अध्ययन लेख ३०
गीत ३६ हृदय सुरक्षित राखौँ!
इस्राएलका राजाहरूबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू
“तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।”—मला. ३:१८.
सिक्न सकिने कुरा
इस्राएलका राजाहरूबारे अध्ययन गर्दा यहोवालाई खुसी बनाउन हामीले के गर्नुपर्छ भनेर थाह पाउन सक्छौँ।
१-२. इस्राएलका केही राजाहरूबारे बाइबलमा के बताइएको छ?
बाइबलमा इस्राएलमा शासन गरेका ४० भन्दा धेरै राजाहरूबारे बताइएको छ।a अनि तीमध्ये केही राजाहरूले गरेको कामबारे नलुकाईकन बताइएको छ। जस्तै: असल राजाहरूले समेत केही खराब कामहरू गरे। असल राजा दाउदबारे विचार गरौँ। यहोवाले यसो भन्नुभयो: “मेरा सेवक दाउद . . . हृदयदेखि नै मेरो पछि लागेका थिए। तिनले मेरो नजरमा जे सही छ, त्यही मात्र गरे।” (१ राजा १४:८) तर दाउदले एक विवाहित स्त्रीसित अवैध यौनसम्बन्ध राखे अनि ती स्त्रीका पतिलाई युद्धमा मार्न लगाउने षड्यन्त्रसमेत रचे।—२ समु. ११:४, १४, १५.
२ अर्कोतर्फ थुप्रै अवफादार राजाहरूले पनि केही असल कामहरू गरे। रहबामको उदाहरण विचार गरौँ। तिनले यहोवाको नजरमा “जे खराब छ, त्यही गरे।” (२ इति. १२:१४) तर तिनले केही राम्रा कामहरू पनि गरे। जस्तै: यहोवाले इस्राएलको १० कुलसित युद्ध नगर्नू भनेर दिनुभएको आज्ञा रहबामले पालन गरे। साथै तिनले यहोवाका जनहरूलाई शत्रुहरूको आक्रमणदेखि जोगाउन यहुदामा पर्खालले घेरिएका सहरहरूलाई अझ मजबुत बनाए।—१ राजा १२:२१-२४; २ इति. ११:५-१२.
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ त्यसोभए यहोवाले इस्राएलका राजाहरूलाई केको आधारमा वफादार वा अवफादार ठान्नुभयो? यस प्रश्नको जवाफले यहोवालाई खुसी बनाउन हामीले के गर्नुपर्छ भनेर बुझ्न मदत गर्नेछ। यस लेखमा यहोवाले इस्राएलका राजाहरूमा हेर्नुभएको तीन वटा कुराबारे छलफल गर्नेछौँ। पहिलो, तिनले पूर्ण हृदयले यहोवाको उपासना गरे कि गरेनन्? दोस्रो, कुनै गलत काम गरेपछि तिनले साँचो मनले पश्चात्ताप गरे कि गरेनन्? तेस्रो, तिनी यहोवाको उपासनामा लागिरहे कि लागिरहेनन्?
तिनीहरूले सारा हृदयले यहोवाको उपासना गरे
४. वफादार र अवफादार राजाहरूबीचको भिन्नता के थियो?
४ यहोवालाई खुसी बनाउन चाहने राजाहरूले सारा हृदयले उहाँको उपासना गरे।b असल राजा यहोसापातले “आफ्नो सारा हृदयले यहोवा परमेश्वरको खोजी गरेका थिए।” (२ इति. २२:९) राजा योसियाहबारे बाइबल यसो भन्छ: “योसियाह आफ्नो सारा हृदयले . . . यहोवा परमेश्वरतर्फ फर्के। तिनीअघि वा तिनीपछिका कोही पनि राजा तिनीजस्ता भएनन्।” (२ राजा २३:२५) सुलेमान नि? तिनले वृद्ध भएपछि खराब कामहरू गरे। तिनीबारे बाइबल यसो भन्छ: “तिनी हृदयदेखि नै यहोवाप्रति वफादार” थिएनन्। (१ राजा ११:४) अर्का अवफादार राजा अबियामबारे बाइबल यसो भन्छ: “तिनी आफ्ना परमेश्वर यहोवाप्रति हृदयदेखि वफादार भएनन्।”—१ राजा १५:३.
५. सारा हृदयले यहोवाको सेवा गर्नु भनेको के हो?
५ सारा हृदयले यहोवाको सेवा गर्नु भनेको के हो? सारा हृदयले यहोवाको सेवा गर्नु भनेको कर्तव्यबोधले होइन, यहोवाप्रतिको प्रेम र आदरले उत्प्रेरित भएर उहाँको सेवा गर्नु हो। साथै जिन्दगीभर उहाँलाई प्रेम र आदर गरिरहनु हो।
६. हामी कसरी सारा हृदयले यहोवाको सेवा गरिरहन सक्छौँ? (हितोपदेश ४:२३; मत्ति ५:२९, ३०)
६ हामी कसरी वफादार राजाहरूको अनुकरण गर्दै सारा हृदयले यहोवाको सेवा गरिरहन सक्छौँ? यहोवाप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउने जुनसुकै कुरादेखि अलग्गै रहेर। जस्तै: हामीले छान्ने मनोरञ्जनको सन्दर्भमा हामी होसियार हुनुपर्छ अनि खराब साथीसङ्गत र भौतिकवादी सोचाइदेखि पनि अलग्गै रहनुपर्छ। कुनै कुराले यहोवाप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउन थालेको याद गऱ्यौँ भने त्यस्तो कुरालाई हामीले तुरुन्तै हटाइहाल्नुपर्छ।—हितोपदेश ४:२३; मत्ति ५:२९, ३० पढ्नुहोस्।
७. हामीले यहोवासितको सम्बन्धलाई कमजोर बनाउने कुराहरूलाई किन तिरस्कार गर्नुपर्छ?
७ हामी यहोवाप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउने जुनसुकै कुरादेखि अलग्गै रहनुपर्छ। होसियार भएनौँ भने आध्यात्मिक गतिविधिमा व्यस्त रहनु नै पर्याप्त छ जस्तो हामीलाई लाग्न सक्छ। अनि खराब कुराहरूलाई तिरस्कार नगरे पनि हुन्छ भन्ने सोचाइ हाम्रो मनमा आउन सक्छ। तर यस्तो सोचाइ राख्नु गलत हो भनेर बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, एकदमै कठ्याङ्ग्रिने जाडोमा तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ। घर आइपुगेपछि तपाईँ हिटर चलाउनुहुन्छ। तर ढोका खुल्लै राखेर हिटर चलाउनुभयो भने के हुन्छ? बाहिरको चिसो हावा कोठाभित्र छिर्छ र कोठा न्यानो हुन पाउँदैन। ठीक त्यसैगरि हामीले यहोवासितको सम्बन्धलाई बलियो बनाउने आध्यात्मिक भोजन लिनु मात्र पर्याप्त छैन। बरु हामीले यहोवासितको सम्बन्धलाई कमजोर बनाउने चिसो “हावा” अर्थात् संसारको मनोभावलाई पनि तिरस्कार गर्नुपर्छ।—एफि. २:२.
तिनीहरूले आफ्नो पापको पश्चात्ताप गरे
८-९. राजा दाउद र राजा हिजकियाहले आफूलाई सच्याइँदा के गरे? ( चित्र हेर्नुहोस्।)
८ राजा दाउदले गम्भीर पाप गरेका थिए। तर भविष्यवक्ता नातानले तिनले गरेको पाप कत्ति गम्भीर छ भनेर बताएपछि दाउदले नम्र भई आफ्नो गल्ती स्विकारे र पश्चात्ताप गरे। (२ समु. १२:१३) दाउदले नातानलाई झुक्क्याउन वा सजायदेखि जोगिन पश्चात्ताप गरेको ढोङ गरेका थिएनन्। बरु तिनले साँचो पश्चात्ताप गरेका थिए भनेर भजन अध्याय ५१ मा तिनले बताएका कुराहरूबाट थाह पाउन सक्छौँ।—भज. ५१:३, ४, १७, परिचय।
९ राजा हिजकियाहले पनि यहोवाविरुद्ध पाप गरे। बाइबल विवरण यसो भन्छ: “तिनको हृदय घमन्डले फुल्यो। त्यसैले परमेश्वर हिजकियाहसित अनि यहुदा र यरुसलेमका मानिसहरूसित क्रोधित हुनुभयो।” (२ इति. ३२:२५) हिजकियाह किन घमन्डी भए? यहोवाले तिनलाई प्रशस्तै धनसम्पत्ति दिनुभएकोले, अस्सेरियालीहरूलाई हराउन मदत गर्नुभएकोले वा चमत्कारपूर्ण ढङ्गमा रोग निको पारिदिनुभएकोले तिनी घमन्डी भएका हुन सक्छन्। अनि घमन्डी भएकोले नै तिनले बेबिलोनीहरूलाई आफ्नो धनसम्पत्तिको रवाफ देखाएका हुन सक्छन्। त्यसैले भविष्यवक्ता यसैयाले यहोवा तिनीदेखि प्रसन्न हुनुहुन्न भनेर हिजकियाहलाई बताए। (२ राजा २०:१२-१८) तर दाउदले जस्तै हिजकियाहले पनि आफ्नो घमन्डी हृदयलाई नम्र तुल्याए र पश्चात्ताप गरे। (२ इति. ३२:२६) त्यसैले यहोवाले तिनलाई ‘जे सही छ, त्यही गरिरहने’ वफादार राजाको रूपमा हेर्नुभयो।—२ राजा १८:३.
राजा दाउद र राजा हिजकियाहले सल्लाह पाउँदा आफूलाई नम्र तुल्याए र पश्चात्ताप गरे (अनुच्छेद ८-९ हेर्नुहोस्)
१०. यहोवाले सम्झाउन खोज्नुहुँदा राजा अमस्याहले के गरे?
१० अर्कोतर्फ यहुदाका राजा अमस्याहले यहोवा परमेश्वरको नजरमा “जे सही छ, त्यही गरिरहे तर पूर्ण हृदयले त होइन।” (२ इति. २५:२) तिनी कहाँ चुके? यहोवाले एदोमीहरूलाई हराउन तिनलाई मदत गर्नुभयो तर तिनले एदोमीहरूकै देवताहरूलाई ढोग्न थाले।c यहोवाले आफ्नो भविष्यवक्ता पठाएर तिनलाई सम्झाउन खोज्नुहुँदा तिनले ठाडै इन्कार गरे।—२ इति. २५:१४-१६.
११. दोस्रो कोरिन्थी ७:९, ११ अनुसार क्षमा पाउन हामीले के गर्नुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
११ यी राजाहरूबाट हामी के सिक्न सक्छौँ? हामीले पाप गऱ्यौँ भने पश्चात्ताप गर्नुपर्छ र त्यसलाई नदोहोऱ्याउन आफ्नो तर्फबाट सक्दो गर्नुपर्छ। कहिलेकाहीँ एल्डरहरूले हामीलाई सानोजस्तो देखिने कुरामा समेत सल्लाह दिन सक्छन्। तर त्यस्तो बेला एल्डरहरू हामीलाई देखिसहँदैनन् वा यहोवा हामीलाई माया नै गर्नुहुन्न भनेर सोच्नु हुँदैन। इस्राएलका असल राजाहरूलाई समेत सल्लाह दिनुपरेको र सच्याउनुपरेको थियो। (हिब्रू १२:६) हामीले पनि सल्लाह पायौँ भने (१) नम्र भई स्विकार्नुपर्छ, (२) आवश्यक छाँटकाँट गर्नुपर्छ र (३) पूर्ण हृदयले यहोवाको सेवा गरिरहनुपर्छ। हामीले पापहरूको पश्चात्ताप गऱ्यौँ भने यहोवाले हामीलाई क्षमा दिनुहुन्छ।—२ कोरिन्थी ७:९, ११ पढ्नुहोस्।
हामीले सल्लाह पायौँ भने (१) नम्र भई स्विकार्नुपर्छ, (२) आवश्यक छाँटकाँट गर्नुपर्छ र (३) पूर्ण हृदयले यहोवाको सेवा गरिरहनुपर्छ (अनुच्छेद ११ हेर्नुहोस्)f
तिनीहरू यहोवाको उपासनामा लागिरहे
१२. वफादार र अवफादार राजाहरूबीचको मुख्य भिन्नता के थियो?
१२ यहोवाले वफादार ठान्नुभएका राजाहरू साँचो उपासनामा लागिरहे र तिनीहरूले आफ्ना प्रजालाई पनि त्यसै गर्न प्रोत्साहन दिए। हुनत ती राजाहरूका विभिन्न कमीकमजोरीहरू थिए तर तिनीहरूले यहोवाको मात्र उपासना गरिरहे र देशबाट झूटो देवीदेवताका मूर्तिहरूलाई हटाउन कडा मेहनत गरे।d
१३. यहोवाले राजा आहाबलाई किन अवफादार ठान्नुभयो?
१३ यहोवाले केही राजाहरूलाई किन अवफादार ठान्नुभयो? तिनीहरूले गरेका सबै काम खराब भएकोले त होइन। दुष्ट राजा आहाबबारे विचार गरौँ। तिनले नाबोतको हत्यामा आफू पनि दोषी छु भनेर थाह पाएपछि अफसोस माने र आफैलाई नम्र तुल्याए। (१ राजा २१:२७-२९) तिनले सहरहरू पनि बनाए र थुप्रै युद्धहरू जिते। (१ राजा २०:२१, २९; २२:३९) तर आफ्नी पत्नीको लहलहैमा लागेर आहाबले झूटो उपासनालाई बढावा दिए। अनि यसको लागि तिनले कहिल्यै पश्चात्ताप गरेनन्।—१ राजा २१:२५, २६.
१४. (क) यहोवाले राजा रहबामलाई किन अवफादार ठान्नुभयो? (ख) सबै अवफादार राजाहरूले कस्तो नराम्रो काम गरे?
१४ यहोवाले अवफादार ठान्नुभएका अर्का राजा हुन्, रहबाम। तिनले आफ्नो शासनकालमा थुप्रै राम्रा कामहरू गरे तर आफ्नो राज्य स्थिर भएपछि तिनले परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए र झूटा देवीदेवताहरूलाई पुज्न थाले। (२ इति. १२:१) त्यसपछि तिनी कहिल्यै साँचो उपासनामा दृढ भई लागेनन्। (१ राजा १४:२१-२४) साँचो उपासनाबाट तर्किने राजाहरू रहबाम र आहाब मात्र त थिएनन्। वास्तवमा भन्ने हो भने इस्राएलमा शासन गरेका अधिकांश राजाहरूले कुनै न कुनै तरिकामा झूटो उपासनालाई समर्थन गरे। स्पष्ट छ, यहोवाले राजाहरूमा हेर्नुभएको मुख्य कुरा भनेको तिनीहरू साँचो उपासनामा लागिरहे कि लागिरहेनन् भन्ने नै थियो। त्यसैको आधारमा यहोवाले तिनीहरूलाई वफादार या अवफादार ठान्नुभयो।
१५. यहोवा साँचो उपासनामा लागिरहनुलाई किन महत्त्वपूर्ण ठान्नुहुन्छ?
१५ यहोवाले साँचो उपासनामा लागिरहनुलाई किन यत्ति महत्त्वपूर्ण ठान्नुभयो? एउटा कारण त, परमेश्वरका जनहरूलाई साँचो उपासनामा डोऱ्याउने कर्तव्य राजाहरूको थियो। साथै झूटो उपासनाले अरू गम्भीर गल्तीहरू गर्ने र मानिसहरूसित अन्यायपूर्ण व्यवहार गर्ने हदसम्म पुऱ्याउँछ। (होसे ४:१, २) त्यति मात्र नभई राजाहरू र सम्पूर्ण इस्राएल राष्ट्र यहोवामा समर्पित थिए। त्यसैले झूटो उपासनामा लाग्नुलाई बाइबलमा व्यभिचार गर्नुसित तुलना गरिएको छ। (यर्मि. ३:८, ९) व्यभिचार गर्ने व्यक्तिले आफ्नो जोडीलाई धोका दिइरहेको हुन्छ र गहिरो चोट पुऱ्याइरहेको हुन्छ। त्यसैगरि यहोवामा समर्पित व्यक्ति झूटो उपासनामा लाग्दा तिनले उहाँलाई धोका दिइरहेका हुन्छन् र अत्यन्तै दुःखी बनाइरहेका हुन्छन्।e—व्यव. ४:२३, २४.
१६. धर्मी र दुष्ट मानिसबीचको मुख्य भिन्नता के हो?
१६ हामी कस्तो पाठ सिक्न सक्छौँ? हामी कुनै हालतमा झूटो उपासनामा नलाग्न कटिबद्ध हुनुपर्छ। तर त्यति मात्र होइन, हामी साँचो उपासनामा पनि लागिरहनुपर्छ र यहोवाको सेवामा व्यस्त भइरहनुपर्छ। यहोवाले असल र खराब मानिसबीचको भिन्नता कसरी छुट्ट्याउनुहुन्छ भन्नेबारे भविष्यवक्ता मलाकिले यस्तो लेखे: “तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।” (मला. ३:१८) त्यसैले हामी कुनै पनि कुराले गर्दा यहोवाको सेवा गर्न छोड्ने हदसम्म पुग्न चाहँदैनौँ। यहाँसम्म कि आफ्नै कमीकमजोरी र गल्तीले गर्दा समेत निराश भएर हामी यहोवाको सेवा गर्न छोड्न चाहँदैनौँ। किनकि यहोवाको सेवा गर्न छोड्नु भनेकै एउटा गम्भीर गल्ती हो।
१७. जीवनसाथी रोज्ने सन्दर्भमा हामी किन होसियार हुनुपर्छ?
१७ यदि तपाईँ अविवाहित हुनुहुन्छ र विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने मलाकिका शब्दहरूले तपाईँलाई जीवनसाथी रोज्ने सन्दर्भमा सही निर्णय गर्न मदत गर्नेछ। कुनै व्यक्तिसित राम्रा गुणहरू होलान् तर तिनी यहोवाको सेवा गर्दैनन् भने के तिनी उहाँको नजरमा असल छन् भन्न मिल्छ र? (२ कोरि. ६:१४) तपाईँले तिनीसित विवाह गर्नुभयो भने के तिनले तपाईँ-लाई यहोवाप्रति वफादार रहिरहन मदत गर्नेछन्? राजा सुलेमानलाई विचार गर्नुहोस् त। तिनका गैर-इस्राएली पत्नीहरूसित कुनै नै कुनै राम्रो गुण त पक्कै थियो होला। तर तिनीहरू यहोवाको उपासना गर्दैनथे। तिनीहरूले बिस्तारै-बिस्तारै सुलेमानको हृदय अरू देवीदेवतातर्फ लगाइदिए।—१ राजा ११:१, ४.
१८. आमाबुबाले छोराछोरीलाई के सिकाउनुपर्छ?
१८ आमाबुबा हो, तपाईँ आफ्ना छोराछोरीले मनैदेखि उत्प्रेरित भएर यहोवाको सेवा गरेको पक्कै चाहनुहुन्छ होला। त्यसको लागि इस्राएलका राजाहरूको विवरण प्रयोग गर्दै तिनीहरूलाई सिकाउनुहोस्। राजाहरूले साँचो उपासनालाई बढावा दिए कि दिएनन्, त्यसकै आधारमा यहोवाले तिनीहरूलाई असल या खराब ठान्नुभयो भनेर बुझ्न छोराछोरीलाई मदत गर्नुहोस्। अरू कुराहरूलाई भन्दा बाइबलको अध्ययन गर्ने, सभामा उपस्थित हुने र साक्षीकार्यमा भाग लिनेजस्ता आध्यात्मिक गतिविधिलाई प्रथम स्थानमा राख्नु महत्त्वपूर्ण छ भनेर आफ्नो बोली र व्यवहारबाट छोराछोरीलाई सिकाउनुहोस्। (मत्ति ६:३३) नत्र आमाबुबा यहोवाको साक्षी भएकोले आफू पनि साक्षी भएको हो भनेर छोराछोरीले सोच्न सक्छन्। अनि तिनीहरूले यहोवाको सेवालाई दोस्रो स्थानमा राख्न वा उहाँको सेवा गर्नै छोड्न सक्छन्।
१९. यहोवाको सेवा गर्न छोडेकाहरूले के गर्न सक्छन्? (“तपाईँ पनि यहोवाकहाँ फर्कन सक्नुहुन्छ!” भन्ने पेटी हेर्नुहोस्।)
१९ के यहोवाको सेवा गर्न छोडेका व्यक्ति कहिल्यै उहाँतर्फ फर्कन सक्दैनन् भन्ने हो? त्यसो त होइन। किनभने तिनले पश्चात्ताप गर्न सक्छन् र यहोवाकहाँ फर्कन सक्छन्। तर त्यसो गर्न तिनी नम्र हुनुपर्छ र एल्डरहरूले दिने मदत स्विकार्नुपर्छ। (याकु. ५:१४) फेरि यहोवाको साथी बन्न तिनले गरेको जस्तोसुकै प्रयास खेर जाँदैन।
२०. वफादार राजाहरूको अनुकरण गऱ्यौँ भने यहोवाले हामीलाई कस्तो व्यक्तिको रूपमा हेर्नुहुनेछ?
२० इस्राएलका राजाहरूबाट हामीले कस्ता पाठहरू सिक्यौँ? यदि हामीले सारा हृदयले यहोवाको उपासना गरिरह्यौँ भने हामी वफादार राजाहरूजस्तै हुन सक्छौँ। त्यसैले आफ्ना गल्तीहरूबाट पाठ सिकौँ, पश्चात्ताप गरौँ र आवश्यक छाँटकाँटहरू गरौँ। अनि एक मात्र साँचो परमेश्वरको उपासनामा लागिरहनु कत्ति महत्त्वपूर्ण छ भन्ने कुरा कहिल्यै नबिर्सौँ। यदि तपाईँ यहोवाप्रति वफादार भइरहनुभयो भने उहाँले तपाईँलाई उहाँको नजरमा जे सही छ, त्यही गर्ने व्यक्तिको रूपमा हेर्नुहुनेछ।
गीत ४५ मेरो चिन्तन
a यस लेखमा प्रयोग गरिएको “इस्राएलका राजाहरू” भन्ने अभिव्यक्तिले यहुदाको दुई कुल र इस्राएलको १० कुल गरेर बाह्रै कुलमा शासन गरेका राजाहरूलाई बुझाउँछ।
b थप व्याख्या: बाइबलमा प्रयोग गरिएको “हृदय” शब्दले मानिसको भित्री व्यक्तित्वलाई बुझाउँछ। यसमा हाम्रो चाहना, विचार, झुकाव, मनोवृत्ति, क्षमता, उत्प्रेरणा र लक्ष्यजस्ता कुराहरू समावेश छन्।
c त्यतिबेला गैर-इस्राएली राजाहरूले अक्सर आफूले युद्ध जितेको देशका देवीदेवताको उपासना गर्थे।
d राजा आसाले गम्भीर पापहरू गरेका थिए। (२ इति. १६:७, १०) तैपनि बाइबलमा तिनलाई परमेश्वरको नजरमा जे सही छ, त्यही गर्ने व्यक्ति भनिएको छ। हुनत तिनले सुरुमा आफूले पाएको सल्लाह इन्कार गरे तर हुन सक्छ पछि तिनले पश्चात्ताप गरे। यहोवाले तिनमा खराब गुणहरूभन्दा असल गुणहरू धेरै देख्नुभयो। तिनमा भएको सबैभन्दा राम्रो कुरा भनेको तिनले यहोवाको मात्र उपासना गरे र आफ्नो देशबाट मूर्तिपूजा हटाउन सक्दो कोसिस गरे।—१ राजा १५:११-१३; २ इति. १४:२-५.
e मोसाको व्यवस्थामा दिइएको पहिलो र दोस्रो आज्ञामा यहोवाको बाहेक अरू कसैको वा कुनै कुराको उपासना गर्नु हुँदैन भनेर स्पष्टसित बताइएको थियो।—प्रस्थ. २०:१-६.
f चित्रको व्याख्या: एक जवान एल्डर एक भाइको रक्सी पिउने बानीबारे चिन्ता व्यक्त गर्छन्। ती भाइ नम्र भई आफूले पाएको सल्लाह स्विकार्छन्, आवश्यक छाँटकाँट गर्छन् र वफादार भई यहोवाको सेवा गरिरहन्छन्।