प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 नोभेम्बर pp. २६-३०
  • यहोवाले सधैँ हामीलाई बल दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले सधैँ हामीलाई बल दिनुभयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भाइबहिनीको मायाले हामीलाई बल दियो
  • डर लाग्दा यहोवाबाट बल पायौँ
  • सत्य ज्योतिझैँ चम्किरह्‍यो
  • बिछोडको पीडा सहन बल पायौँ
  • नयाँ चुनौतीको सामना गर्न बल पायौँ
  • नयाँ असाइनमेन्टमा लाग्न बल पायौँ
  • फर्केर हेर्दा
  • यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उत्कृष्ट मसीही सम्पदाको लागि कृतज्ञ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
  • नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 नोभेम्बर pp. २६-३०
पल र एन क्रुडास।

जीवनी

यहोवाले सधैँ हामीलाई बल दिनुभयो

पल र एन क्रुडासको वृत्तान्तमा आधारित

पल: नोभेम्बर १९८५ को कुरा हो। हामी मिसनरी सेवाको लागि लाइबेरिया जाँदै थियौँ। हामी एकदमै खुसी थियौँ। सुरुमा हाम्रो प्लेन सेनेगलमा रोकियो। हामीलाई कहिले लाइबेरिया पुगौँ भइसकेको थियो। एन पनि यसो भन्दै थिइन्‌, “अब त हामी एक घण्टामै लाइबेरिया पुग्नेछौँ।” त्यसपछि प्लेनमा अचानक एउटा घोषणा गरियो: “लाइबेरियामा विद्रोहीहरूले सत्ता पल्टाउन हुलदङ्‌गा मच्चाइरहेकोले हामी त्यहाँ ल्याण्ड गर्न सक्दैनौँ। त्यसैले लाइबेरिया जान लागेका यात्रुहरू कृपया प्लेनबाट ओर्लनुहोस्‌।” त्यसपछि हामी प्लेनबाट ओर्लियौँ र १० दिनसम्म अरू मिसनरीहरूसितै सेनेगलमै बस्यौँ। लाइबेरियामा ट्रकका ट्रक मानिसहरूको लास जम्मा गरिरहेको, सरकारले कर्फ्यु लगाएको अनि कर्फ्यु तोड्‌ने थुप्रै मानिसहरू मारिएको खबर हामी दिनदिनै सुनिरहन्थ्यौँ।

एन: म अलि डरपोक छु। मलाई बाटो काट्‌न पनि डर लाग्छ। बच्चा बेलामा त म झन्‌ यत्ति डराउँथे कि अरूले मलाई ‘चिन्ता कुमारी’ भन्‍ने नाम नै दिएका थिए। तर हामी लाइबेरिया गएर मिसनरी सेवा गर्न भने तम्तयार थियौँ।

पल: एन र म इङ्‌गल्यान्डको पश्‍चिमतिर पर्ने इलाकामा जन्मियौँ र त्यहीँ हुर्कियौँ। मेरो आमाबुबा अनि एनको आमाले हामीलाई सधैँ अग्रगामी गर्न प्रोत्साहन दिनुहुन्थ्यो। त्यसैले हामीले स्कुल सकिनेबित्तिकै अग्रगामी सेवा सुरु गऱ्‍यौँ। उहाँहरूले हामीलाई पूरापूर साथ दिनुभयो। उन्‍नाइस वर्षको छँदा मैले बेथेल सेवा सुरु गरेँ। अनि १९८२ मा हाम्रो विवाह भएपछि एनले पनि बेथेल सेवा गर्न थालिन्‌।

पल र एन आफ्नो गिलियड दीक्षान्त समारोहमा।

गिलियड दीक्षान्त समारोह, सेप्टेम्बर ८, १९८५

एन: हामीलाई बेथेल सेवा मन पर्थ्यो। तर हामी पहिल्यैदेखि आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न चाहन्थ्यौँ। बेथेलमा पहिले मिसनरी सेवा गरेका भाइबहिनीहरूसित सङ्‌गत गर्दा हाम्रो त्यो इच्छा झनै बढ्यो। हामीले तीन वर्षसम्म हरेक रात त्यसबारे तोकेरै प्रार्थना गऱ्‍यौँ। पछि १९८५ मा गिलियडको ७९ औँ कक्षाको लागि निम्तो पाउँदा खुसीले हाम्रो खुट्टा भुईँमै थिएन। त्यसपछि हामीलाई पश्‍चिम अफ्रिकाको लाइबेरियामा खटाइयो।

भाइबहिनीको मायाले हामीलाई बल दियो

पल: सेनेगलबाट लाइबेरिया जाने पहिलो प्लेनमा हामी पनि गयौँ। त्यहाँको माहोल अझै पनि गन्जागोल थियो र कर्फ्यु पनि लागिरहेको थियो। मानिसहरू एकदमै डराइरहेका थिए। गाडीले अलिकति ठूलो आवाज निकाल्दा पनि मानिसहरू डराएर भाग्थे। हुनत हामीलाई पनि असाध्यै डर लाग्थ्यो। तर नआत्तिन हामी हरेक रात भजनको किताब पढ्‌थ्यौँ। लाइबेरियाको अवस्था नराम्रो भए तापनि हामीलाई आफ्नो असाइनमेन्ट एकदमै मन पर्थ्यो। एन हरेक दिन साक्षीकार्यमा भाग लिन्थिन्‌ भने मचाहिँ बेथेलमा सेवा गर्थेँ। मैले बेथेलमा जोन चारुक भाइसितै सेवा गर्ने मौका पाएँ।a मैले उहाँबाट धेरै कुरा सिकेँ। उहाँ लाइबेरियामा बस्नुभएको धेरै समय भइसकेको थियो र त्यहाँका भाइबहिनीहरूको अवस्था उहाँलाई राम्ररी थाह थियो।

एन: हामी लाइबेरियामा छिट्टै घुलमिल हुन थाल्यौँ। यसको मुख्य कारण त्यहाँका भाइबहिनीहरू नै हुनुहुन्थ्यो। उहाँहरू एकदमै मिलनसार हुनुहुन्थ्यो अनि यहोवालाई माया गर्नुहुन्थ्यो। उहाँहरूले हामीलाई पनि धेरै माया गर्नुभयो र खुला मनले स्वागत गर्नुभयो। हामीलाई उहाँहरू आफ्नै परिवारजस्तो लाग्न थाल्यो। उहाँहरूका प्रोत्साहनदायी शब्दहरूले हामीलाई आध्यात्मिक रूपमा बलियो हुन मदत गऱ्‍यो। साक्षीकार्यबारे त झन्‌ कुरै नगरौँ! छिट्टै कुरा सकाएर निस्कन खोज्यो भने त घरधनीहरू रिसाउनु पो हुन्थ्यो! मानिसहरू बाटो-बाटोमा अनि चोक-चोकमा बाइबलबारे कुरा गरिरहेका हुन्थे। हामी तिनीहरूकहाँ गएर बाइबलको कुरा सजिलै बताउन सक्थ्यौँ। हाम्रा बाइबल अध्ययनहरू यत्ति धेरै भए कि भ्याइ-नभ्याइ हुन्थ्यो। त्यहाँको साक्षीकार्य एकदमै रमाइलो थियो।

डर लाग्दा यहोवाबाट बल पायौँ

घरबाट भागेर लाइबेरियाको बेथेलमा आएका भाइबहिनीहरूलाई भाइहरू केही बताउँदै छन्‌।

घरबाट भागेर लाइबेरियाको बेथेलमा आएका भाइबहिनीहरू, १९९०

पल: सन्‌ १९८९ सम्म लाइबेरियाको अवस्था अलि साम्य थियो। तर अचानक गृहयुद्ध सुरु भयो। सन्‌ १९९० जुलाई २ मा विद्रोहीहरूले बेथेल वरिपरिको इलाका कब्जा गरे। तीन महिनासम्म हामीले कहीँ-कतै सम्पर्क गर्न सकेनौँ। परिवार अनि मुख्यालयसित पनि सम्पर्क टुट्यो। नियमकानुन नभएकोले मानिसहरू आफूखुसी गर्थे। खानेकुराको अभाव हुन थाल्यो र बलात्कारजस्ता घटनाहरू पनि सामान्य हुन थाले। चौध वर्षसम्म देशभरिको अवस्था यस्तै रहिरह्‍यो।

एन: जातीय द्वन्द्व अनि मारकाट मच्चिरहेको थियो। विद्रोहीहरू अनेक थरीका हातहतियार भिरेर बाटोमा खुलेआम हिँडिरहेका हुन्थे र लुटपाट मच्चाइरहेका हुन्थे। तिनीहरूको लागि मान्छे मार्नु कुखुरा काट्‌नुसरह भइसकेको थियो। ठाउँ-ठाउँमा लासको थुप्रो देखिन्थ्यो। बेथेलनजिकै पनि त्यसरी लास थुपारेर राखिएको थियो। हाम्रा केही भाइबहिनी पनि मारिए, जसमध्ये दुई जना मिसनरी हुनुहुन्थ्यो।

भाइबहिनीहरूले ज्यानकै जोखिम मोलेर अर्को जातिका भाइबहिनीहरूलाई लुकाउनुभयो। मिसनरीहरू अनि बेथेल सेवकहरूले पनि त्यसै गरे। आफ्नो घरबाट भाग्नुपरेका केही भाइबहिनीलाई बेथेलमा पनि राखियो। कोही-कोही त बेथेल सेवकहरूसितै एउटै कोठामा बसे। हामी पनि आफ्नो कोठामा सात जनाको एउटा परिवारसितै बस्यौँ।

पल: हामीले कसैलाई लुकाएर राखेका छौँ कि भनेर हेर्न विद्रोहीहरू हरेक दिनजसो नै बेथेलभित्र छिर्न खोज्थे। तर हाम्रो सुरक्षा व्यवस्था कडा थियो। दुई जना झ्यालबाट चियाएर हेरिरहन्थे र अर्को दुई जना भने बाहिर गेटमा गएर विद्रोहीहरूसित कुरा गर्थे। विद्रोहीहरू असाध्यै रिसाइरहेका छन्‌ भने गेटमा गएका भाइहरूले आफ्नो हात पछाडि बाँध्थे। त्यसपछि झ्यालबाट चियाइरहेका दुई जनाले तुरुन्तै गएर भाइबहिनीहरूलाई लुकाउँथे। तर सबै कुरा ठीक छ भने चाहिँ गेटमा गएका भाइहरूले आफ्नो हात अगाडि राख्थे।

एन: एकदिन त विद्रोहीहरू जबरजस्ती बेथेलभित्र छिरे। त्यसपछि म र अर्को एक जना बहिनी बाथरुममा लुक्न गयौँ। हामीले बाथरुमभित्र एउटा दराजमा सानो लुक्ने ठाउँ पनि बनाएका थियौँ। ती बहिनी त्यसभित्र लुकिन्‌। मेसिनगन भिरेका ती विद्रोहीहरू हाम्रो पछिपछि माथि कोठासम्म आइपुगे। त्यसपछि तिनीहरूले बाथरुमको ढोकामा ढ्याङढ्याङ हिर्काए। पल तिनीहरूलाई यसो भन्दै हुनुहुन्थ्यो, “बाथरुममा मेरी श्रीमती छिन्‌।” मैले ती बहिनीलाई लुकाउँदै गर्दा आवाज आइरहेको थियो। उनलाई लुकाएपछि दराजको सामान पनि ठाउँ-ठाउँमा मिलाएर राख्नुपर्ने भएकोले समय लाग्यो। त्यसैले ती विद्रोहीहरूलाई शङ्‌का लागेको हुनुपर्छ। म लगलग काँपिरहेकी थिएँ। मैले छोटो प्रार्थना गरेँ र यहोवासित मदत मागेँ। त्यसपछि मैले आफूलाई सम्हाल्दै जसोतसो ढोका खोलेँ। एक जना त मलाई घचेटेर सरासर दराज भएतिर गयो। अनि त्यहाँ कोही लुकिरहेको छ कि भनेर खोज्यो र सामान छरपस्ट पारिदियो। तर उसले त्यहाँ कसैलाई देखेन। त्यसपछि विद्रोहीहरूले अरू कोठाहरू र भएभरको सबै ठाउँ खानतलासी गरे। तर तिनीहरूले कसैलाई पनि देखेनन्‌।

सत्य ज्योतिझैँ चम्किरह्‍यो

पल: हामीले महिनौँसम्म खानेकुराको अभाव झेल्नुपऱ्‍यो। बिहान नास्ता खानको लागि पनि हामीसित अक्सर केही हुँदैनथ्यो तर आध्यात्मिक भोजन भने दिनहुँ पाइरहेका थियौँ। बेथेलको बिहानको उपासना नै हाम्रो नास्ता थियो। यसबाट हामीले निकै बल पायौँ।

हामी खानेकुरा र पानी लिन बाहिर गयौँ भने हामीले बेथेलमा लुकाइरहेका भाइबहिनीको ज्यान खतरामा पर्न सक्थ्यो। तर यहोवाले थुप्रै चोटि अचम्मलाग्दो तरिकामा हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुभयो। यहोवाले सधैँ हाम्रो ख्याल राख्नुभयो र त्यस्तो डरलाग्दो समयमा पनि नआत्तिन मदत गर्नुभयो।

जताततै निराशा छाए तापनि सत्य ज्योतिझैँ चम्किरह्‍यो। हाम्रा भाइबहिनी आफ्नो ज्यान जोगाउन धेरैचोटि घर छोडेर भाग्नुपऱ्‍यो। तर यहोवामाथि उहाँहरूको भरोसा र विश्‍वास कहिल्यै ढलपल भएन। कसै-कसैले त “हामीले महासङ्‌कष्टको लागि तालिम पाइरहेका छौँ” भन्‍ने गर्नुहुन्थ्यो। एल्डरहरू र जवान भाइहरूले निकै साहस देखाउनुभयो र अरू भाइबहिनीलाई जोगाउन कुनै कसर बाँकी राख्नुभएन। आफ्नो घर छोडेर भाग्नुपर्दा पनि भाइबहिनीले एकअर्काको साथ छोडेनन्‌। उहाँहरू जहाँ-जहाँ जानुभयो, त्यहाँ-त्यहाँ साक्षी दिन थाल्नुभयो। अनि जङ्‌गलमा कामचलाउ सभाभवन बनाएर सभाहरू पनि गर्नुभयो। निराशा छाएको संसारमा ती सभाहरू भाइबहिनीको लागि प्रोत्साहनको स्रोत थियो। साक्षीकार्यमा भाग लिँदा भाइबहिनीले त्यो गाह्रो अवस्था सहन सक्नुभयो। राहत सामग्रीहरू वितरण गर्दा भाइबहिनीले लुगाफाटा होइन, साक्षीकार्यको लागि झोला माग्नुहुन्थ्यो। यो देख्दा हाम्रो मन साह्रै छोयो। युद्धको मारमा परेका थुप्रैले हामीले सुनाउने सुसमाचारबाट सान्त्वना पाए। यस्तो डरलाग्दो अवस्थामा पनि साक्षीहरू खुसी र सकारात्मक भएको देख्दा तिनीहरू छक्क पर्थे। साक्षीहरू अन्धकार संसारमा ज्योतिजस्तै चम्किए। (मत्ति ५:१४-१६) भाइबहिनीको जोसले गर्दा कोही-कोही विद्रोहीहरूले समेत यहोवाको सेवा गर्न थाले।

बिछोडको पीडा सहन बल पायौँ

पल: युद्धको कारण हामी लाइबेरिया छोडेरै जानुपरेको अवस्था पनि थियो। तीन चोटि छोटो समयको लागि अनि दुई चोटि त पूरै वर्षभरि। एक जना मिसनरी बहिनीले यसो भनिन्‌: “गिलियडमा हामीलाई आफ्नो असाइनमेन्टमा पूरा मन लगाउन सिकाइएको थियो अनि हामीले त्यसै गऱ्‍यौँ। तर त्यस्तो गाह्रो अवस्थामा हाम्रा भाइबहिनीहरूलाई छोड्‌नुपर्दा हाम्रो मन छिया-छिया भयो।” हामीले पनि ठ्याक्कै त्यस्तै महसुस गरेका थियौँ। हुनत हामी लाइबेरियामा फर्कन सकेका थिएनौँ। तर नजिकैका देशहरूमा बसेर लाइबेरियाका भाइबहिनीहरू अनि त्यहाँको साक्षीकार्यलाई सघाउन सक्यौँ।

पल र एन लाइबेरिया विमानस्थलको धावनमार्गमा हिँड्‌दै छन्‌।

खुसी भई लाइबेरिया फर्कँदै, १९९७

एन: मे १९९६ को कुरा हो, हामी अर्को दुई जना भाइबहिनीसँगै बेथेलको गाडी लिएर सुरक्षित ठाउँमा जाँदै थियौँ। त्यो ठाउँ बेथेलबाट १६ किलोमिटर टाढा थियो। हामीसँग लाइबेरियाको हाम्रो गतिविधिसित सम्बन्धित महत्त्वपूर्ण कागजातहरू पनि थिए। हामी जाँदै गर्दा अचानक हुलदङ्‌गा मच्चियो र विद्रोहीहरूले हवाई फायर गर्न थाले। तिनीहरूले हाम्रो गाडीलाई रोके अनि हामी तीन जनालाई निकालेर पललाई भने गाडीमै लिएर गए। हामी सबै त्यहीँ उभिरह्‍यौँ। डरले गर्दा केही गर्नै सकेनौँ। एकैछिनमा पल भीडबाट हामी भएतिर आउँदै गरेको देख्यौँ। उहाँको टाउकोबाट रगत बगिरहेको थियो। सुरुमा त हामीले उहाँलाई गोली लाग्यो कि क्या हो भन्ठान्यौँ। तर फेरि सोच्यौँ, यदि गोली लागेको हो भने त त्यसरी हिँडेर नआउनुपर्ने हो। वास्तवमा के भएको रहेछ भने एक जना विद्रोहीले उहाँलाई गाडीबाट घचेट्‌दा उहाँको टाउकोमा सानो चोट लागेको रहेछ।

नजिकै सेनाको एउटा ट्रक टनाटन मान्छेहरू बोकेर हिँड्‌नै लागेको थियो। हामी पनि जसोतसो त्यही ट्रकको पछाडि झुन्डियौँ। त्यसपछि त ड्राइभरले बेस्सरी ट्रक हुइँक्याए। हामी धन्‍न खसेनौँ! हामीले तिनलाई ट्रक रोक्न कत्ति भन्यौँ तर तिनी पनि डराएकोले हाम्रो कुरा सुन्दै सुनेनन्‌। हामी जसोतसो सुरक्षित ठाउँमा आइपुग्यौँ। हाम्रो हात फतक्कै गलिसकेको थियो अनि हामी डरले थरथर काँपिरहेका थियौँ।

पल: हाम्रो लुगा धुलोमुलो भइसकेको र च्यातिसकेको थियो। तर जेहोस्‌, हामी अचम्म तरिकाले बच्यौँ। त्यो रात हामीले खुला चौरमा बितायौँ। त्यहाँ गोली नै गोली लागेको एउटा जीर्ण हेलिकप्टर पनि थियो। भोलिपल्ट हामी त्यही हेलिकप्टर चढेर सियरा लियोन गयौँ। हामी त बच्यौँ तर हामीलाई लाइबेरियाका भाइबहिनीको भने असाध्यै चिन्ता लागिरहेको थियो।

नयाँ चुनौतीको सामना गर्न बल पायौँ

एन: सियरा लियोनको बेथेलमा हामी सकुशल आइपुग्यौँ। भाइबहिनीले हाम्रो निकै ख्याल राख्नुभयो। तर मेरो दिमागमा लाइबेरियाका डरलाग्दा दृश्‍यहरू आइरहन्थे। दिउँसो पनि म केही हुने हो कि भनेर डराइरहेकी हुन्थेँ र राम्ररी सोच्नै सक्दिनथेँ। राती पनि अचानक ब्युँझिन्थेँ। मलाई चिटचिट पसिना आइरहेको हुन्थ्यो र अब केही नराम्रो घटना हुनेवाला छ जस्तो लाग्थ्यो। सास फेर्न पनि गाह्रो हुन्थ्यो। यस्तो हुँदा पलले मलाई च्याप्प समाएर प्रार्थना गर्नुहुन्थ्यो। हामी राज्यगीतहरू पनि गाउँथ्यौँ। त्यसपछि बल्ल म शान्त हुन्थेँ। अब त म पागल हुन लागेँ अनि मिसनरी सेवा पनि गर्न सक्दिनँ जस्तो लाग्यो।

त्यतिबेला यहोवाले मलाई जुन तरिकामा सम्हाल्नुभयो, त्यो म कहिल्यै बिर्सन सक्दिनँ। त्यही हप्ता हामीले दुई वटा नयाँ पत्रिका पायौँ। सन्‌ १९९६ जून ८ को ब्यूँझनुहोस्‌-मा ‘प्यानिक अट्याक’-सम्बन्धी एउटा लेख आएको थियो। त्यो पढेपछि बल्ल मलाई के भएको रहेछ भनेर थाह पाएँ। अर्को पत्रिकाचाहिँ १९९६ मे १५ को प्रहरीधरहरा थियो। त्यसमा “तिनीहरूले बल कहाँबाट पाउँछन्‌?” भन्‍ने एउटा लेख थियो। त्यो लेखमा एउटा पुतलीको चित्र थियो, जसको चार वटा पखेटामध्ये एउटा पखेटा पूरै बिग्रिसकेको थियो। तैपनि त्यो पुतलीले खान सक्थ्यो अनि उड्‌न पनि सक्थ्यो। त्यसरी नै हामी भावनात्मक तवरमा कमजोर भए तापनि यहोवाको पवित्र शक्‍ति पाएर अरूलाई मदत गरिरहन सक्छौँ भनेर त्यस लेखमा बताइएको थियो। त्यस लेखबाट मैले निकै बल पाएँ। त्यो यहोवाले मलाई चाहिएकै समयमा दिनुभएको आध्यात्मिक भोजन थियो। (मत्ति २४:४५) मैले त्यस्तै विषयका लेखहरू खोजेर जम्मा गरेँ। ती लेखहरू पढ्‌दा मैले धेरै मदत पाएँ। समय बित्दै जाँदा विगतका नमीठा सम्झनाले मलाई सताउन छोड्यो।

नयाँ असाइनमेन्टमा लाग्न बल पायौँ

पल: युद्धको कारण बेलाबेलामा लाइबेरिया छोड्‌नुपर्ने भए तापनि फेरि फर्कन पाउँदा हामी असाध्यै खुसी हुन्थ्यौँ। सन्‌ २००४ को अन्तसम्ममा हामीले त्यहाँ सेवा गरेको झन्डै २० वर्ष भइसकेको थियो। त्यतिबेला त्यहाँ युद्ध पनि रोकिसकेको थियो। त्यसैले शाखा कार्यालयको निर्माणको योजना बन्दै थियो। तर अचानक हामीले नयाँ असाइनमेन्ट पायौँ।

त्यतिबेला हामीलाई धेरै गाह्रो भएको थियो। किनभने लाइबेरियाका भाइबहिनीहरू हाम्रो परिवारजस्तै थिए। त्यसैले उहाँहरूलाई छोडेर जानु सजिलो कुरा थिएन। गिलियड जाँदा पनि परिवारबाट छुट्टिनुपरेकोले हामीलाई एकदमै गाह्रो भएको थियो। तर यहोवामा भर पर्दा आशिष्‌ पाइन्छ भनेर हामीले त्यतिबेला महसुस गरेका थियौँ। यही कुरा सम्झँदै हामीले नयाँ असाइनमेन्ट स्विकाऱ्‍यौँ। हामीलाई लाइबेरिया नजिकैको देश घानामा खटाइयो।

एन: लाइबेरिया छोड्‌ने बेला हामी यत्ति रोयौँ कि कुरै नगरौँ! एक जना पाको दाइले हामीलाई यसरी सम्झाउनुभयो: “अब तपाईँहरूले हामीलाई बिर्सनुपर्छ। हामीलाई थाह छ, तपाईँहरू हामीलाई बिर्सनुहुन्‍न। तर यो असाइनमेन्ट तपाईँहरूलाई यहोवाले नै दिनुभएको हो। त्यसैले अब आफ्नो नयाँ असाइनमेन्टमा तनमन लगाउनुहोस्‌। त्यहाँका भाइबहिनीहरूको ख्याल राख्नुहोस्‌।” उहाँले भन्‍नुभएको कुराबाट हामीले निकै हौसला पायौँ। किनभने हामी जान लागेको ठाउँ हाम्रो लागि बिलकुलै नयाँ थियो अनि त्यहाँ हामीले चिनेका भाइबहिनी पनि खासै हुनुहुन्‍नथ्यो।

पल: घानाका भाइबहिनीहरूसित घुलमिल हुन हामीलाई धेरै समय लागेन। किनभने उहाँहरूले हामीलाई धेरै माया गर्नुभयो र आफ्नै परिवारजस्तो ठान्‍नुभयो। उहाँहरूको बलियो विश्‍वास अनि वफादारी देखेर हाम्रो निकै मन छोयो। त्यहाँ १३ वर्ष सेवा गरिसकेपछि हामीले अर्को असाइनमेन्ट पायौँ। हामीलाई केन्यास्थित पूर्वी अफ्रिका शाखा कार्यालयमा खटाइयो। हुनत हामीलाई पुराना साथीहरूको धेरै याद आउँछ। तर हामी केन्याका भाइबहिनीहरूसित पनि छिट्टै घुलमिल हुन सक्यौँ। लाइबेरिया र घानामा जस्तै यहाँ पनि धेरैले सुसमाचार सुन्‍न बाँकी नै छ।

चित्रहरूको सँगालो: १. एन मुस्कुराउँदै सानी नानीलाई बोकिरहेकी छिन्‌। २. पल र जवान भाइहरू सेल्फी खिच्दै छन्‌।

पूर्वी अफ्रिका शाखा कार्यालयका नयाँ साथीहरूसित, २०२३

फर्केर हेर्दा

एन: हामी यहोवाका सेवकहरूले पनि कहिलेकाहीँ जीवनमा थुप्रै डरलाग्दो अनि तनावपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थाको सामना गर्नुपर्दा म पनि शारीरिक अनि भावनात्मक तवरमा निकै कमजोर भएँ। अहिले पनि गोलीको आवाज सुन्दा मलाई निकै डर लाग्छ, पेट बटारिएर आउँछ अनि हातखुट्टै चल्न छोड्‌छ। तर यहोवामा भर पर्दा उहाँले भाइबहिनीमार्फत अनि अरू विभिन्‍न तरिकामा मदत गर्नुहुन्छ भनेर मैले सिक्न सकेँ। साथै गाह्रो अवस्थामा पनि आध्यात्मिक तालिकाअनुसार चलिरहँदा यहोवाले हामीलाई आफ्नो असाइनमेन्ट पूरा गर्न मदत गर्नुहुन्छ भनेर पनि मैले महसुस गरेकी छु।

पल: कसै-कसैले हामीलाई “तपाईँहरूलाई आफ्नो असाइनमेन्ट मन पर्छ?” भनेर सोध्ने गर्छन्‌। ठाउँहरू सुन्दर त होलान्‌ तर कहिलेकाहीँ ती ठाउँहरू अस्थिर अनि खतरनाक हुन सक्छन्‌। त्यसैले हामीलाई प्यारो लाग्ने कुरा भनेको ठाउँभन्दा पनि त्यहाँका भाइबहिनीहरू नै हुन्‌। हाम्रो पृष्ठभूमि फरक-फरक भए तापनि यहोवाको परिवारको भाग भएकोले हामी एकै मनको हुन सकेका छौँ। भाइबहिनीलाई प्रोत्साहन दिन हामीलाई नयाँ ठाउँमा खटाइएको हो जस्तो लाग्थ्यो। तर उल्टै हामीले उहाँहरूबाट प्रोत्साहन पाइरहेका हुन्थ्यौँ।

हाम्रो विश्‍वव्यापी भाइचारा आधुनिक समयको एउटा चमत्कारै हो। हामी जहाँ गए पनि हामीलाई आफ्नै परिवार पाएजस्तो लाग्छ। यहोवाको सङ्‌गठनमा रहिरह्‍यौँ भने हामी कहिल्यै एक्लो हुनेछैनौँ, सधैँ सुरक्षित हुनेछौँ। यहोवामा भर परिरह्‍यौँ भने उहाँले हामीलाई सधैँ बल दिनुहुनेछ!—फिलि. ४:१३.

a जोन चारुकको जीवनी पढ्‌न मार्च १५, १९७३ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) “परमेश्‍वर अनि ख्रिष्टप्रति म कृतज्ञ छु” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने