सही र गलत: तपाईँले गर्नुपर्ने छनौट
हामी जुन नैतिक स्तरअनुसार चल्ने छनौट गर्छौँ, त्यसले हाम्रो जीवनलाई निकै हदसम्म असर गर्छ। हाम्रो ईश्वर यहोवाले पनि यो कुरा बुझ्नुभएको छ। त्यसैले हामी उहाँको स्तरअनुसार चलेको उहाँ चाहनुहुन्छ।
यहोवा हाम्रो जीवनमा शान्ति र सुख छाएको चाहनुहुन्छ।
“म यहोवा तिमीहरूका परमेश्वर हुँ। तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु। तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने तिमीहरूको शान्ति नदीझैँ हुनेछ र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।”—यसैया ४८:१७, १८.
यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले हामीले जीवन बिताउने सबैभन्दा राम्रो तरिका उहाँलाई थाह छ। यहोवाले हामीलाई उहाँको डोऱ्याइअनुसार चल्न आग्रह गर्नुभएको छ र यसो गर्दा हाम्रै भलाइ हुन्छ। उहाँको डोऱ्याइअनुसार चल्दा हामीले नराम्रो नतिजा भोग्नुपर्ने हो कि भनेर कहिल्यै डराउनु पर्दैन। बरु यसो गर्दा हामीले सधैँ सही छनौट गर्न सक्नेछौँ। नतिजास्वरूप हाम्रो जीवनमा शान्ति र सुख छाउनेछ।
यहोवा हामीले गर्नै नसक्ने कुरा माग गर्नुहुन्न।
“मैले आज तिमीहरूलाई दिएको आज्ञा बुझ्न वा पालन गर्न धेरै गाह्रो छैन।”—व्यवस्था ३०:११.
यहोवाको नैतिक स्तरअनुसार जीवन बिताउन हामीले आफ्नो सोचाइ र व्यवहार परिवर्तन गर्नुपर्ने हुन सक्छ। उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएकोले हाम्रो सीमितता बुझ्नुहुन्छ। त्यसैले उहाँ हामीबाट बढ्तै माग गर्नुहुन्न। हामीले उहाँलाई राम्ररी चिन्दै जाँदा “उहाँका आज्ञाहरू बोझिला छैनन्” भनेर बुझ्नेछौँ।—१ युहन्ना ५:३.
यहोवा उहाँको स्तरअनुसार चल्ने छनौट गर्नेहरूलाई मदत गर्ने प्रतिज्ञा गर्नुहुन्छ।
“म यहोवा तिम्रा परमेश्वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१३.
हामी यहोवाको नैतिक स्तरअनुसार जीवन बिताउन सक्छौँ किनभने उहाँले हामीलाई विभिन्न तरिकामा मदत गर्नुहुनेछ। उहाँले आफ्नो वचन बाइबलमार्फत हामीलाई प्रोत्साहन र आशा दिनुहुन्छ।
आज संसारका लाखौँ मानिसले यहोवाको स्तरअनुसार जीवन बिताउँदा आफ्नो जीवनशैली अझ राम्रो भएको अनुभव गरेका छन्। तपाईँ पनि बाइबलमा पाइने सल्लाह-सुझावबारे अझ सिकेर लाभ उठाउन सक्नुहुन्छ। यसको लागि jw.org मा निश्शुल्क उपलब्ध सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका पढ्नुभए कसो होला? यस पुस्तिकामा यस्ता विषयहरूबारे छलफल गरिएको छ:
बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ?
बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
के तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ?
अहिले धेरैजसो मानिसलाई बाइबल पुरानो जमानाको किताब हो जस्तो लाग्छ। तर तपाईँले बाइबल पढ्दै जानुहुँदा यसमा लेखिएका कुराहरू “अहिले र सदासर्वदा” भरपर्दा छन् भनेर आफैले महसुस गर्नुहुनेछ। (भजन १११:८) बाइबलमा पाइने नैतिक स्तरअनुसार चल्नु नै जीवन बिताउने सर्वोत्तम तरिका हो। तर यहोवाले हामीलाई कहिल्यै उहाँको स्तरअनुसार चल्न जबरजस्ती गर्नुहुन्न। (व्यवस्था ३०:१९, २०; यहोसु २४:१५) बरु यो हामी आफैले गर्नुपर्ने छनौट हो।