अध्ययन लेख ३३
गीत १३० क्षमा दिने गरौँ
मण्डलीले पाप गर्ने व्यक्तिप्रति कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छ?
“यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ।”—१ युह. २:१.
सिक्न सकिने कुरा
प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी एउटा मामिला सम्हालिएको तरिकाबाट हामी के सिक्न सक्छौँ?
१. यहोवा सबै मानिसले के गरेको चाहनुहुन्छ?
यहोवाले मानिसलाई आफ्नो निर्णय आफैले गर्न सक्ने क्षमतासहित सृष्टि गर्नुभएको छ। हामी दिनहुँ निर्णयहरू गरिरहन्छौँ। तर हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको विश्वव्यापी परिवारको भाग बन्नु हो। यहोवा सबैले त्यस्तो निर्णय गरेको चाहनुहुन्छ। किन? किनकि उहाँ मानिसलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हित चिताउनुहुन्छ। तिनीहरूले उहाँसित मित्रता गाँसेको र अनन्त जीवन पाएको उहाँ चाहनुहुन्छ।—व्यव. ३०:१९, २०; गला. ६:७, ८.
२. यहोवा गम्भीर पाप गरेको व्यक्तिले के गरेको चाहनुहुन्छ? (१ युहन्ना २:१)
२ यहोवा कसैलाई पनि उहाँको सेवा गर्न जबरजस्ती गर्नुहुन्न। उहाँको सेवा गर्ने कि नगर्ने भनेर प्रत्येकले आफै निर्णय गर्नुपर्छ। तर बप्तिस्मा गरेको व्यक्तिले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर गम्भीर पाप गरे भने एल्डरहरूले के गर्नुपर्छ? तिनले पश्चात्ताप गरेनन् भने तिनलाई मण्डलीबाट हटाउनुपर्छ। (१ कोरि. ५:१३) तर यहोवा त्यो व्यक्तिले पश्चात्ताप गरेर उहाँकहाँ फर्केको चाहनुहुन्छ। वास्तवमा यहोवाले फिरौतीको प्रबन्ध मिलाउनुको एउटा मुख्य कारण भनेको नै पश्चात्ताप गर्ने व्यक्तिले क्षमा पाओस् भनेर हो। (१ युहन्ना २:१ पढ्नुहोस्।) यहोवा मायालु परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँ पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न आग्रह गर्नुहुन्छ।—जक. १:३; रोमी २:४; याकु. ४:८.
३. हामी यस लेखमा के छलफल गर्नेछौँ?
३ यहोवा गम्भीर पापप्रति र त्यस्तो पाप गर्ने व्यक्तिप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर उहाँले बाइबलमा बताउनुभएको छ। यस लेखमा हामी पनि कसरी उहाँको जस्तै दृष्टिकोण राख्न सक्छौँ भनेर छलफल गर्नेछौँ। यसबारे अझ राम्ररी बुझ्न आउनुहोस्, यी तीन वटा प्रश्नबारे विचार गरौँ: (१) प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी एउटा मामिला कसरी सम्हालियो? (२) पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्दा प्रेषित पावलले मण्डलीलाई कस्तो निर्देशन दिए? अनि (३) गम्भीर पाप गर्ने व्यक्तिप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी एउटा मामिला कसरी सम्हालियो?
४. कोरिन्थ मण्डलीमा के भयो? (१ कोरिन्थी ५:१, २)
४ पहिलो कोरिन्थी ५:१, २ पढ्नुहोस्। आफ्नो तेस्रो मिसनरी यात्राको दौडान पावलले कोरिन्थमा भर्खरै स्थापना भएको मण्डलीबारे नराम्रो खबर पाए। त्यस मण्डलीका एक भाइले आफ्नै सौतेनी आमासित अवैध यौनसम्बन्ध राखिरहेका थिए। यो निन्दनीय कुरा थियो र ‘अन्यजातिका मानिसहरूले समेत त्यस्तो गर्दैन थिए।’ कोरिन्थका ख्रिष्टियनहरूले त्यस्तो गलत काम गर्ने व्यक्तिलाई मण्डलीमा रहिरहन दिएकोमा घमन्डसमेत गरेका हुन सक्छन्। कसै-कसैलाई त त्यसरी सहनु भनेको कृपालु परमेश्वर यहोवाको अनुकरण गर्नु हो जस्तो लागेको हुन सक्छ। तर यहोवा त्यस्तो गलत काम गर्ने व्यक्तिलाई आफ्ना सेवकहरूमाझ रहिरहन दिनुहुन्न। यस्तो निर्लज्ज काम गरेर त्यस मानिसले मण्डलीकै बदनाम गरिरहेका थिए। तिनले आफूसित सङ्गत गरिरहेका भाइबहिनीमा नराम्रो प्रभाव पारिरहेका पनि हुन सक्थे। त्यसैले पावलले मण्डलीलाई कस्तो निर्देशन दिए?
५. पावलले कोरिन्थ मण्डलीलाई कस्तो निर्देशन दिए र तिनले के भन्न खोज्दै थिए? (१ कोरिन्थी ५:१३) (चित्र पनि हेर्नुहोस्।)
५ पहिलो कोरिन्थी ५:१३ पढ्नुहोस्। पावलले परमेश्वरको प्रेरणा पाएर कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा पश्चात्ताप नगर्ने मानिसलाई मण्डलीबाट हटाउन निर्देशन दिए। मण्डलीका भाइबहिनीले त्यस मानिससित कस्तो व्यवहार गर्नुपर्थ्यो? पावलले तिनीहरूलाई ‘त्यस्तो मानिससित सङ्गत गर्न छोड्नू’ भने। तिनले के भन्न खोज्दै थिए? ‘त्यस मानिससित सङ्गत नगर्नू’ भनेको ‘तिनीसित खाँदै नखानू’ पनि हो भनेर पावलले बताए। (१ कोरि. ५:११) तिनले किन त्यसो भने? कसैसित सँगै बसेर खाना खाँदा रमाइलो कुराकानी हुन्छ र हामी त्यस व्यक्तिसित धेरै समय बिताउँछौँ। त्यसैले पावलले भनेझैँ ‘त्यस मानिससित सङ्गत गर्न छोड्दा’ मण्डलीका अरू भाइबहिनी तिनको नराम्रो प्रभावबाट जोगिने थिए। (१ कोरि. ५:५-७) साथै यसरी सङ्गत गर्न छोड्दा त्यो व्यक्तिको होस खुल्न सक्थ्यो र सायद तिनी आफ्नो गल्ती महसुस गरेर यहोवाकहाँ फर्कने थिए।
पावलले परमेश्वरको प्रेरणा पाएर कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा पश्चात्ताप नगर्ने मानिसलाई मण्डलीबाट हटाउन निर्देशन दिए (अनुच्छेद ५ हेर्नुहोस्)
६. पावलको पत्र पाएपछि मण्डलीले र गलत काम गर्ने व्यक्तिले के गरे?
६ पावलले कोरिन्थ मण्डलीलाई पत्र पठाइसकेपछि मण्डलीका भाइबहिनीले कस्तो प्रतिक्रिया देखाउलान् भन्ने पावललाई लागेको हुनुपर्छ। तर केही समयपछि तितस राम्रो खबर लिएर आए। त्यहाँका भाइबहिनीहरूले पावलको निर्देशनअनुसारै गलत काम गर्ने व्यक्तिलाई मण्डलीबाट हटाएका थिए। (२ कोरि. ७:६, ७) साथै पावलले कोरिन्थ मण्डलीलाई पत्र लेखेको केही समयपछि नै पाप गर्ने त्यस व्यक्तिले पश्चात्ताप गरे। तिनी गलत मार्ग त्यागेर परमेश्वरका धार्मिक स्तरहरूअनुसार चल्न थाले। (२ कोरि. ७:८-११) यो कुरा थाह पाएपछि पावलले मण्डलीलाई कस्तो निर्देशन दिए?
मण्डलीले पश्चात्ताप गरेका व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्थ्यो?
७. मण्डलीबाट हटाइएपछि पाप गर्ने व्यक्तिले के गरे? (२ कोरिन्थी २:५-८)
७ दोस्रो कोरिन्थी २:५-८ पढ्नुहोस्। पावलले यस्तो लेखे: “धेरै जनाले उसलाई दिएको हप्की नै उसको लागि यथेष्ट छ।” यसको मतलब पाप गर्ने व्यक्तिलाई मण्डलीबाट हटाइएपछि तिनले आफ्नो गल्ती महसुस गरे र आफ्नो पापको लागि पश्चात्ताप पनि गरे। त्यसैले तिनलाई अझै अनुशासन दिइरहनु आवश्यक थिएन।—हिब्रू १२:११.
८. पावलले मण्डलीलाई कस्तो निर्देशन दिए?
८ त्यस मानिसले पश्चात्ताप गरिसकेकोले पावलले कोरिन्थका एल्डरहरूलाई तिनलाई मण्डलीसित सङ्गत गर्न दिनू भनेर निर्देशन दिए। तिनले उनीहरूलाई ‘उसलाई दयापूर्वक क्षमा दिनू र सान्त्वना दिनू अनि उसलाई प्रेम गर्छौँ भन्ने कुरामा ढुक्क बनाउनू’ भनेर पनि सल्लाह दिए। मण्डलीले त्यस व्यक्तिलाई मनैदेखि क्षमा दिएको र माया गरेको कुरा आफ्नो बोली र व्यवहारद्वारा देखाएको पावल चाहन्थे। यसो गरेको खण्डमा तिनीहरूले उसलाई मण्डलीमा न्यानो स्वागत गरेको कुरा प्रस्ट हुने थियो।
९. कसै-कसैलाई पश्चात्ताप गरेका ती भाइलाई क्षमा दिन किन गाह्रो लागेको हुन सक्छ?
९ के कसै-कसैलाई पश्चात्ताप गरेर मण्डलीमा फर्केका ती भाइलाई न्यानो स्वागत गर्न गाह्रो लागेको थियो? यसबारे बाइबलमा बताइएको छैन। तर त्यसो भएको हुन सक्छ। किनभने तिनको खराब कामले गर्दा नै मण्डलीमा समस्या खडा भएको थियो। साथै कसै-कसैलाई तिनले गर्दा निकै चोट पुगेको हुन सक्छ। मण्डलीका भाइबहिनीहरूले नैतिकतासम्बन्धी यहोवाको स्तर पालन गर्न निकै मेहनत गरिरहेका थिए। त्यसैले गल्ती गर्ने त्यस व्यक्तिलाई मण्डलीमा न्यानो स्वागत गर्नु अन्यायपूर्ण कुरा हो जस्तो तिनीहरूलाई लागेको हुन सक्छ। (लुका १५:२८-३० तुलना गर्नुहोस्।) तैपनि मण्डलीले ती भाइलाई साँचो प्रेम देखाउनुपर्थ्यो। किन?
१०-११. एल्डरहरूले पश्चात्ताप गरेका ती भाइलाई क्षमा नदिएको भए के हुन सक्थ्यो?
१० मानौँ, मनैदेखि पश्चात्ताप गरेका ती भाइलाई एल्डरहरूले मण्डलीमा फर्कन दिएनन्। अथवा मण्डलीमा फर्केका ती भाइलाई अरू भाइबहिनीले प्रेम देखाएनन् र स्वागत गरेनन्। त्यस्तो भएको भए के हुन सक्थ्यो? सायद तिनी ‘अति दुःखी भएर शोकमा डुब्न सक्थे।’ तिनले अब आफू कहिल्यै यहोवाकहाँ फर्किन सक्दिनँ होला भन्ने सोच्न सक्थे। अनि तिनले हरेस खाएर यहोवासितको सम्बन्ध सुधार्न प्रयास गर्नै छोड्न सक्थे।
११ भाइबहिनीले पश्चात्ताप गरेका ती भाइलाई क्षमा नदिएको भए अर्को के पनि हुन सक्थ्यो? यहोवासितको तिनीहरूको आफ्नै सम्बन्ध पनि खतरामा पर्ने थियो। किन? यसो गर्दा तिनीहरूले पश्चात्ताप गर्ने व्यक्तिहरूप्रति यहोवाजस्तै क्षमाशील भइरहेका हुने थिएनन्। बरु सैतानजस्तै कठोर र निर्दयी भइरहेका हुने थिए। तिनीहरू सैतानको इसारामा चलिरहेका हुने थिए र सैतानले चाहेअनुसारै ती भाइलाई फेरि यहोवाको सेवा गर्नदेखि रोकिरहेका हुने थिए।—२ कोरि. २:१०, ११; एफि. ४:२७.
१२. कोरिन्थ मण्डलीले कसरी यहोवाको अनुकरण गर्न सक्थ्यो?
१२ त्यसोभए कोरिन्थ मण्डलीले सैतानको नभई कसरी यहोवाको अनुकरण गर्न सक्थ्यो? पश्चात्ताप गर्ने व्यक्तिहरूप्रति यहोवाले जस्तै व्यवहार गरेर। केही बाइबल लेखकहरूले यहोवाबारे के भने, याद गर्नुहोस्। दाउदले यसो भने: “हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भज. ८६:५) मिकाले यस्तो लेखे: “तपाईँजस्तो परमेश्वर को छ, जसले . . . आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?” (मिका ७:१८) अनि यसैयाले यसो भने: “दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्; खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्। ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ। ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”—यसै. ५५:७.
१३. पश्चात्ताप गरेका व्यक्तिलाई किन पुनर्बहाली गर्नुपर्थ्यो? (“कोरिन्थका ती मानिसलाई कहिले पुनर्बहाली गरियो?” भन्ने पेटी हेर्नुहोस्।)
१३ यहोवाको अनुकरण गर्न कोरिन्थ मण्डलीका भाइबहिनीहरूले पश्चात्ताप गरेर फर्केका ती मानिसलाई न्यानो स्वागत गर्नुपर्थ्यो र तिनलाई प्रेम गरेको कुरामा ढुक्क बनाउनुपर्थ्यो। पावलको निर्देशन लागू गर्दै ती व्यक्तिलाई स्वागत गरेर मण्डलीले “सबै कुरामा आज्ञाकारी” भएको देखाए। (२ कोरि. २:९) हुनत ती मानिसलाई मण्डलीबाट हटाएको केही महिना मात्रै भएको थियो तर अनुशासन पाएपछि तिनले पश्चात्ताप गरे। त्यसैले मण्डलीमा तिनलाई पुनर्बहाली गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण थिएन।
हामी कसरी यहोवाले जस्तै न्याय र कृपा देखाउन सक्छौँ?
१४-१५. कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी मामिला सम्हालिएको तरिकाबाट हामी के सिक्न सक्छौँ? (२ पत्रुस ३:९) (चित्र पनि हेर्नुहोस्।)
१४ कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी मामिला सम्हालिएको तरिका “हाम्रो शिक्षाका लागि” बाइबलमा लेखिएको छ। (रोमी १५:४) त्यस विवरणबाट यहोवा गम्भीर गलत काम गरेर पश्चात्ताप नगर्ने मानिसलाई मण्डलीमा रहिरहन दिनुहुन्न भनेर बुझ्न सक्छौँ। यहोवा त्यस्तो व्यक्तिलाई मण्डलीमा रहिरहन दिनुपर्छ भन्ने सोचाइ राख्नुहुन्न। हुनत उहाँ कृपालु हुनुहुन्छ तर उहाँ गलत आचरणलाई पनि सहेर बस्नुहुन्छ भन्ने होइन। उहाँ सही र गलतसम्बन्धी आफ्नो स्तर फेरबदल गर्नुहुन्न। (यहु. ४) यहोवा परमेश्वरले पश्चात्ताप नगर्ने व्यक्तिलाई मण्डलीमा रहिरहन दिनुभयो भने उहाँले कृपा देखाइरहनुभएको हुनेछैन। किनभने त्यसले गर्दा पूरै मण्डलीलाई नराम्रो असर पर्न सक्छ।—हितो. १३:२०; १ कोरि. १५:३३.
१५ हामीले सिक्न सक्ने अर्को कुरा के हो? यहोवा कोही पनि नाश नभएको बरु सकेसम्म सबै मानिस बचेको चाहनुहुन्छ। यहोवा आफ्नो सोचाइ अनि आचरण परिवर्तन गरेर उहाँसितको सम्बन्ध सुधार्न चाहनेहरूलाई कृपा देखाउनुहुन्छ। (इज. ३३:११; २ पत्रुस ३:९ पढ्नुहोस्।) कोरिन्थ मण्डलीका ती मानिसले पनि पश्चात्ताप गरेर आफ्नो गलत मार्ग त्यागेका थिए। त्यसैले यहोवा परमेश्वरले पावललाई चलाएर ती मानिसलाई क्षमा दिन र स्वागत गर्न मण्डलीलाई निर्देशन दिनुभयो।
मण्डलीले यहोवाले जस्तै प्रेम र कृपा देखाउँदै पुनर्बहाली भएको व्यक्तिलाई न्यानो स्वागत गर्छ (अनुच्छेद १४-१५ हेर्नुहोस्)
१६. कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी मामिला सम्हालिएको तरिका तपाईँलाई कस्तो लाग्यो?
१६ कोरिन्थ मण्डलीमा गम्भीर गलत कामसम्बन्धी मामिला सम्हालिएको तरिका छलफल गर्दा यहोवाको प्रेम, धार्मिकता र न्यायबारे अझ राम्ररी बुझ्न सक्यौँ। (भज. ३३:५) उहाँका यी गुणहरूबारे थाह पाउँदा हामी उहाँको झन् धेरै प्रशंसा गर्न उत्प्रेरित हुन्छौँ। किनभने हामी सबै नै पापी छौँ र हामीलाई उहाँको क्षमा चाहिन्छ। यहोवाले हामी प्रत्येकको लागि दिनुभएको फिरौतीको लागि पनि हामी कृतज्ञ छौँ किनभने त्यसले गर्दा नै हामीले क्षमा पाउन सकेका छौँ। यहोवा आफ्ना जनहरूलाई माया गर्नुहुन्छ र उनीहरूको हित चिताउनुहुन्छ भन्ने कुरा थाह पाउनु साँच्चै आश्वासनदायी कुरा हो!
१७. हामी यसपछिका लेखहरूमा के छलफल गर्नेछौँ?
१७ अहिले कसैले गम्भीर गल्ती गर्दा नि? एल्डरहरूले यहोवाको अनुकरण गर्दै गम्भीर गलत काम गर्ने व्यक्तिलाई कसरी पश्चात्ताप गर्न मदत गर्न सक्छन्? एल्डरहरूले कसैलाई मण्डलीबाट हटाउँदा वा पुनर्बहाली गर्दा मण्डलीले के गर्नुपर्छ? यी प्रश्नहरूको जवाफ हामी यसपछिका लेखहरूमा पाउनेछौँ।
गीत १०९ प्रगाढ प्रेम