?

७ प्रचारकार्यमा एकाग्र भई लाग्ने अर्को तरिका येसुको उदाहरण पछ्याउनु हो। उहाँ सत्यको साक्षी दिनदेखि रोक्ने कुनै पनि कुरामा अलमलिनुभएन। (युह. १८:३७) सैतानले “संसारका सबै राज्य र त्यसको महिमा” दिने प्रस्ताव राख्दा येसु त्यसको प्रलोभनमा पर्नुभएन। साथै मानिसहरूले उहाँलाई राजा बनाउन खोज्दा उहाँले राजा बन्‍न अस्वीकार गर्नुभयो। (मत्ति ४:८, ९; युह. ६:१५) उहाँ भौतिक कुराहरूको पछि लाग्नुभएन न त खेदो आउँदा डराउनु नै भयो। (लुका ९:५८; युह. ८:५९) प्रेषित पावलको सल्लाह मनमा राख्यौँ भने विश्‍वासको परीक्षा हुँदासमेत हामी प्रचारकार्यमा एकाग्र भई लाग्न सक्नेछौँ। ख्रिष्टियनहरूले ‘थाकेर हरेस नखाऊन्‌’ भनेर पावलले तिनीहरूलाई येसुको उदाहरण पछ्याउन आग्रह गरे।—हिब्रू १२:३.

धैर्य गर्नुहोस्‌

८. धैर्य गर्नु भनेको के हो र अहिले यसो गर्नु किन अत्यावश्‍यक छ?

८ धैर्य गर्नु भनेको परिस्थिति परिवर्तन नहोउन्जेल शान्त भई पर्खेर बस्नु हो। चाहे हामी नराम्रो परिस्थितिको अन्त हुने समय पर्खिरहेका हौँ अथवा लामो समयदेखि कुनै राम्रो कुराको प्रतीक्षा गरिरहेका हौँ, हामीमा धैर्य नभई हुँदैन। भविष्यवक्‍ता हबकुक यहुदा राष्ट्रमा व्याप्त हिंसा अन्त हुने समयको प्रतीक्षामा थिए। (हब. १:२) येसुका चेलाहरूले परमेश्‍वरको राज्य “तुरुन्तै प्रकट हुने” र रोमीहरूको दमनबाट छुटकारा पाउने आशा गरिरहेका थिए। (लुका १९:११) हामी पनि परमेश्‍वरको राज्यले दुष्टता हटाएको र धार्मिकताले भरिएको नयाँ संसार स्थापना गरेको हेर्न तीव्र इच्छा गर्दै छौँ। (२ पत्रु. ३:१३) त्यतिन्जेल हामीले धैर्य गर्नुपर्छ र यहोवाले तोक्नुभएको समय पर्खनुपर्छ। यहोवाले हामीलाई के-कस्ता तरिकामा धैर्य गर्न सिकाउनुभएको छ, अब विचार गरौँ।

९. यहोवा धैर्य गर्दै हुनुहुन्छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ?

९ धैर्य गर्ने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँले नुहलाई जहाज बनाउन र “धार्मिकताबारे प्रचार” गर्न पर्याप्त समय दिनुभयो। (२ पत्रु. २:५; १ पत्रु. ३:२०) अब्राहामले सदोम र गमोरा सहरका दुष्ट मानिसहरूलाई नाश गर्ने यहोवाको निर्णयबारे पटक-पटक प्रश्‍न गर्दा उहाँले तिनको कुरा ध्यान दिएर सुन्‍नुभयो। (उत्प. १८:२०-३३) अनि यहोवाले आफूप्रति वफादार नरहेको इस्राएल राष्ट्रलाई सयौँ वर्षसम्म धीरज देखाउनुभयो। (नहे. ९:३०, ३१) आज पनि यहोवाले धैर्य गर्दै हुनुहुन्छ; उहाँ जसलाई आफूतर्फ खिच्न चाहनुहुन्छ, तिनीहरूले “पश्‍चात्ताप गरून्‌” भनेर उहाँले समय दिइरहनुभएको छ। (२ पत्रु. ३:९; युह. ६:४४; १ तिमो. २:३, ४) यहोवाको उदाहरणलाई विचार गर्दा हामी पनि प्रचार गर्दा र सिकाउँदा मानिसहरूप्रति धैर्य गर्न उत्प्रेरित हुन्छौँ। उहाँले बाइबलमा चलाउनुभएको एउटा उदाहरणमार्फत पनि हामीलाई धैर्य गर्न सिकाउनुहुन्छ।

चित्रहरूको सङ्‌गालो: १. एक किसान घुँडा टेकेर बाली हेर्दै छन्‌; तिनीसित कोदालो पनि छ। २. एक भाइ र बहिनी ट्रली राखेर प्रचार गर्दै छन्‌। ती भाइ एक जना पुरुषलाई बाइबलको पद सुनाउँदै छन्‌।

परिश्रमी तर धीरजी किसानजस्तै हामी पनि परिश्रमको फल पर्खन्छौँ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)

१०. याकुब ५:७, ८ मा पाइने किसानको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१० याकुब ५:७, ८ पढ्‌नुहोस्‌। किसानको उदाहरणले हामी कसरी धैर्य गर्न सक्छौँ भनेर सिकाउँछ। किसानले बिउ छरेपछि कुनै-कुनै बोट छिटो-छिटो बढ्‌छ। तर फल फलाउने प्रायजसो बोट भने कटनीको लागि तयार हुन समय लाग्छ। इस्राएलमा बाली पाक्न छ महिनाजति लाग्थ्यो। किसानले शरद्‌ ऋतुको अघिल्लो वर्षापछि बिउ छर्थे अनि वसन्त ऋतुको पछिल्लो वर्षापछि कटनी गर्थे। (मर्कु. ४:२८) हामी पनि किसानले जस्तै धैर्य गरौँ। तर धैर्य गर्न सजिलो नहुन सक्छ।

११. प्रचारकार्यमा हामी किन धीरजी हुनुपर्छ?

११ त्रुटिपूर्ण मानिसहरू आफ्नो परिश्रमको फल तुरुन्तै प्राप्त गर्न चाहन्छन्‌। तर बाली सप्रेर फल फलाएको चाहन्छौँ भने हामीले त्यसको निरन्तर हेरचाह गर्नुपर्छ; खेत खन्‍नुपर्छ, बिउ छर्नुपर्छ, गोडमेल गर्नुपर्छ अनि पानी हाल्नुपर्छ। चेला बनाउने काममा पनि हामीले त्यसरी नै परिश्रम गर्नुपर्छ। बाइबल विद्यार्थीहरूको मनबाट झाररूपी पूर्वाग्रह र भावशून्यतालाई उखेलेर फ्याँक्न पक्कै समय लाग्छ। हामी धीरजी छौँ भने मानिसहरूले हाम्रो कुरा नसुने पनि हामी निराश हुँदैनौँ। तर मानिसहरूले राम्रो प्रतिक्रिया देखाए भने पनि हामी धीरजी हुनुपर्छ। हामी बाइबल विद्यार्थीलाई विश्‍वास बढाउँदै लैजान जबरजस्ती गर्न सक्दैनौँ। येसुका चेलाहरूलाई पनि उहाँले सिकाउनुभएका कुनै-कुनै कुरा पूर्णरूपमा बुझ्न समय लाग्यो। (युह. १४:९) यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: हामी रोप्न र पानी हाल्न सक्छौँ तर हुर्काउने त परमेश्‍वर नै हुनुहुन्छ।—१ कोरि. ३:६.

१२. बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूलाई साक्षी दिँदा हामी कसरी धैर्य गर्न सक्छौँ?

१२ हामीलाई धैर्य गर्न गाह्रो हुने एउटा क्षेत्र भनेको बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूलाई साक्षी दिँदा हो। उपदेशक ३:७ मा पाइने सिद्धान्तले हामीलाई मदत गर्न सक्छ। त्यहाँ यस्तो लेखिएको छ: “चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” त्यसैले हामी आफ्नो असल आचरणद्वारा तिनीहरूलाई विनावचन साक्षी दिन सक्छौँ। तर हामीले तिनीहरूलाई सत्यबारे बताउने मौका भने खोजिरहनुपर्छ। (१ पत्रु. ३:१, २) जोसका साथ प्रचार गर्दा र सिकाउँदा हामी सबैप्रति धीरजी हुनुपर्छ र त्यसमा परिवारका सदस्यहरू पनि पर्छन्‌।

१३-१४. धैर्य गर्ने सन्दर्भमा हामी कस्ता उदाहरणहरू अनुकरण गर्न सक्छौँ?

१३ बाइबलकालीन समयका र आधुनिक समयका परमेश्‍वरका वफादार सेवकहरूबाट हामी धैर्य गर्ने सन्दर्भमा पाठ सिक्न सक्छौँ। हबकुक दुष्टता अन्त भएको हेर्न चाहन्थे तर तिनले आफ्नो सङ्‌कल्पबारे यसो भने: “म आफ्नो चौकीमा उभिरहनेछु।” (हब. २:१) प्रेषित पावलले सेवाको काम “पूरा” गर्ने आफ्नो इच्छाबारे बताए। तर तिनले धैर्य गर्दै “सुसमाचारको विस्तृत साक्षी” पनि दिइरहे।—प्रेषि. २०:२४.

१४ गिलियड स्कुलबाट स्नातक गरेका एक दम्पतीलाई विचार गर्नुहोस्‌। त्यस दम्पतीलाई खटाइएको देशमा साक्षीहरू थोरै थिए र त्यहाँको प्रमुख धर्म ख्रिष्टियन धर्म थिएन। त्यहाँको धेरैजसो मानिस बाइबल अध्ययन गर्न चाहँदैनथे। अर्कोतर्फ, अरू देशमा सेवा गरिरहेका गिलियडका साथीहरूले भने थुप्रै बाइबल अध्ययन सञ्चालन गरिरहेको राम्रा अनुभवहरू सुनाउने गर्थे। आफ्नो इलाकामा छिटो-छिटो वृद्धि नभए तापनि यस दम्पतीले धैर्य गर्दै प्रचार गरिरहे। फलदायी जस्तो नदेखिने इलाकामा प्रचार गर्न थालेको आठ वर्षपछि आफ्नो एक जना बाइबल विद्यार्थीले बप्तिस्मा गरेको उनीहरूले देख्न पाए। पुरातन समयका र आधुनिक समयका यी उदाहरणहरूमा के समानता छ? परमेश्‍वरका ती वफादार सेवकहरूले कहिल्यै अल्छी गरेनन्‌; बरु प्रचारकार्यमा लागिरहे अनि यसरी धैर्य गरेकोमा यहोवाले तिनीहरूलाई इनाम दिनुभयो। हामी पनि “तिनीहरूको देखासिकी गर्नेहरू [होऔँ], जो विश्‍वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्‌।”—हिब्रू ६:१०-१२.

विश्‍वास बलियो बनाइराख्नुहोस्‌

१५. विश्‍वासले प्रचारकार्यमा लागिरहने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउने एउटा तरिका के हो?

१५ हामी आफूले प्रचार गर्ने सन्देशमा विश्‍वास गर्छौँ। त्यसैले हामी यो सन्देश सकेसम्म धेरै मानिसलाई सुनाउँछौँ। हामी परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरूमा भरोसा गर्छौँ। (भज. ११९:४२; यसै. ४०:८) अहिले बाइबल भविष्यवाणीहरू पूरा भइरहेको हामीले देखेका छौँ। साथै मानिसहरूले बाइबलको सल्लाह पालन गर्न थाल्दा यसले तिनीहरूको जीवनमा राम्रो प्रभाव पारेको पनि आफ्नै आँखाले देखेका छौँ। यस्तो प्रमाणले गर्दा राज्यको सुसमाचार सबैले सुन्‍नै पर्ने सन्देश हो भन्‍ने कुरामा हामी अझ विश्‍वस्त हुन सक्छौँ।

१६. भजन ४६:१-३ अनुसार यहोवा र येसुमाथिको विश्‍वासले प्रचार गर्ने हाम्रो सङ्‌कल्पलाई कसरी बलियो बनाउँछ?

१६ साथै हामी आफूले प्रचार गर्ने सन्देशको स्रोत यहोवामाथि र उहाँले आफ्नो राज्यको राजा नियुक्‍त गर्नुभएको येसुमाथि विश्‍वास गर्छौँ। (युह. १४:१) हामीले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि यहोवा सधैँ हाम्रो शरणस्थान र बल हुनुहुनेछ। (भजन ४६:१-३ पढ्‌नुहोस्‌) येसुले यहोवाबाट पाउनुभएको शक्‍ति र अधिकार चलाएर स्वर्गबाट प्रचारकार्यलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा पनि हामी विश्‍वस्त छौँ।—मत्ति २८:१८-२०.

१७. हामीले प्रचार गरिरहनुपर्ने महत्त्वलाई बुझाउने एउटा अनुभव बताउनुहोस्‌।

१७ हामीमा विश्‍वास छ भने यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुनेछ र कहिलेकाहीँ त हामीले आसै नगरेको तरिकामा आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन्छौँ। (उप. ११:६) उदाहरणको लागि, हरेक दिन हजारौँ मानिस हाम्रा प्रकाशनहरू भएको टेबुल वा ट्रली राखिएको बाटो भएर हिँडडुल गर्छन्‌। के यो तरिका प्रभावकारी साबित भएको छ? पक्कै पनि! नोभेम्बर २०१४ अङ्‌कको हाम्रो राज्य सेवा-मा विश्‍वविद्यालयमा पढ्‌ने एक जवान बहिनीबारे लेखिएको छ। तिनी यहोवाका साक्षीहरूको विषयमा एउटा निबन्ध लेख्न चाहन्थिन्‌। तिनले हाम्रो राज्यभवन त भेट्टाइनन्‌ तर आफ्नो कलेजको हातामा हाम्रा प्रकाशनहरू राखिएको टेबुल देखिन्‌। त्यहाँ तिनले आफ्नो निबन्धको लागि उपयुक्‍त हुने प्रकाशन पनि पाइन्‌। पछि ती बहिनी यहोवाको साक्षी भइन्‌ र अहिले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌। यस्ता अनुभवहरूले हामीलाई प्रचारकार्यमा लागिरहन उत्प्रेरित गर्छ किनकि यसले राज्यको सन्देश खोजिरहेका मानिसहरू अझै पनि छन्‌ भनेर देखाउँछ।

प्रचारकार्यमा लागिरहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाउनुहोस्‌

१८. राज्यको सुसमाचार प्रचार गर्ने काम यहोवाले तोक्नुभएको समयमै पूरा हुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

१८ राज्यको सुसमाचार प्रचार गर्ने काम यहोवाले तोक्नुभएको समयमै पूरा हुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ। नुहको समयबारे विचार गरौँ। यहोवा आफूले तोकेको समयमै काम पूरा गर्नुहुन्छ र यो उहाँले प्रमाणित गरिसक्नुभएको छ। यहोवाले जलप्रलय हुने समय लगभग १२० वर्षअघि नै तोकिसक्नुभएको थियो। त्यसको दशकौँपछि यहोवाले नुहलाई जहाज बनाउने जिम्मेवारी दिनुभयो। जलप्रलय सुरु हुनुभन्दा ४०/५० वर्षअघिदेखि नुह जहाज बनाउने काममा खटिए। मानिसहरूले राम्रो प्रतिक्रिया नदेखाए तापनि यहोवाले जनावरहरू जहाजभित्र ल्याउने आज्ञा नदिनुभएसम्म नुहले चेतावनीमूलक सन्देश प्रचार गरिरहे। अनि आफूले तोकेको समयमै यहोवाले “जहाजको ढोका थुनिदिनुभयो।”—उत्प. ६:३; ७:१, २, १६.

१९. प्रचारकार्यमा लागिरह्‍यौँ भने हामी कुन कुराको प्रतीक्षा गर्न सक्छौँ?

१९ अब चाँडै यहोवाले राज्यको सन्देश प्रचार गर्ने काम रोक्न आदेश दिनुहुनेछ। उहाँले सैतानको संसारलाई नाश गर्नुहुनेछ र धार्मिकताले भरिएको नयाँ संसार ल्याउनुहुनेछ। त्यतिन्जेल नुह, हबकुक र अरू व्यक्‍तिहरूको अनुकरण गरिरहौँ, जसले प्रचार गर्न बन्द गरेनन्‌। प्रचारकार्यमा एकाग्र भई लागिरहौँ, धैर्य गरौँ अनि यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको विश्‍वास बलियो बनाइरहौँ!

प्रचारकार्यमा लागिरहन हामीलाई निम्न कुराहरूले कसरी मदत गर्छ?

  • एकाग्र हुने

  • धैर्य गर्ने

  • विश्‍वास बलियो बनाइराख्ने

गीत ७५ “म हाजिर छु। मलाई पठाउनुहोस्‌”

a अघिल्लो लेखले प्रगतिशील बाइबल विद्यार्थीहरूलाई मानिसहरूको जलारी बन्‍न येसुले दिनुभएको निम्तो स्विकार्न प्रोत्साहन दिएको थियो। यस लेखमा चाहिँ नयाँ र पुराना सबै प्रकाशकले यहोवाले पुग्यो नभन्‍नुभएसम्म राज्यको सुसमाचार प्रचार गर्ने काममा लागिरहने आफ्नो सङ्‌कल्प कसरी बलियो बनाउन सक्छन्‌, तीन वटा तरिका छलफल गर्नेछौँ।

b “प्रभुको दिन” सन्‌ १९१४ मा येसु राजा हुनुहुँदा सुरु भयो र उहाँको हजार वर्षीय शासनको अन्तसम्म चलिरहनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने