प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अक्टोबर pp. ८-१३
  • हामी “कृपाका धनी” परमेश्‍वरको सेवा गर्छौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी “कृपाका धनी” परमेश्‍वरको सेवा गर्छौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा किन कृपा देखाउनुहुन्छ?
  • के कसैलाई बहिष्कार गर्नु पनि कृपा देखाउनु हो?
  • कृपा देखाउन हामी सबैलाई केले मदत गर्छ?
  • “तिमीहरूका पिता कृपालु हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • कृपा देखाउने—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • कृपालुहरू आनन्दित!
    यहोवाको स्तुतिगान गाऔं
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अक्टोबर pp. ८-१३

अध्ययन लेख ४१

हामी “कृपाका धनी” परमेश्‍वरको सेवा गर्छौँ

“यहोवा सबैको भलाइ गर्नुहुन्छ अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।”—भज. १४५:९.

गीत ४४ दुःखी मानिसको प्रार्थना

परिचयa

१. कृपालु व्यक्‍तिबारे सोच्दा हाम्रो मनमा कस्तो चित्र आउन सक्छ?

कृपालु व्यक्‍तिबारे सोच्दा हाम्रो मनमा दयालु, मायालु, करुणाले भरिएको र उदार व्यक्‍तिको चित्र आउँछ होला। अथवा हामी येसुले बताउनुभएको दयालु सामरियालीको कथा सम्झन्छौँ होला। ऊ अर्कै जातिको भए तापनि उसले डाँकुहरूको सिकार भएको एक जना यहुदीलाई “कृपालु व्यवहार गऱ्‍यो।” घाइते यहुदीलाई देखेर त्यो सामरियाली “टिठायो” र उसको स्याहारसुसार गर्ने प्रबन्ध मिलायो। (लुका १०:२९-३७) यस उदाहरणले हाम्रा परमेश्‍वरको एउटा सुन्दर गुणमा जोड दिन्छ र त्यो हो, कृपा। यो गुण परमेश्‍वरको प्रेमको एउटा पक्ष हो र उहाँ हामीलाई हरेक दिन विभिन्‍न तरिकामा कृपा देखाउनुहुन्छ।

२. कृपाको अर्को पक्ष के हो?

२ कृपाको अर्को पक्ष पनि छ। कृपालु व्यक्‍तिले कुनै आधार भए पनि कसैलाई सजाय नदिने निर्णय गर्न सक्छ। यस अर्थमा यहोवाले हामीलाई साँच्चै कृपा देखाउनुभएको छ भन्‍न सक्छौँ। भजनरचयिताले बताएझैँ “उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन।” (भज. १०३:१०) तर कुनै-कुनै अवस्थामा भने यहोवाले पाप गर्ने व्यक्‍तिलाई कडा अनुशासन दिने निर्णय गर्न सक्नुहुन्छ।

३. हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

३ यस लेखमा हामी यी तीन वटा प्रश्‍नको जवाफ पाउनेछौँ: यहोवा किन कृपा देखाउनुहुन्छ? कडा अनुशासन र कृपाबीच कस्तो सम्बन्ध छ? अनि अरूलाई कृपा देखाउन हामीलाई केले मदत गर्न सक्छ? परमेश्‍वरको वचनले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ, अब विचार गरौँ।

यहोवा किन कृपा देखाउनुहुन्छ?

४. यहोवा किन कृपा देखाउनुहुन्छ?

४ यहोवा कृपा देखाउन इच्छुक हुनुहुन्छ। प्रेषित पावलले परमेश्‍वर “कृपाका धनी” हुनुहुन्छ भनेर लेखे। तिनले यस प्रसङ्‌गमा परमेश्‍वरले आफ्ना त्रुटिपूर्ण अभिषिक्‍त सेवकहरूलाई स्वर्गीय आशा दिएर कृपा देखाउनुभएको विषयमा बताउँदै थिए। (एफि. २:४-७) तर के यहोवा आफ्ना अभिषिक्‍त सेवकहरूलाई मात्र कृपा देखाउनुहुन्छ? भजनरचयिता दाउदले यस्तो लेखे: “यहोवा सबैको भलाइ गर्नुहुन्छ अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।” (भज. १४५:९) यहोवा मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले कसैलाई कृपा देखाउन सकिने कुनै आधार छ भने उहाँ कृपा देखाउन कन्जुस्याइँ गर्नुहुन्‍न।

५. येसुले यहोवा कृपालु हुनुहुन्छ भनेर कसरी थाह पाउनुभयो?

५ यहोवा कृपा देखाउन कत्ति धेरै इच्छुक हुनुहुन्छ भन्‍ने कुरा येसुलाई सबैभन्दा राम्ररी थाह छ। मानव इतिहासको हजारौँ-हजार वर्षको दौडान यहोवा र उहाँको छोरा येसु स्वर्गमा सँगै हुनुहुन्थ्यो। (हितो. ८:३०, ३१) आफ्नो बुबाले पापी मानिसहरूलाई कृपा देखाउनुभएको येसुले थुप्रै चोटि देख्नुभएको थियो। (भज. ७८:३७-४२) पछि पृथ्वीमा आएर मानिसहरूलाई सिकाउनुहुँदा येसुले आफ्नो बुबाको यो सुन्दर गुणमा अक्सर जोड दिनुभयो।

बुबाले हराएको छोरालाई तुच्छ व्यवहार गरेन; बरु उसलाई घरमा स्वागत गऱ्‍यो (अनुच्छेद ६ हेर्नुहोस्‌)c

६. येसुले आफ्नो बुबा कृपालु हुनुहुन्छ भनेर कसरी बुझाउनुभयो?

६ अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवा कृपा देखाउन कत्ति इच्छुक हुनुहुन्छ भनेर बुझाउन येसुले हराएको छोराको मनै छुने उदाहरण बताउनुभयो। त्यो केटो घर छोडेर गयो अनि “भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो।” (लुका १५:१३) पछि उसले आफ्नो खराब कामको लागि पश्‍चात्ताप गऱ्‍यो, आफैलाई नम्र तुल्यायो र घर फर्कियो। उसको बुबाले कस्तो प्रतिक्रिया देखायो? त्यो केटोले आफ्नो बुबाको अनुमोदन पाउन लामो समय पर्खनुपरेन। येसुले यसो भन्‍नुभयो: “बुबाले टाढैबाट [छोरा] आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्‌गालो हाल्यो र चुम्बन गऱ्‍यो।” त्यो बुबाले आफ्नो छोरालाई तुच्छ व्यवहार गरेन; बरु कृपालु हुँदै उसलाई क्षमा दियो र उसलाई आफ्नो परिवारमा फेरि स्वागत गऱ्‍यो। त्यो केटोले गम्भीर पाप गरेको थियो तर उसले पश्‍चात्ताप गरेकोले बुबाले उसलाई क्षमा दियो। यस उदाहरणको कृपालु बुबाले यहोवालाई चित्रण गर्छ। यस्तो मनै छुने उदाहरणद्वारा येसुले आफ्नो बुबा साँचो पश्‍चात्ताप गर्ने पापीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर देखाउनुभयो।—लुका १५:१७-२४.

७. यहोवाले कृपा देखाउनुहुने तरिकामा उहाँको बुद्धि कसरी झल्किन्छ?

७ यहोवाको अतुलनीय बुद्धिले उहाँलाई कृपा देखाउन उत्प्रेरित गर्छ। यहोवाको बुद्धि केवल भावनारहित र बौद्धिक गुण मात्र होइन। बरु बाइबलले “माथिबाट आउने बुद्धि . . . कृपा र असल फलहरूले भरिपूर्ण” हुन्छ भनेर बताउँछ। (याकु. ३:१७) मायालु आमाबुबालाई जस्तै यहोवालाई पनि आफ्ना छोराछोरीले आफ्नो कृपाबाट लाभ उठाउन सक्छन्‌ भनेर थाह छ। (भज. १०३:१३; यसै. ४९:१५) तिनीहरू त्रुटिपूर्ण भए पनि यहोवाको कृपाले गर्दा भविष्यको आशा पाएका छन्‌। यहोवा धेरै बुद्धिमान्‌ हुनुभएकोले कसैलाई कृपा देखाउन सकिने कुनै आधार छ भने उहाँ सधैँ कृपा देखाउनुहुन्छ। अर्कोतर्फ उहाँ कृपा देखाउने सन्दर्भमा सन्तुलित पनि हुनुहुन्छ। यहोवा बुद्धिमान्‌ हुनुभएकोले गलत काम गर्ने जो-कोहीलाई पनि आँखा चिम्लेर कृपा देखाउनुहुन्‍न।

८. कहिलेकाहीँ कस्तो कदम चाल्नुपर्ने हुन्छ र किन?

८ परमेश्‍वरको कुनै सेवकले जानाजानी अनैतिक जीवन बिताइरहेको थाह पायौँ भने हामीले के गर्नुपर्छ? पावलले परमेश्‍वरको प्रेरणा पाएर “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू” भनेर लेखे। (१ कोरि. ५:११) गलत काम गरेर पनि पश्‍चात्ताप नगर्नेहरूलाई मण्डलीबाट बहिष्कार गरिन्छ। हाम्रा वफादार भाइबहिनीलाई आध्यात्मिक रूपमा सुरक्षित राख्न र यहोवाका धार्मिक स्तरहरू झल्काउन यस्तो कदम चाल्नु आवश्‍यक छ। तर कोही बहिष्कार हुँदा परमेश्‍वरले तिनलाई कृपा देखाउनुभएन जस्तो कसै-कसैलाई लाग्न सक्छ। तर के त्यो साँचो हो? आउनुहोस्‌, विचार गरौँ।

के कसैलाई बहिष्कार गर्नु पनि कृपा देखाउनु हो?

एक गोठालो बगालबाट अलग्गै राखिएको बिरामी भेडालाई हेर्न गएका छन्‌।

बिरामी भेडालाई बगालबाट अलग्गै राख्नुपर्ने हुन सक्छ तर गोठालोले उसलाई स्याहारसुसार गर्न छोड्‌दैन (अनुच्छेद ९-११ हेर्नुहोस्‌)

९-१०. हिब्रू १२:५, ६ अनुसार बहिष्कार गर्नु कृपालु प्रबन्ध हो भनेर किन भन्‍न सक्छौँ? उदाहरण दिनुहोस्‌।

९ हामीले चिनेको र माया गरेको कुनै व्यक्‍ति “अब उप्रान्त यहोवाको साक्षी हुनुहुन्‍न” भनेर मण्डलीमा घोषणा गरिँदा हामीलाई पक्कै पनि धेरै दुःख लाग्छ। ‘तिनलाई बहिष्कार गर्नु आवश्‍यक थियो र?’ जस्तो हामीलाई लाग्न सक्छ। के कसैलाई बहिष्कार गर्नु पनि कृपा देखाउनु हो? हो। अनुशासन चाहिएको व्यक्‍तिलाई अनुशासन दिनु भनेको बुद्धिमानी, कृपालु र मायालु कुरा हो। (हितो. १३:२४) पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई बहिष्कार गर्दा के तिनी परिवर्तन हुन सक्छन्‌? हुन सक्छन्‌। गम्भीर पापमा फसेका थुप्रैले एल्डरहरूले चालेको ठोस कदमले गर्दा आफ्नो गल्ती महसुस गर्न सकेको, आफ्नो मनोवृत्ति सुधार्न सकेको अनि फेरि यहोवाकहाँ फर्कन सकेको महसुस गरेका छन्‌।—हिब्रू १२:५, ६ पढ्‌नुहोस्‌।

१० एउटा उदाहरण विचार गरौँ। गोठालोले आफ्नो बगालको एउटा भेडा बिरामी भएको याद गर्छन्‌। त्यो बिरामी भेडाको उपचार गर्न त्यसलाई बगालबाट अलग्गै राख्नुपर्छ भन्‍ने कुरा तिनलाई थाह हुन्छ। तर भेडाहरू बगालमा बस्न मन पराउँछन्‌। त्यसैले त्यसरी अलग्गै राख्दा त्यो भेडा चिढिन सक्छ। त्यसोभए गोठालोले त्यस भेडालाई उपचारको लागि अलग्गै राख्दा तिनले त्यसलाई कठोर व्यवहार गरेको भन्‍न मिल्छ? पक्कै पनि मिल्दैन। बिरामी भेडालाई बगालका अरू भेडाहरूसँगै रहन दियो भने रोग फैलिन सक्छ भन्‍ने कुरा तिनलाई थाह छ। बिरामी भेडालाई अलग्गै राखेर गोठालोले पूरै बगाललाई जोगाइरहेको हुन्छ।—लेवी १३:३, ४ तुलना गर्नुहोस्‌।

११. (क) बहिष्कार भएको व्यक्‍तिलाई बिरामी भेडासित किन तुलना गर्न सकिन्छ? (ख) बहिष्कार भएको व्यक्‍तिले कस्ता प्रबन्धहरूबाट लाभ उठाउन सक्छन्‌?

११ बहिष्कार भएको ख्रिष्टियनलाई त्यो बिरामी भेडासित तुलना गर्न सकिन्छ। तिनी आध्यात्मिक रूपमा बिरामी छन्‌। (याकु. ५:१४) आध्यात्मिक बिमारी पनि सरुवा रोगजस्तै हो। त्यसैले कुनै-कुनै अवस्थामा आध्यात्मिक रूपमा बिरामी भएको व्यक्‍तिलाई मण्डलीबाट अलग्गै राख्नुपर्ने हुन्छ। यस्तो अनुशासन यहोवा आफ्नो बगालमा भएका वफादार भेडाहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो। यसले गलत काम गर्ने व्यक्‍तिलाई आफ्नो गल्ती महसुस गर्न र पश्‍चात्ताप गर्न उत्प्रेरित गर्न सक्छ। बहिष्कार भए पनि तिनले सभाहरूमा उपस्थित भएर आध्यात्मिक भोजन लिइरहन सक्छन्‌ र आफ्नो विश्‍वास फेरि बलियो बनाउन सक्छन्‌। साथै तिनले आफ्नो लागि साहित्यहरू लिन सक्छन्‌ र JW ब्रोडकास्टिङका कार्यक्रमहरू पनि हेर्न सक्छन्‌। अनि एल्डरहरूले तिनको प्रगति अवलोकन गर्ने क्रममा तिनलाई आध्यात्मिक रूपमा निको हुन र एक जना यहोवाको साक्षीको रूपमा पुनर्बहाली हुन मदत गर्ने सल्लाह र निर्देशनहरू दिन सक्छन्‌।b

१२. पश्‍चात्ताप नगर्ने व्यक्‍तिको लागि एल्डरहरूले गर्न सक्ने मायालु र कृपालु काम के हो?

१२ पाप गरेर पनि पश्‍चात्ताप नगर्नेहरूलाई मात्र बहिष्कार गरिन्छ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ। कसैलाई बहिष्कार गर्ने निर्णय गर्नुअघि त्यस मामिलाबारे राम्ररी सोचविचार गर्नुपर्छ भन्‍ने कुरा एल्डरहरूलाई थाह छ। यहोवा “ठीक मात्रामा अनुशासन” दिनुहुन्छ भन्‍ने कुरा पनि तिनीहरूले बुझेका छन्‌। (यर्मि. ३०:११) तिनीहरू आफ्ना भाइबहिनीलाई प्रेम गर्छन्‌ र तिनीहरूको आध्यात्मिक हानि हुने कुनै पनि काम गर्न चाहँदैनन्‌। तर कुनै-कुनै अवस्थामा गलत काम गर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाउनु नै मायालु र कृपालु निर्णय हुन सक्छ।

१३. कोरिन्थको एक जना ख्रिष्टियनलाई किन बहिष्कार गर्नुपरेको थियो?

१३ प्रथम शताब्दीमा प्रेषित पावलले पश्‍चात्ताप नगर्ने एक जना व्यक्‍तिको सन्दर्भमा के गरे, विचार गरौँ। कोरिन्थको एक जना ख्रिष्टियनले आफ्नै बुबाकी पत्नीसित अवैध सम्बन्ध राखेको थियो। कस्तो घिनलाग्दो कुरा! यस्तो मामिलामा के गर्नुपर्छ भन्‍ने सन्दर्भमा यहोवाले पुरातन इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो बुबालाई लाजमा पार्छ। यस्तो सम्बन्ध राख्ने दुवैलाई मार्नू।” (लेवी २०:११) हुनत पावलले त्यस पुरुषलाई मार्ने आदेश दिन सक्दैनथे तर तिनले उसलाई मण्डलीबाट बहिष्कार गर्न भने निर्देशन दिए। त्यस पुरुषको अनैतिक आचरणले मण्डलीका अरूलाई पनि असर गरिरहेको थियो। उनीहरूमध्ये कसै-कसैलाई उसले गरेको पाप त्यत्ति गम्भीर होइन जस्तो समेत लागेको थियो।—१ कोरि. ५:१, २, १३.

१४. पावलले बहिष्कार भएको व्यक्‍तिप्रति कसरी कृपा देखाए र किन? (२ कोरिन्थी २:५-८, ११)

१४ केही समयपछि पावलले त्यो व्यक्‍तिले आफूमा आमूल परिवर्तन गरेको छ भनेर थाह पाए। उसले साँचो पश्‍चात्ताप गरेको थियो। हुनत उसले गर्दा मण्डलीको बदनाम भएको थियो तर पावलले त्यहाँका एल्डरहरूलाई ऊप्रति “कडा” व्यवहार गर्न नचाहेको कुरा बताए। तिनले उनीहरूलाई यस्तो निर्देशन दिए: “तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ।” पावलले यसो भन्‍नुको कारण के थियो, विचार गर्नुहोस्‌। तिनले भने: “ताकि ऊ अति दुःखी भएर शोकमा नडुबोस्‌।” त्यो पश्‍चात्तापी व्यक्‍तिप्रति पावलको मनमा दया जाग्यो। त्यो व्यक्‍ति क्षमा पाउन कुनै कदम चाल्न नसक्नेगरि दुःखी भएको र शोकमा डुबेको प्रेषित पावल चाहँदैनथे।—२ कोरिन्थी २:५-८, ११ पढ्‌नुहोस्‌।

१५. एल्डरहरू कडा अनुशासन दिने र कृपा देखाउने सन्दर्भमा कसरी सन्तुलित हुन सक्छन्‌?

१५ एल्डरहरू यहोवाको अनुकरण गर्दै कृपा देखाउन इच्छुक हुन्छन्‌। आवश्‍यक परेमा तिनीहरू गलत काम गर्ने व्यक्‍तिलाई कडा अनुशासन दिन्छन्‌ तर ठोस आधार छ भने सम्भव भएसम्म तिनीप्रति कृपा पनि देखाउँछन्‌। एल्डरहरूले गलत काम गर्ने व्यक्‍तिलाई अनुशासन दिँदैनन्‌ भने तिनीप्रति कृपा देखाइरहेका हुँदैनन्‌। बरु तिनले गरेको गलत कामप्रति आँखा चिम्लिरहेका हुन्छन्‌। तर के एल्डरहरूले मात्रै कृपा देखाउनुपर्ने हो?

कृपा देखाउन हामी सबैलाई केले मदत गर्छ?

१६. हितोपदेश २१:१३ अनुसार अरूलाई कृपा नदेखाउने व्यक्‍तिप्रति यहोवा कस्तो व्यवहार गर्नुहुन्छ?

१६ सबै ख्रिष्टियन यहोवाजस्तै कृपालु हुने प्रयास गर्छन्‌। किन? एउटा कारण भनेको यहोवा अरूप्रति कृपा नदेखाउने व्यक्‍तिहरूको प्रार्थना सुन्‍नुहुन्‍न। (हितोपदेश २१:१३ पढ्‌नुहोस्‌।) हामी सबै जना यहोवाले हाम्रा प्रार्थनाहरू सुन्‍नुभएको चाहन्छौँ। त्यसैले कसैप्रति पनि कठोर व्यवहार गर्नेछैनौँ। दुःखमा परेको सङ्‌गी ख्रिष्टियनले आफ्नो भावना व्यक्‍त गर्दा हामीले के गर्नुपर्छ? हामी “दीनदुःखीको पुकारा” सुन्‍न सधैँ तयार हुनुपर्छ। हामी बाइबलले बताएको यो कुरा पनि मनमा राख्छौँ: “जसले कृपा देखाउँदैन, न्याय हुँदा ऊमाथि पनि कृपा देखाइनेछैन।” (याकु. २:१३) हामीले नम्र हुँदै आफूलाई पनि अरूको कृपा चाहिन्छ भन्‍ने कुरा स्विकाऱ्‍यौँ भने अरूप्रति कृपा देखाउन सक्नेछौँ। विशेषगरि गलत काम गरेको व्यक्‍ति पश्‍चात्ताप गरेर मण्डलीमा फर्कँदा हामी तिनीप्रति कृपा देखाउन चाहन्छौँ।

१७. राजा दाउदले कसरी मनैदेखि कृपा देखाए?

१७ बाइबलका उदाहरणहरूले हामीलाई अरूप्रति कठोर नहुन बरु कृपा देखाउन मदत गर्छ। राजा दाउदलाई विचार गरौँ। तिनले अरूप्रति मनैदेखि कृपा देखाए। साउलले तिनलाई मार्न चाहेको भए तापनि दाउदले परमेश्‍वरले अभिषेक गर्नुभएको ती राजाप्रति कृपालु व्यवहार गरे। तिनले कहिल्यै पनि साउलसित बदला लिन वा उनको हानि गर्न खोजेनन्‌।—१ समु. २४:९-१२, १८, १९.

१८-१९. दाउद कृपा देखाउन चुकेको दुई वटा उदाहरण बताउनुहोस्‌।

१८ तर दाउद सधैँ अरूप्रति कृपालु हुन सकेनन्‌। उदा-हरणको लागि, क्रूर व्यक्‍ति नाबालले दाउदका मानिसहरूसित नराम्रो व्यवहार गरे र तिनीहरूलाई खानेकुरा दिन मानेनन्‌। यो कुरा थाह पाएपछि दाउद असाध्यै रिसाए अनि नाबाल र तिनको सारा घरानालाई नाश गर्ने निर्णय गरे। तर नाबालकी पत्नी अबिगेल दयालु र धीरजी थिइन्‌। उनले तुरुन्तै चालेको कदमले गर्दा दाउद रक्‍तदोषी हुनदेखि जोगिए।—१ समु. २५:९-२२, ३२-३५.

१९ अर्को एकपटक भविष्यवक्‍ता नातानले दाउदलाई एक जना धनी मानिसको कथा सुनाए। त्यो मानिसले आफ्नो गरिब छिमेकीले धेरै माया गरेर पालेको भेडा खोसेर ल्यायो। यो सुनेर दाउद साह्रै रिसाए र नातानलाई यसो भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यस्तो काम गर्ने मानिस मारिनै पर्छ!” (२ समु. १२:१-६) दाउदलाई मोसाको व्यवस्थाबारे राम्रोसित थाह थियो। अरूको भेडा चोर्ने व्यक्‍तिले त्यसको चार गुणा क्षतिपूर्ति तिर्नुपर्थ्यो। (प्रस्थ. २२:१) तर त्यो चोरलाई मृत्युदण्ड दिन मिल्दैनथ्यो किनकि त्यो साह्रै कठोर सजाय हुने थियो। वास्तवमा नातानले दाउदलाई त्यो कथामार्फत तिनले गरेका अपराधहरू झनै गम्भीर छन्‌ भनेर बुझाउन खोज्दै थिए। दाउदले नातानको उदाहरणको भेडा चोरलाई रतीभर कृपा देखाएनन्‌ तर यहोवाले भने दाउदप्रति तिनको तुलनामा कता हो कता धेरै कृपा देखाउनुभयो।—२ समु. १२:७-१३.

राजा दाउदले नातानको कथाको धनी मानिसलाई रतीभर कृपा देखाएनन्‌ (अनुच्छेद १९-२० हेर्नुहोस्‌)d

२०. दाउदको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

२० याद गर्नुहोस्‌, दाउदले रिसको झोकमा नाबाल र तिनका मानिसहरूलाई मार्ने निर्णय गरे। अनि पछि नातानको उदाहरणको धनी मानिसले मृत्युदण्ड पाउनुपर्छ भने। यो दोस्रो घटनामा दाउदजस्तो दयालु मानिसको मनमा कसरी यस्तो कठोर सजाय दिने विचार आएको होला जस्तो हामीलाई लाग्न सक्छ। त्यसोभए आउनुहोस्‌, यस घटनाको प्रसङ्‌ग विचार गरौँ। त्यतिबेला दाउदलाई दोषी अन्तस्करणले सताइरहेको थियो। यदि कसैले कठोर हुँदै अरूको न्याय गर्छ भने त्यसले ऊ आध्यात्मिक रूपमा स्वस्थ छैन भन्‍ने कुराको सङ्‌केत दिन्छ। येसुले आफ्ना अनुयायीहरूलाई यस्तो कडा चेतावनी दिनुभयो: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। किनकि तिमीहरू जसरी अरूको न्याय गर्छौ, त्यसरी नै तिमीहरूको पनि न्याय गरिनेछ।” (मत्ति ७:१, २) त्यसैले अरूप्रति कठोर नहोऔँ। बरु हाम्रा परमेश्‍वरजस्तै “कृपाका धनी” हुने प्रयास गरौँ।

२१-२२. अरूलाई कृपा देखाउने केही व्यावहारिक तरिका के हुन्‌?

२१ कृपा भन्‍ने गुण भावनामा मात्र सीमित हुँदैन। बरु कृपालु मानिसले अरूलाई मदत गर्न कदम पनि चाल्छ। त्यसैले हामी सबैले परिवारमा, मण्डलीमा र समाजमा कसैलाई मदतको खाँचो छ कि भनेर विचार गर्न सक्छौँ। अरूलाई कृपा देखाउने थुप्रै मौका हामीसित छ। के कसैलाई सान्त्वना चाहिएको छ? हामी खाँचोमा परेकाहरूलाई केही खानेकुराको प्रबन्ध मिलाइदिन वा अरू कुनै व्यावहारिक तरिकामा मदत गर्न सक्छौँ कि? अथवा पुनर्बहाली भएको भाइ वा बहिनीलाई सान्त्वना र प्रोत्साहन दिने असल साथी चाहिएको छ कि? वा हामी अरूलाई सान्त्वनादायी सुसमाचार बाँड्‌न सक्छौँ कि? आफूले भेट्‌ने सबैलाई कृपा देखाउने एउटा राम्रो तरिका यो पनि हो।—अय्यु. २९:१२, १३; रोमी १०:१४, १५; याकु. १:२७.

२२ हामी अरूको आवश्‍यकताबारे सजग भयौँ भने कृपा देखाउने थुप्रै मौका पाउन सक्छौँ। हामीले अरूलाई कृपा देखायौँ भने स्वर्गमा बस्नुहुने हाम्रा बुबा पक्कै खुसी हुनुहुनेछ। किनकि उहाँ आफै पनि “कृपाका धनी” हुनुहुन्छ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवा किन कृपा देखाउनुहुन्छ?

  • कसैलाई कडा अनुशासन दिनु पनि कृपा देखाउनु हो भनेर हामी किन भन्‍न सक्छौँ?

  • कृपा देखाउन हामीलाई केले मदत गर्छ?

गीत ४३ धन्यवादको प्रार्थना

a यहोवाको सबैभन्दा मनमोहक गुणहरूमध्ये एउटा कृपा हो र हामी पनि उहाँजस्तै कृपालु हुनुपर्छ। यहोवा किन कृपा देखाउनुहुन्छ, उहाँले दिनुहुने अनुशासनमा उहाँको कृपा झल्किन्छ भनेर हामी किन भन्‍न सक्छौँ र हामी कसरी उहाँजस्तै कृपालु हुन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।

b पुनर्बहाली भएको व्यक्‍तिले परमेश्‍वरसितको सम्बन्ध कसरी सुधार्न सक्छन्‌ र एल्डरहरूले तिनलाई कसरी मदत गर्न सक्छन्‌ भनेर बुझ्न यस अङ्‌कमा भएको “यहोवासितको आफ्नो सम्बन्ध फेरि मजबुत बनाउनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

c चित्रको व्याख्या: बुबाले घरको कौसीबाट हराएको छोरा घर फर्किएको देख्छ अनि दौडँदै गएर उसलाई अङ्‌गालो हाल्छ।

d चित्रको व्याख्या: राजा दाउदलाई दोषी भावनाले सताइरहेकोले नातानको कथा सुनेपछि तिनी साह्रै रिसाउँछन्‌ र त्यो कथाको धनी मानिस मृत्युदण्ड पाउन लायकको छ भनेर बताउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने