अध्ययन लेख १२
गीत ११९ साँचो विश्वास हुनै पर्छ
विश्वासले हिँडिरहनुहोस्
“हामी विश्वासले हिँडिरहेका छौँ, दृष्टिले होइन।”—२ कोरि. ५:७.
सिक्न सकिने कुरा
महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा हामी कसरी विश्वासले हिँडिरहन सक्छौँ?
१. प्रेषित पावल आफ्नो जीवनलाई फर्केर हेर्दा किन सन्तुष्ट हुन सके?
प्रेषित पावललाई अब चाँडै नै आफूलाई मृत्युदण्ड दिइँदै छ भन्ने कुरा थाह थियो। तर आफ्नो जीवनलाई फर्केर हेर्दा तिनी सन्तुष्ट थिए। त्यसैले तिनले यसो भन्न सके: “मैले दौड पूरा गरेको छु, मैले विश्वासलाई थामिराखेको छु।” (२ तिमो. ४:६-८) पावलले यहोवाको सेवा गर्ने बुद्धिमानी निर्णय गरेका थिए र यो देखेर यहोवा खुसी हुनुहुन्छ भन्ने कुरामा तिनी ढुक्क थिए। हामी पनि सही निर्णयहरू गरेर यहोवालाई खुसी बनाउन चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ?
२. विश्वासले हिँड्नु भनेको के हो?
२ पावलले आफूबारे र अरू वफादार ख्रिष्टियनहरूबारे यसो भने: “हामी विश्वासले हिँडिरहेका छौँ, दृष्टिले होइन।” (२ कोरि. ५:७) तिनले के भन्न खोज्दै थिए? बाइबलमा चलाइएको “हिँड्नु” भन्ने शब्दले कहिलेकाहीँ कुनै मानिसले रोजेको जीवनशैलीलाई पनि बुझाउँछ। दृष्टिले हिँड्ने मानिसले आफूले देखेको, सुनेको र महसुस गरेको कुराको आधारमा मात्र निर्णयहरू गर्छन्। अर्कोतर्फ विश्वासले हिँड्ने मानिसले भने यहोवा परमेश्वरमा भरोसा राख्दै उहाँको इच्छासित मेल खाने निर्णयहरू गर्छन्। बाइबलको सल्लाहअनुसार चल्दा अहिले जीवन राम्रो हुन्छ र भविष्यमा पनि थुप्रै इनाम पाइन्छ भन्ने कुरामा विश्वस्त भएको तिनका निर्णयहरूबाट प्रस्ट देखिन्छ।—भज. ११९:६६; हिब्रू ११:६.
३. विश्वासले हिँड्दा हामी कस्ता लाभहरू उठाउन सक्छौँ? (२ कोरिन्थी ४:१८)
३ हुनत हामी कुनै-कुनै निर्णय आफूले देखेको वा सुनेको कुराको आधारमा गर्ने गर्छौँ। तर जीवनका महत्त्वपूर्ण निर्णयहरू पनि यस्ता कुराहरूको आधारमा मात्र गर्छौँ भने हामीबाट गलत निर्णय हुन सक्छ। किनभने हामीले देखेको र सुनेको कुरा सधैँ सही नहुन सक्छ। तर सही नै हो भने पनि दृष्टिले मात्र हिँड्छौँ भने यहोवाको इच्छासित मेल नखाने निर्णयहरू गर्न पुग्न सक्छौँ। (उप. ११:९; मत्ति २४:३७-३९) अर्कोतर्फ विश्वासले हिँड्दा हामीले ‘प्रभुलाई स्वीकार्य हुने’ निर्णयहरू गर्न सक्नेछौँ। (एफि. ५:१०) परमेश्वरको सल्लाह पालन गर्दा हामीले मनोशान्ति पाउनेछौँ र हामी खुसी हुन सक्नेछौँ। (भज. १६:८, ९; यसै. ४८:१७, १८) अनि विश्वासले हिँडिरह्यौँ भने भविष्यमा अनन्त जीवन पाउनेछौँ।—२ कोरिन्थी ४:१८ पढ्नुहोस्।
४. तपाईँ विश्वासले हिँड्दै हुनुहुन्छ वा दृष्टिले भनेर कसरी थाह पाउन सक्नुहुन्छ?
४ तपाईँ विश्वासले हिँड्दै हुनुहुन्छ वा दृष्टिले भनेर कसरी थाह पाउन सक्नुहुन्छ? यसका लागि तपाईँले केको आधारमा निर्णयहरू गर्दै हुनुहुन्छ भन्ने कुरा विचार गर्नुपर्छ। के तपाईँ यहोवामा भरोसा राख्दै उहाँको सल्लाहअनुसार निर्णयहरू गर्दै हुनुहुन्छ? वा आफूले देखेका कुराहरूको आधारमा मात्र निर्णयहरू गर्दै हुनुहुन्छ? हामी आफ्नो जीवनका यी तीन वटा क्षेत्रमा कसरी विश्वासले हिँडिरहन सक्छौँ भनेर विचार गर्नेछौँ: जागिर छान्दा, जीवनसाथी रोज्दा र सङ्गठनबाट निर्देशन पाउँदा। यी प्रत्येक क्षेत्रबारे छलफल गर्दा हामी कसरी सही निर्णय गर्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।
जागिर छान्दा
५. जागिर छान्दा हामीले कुन कुरा विचार गर्नुपर्छ?
५ हामी आफ्नो र परिवारको भौतिक आवश्यकता पूरा गर्न काम गर्छौँ। (उप. ७:१२; १ तिमो. ५:८) कुनै-कुनै काममा राम्रो कमाइ हुन्छ। त्यस्तो काम गर्दा परिवारको दैनिक आवश्यकता पूरा गर्न सकिन्छ र केही पैसा पछिको लागि भनेर बचत पनि गर्न सकिन्छ। तर कुनै-कुनै काममा भने त्यत्ति कमाइ हुँदैन र त्यसले परिवारको आधारभूत आवश्यकता मात्र पूरा गर्न सकिन्छ। त्यसैले जागिर छान्दा साधारणतया हामी कति कमाइ हुन्छ भनेर विचार गर्छौँ। तर कसैले त्यो कुरा मात्र विचार गर्छ भने ऊ दृष्टिले हिँडिरहेको हुन्छ।
६. जागिर छान्दा हामी विश्वासले हिँडेको कसरी देखाउन सक्छौँ? (हिब्रू १३:५)
६ यदि हामी विश्वासले हिँडिरहेका छौँ भने कुनै जागिर छान्नुअघि त्यसले यहोवासितको मित्रतालाई कस्तो असर पुऱ्याउन सक्छ भनेर विचार गर्छौँ। हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘के मैले यो जागिर खाँदा यहोवाले घृणा गर्नुहुने कामहरू गर्नुपर्ने हुन्छ?’ (हितो. ६:१६-१९) ‘सभा, साक्षीकार्य र व्यक्तिगत अध्ययनमा बाधा पुग्छ?’ अथवा ‘परिवारबाट लामो समय टाढा बस्नुपर्ने हुन्छ कि?’ (फिलि. १:१०) हुनत जागिर पाउन सजिलो छैन तर कुनै जागिर छान्दा यहोवाले घृणा गर्नुहुने कामहरू गर्नुपर्ने हुन्छ, आध्यात्मिक गतिविधिमा बाधा पुग्छ वा परिवारलाई समय दिन गाह्रो हुन्छ भने त्यो जागिर नखानु नै बुद्धिमानी हो। हामी विश्वासले हिँड्छौँ। त्यसैले यहोवाले कुनै न कुनै तरिकामा हाम्रा आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भनेर हामी ढुक्क छौँ र यो कुरा हाम्रा निर्णयहरूमा पनि देखिन्छ।—मत्ति ६:३३; हिब्रू १३:५ पढ्नुहोस्।
७-८. दक्षिण अमेरिकाका एक भाइले विश्वासले हिँडेको कसरी देखाए? (चित्र पनि हेर्नुहोस्।)
७ अमेरिकाका एक भाइ हाभियरलेa विश्वासले हिँडेको देखाए। तिनी भन्छन्: “मैले एउटा कामको लागि अप्लाइ गरेको थिएँ। त्यो काम पायो भने मेरो तलब दोब्बर हुने थियो अनि त्यो मलाई मन पर्ने काम पनि थियो।” तर हाभियरलाई अग्रगामी गर्ने ठूलो इच्छा थियो। तिनी यसो पनि भन्छन्: “मलाई इन्टरभ्युको लागि बोलाइयो। इन्टरभ्युअघि मैले यहोवालाई प्रार्थना गरेँ। किनभने मेरो लागि सबैभन्दा उत्तम कुरा के हो भनेर उहाँलाई नै थाह छ। हुनत त्यो काम मैले खोजेको जस्तै थियो। तर त्यसले मेरो आध्यात्मिक लक्ष्यहरूमा बाधा पुऱ्याउँछ भने म त्यो काम गर्नेवाला थिइनँ।”
८ हाभियर भन्छन्: “इन्टरभ्युको बेला म्यानेजरले मलाई बेलाबेलामा ओभरटाइम गर्नुपर्ने हुन्छ भनेर बताए। तर मैले तिनलाई सभा र साक्षीकार्यमा जानुपर्ने भएकोले ओभरटाइम गर्न सक्दिनँ भनेर आदरपूर्वक बताएँ।” हाभियरले त्यो जागिर नखाने निर्णय गरे। त्यसको दुई हप्तापछि तिनले अग्रगामी सुरु गरे अनि पछि त्यही वर्ष तिनले पार्ट-टाइम काम भेट्टाए। तिनी भन्छन्: “यहोवाले मेरो प्रार्थना सुन्नुभयो र मैले अग्रगामी सेवा गर्न सजिलो हुने काम भेट्टाएँ। यहोवा र भाइबहिनीलाई अझ धेरै समय दिन सकिने काम पाएकोमा म एकदमै खुसी छु।”
प्रमोसनको प्रस्ताव आउँदा तपाईँ के गर्नुहुन्छ? के तपाईँको निर्णयबाट यहोवामाथि भरोसा राखेको देखिन्छ? (अनुच्छेद ७-८ हेर्नुहोस्)
९. ट्रेजोरको अनुभवबाट तपाईँले के सिक्नुभयो?
९ यदि तपाईँलाई अहिलेको कामले विश्वासले हिँड्न बाधा पुऱ्याइरहेको छ भने नि? कङ्गोका ट्रेजोरको अनुभव विचार गरौँ। तिनी भन्छन्: “मैले गरिरहेको काम हतपती पाइहाल्ने खालको काम थिएन। मैले पहिलाभन्दा तीन गुणा कमाइरहेको थिएँ र मानिसहरू मलाई आदर पनि गर्थे।” तर ओभरटाइम गर्नुपर्ने भएकोले ट्रेजोरको सभा छुटिरहन्थ्यो। तिनलाई सहकर्मीहरूबाट झूट बोल्ने दबाब पनि आउँथ्यो। तिनी त्यो काम छोड्न चाहन्थे तर तिनलाई बेरोजगार भइयो भने के होला भनेर चिन्ता पनि लागिरहेको थियो। तिनलाई केले मदत गऱ्यो? तिनी भन्छन्: “हबकुक ३:१७-१९ ले मलाई यहोवाले जसरी पनि मेरो ख्याल राख्नुहुन्छ भनेर बुझ्न मदत दियो। त्यसैले मैले त्यो काम छोडेँ।” तिनी यसो पनि भन्छन्: “थुप्रै हाकिमहरू यस्तो सोच्ने गर्छन्, ‘मान्छेले टन्न पैसा आउने काम पायो भने त काँ’ परिवार, धर्मकर्म भनेर बस्छ र!’ तर त्यो काम छोडेकोमा म एकदमै खुसी छु किनभने मैले यहोवासितको सम्बन्ध जोगाउन सकेँ। त्यसको एक वर्षपछि यहोवाको मदतले गर्दा मैले आफ्नो भौतिक आवश्यकता पूरा गर्न र आध्यात्मिक गतिविधिमा अझ धेरै भाग लिन सकिने काम भेट्टाएँ। यहोवाको सेवालाई पहिलो स्थानमा राख्दा कहिलेकाहीँ आर्थिक रूपमा गाह्रो त होला। तर यहोवाले नै हाम्रो ख्याल राख्नुहुनेछ।” यहोवाको सल्लाह पालन गऱ्यौँ र उहाँका प्रतिज्ञाहरूमा भरोसा राख्यौँ भने हामी विश्वासले हिँडिरहन सक्नेछौँ र उहाँले हामीलाई आशिष् दिनुहुनेछ।
जीवनसाथी रोज्दा
१०. जीवनसाथी रोज्दा कस्ता कुराहरू मात्र विचार गऱ्यौँ भने दृष्टिले हिँडिरहेका हुन्छौँ?
१० विवाह यहोवाले दिनुभएको उपहार हो। त्यसैले विवाह गर्न चाहनु स्वाभाविकै हो। कुनै बहिनीले कुनै भाइलाई आफ्नो सम्भाव्य जीवनसाथीको रूपमा हेरिरहेकी छिन् भने उनले तिनको रूपरङ्ग कस्तो छ, तिनी अरूसित कस्तो व्यवहार गर्छन्, तिनले कस्तो नाम कमाएका छन्, तिनको आर्थिक अवस्था कस्तो छ, तिनको पारिवारिक जिम्मेवारी छ कि छैन अनि तिनीसित समय बिताउँदा कस्तो लाग्छ भन्नेजस्ता कुराहरू याद गर्छिन्।b हुनत यस्ता कुराहरू विचार गर्नु महत्त्वपूर्ण छ। तर ती बहिनीले यी कुराहरू मात्र विचार गर्छिन् भने उनी दृष्टिले हिँडिरहेकी हुन्छिन्।
११. जीवनसाथी रोज्दा हामी कसरी विश्वासले हिँड्न सक्छौँ? (१ कोरिन्थी ७:३९)
११ हाम्रा थुप्रै भाइबहिनीले जीवनसाथी रोज्दा यहोवाको सल्लाह पालन गर्छन्। यो देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला! उदाहरणको लागि, तिनीहरू कसैसित विवाह गर्ने उद्देश्यले डेटिङ थाल्नुअघि “बैँस पार गरिसकेको” हुनुपर्छ भन्ने बाइबलको सल्लाह मनमा राख्छन्। (१ कोरि. ७:३६) बाइबलमा असल पति वा पत्नीमा कस्ता गुणहरू हुनुपर्छ भनेर बताइएको छ। त्यसैले तिनीहरू आफ्नो सम्भाव्य जीवनसाथीमा ती गुणहरू छ कि छैन भनेर विचार गर्छन्। (हितो. ३१:१०-१३, २६-२८; एफि. ५:३३; १ तिमो. ५:८) कसैले रोमान्टिक चासो देखाउँदा तिनीहरू “प्रभुको चेलासित मात्र” विवाह गर्नुपर्छ भन्ने बाइबलको सल्लाह मनमा राख्छन् र भावनामा बहेर निर्णय गर्दैनन्। (१ कोरिन्थी ७:३९ पढ्नुहोस्।) यहोवाले नै हाम्रो भावनात्मक आवश्यकताको सबैभन्दा राम्ररी ख्याल राख्न सक्नुहुन्छ भन्ने कुरामा भरोसा राख्दै तिनीहरू विश्वासले हिँडिरहन्छन्।—भज. ५५:२२.
१२. रोजाको अनुभवबाट तपाईँले के सिक्नुभयो?
१२ कोलम्बियामा अग्रगामी गरिरहेकी रोजाको अनुभव विचार गरौँ। कामको सिलसिलामा तिनले एक जना केटालाई भेटिरहनुपर्ने हुन्थ्यो। त्यो केटाले तिनीप्रति रोमान्टिक चासो देखाउन थाले। रोजा भन्छिन्: “मलाई ऊ राम्रो लाग्थ्यो। उसले आफ्नो टोलछिमेकका मानिसहरूलाई मदत गर्थ्यो अनि उसको जीवनशैली पनि राम्रै थियो। उसले मसित पनि राम्रो व्यवहार गर्थ्यो। उसमा मैले आफ्नो जीवनसाथीमा चाहेको सबै कुरा थियो तर ऊ साक्षी भने थिएन।” तिनी यसो पनि भन्छिन्: “त्यो समयतिर मैले एक्लो महसुस गरिरहेकी थिएँ। म विवाह गर्न चाहन्थेँ तर साक्षीहरूमाझ सुहाउँदो जीवनसाथी भेटिरहेकी थिइनँ। त्यसैले उसलाई नाइँ भन्न मलाई एकदमै गाह्रो भयो किनकि ऊ मेरो मनले खाएको मान्छे थियो।” तर रोजाले आफूले देखेको कुरामा मात्र ध्यान दिइनन्। बरु आफ्नो निर्णयले यहोवासितको मित्रतालाई कस्तो असर गर्न सक्छ भनेर विचार गरिन्। त्यसैले तिनले त्यो केटासित भेटघाट गर्न छोडिन् र आध्यात्मिक गतिविधिमा व्यस्त हुन थालिन्। त्यसको केही समयपछि तिनले राज्य प्रचारकहरूका लागि स्कुलको निम्तो पाइन्। अहिले तिनी विशेष अग्रगामीको रूपमा सेवा गर्दै छिन्। रोजा भन्छिन्: “यहोवाले मलाई थुप्रै आशिष् दिनुभएको छ। म अहिले धेरै खुसी छु।” हुनत हाम्रो भावना नै मुछिएका कुराहरूमा विश्वासले हिँड्न सजिलो हुँदैन। तर प्रयास गऱ्यौँ भने हाम्रै फाइदा हुन्छ।
सङ्गठनबाट निर्देशन पाउँदा
१३. निर्देशन पाउँदा के गऱ्यौँ भने हामी दृष्टिले हिँडिरहेका हुन्छौँ?
१३ हामीले बेलाबेलामा मण्डलीका एल्डरहरू, क्षेत्रीय निरीक्षक, शाखा कार्यालय वा परिचालक निकायबाट निर्देशनहरू पाउँछौँ। तर कुनै-कुनै अवस्थामा हामीले निर्देशन दिइनुको कारण नबुझ्न सक्छौँ। त्यतिबेला हाम्रो ध्यान त्यो निर्देशनले पार्न सक्ने नकारात्मक असरमा अनि निर्देशन दिने भाइहरूको कमीकमजोरीमा मात्र जान सक्छ।
१४. सङ्गठनबाट निर्देशन पाउँदा हामी विश्वासले हिँडेको कसरी देखाउन सक्छौँ? (हिब्रू १३:१७)
१४ यदि हामी विश्वासले हिँड्छौँ भने सबै कुरा यहोवाकै नियन्त्रणमा छ र उहाँलाई हाम्रो अवस्था राम्ररी थाह छ भनेर भरोसा गर्छौँ। त्यसैले हामी निर्देशनहरूप्रति सकारात्मक दृष्टिकोण राख्दै ती तुरुन्तै पालन गर्छौँ। (हिब्रू १३:१७ पढ्नुहोस्।) हामी आज्ञाकारी भयौँ भने मण्डलीको एकता कायम हुन्छ। (एफि. ४:२, ३) हुनत नेतृत्व लिइरहेका भाइहरू त्रुटिपूर्ण छन् तर तिनीहरूप्रति आज्ञाकारी भयौँ भने यहोवाले आशिष् दिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। (१ समु. १५:२२) यदि कुनै कुरा सच्याउनै पर्ने हो भने यहोवाले आफ्नो समयमा पक्कै सच्याउनुहुनेछ।—मिका ७:७.
१५-१६. सङ्गठनबाट आएको निर्देशन चित्त नबुझे पनि विश्वासले हिँड्न एक जना भाइलाई केले मदत गऱ्यो? (चित्र पनि हेर्नुहोस्।)
१५ विश्वासले हिँड्दा कस्तो फाइदा हुन्छ भनेर बुझ्न एउटा अनुभव विचार गरौँ। पेरूका धेरैजसो मानिसहरूले स्पेनिश बोल्छन्। तर त्यहाँ थुप्रै रैथाने भाषाहरू पनि छन्। तीमध्ये एउटा क्वेचा हो। धेरै वर्षसम्म क्वेचा बोल्ने भाइबहिनीहरूले इलाकामा त्यो भाषा बोल्ने मानिसहरू खोजे। तर सरकारले बनाएको नियमअनुसार चल्न त्यस्ता मानिसहरू खोज्ने तरिकामा छाँटकाँट गरियो। (रोमी १३:१) कसै-कसैलाई त्यो तरिका प्रभावकारी हुँदैन होला जस्तो लागेको थियो। तर भाइबहिनीहरू नयाँ तरिकाअनुसार चले अनि यहोवाले तिनीहरूको प्रयासमा आशिष् पनि दिनुभयो। तिनीहरूले क्वेचा भाषा बोल्ने थुप्रै मानिसहरू भेट्टाउन सके।
१६ क्वेचा भाषाको मण्डलीमा एल्डरको रूपमा सेवा गर्ने केभिनलाई पनि नयाँ निर्देशन आउँदा चिन्ता लागेको थियो। तिनी भन्छन्: “अब क्वेचा भाषा बोल्ने मानिसहरू भेट्न झनै गाह्रो हुने भयो जस्तो लाग्यो।” तिनले के गरे? तिनी भन्छन्: “मैले हितोपदेश ३:५ मा लेखिएका कुराहरूमा मनन गरेँ अनि मैले मोसाको उदाहरण सम्झेँ। यहोवाले मोसालाई एउटा अनौठो निर्देशन दिनुभएको थियो। तिनले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर लाल समुद्र भएतिर लैजानुपर्ने थियो। तर त्यो बाटो भएर जाँदा इस्राएलीहरू सजिलै मिश्रीहरूको फन्दामा पर्न सक्थे। तैपनि मोसाले यहोवाले दिनुभएको निर्देशन पालन गरे। तिनी आज्ञाकारी भएकोले यहोवाले इस्राएलीहरूलाई अचम्मलाग्दो तरिकामा छुटकारा दिनुभयो।” (प्रस्थ. १४:१, २, ९-११, २१, २२) मोसाबारे मनन गरेपछि केभिन साक्षी दिने तरिकामा छाँटकाँट गर्न तयार भए। नतिजा कस्तो भयो? तिनी भन्छन्: “नयाँ निर्देशनअनुसार चलेकोले यहोवाले हामीलाई प्रशस्तै आशिष् दिनुभयो। मलाई त अचम्म लाग्यो! पहिला-पहिला हामी क्वेचा भाषाका मानिसहरू खोज्दै इलाकामा धेरै घुम्थ्यौँ तर एक/दुई जना मात्र भेटिन्थ्यो। अहिले हामी क्वेचा भाषा बोल्ने धेरै मानिसहरू भएको ठाउँहरूमा जान्छौँ। यसले गर्दा अझ धेरै मानिसहरूसित कुराकानी थाल्न अनि पुनःभेट र बाइबल अध्ययन सुरु गर्न सकेका छौँ। सभाको उपस्थिति पनि बढेको छ।” हो, विश्वासले हिँड्यौँ भने यहोवाबाट इनाम पाउनेछौँ।
भाइबहिनीहरूले भेटेका धेरैजसो मानिसहरूले क्वेचा भाषा बोल्ने मानिसहरू कहाँ छन् भनेर देखाइदिए (अनुच्छेद १५-१६ हेर्नुहोस्)
१७. यस लेखबाट तपाईँले के सिक्नुभयो?
१७ यस लेखमा हामीले तीन वटा महत्त्वपूर्ण क्षेत्रहरूमा कसरी विश्वासले हिँडिरहन सक्छौँ भनेर बुझ्यौँ। तर हामी आफ्नो जीवनको हरेक क्षेत्रमा विश्वासले हिँडिरहनुपर्छ। जस्तै, कस्तो मनोरञ्जन छान्ने, कतिसम्म पढ्ने वा छोराछोरी कसरी हुर्काउने भनेर निर्णय गर्नुपर्ने हुन्छ। तर हामीले देखेका कुराहरूको आधारमा मात्र निर्णयहरू गर्नु हुँदैन। बरु आफूले गर्ने निर्णयले यहोवासितको सम्बन्धलाई कस्तो असर गर्छ भनेर विचार गर्नुपर्छ। साथै हामीले उहाँको सल्लाह पालन गर्नुपर्छ अनि उहाँले हाम्रो हेरचाह गर्नुहुनेछ भन्ने कुरामा भरोसा गर्नुपर्छ। यसो गऱ्यौँ भने हामी ‘सदासर्वदा यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्न सक्नेछौँ।’—मिका ४:५.
गीत १५६ विश्वासको आँखाले
a केही नाम परिवर्तन गरिएका छन्।
b यस अनुच्छेदमा विवाह गर्न चाहेकी बहिनीबारे बताइएको भए पनि यहाँ दिइएका सुझावहरू विवाह गर्न चाहेका भाइलाई पनि लागू हुन्छ।