प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जुलाई pp. २६-२९
  • यहोवाको सेवामा मेरो आनन्दित जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवामा मेरो आनन्दित जीवन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दक्षिण अफ्रिकाको यात्रा!
  • विवाह र नयाँ असाइनमेन्ट
  • हामी बेथेल फर्कियौँ
  • मैले फेरि छापाखानामा काम गरेँ
  • अर्को नयाँ असाइनमेन्ट!
  • शाखाको पत्र
    हाम्रो राज्य सेवकाई—२००६
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जुलाई pp. २६-२९
जोन र लोरा केकोट

जीवनी

यहोवाको सेवामा मेरो आनन्दित जीवन

जोन केकोटको वृत्तान्तमा आधारित

क्यानाडा बेथेलमा मैले पाएको पहिलो जिम्मेवारी भनेको छापाखाना भएको भवनको भुईँ बढार्ने थियो। मैले १९५८ देखि बेथेल सेवा थालेँ। त्यतिबेला म १८ वर्षको मात्र थिएँ। बेथेल सेवा गरेको केही वर्षपछि मैले छापेर आएका पत्रिकाहरूलाई मेसिनले मिलाएर काट्‌ने जिम्मेवारी पाएँ। बेथेल सेवा गर्न पाएकोमा म धेरै खुसी थिएँ।

त्यसपछिको वर्ष दक्षिण अफ्रिका शाखामा सेवा गर्न केही स्वयंसेवकहरूको आवश्‍यकता छ भनेर बेथेलमा घोषणा भयो। किनकि त्यहाँ नयाँ छपाइ मेसिन जडान गर्न लागिएको थियो। मैले पनि आफ्नो नाम लेखाएँ र नभन्दै निम्तो पनि पाएँ। क्यानाडाकै अरू तीन जना बेथेल सेवकले पनि निम्तो पाए। तिनीहरू डेनिस लिच, बिल म्याकलेलन र केन नर्डिन थिए। हामीलाई दक्षिण अफ्रिकामा लामो समयको लागि खटाइएको थियो।

मैले आमालाई फोन गरेर भने: “ममी, तपाईँलाई एउटा कुरा भन्‍नु छ। म दक्षिण अफ्रिका जाँदै छु।” मेरी आमा कम बोल्ने स्वभावको हुनुहुन्थ्यो तर उहाँको विश्‍वास र यहोवासितको सम्बन्ध निकै बलियो थियो। हुनत उहाँले खासै केही भन्‍नुभएन तर मेरो निर्णयमा उहाँ सहमत हुनुहुन्छ भन्‍ने कुरामा म पक्का थिएँ। मेरो आमाबुबा म उहाँहरूबाट धेरै टाढा जान लागेकोले दुःखी हुनुहुन्थ्यो तर उहाँहरूले मेरो निर्णयमा कहिल्यै हस्तक्षेप गर्नुभएन।

दक्षिण अफ्रिकाको यात्रा!

सन्‌ १९५९ मा डेनिस लिच, केन नर्डिन र बिल म्याकलेलनसँगै केप टाउनबाट जोहानेसबर्ग जान ट्रेनमा यात्रा गर्दै

सन्‌ २०१९ मा दक्षिण अफ्रिका शाखामा साठी वर्षपछि हामी चार जनाको फेरि भेट हुँदा

सुरुमा हामी ब्रुक्लिन बेथेल गयौँ र त्यहाँ हामी चार जनाले एउटा खास किसिमको छपाइ मेसिन चलाउने तीन महिने तालिम पायौँ। त्यसपछि हामी दक्षिण अफ्रिकाको केप टाउन जान एउटा मालवाहक जहाज चढ्यौँ। त्यतिबेला म २० वर्षको मात्र थिएँ। हामीले केप टाउनबाट साँझतिर ट्रेन चढेर जोहानेसबर्गसम्मको लामो यात्रा सुरु गऱ्‍यौँ। बिहान झिसमिसेमा हामी चढेको ट्रेन कारू भन्‍ने अर्धमरुभूमिको एउटा सानो सहरमा रोकियो। त्यहाँ उखुम गर्मी र जताततै धुवाँधुलो थियो। हामी चार जनाले झ्यालबाट चियाएर बाहिर हेऱ्‍यौँ। यस्तो ठाउँ त हामीले कहिल्यै देखेका थिएनौँ! हामीलाई यस्तो ठाउँमा कसरी बस्ने होला भनेर चिन्ता पो लाग्न थाल्यो। तर वर्षहरू बित्दै जाँदा त्यो ठाउँ र त्यहाँको रहनसहन नै रमाइलो लाग्न थाल्यो।

पहिलो वर्ष मैले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू छाप्नको लागि लाइनोटाइप मेसिनमा अक्षरहरू तयार पार्ने असाइनमेन्ट पाएँ। त्यो मेसिन चलाउन जटिल भए पनि निकै गजबको थियो। शाखा कार्यालयले दक्षिण अफ्रिकाको लागि मात्र नभई अफ्रिकाको अरू देशहरूमा बोलिने थुप्रै अफ्रिकी भाषाहरूमा पनि पत्रिकाहरू छाप्थ्यो। हामी जुन प्रिन्टिङ प्रेस चलाउनको लागि क्यानाडाबाट त्यति टाढा गएका थियौँ, त्यो मेसिनले यति धेरै काम गरेको देख्दा हामीलाई निकै खुसी लाग्यो।

पछि मैले साहित्यहरूको अनुवाद, छपाइ र ढुवानीसम्बन्धी विभिन्‍न कामहरूको रेखदेख गर्ने विभागमा सेवा गरेँ। त्यतिबेला म निकै व्यस्त थिएँ। तर मेरो जीवन सन्तोषजनक र अर्थपूर्ण तरिकामा बितिरहेको थियो।

विवाह र नयाँ असाइनमेन्ट

सन्‌ १९६८ मा लोरा र म विशेष अग्रगामी सेवामा छँदा

सन्‌ १९६८ मा मैले बेथेलनजिकै बस्ने एक जना अग्रगामी बहिनी लोरा बोएनसित विवाह गरेँ। तिनी अनुवाद विभागको लागि टाइपिङ गर्ने काम पनि गर्थिन्‌। त्यतिबेला विवाह गरेपछि बेथेलमै सेवा गर्ने प्रबन्ध थिएन। त्यसैले हामी दुई जनालाई विशेष अग्रगामीको रूपमा सेवा गर्न खटाइयो। दस वर्षसम्म बेथेल सेवा गर्दा मलाई खान र बस्नको लागि कुनै चिन्ता थिएन तर अब विशेष अग्रगामीलाई दिइने थोरै पकेट खर्चले कसरी गुजारा चलाउने होला भनेर चिन्ता लाग्न थाल्यो। त्यतिबेला प्रत्येक विशेष अग्रगामीले त्यतिबेलाको हिसाबमा प्रत्येक महिना ३५ अमेरिकी डलर (लगभग ४,००० नेपाली रुपैयाँ) पाउँथे तर त्यसको लागि तोकिएको घण्टा, पुनःभेट र साहित्य वितरणको सङ्‌ख्या पुऱ्‍याउनुपर्थ्यो। हामीले त्यही पैसाले घर भाडा, खाना र यातायातको खर्च धान्‍नुपर्थ्यो अनि औषधी उपचार र व्यक्‍तिगत खर्च पनि त्यही पैसाले बेहोर्नुपर्थ्यो।

हामीलाई हिन्द महासागरको डरबान सहरनजिकै एउटा सानो समूहमा खटाइयो। त्यहाँ भारतीयहरूको बाक्लो बस्ती थियो। तिनीहरूमध्ये धेरैजसोको पुर्खा १८७५ तिर चिनी कारखानामा काम गर्न दक्षिण अफ्रिका ल्याइएका कामदारहरू थिए। अहिले तिनीहरू विभिन्‍न पेसामा लागेको भए तापनि तिनीहरूले आफ्नो संस्कृतिलाई जोगाएर राखेका छन्‌ र तिनीहरू स्वादिष्ठ तरकारीहरूलगायत परम्परागत परिकारहरू बनाउने गर्छन्‌। तिनीहरूले अङ्‌ग्रेजी बुझ्ने भएकोले तिनीहरूलाई प्रचार गर्न हामीलाई धेरै सजिलो भयो।

विशेष अग्रगामीहरूले प्रचारमा हरेक महिना १५० घण्टा बिताउनुपर्थ्यो। त्यसैले लोरा र मैले अग्रगामी सेवाको पहिलो दिन नै छ घण्टा प्रचार गर्ने योजना बनायौँ। बाहिर उखुम गर्मी थियो। हामीसित पुनःभेट र बाइबल अध्ययन एउटा पनि थिएन। त्यसैले पूरै छ घण्टा घरघरको प्रचारमै बिताउनुपर्ने थियो। प्रचार सुरु गरेको केही समयपछि मैले घडी हेरेँ। बल्ल ४० मिनेट मात्र भएको रहेछ! यस्तो पाराले कसरी विशेष अग्रगामी गरिएला र जस्तो लाग्यो।

केही समयपछि हाम्रो राम्रो तालिका बन्यो। हामी हरेक दिन स्यान्डविच बनाउँथ्यौँ अनि थर्मसमा सुप वा कफी हालेर लैजान्थ्यौँ। हामी आफ्नो कारलाई रूखको छहारीमा पार्क गरेर आराम गर्ने गर्थ्यौँ। कहिलेकाहीँ हिस्सी परेका भारतीय नानीबाबुहरू हाम्रो वरिपरि उभिएर हामीलाई टुलुटुलु हेर्ने गर्थे। केही समयपछि हामीलाई अग्रगामी सेवा रमाइलो लाग्न थाल्यो। सुरुको दुई-तीन घण्टा प्रचारमा बिताएपछि दिन बितेको पत्तै हुँदैनथ्यो।

यस इलाकाका मानिसहरूलाई बाइबलको सत्य बाँड्‌न पाउँदा हामी धेरै खुसी थियौँ। भारतीय मानिसहरू अतिथिसत्कार गर्न मन पराउँछन्‌, अरूको आदर गर्छन्‌, मित्रैलो हुन्छन्‌ र परमेश्‍वरको डर मान्छन्‌। थुप्रै हिन्दूहरूले हाम्रो सन्देश स्विकारे। तिनीहरूलाई यहोवा, येसु, बाइबल, नयाँ संसार र मरिसकेका मानिसहरूको आशाबारे सिक्न मन पर्थ्यो। एक वर्षमै हाम्रो २० वटा बाइबल अध्ययन सुरु भए। हामी दिउँसोको खाना हामीसित बाइबल अध्ययन गरिरहेको कुनै न कुनै परिवारसँग खाने गर्थ्यौँ। विशेष अग्रगामी सेवा हामीलाई धेरै रमाइलो लागिरहेको थियो।

तर चाँडै नै हामीले अर्को असाइनमेन्ट पायौँ। हामीलाई हिन्द महासागरको तटमा भएका मण्डलीहरूमा क्षेत्रीय भ्रमण गर्न खटाइयो। भ्रमणको हप्ता हामी कुनै भाइबहिनीको घरमा बस्थ्यौँ र त्यस मण्डलीका प्रकाशकहरूसित सेवा गरेर उहाँहरूलाई प्रोत्साहन दिन्थ्यौँ। उहाँहरू हामीलाई परिवारजस्तै ठान्‍नुहुन्थ्यो। हामीलाई उहाँहरूका छोराछोरीसित र उहाँहरूले घरमा पाल्नुभएको जनावरहरूसित खेल्न रमाइलो लाग्थ्यो। यसरी नै दुई वर्ष बितेको पत्तै भएन। एक दिन अचानक हामीलाई शाखा कार्यालयबाट फोन आयो। “हामी तपाईँहरूलाई फेरि बेथेलमै बोलाउने विचार गर्दै छौँ” भन्‍ने खबर पायौँ। मैले यस्तो जवाफ दिएँ: “हामीलाई यही सेवा नै रमाइलो लागिरहेको छ।” तर हामी जस्तो असाइनमेन्ट पाए पनि स्विकार्न तयार थियौँ।

हामी बेथेल फर्कियौँ

बेथेल फर्किएपछि मैले सेवा विभागमा काम गर्न थालेँ। त्यहाँ मैले थुप्रै पाको र अनुभवी दाइहरूसँगै सेवा गर्ने सुअवसर पाएँ। त्यतिबेला भ्रमणपछि क्षेत्रीय निरीक्षकहरूले पठाएको रिपोर्टको जवाफस्वरूप शाखा कार्यालयले मण्डलीहरूलाई पत्र पठाउँथ्यो। ती पत्रहरूको उद्देश्‍य भाइबहिनीलाई प्रोत्साहन दिनु र आवश्‍यकताअनुसार निर्देशनहरू दिनु थियो। सेक्रेटरीहरूले क्षोसा, जुलू र अन्य भाषामा आएको क्षेत्रीय निरीक्षकहरूको रिपोर्टलाई अङ्‌ग्रेजीमा अनुवाद गर्न धेरै मेहनत गर्थे। त्यसपछि तिनीहरूले शाखा कार्यालयले तयार पारेका पत्रहरूलाई अङ्‌ग्रेजीबाट ती अफ्रिकी भाषाहरूमा अनुवाद गर्थे। ती मेहनती अनुवादकहरूप्रति म निकै आभारी छु। किनकि तिनीहरूले मलाई हाम्रा अफ्रिकी दाजुभाइ दिदीबहिनीले भोगिरहेका समस्याहरू बुझ्न पनि मदत दिए।

त्यतिबेला दक्षिण अफ्रिकामा रङ्‌गभेदी शासन थियो। त्यहाँ फरक-फरक जातका मानिसहरू फरक-फरक ठाउँमा बस्थे। विभिन्‍न जातका मानिसहरू आपसमा सरसङ्‌गत गर्दैनथे। काला जातका अफ्रिकी भाइबहिनीहरू आफ्नै भाषा बोल्थे, आफ्नै भाषामा प्रचार गर्थे र आफ्नै भाषाको मण्डलीमा जान्थे।

मलाई अङ्‌ग्रेजी भाषा बोलिने मण्डलीको इलाकामा खटाइएकोले मैले काला जातका भाइबहिनीसित सरसङ्‌गत गर्ने मौका पाइनँ। तर बेथेल फर्किएपछि मैले काला जातका भाइबहिनी अनि उहाँहरूको संस्कृति र रहनसहनबारे बुझ्ने मौका पाएँ। स्थानीय रीतिथिति र धार्मिक विश्‍वासअनुसार नचल्दा भाइबहिनीले भोग्नुपरेका चुनौतीहरूबारे पनि मैले थाह पाएँ। बाइबलसित मेल नखाने रीतिथितिबाट अलग हुन अनि तन्त्रमन्त्रमा भाग नलिएकोले परिवार र गाउँलेहरूबाट कठोर विरोध सहनुपर्दा तिनीहरूले ठूलो साहस देखाए। विकट इलाकामा बस्ने मानिसहरू धेरै गरिब थिए। त्यहाँका धेरैजसो मानिसलाई लेखपढ गर्न आउँदैनथ्यो तर तिनीहरू बाइबललाई आदर गर्थे।

मैले धार्मिक स्वतन्त्रता र तटस्थतासित सम्बन्धित केही कानुनी मुद्दाहरूमा काम गर्ने सुअवसर पनि पाएँ। धार्मिक प्रार्थनाहरूमा भाग लिन इन्कार गरेकोले स्कुलबाट निकालिएका साक्षी केटाकेटीहरूको वफादारी र साहस देखेर हाम्रो विश्‍वास बलियो भयो।

त्यतिबेला स्वाजिल्यान्ड भनेर चिनिने एउटा सानो अफ्रिकी देशका हाम्रा भाइबहिनीले अर्कै किसिमको चुनौतीको सामना गरे। त्यहाँको राजा सोबुजा द्वितीयको मृत्यु हुँदा सबै नागरिकहरूलाई एउटा धार्मिक रीतिमा भाग लिन भनियो। पुरुषहरूले आफ्नो कपाल खौरनुपर्थ्यो अनि स्त्रीहरूले पनि कपाल छोटो पारेर काट्‌नुपर्थ्यो। पितृपूजासित सम्बन्धित यस्तो रीतिथितिमा भाग लिन इन्कार गरेकोले हाम्रा थुप्रै भाइबहिनीले खेदो सहनुपऱ्‍यो। यहोवाप्रतिको तिनीहरूको वफादारी देखेर हामीलाई धेरै खुसी लाग्यो। हाम्रा ती अफ्रिकी भाइबहिनीबाट हामीले विश्‍वास, वफादारी र सहनशीलता देखाउने सन्दर्भमा धेरै कुरा सिक्यौँ र हाम्रो आफ्नै विश्‍वास पनि बलियो भयो।

मैले फेरि छापाखानामा काम गरेँ

सन्‌ १९८१ देखि मैले फेरि छापाखानामा काम गर्न थालेँ र कम्प्युटर प्रविधि चलाएर साहित्यहरू छाप्ने काममा मदत दिएँ। त्यो साँच्चै उत्साहजनक समय थियो! छपाइको क्षेत्रमा नयाँ-नयाँ प्रविधिहरूको प्रयोग हुँदै थियो। एक जना स्थानीय व्यापारीले हाम्रो शाखालाई फोटोटाइपसेटर भनिने नयाँ छपाइ मेसिन सित्तैँमा चलाउन दिए। हामीले नौ वटा लाइनोटाइप मेसिन हटाएर पाँच वटा नयाँ फोटोटाइपसेटर ल्यायौँ। हामीले अफसेट प्रेस पनि जडान गऱ्‍यौँ। यसले गर्दा छपाइको काम द्रुत गतिले अघि बढ्‌न थाल्यो।

कम्प्युटर प्रविधिको क्षेत्रमा भएको प्रगतिले गर्दा मेप्स चलाएर पानामा अक्षरहरू चिटिक्क मिलाएर राख्न पनि सम्भव भयो। हामी चार जना क्यानाडा बेथेलबाट दक्षिण अफ्रिका शाखामा सर्दा लाइनोटाइप मेसिन र हट-लिड प्रेस चलाएर छपाइको काम गर्थ्यौँ। तर त्यसमा काम गर्न निकै झन्झटिलो थियो र समय पनि धेरै खान्थ्यो। तर समयको दौडान प्रविधिको क्षेत्रमा निकै उन्‍नति भयो। (यसै. ६०:१७) यहाँसम्म आइपुग्दा हामी चारै जनाले आध्यात्मिक रूपमा बलियो र असल अग्रगामी बहिनीहरूसित विवाह गरिसकेका थियौँ। बिल र म अझै पनि बेथेलमै थियौँ। केन र डेनिसको चाहिँ छोराछोरी भइसकेका थिए र तिनीहरू बेथेलनजिकै बस्थे।

शाखा कार्यालयमा कामको चापाचाप थियो। बाइबल साहित्यहरू थुप्रै भाषामा अनुवाद गरिन्थ्यो र छापिन्थ्यो अनि ती साहित्यहरू अरू शाखाहरूमा ढुवानी गरिन्थ्यो। यसले गर्दा नयाँ बेथेल भवनको आवश्‍यकता पऱ्‍यो। भाइहरूले जोहानेसबर्गबाट पश्‍चिमतिर पर्ने एउटा सुन्दर ठाउँमा बेथेल भवन निर्माण गरे अनि त्यसलाई १९८७ मा समर्पण गरियो। यस्तो वृद्धिमा आफूले पनि योगदान दिन पाउनु अनि थुप्रै वर्ष दक्षिण अफ्रिकामा शाखा समिति सदस्यको रूपमा सेवा गर्न पाउनु मेरो लागि खुसीको कुरा थियो।

अर्को नयाँ असाइनमेन्ट!

सन्‌ २००१ मा मलाई भर्खरै स्थापना भएको अमेरिका शाखा समितिमा सेवा गर्न निम्तो दिइयो। यो निम्तो पाउँदा हामी त छक्कै पऱ्‍यौँ! दक्षिण अफ्रिकाको सेवा र त्यहाँका साथीहरू छोडेर जानुपर्ने कुरा सोच्दा दुःख त लागिरहेको थियो तर अमेरिका बेथेल परिवारको सदस्यको रूपमा नयाँ जीवन सुरु गर्न हामी उत्साहित पनि थियौँ।

तर लोराको आमा वृद्ध भइसक्नुभएकोले उहाँलाई छोडेर टाढा जानुपर्दा हामीलाई चिन्ता लागिरहेको थियो। न्यु योर्कबाट हामीले उहाँको लागि गर्न सक्ने कुरा खासै थिएन तर लोराको तीन जना बहिनीहरू आमाको हेरविचार गर्न तयार भए। तिनीहरूले यसो भने: “हामी पूर्ण-समय सेवा गर्न त सक्दैनौँ तर ममीको हेरविचार गरेर तपाईँहरूको असाइनमेन्टमा सघाउन भने पक्कै सक्छौँ।” यसको लागि हामी तिनीहरूप्रति मनैदेखि कृतज्ञ छौँ।

अर्कोतर्फ मेरी वृद्ध आमालाई चाहिँ क्यानाडाको टोरोन्टोमा हुनुभएको मेरो दाइ र भाउजूले हेरविचार गरिरहनुभएको थियो। त्यतिबेला मेरी आमा दाइ-भाउजूसँग बस्न थाल्नुभएको २० वर्षभन्दा लामो समय भइसकेको थियो। हामी न्यु योर्क आएको केही समयपछि आमा बित्नुभयो। दाइ-भाउजूले यति लामो समयसम्म उहाँको मायालु हेरविचार गर्नुभएकोमा हामी उहाँहरूप्रति आभारी छौँ। वृद्ध आमाबुबाको हेरविचार गर्नु पक्कै पनि सजिलो काम होइन। तैपनि यसो गर्न आफ्नो जीवनमा छाँटकाँट गर्ने परिवारका सदस्यहरू पाउनु साँच्चै आशिष्‌को कुरा हो।

अमेरिका शाखामा मैले केही समय छापाखानामा काम गरेँ, जुन काम पहिलाभन्दा झन्‌झनै आधुनिक र सरल हुँदै गइरहेको छ। अहिले म किनमेल विभागमा सेवा गर्दै छु। विगत २० वर्षदेखि यो ठूलो शाखामा सेवा गर्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। अहिले यस शाखामा लगभग ५,००० जना बेथेल सेवक छन्‌ र २,००० जना त घरबाटै आवत्‌जावत्‌ गर्ने स्वयंसेवकहरू छन्‌।

साठी वर्षअघि मेरो जीवन यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। लोराले मलाई यति लामो समयदेखि राजीखुसीले साथ दिँदै आएकी छिन्‌। म आफ्नो जीवनदेखि सन्तुष्ट छु। हामी आफूले पाएको विभिन्‍न असाइनमेन्टहरूको अनि हामीले सँगै सेवा गरेको र शाखा भ्रमणहरूको दौडान हामीले भेटेका भाइबहिनीहरूको मनैदेखि कदर गर्छौँ। अहिले म ८० वर्ष नाघिसकेकोले शाखाले मेरो काम घटाइदिएको छ किनकि अहिले बेथेलमा ती जिम्मेवारीहरू सम्हाल्न सक्ने थुप्रै योग्य र जवान भाइहरू छन्‌।

एक जना भजनरचयिताले यस्तो लेखे: “आनन्दित हो त्यो जाति, जसको परमेश्‍वर यहोवा हुनुहुन्छ।” (भज. ३३:१२) यो कुरा सोह्रै आना सही हो! यहोवाका आनन्दित मानिसहरूसँगै रमाई-रमाई उहाँको सेवा गर्न पाएकोमा म धेरै कृतज्ञ छु।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने