अध्ययन लेख १३
गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”
यहोवाको हात कहिल्यै छोटो हुँदैन
“के यहोवाको हात छोटो छ र?”—गन्ती ११:२३.
सिक्न सकिने कुरा
यस लेखले यहोवाले हाम्रा भौतिक आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भनेर भरोसा गर्न र त्यो भरोसालाई अझ बढाउँदै लैजान मदत गर्नेछ।
१. इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा मोसाले यहोवामाथि भरोसा राखेको कसरी देखाए?
हिब्रूको किताबमा यहोवामाथि उल्लेखनीय विश्वास देखाएका थुप्रै व्यक्तिहरूबारे बताइएको छ। तिनीहरूमध्ये एक जना मोसा हुन्। (हिब्रू ३:२-५; ११:२३-२५) तिनले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा त्यस्तो विश्वास देखाए। तिनी फारो र तिनको सेनादेखि डराएनन्। तिनले यहोवामाथि पूरा भरोसा राखेका थिए। त्यसैले तिनले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्याएर निर्जनभूमितिर लगे। (हिब्रू ११:२७-२९) निर्जनभूमिमा पुगेपछि धेरैजसो इस्राएलीले यहोवाले तिनीहरूको भौतिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ भन्ने कुरामा शङ्का गर्न थाले। तर मोसाले भने उहाँमाथि भरोसा गरिरहे। तिनको त्यो भरोसा बेकार गएन किनभने उहाँले त्यस्तो निर्जनभूमिमा पनि चमत्कारपूर्ण ढङ्गमा इस्राएलीहरूको निम्ति खानेकुरा र पानीको प्रबन्ध गरिदिनुभयो।a—प्रस्थ. १५:२२-२५; भज. ७८:२३-२५.
२. परमेश्वरले किन मोसालाई “के यहोवाको हात छोटो छ र” भन्नुभयो? (गन्ती ११:२१-२३)
२ निर्जनभूमिमा पुगेको लगभग एक वर्षपछि इस्राएलीहरूले मासु चाहियो भनेर रोइकराइ गर्न थाले र यहोवाले तिनीहरूलाई मासु दिनेछु भन्नुभयो। हुनत मोसाको विश्वास बलियो थियो तर ती लाखौँको लागि यहोवाले मासुको प्रबन्ध गर्न सक्नुहुन्छ भन्ने कुरामा तिनले शङ्का गरे। तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “के यहोवाको हात छोटो छ र?” (गन्ती ११:२१-२३ पढ्नुहोस्।) यहाँ “यहोवाको हात” भन्ने अभिव्यक्तिले उहाँको पवित्र शक्तिलाई बुझाउँछ। उहाँले वास्तवमा मोसालाई यो प्रश्न सोध्दै हुनुहुन्थ्यो: ‘के तिमीलाई मैले भनेको कुरा पूरा गर्न सक्दिनँ जस्तो लाग्छ?’
३. मोसा अनि इस्राएलीहरूको विवरण हाम्रो लागि किन महत्त्वपूर्ण छ?
३ के तपाईँलाई यहोवाले तपाईँको वा तपाईँको परिवारको भौतिक आवश्यकता पूरा गरिदिनुहोला कि नहोला भनेर शङ्का लाग्छ? मोसा र इस्राएलीहरूलाई पनि त्यस्तै शङ्का लागेको थियो। आउनुहोस्, तिनीहरूबारे विचार गरौँ। साथै यहोवाको हात कहिल्यै छोटो हुँदैन भनेर हाम्रो भरोसा बढाउन मदत गर्ने केही बाइबल सिद्धान्तहरूबारे पनि छलफल गरौँ।
मोसा र इस्राएलीहरूबाट सिक्नुहोस्
४. यहोवाले भौतिक आवश्यकता पूरा गरिदिनुहुन्छ भन्ने कुरामा थुप्रै इस्राएलीले किन शङ्का गर्न थाले?
४ थुप्रै इस्राएलीहरूले किन शङ्का गर्न थाले? निर्जनभूमिमा इस्राएलीहरूसँगै “विदेशीहरूको ठूलो दल” पनि थियो। (प्रस्थ. १२:३८; व्यव. ८:१५) ती विदेशीहरू पनि इस्राएलीहरूसँगै मिश्रबाट निस्किएर प्रतिज्ञा गरिएको देशतर्फ जाँदै थिए। यहोवाले निर्जनभूमिमा खानको लागि मन्नको प्रबन्ध गरिदिनुभएको थियो। तर विदेशीहरू मन्न खाँदा-खाँदा वाक्क भइसकेकोले गनगन गर्न थाले। तिनीहरूको लहलहैमा लागेर थुप्रै इस्राएलीले पनि गनगन गरे। (गन्ती ११:४-६) तिनीहरूले मिश्रमा खाएको खानेकुराको लागि रोइकराइ गर्न थाले। त्यसैले मोसाले अब आफैले तिनीहरूको निम्ति मासुको प्रबन्ध गरिदिनुपर्छ भन्ने दबाब महसुस गरेका हुन सक्छन्।—गन्ती ११:१३, १४.
५-६. विदेशीहरूको दलले थुप्रै इस्राएलीहरूलाई कस्तो असर गऱ्यो र त्यसबाट हामी के सिक्न सक्छौँ?
५ विदेशीहरूको ठूलो दल यहोवाले दिनुभएका कुराहरूको लागि कृतज्ञ भएनन्। तिनीहरूको यस्तो मनोवृत्तिले इस्राएलीहरूलाई पनि असर गऱ्यो। अहिले पनि थुप्रै मानिसहरू आफूसित भएका कुराहरूमा सन्तुष्ट छैनन्। यस्तो मनोभावले हामीलाई पनि असर गर्न सक्छ; हामी यहोवाले दिनुभएका कुराहरूप्रति असन्तुष्ट हुन सक्छौँ। विगतमा आफूसित भएका कुराहरूको चाह गरिरहन्छौँ वा अरूसित भएका कुराहरूको डाह गर्छौँ भने यहोवाले हामीलाई अहिले दिनुभएका कुराहरूप्रति कृतज्ञ भइरहन सक्दैनौँ। अहिले आफ्नो अवस्था जस्तोसुकै भए पनि सन्तुष्ट हुन सिक्यौँ भने खुसी हुनेछौँ।
६ यहोवाले इस्राएलीहरूलाई प्रशस्त मात्रामा असल-असल कुराहरू दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर यहोवाको त्यो प्रतिज्ञा निर्जनभूमिमा नभई प्रतिज्ञा गरिएको देशमा पुगेपछि मात्र पूरा हुनेछ भनेर तिनीहरूले बिर्सनु हुँदैनथ्यो। त्यसरी नै हामीले अहिले आफूसित नभएका कुराहरूमा बढ्तै ध्यान दिनु हुँदैन। बरु यहोवाले नयाँ संसारमा दिन्छु भनेर प्रतिज्ञा गर्नुभएका कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। साथै यहोवामाथिको हाम्रो भरोसा अझ बढाउन मदत गर्ने बाइबल पदहरूमा मनन गर्नुपर्छ।
७. हामी किन यहोवाको हात छोटो छैन भन्न सक्छौँ?
७ तैपनि तपाईँलाई परमेश्वरले मोसालाई यो प्रश्न किन सोध्नुभयो होला जस्तो लाग्न सक्छ: “के यहोवाको हात छोटो छ र?” यहोवाले मोसालाई यो प्रश्न सोध्नुहुँदा यी दुई वटा कुरा सम्झाउन खोज्दै हुनुहुन्थ्यो: (१) उहाँसित असीमित शक्ति छ। (२) हामी जहाँसुकै, जतिसुकै टाढा भए पनि उहाँले आफ्नो शक्ति प्रयोग गरेर मदत गर्न सक्नुहुन्छ। त्यसैले इस्राएलीहरू निर्जनभूमिमै भए तापनि यहोवाले तिनीहरूको लागि प्रशस्त मात्रामा मासुको प्रबन्ध गर्न सक्नुहुन्थ्यो। उहाँले “आफ्नो शक्तिशाली र पराक्रमी हातले” आफ्ना जनहरूलाई मदत गर्नुभयो। (भज. १३६:११, १२) त्यसैले कठिन परीक्षा भोग्नुपर्दा हामी जहाँसुकै वा जस्तोसुकै अवस्थामा भए पनि यहोवाले हामी प्रत्येकलाई मदत गर्नुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।—भज. १३८:६, ७.
८. इस्राएलीहरूले जस्तै गल्ती गर्नदेखि हामी कसरी जोगिन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
८ यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। उहाँले चमत्कार गरेर भुईँ नै ढाकिने गरी बट्टाई चराहरू पठाइदिनुभयो। तर इस्राएलीहरू उहाँप्रति धन्यवादी भएनन्। बरु तिनीहरू लोभी भए। तिनीहरूले दिनभरि र रातभरि सुत्दै नसुती चराहरू बटुले। तिनीहरूको यस्तो “लालसा” देखेर यहोवा क्रोधित हुनुभयो र थुप्रैले आफ्नो ज्यान गुमाए। (गन्ती ११:३१-३४) यस घटनाबाट हामी लोभी हुनु हुँदैन भन्ने महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। हामी धनी होऔँ या गरिब, हामीले पृथ्वीमा होइन, ‘स्वर्गमा धनसम्पत्ति थुपार्नुपर्छ।’ त्यसको लागि हामीले यहोवा र येसुसितको मित्रतालाई झन्झन् प्रगाढ बनाउँदै लैजानुपर्छ। (मत्ति ६:१९, २०; लुका १६:९) यसो गऱ्यौँ भने यहोवाले हाम्रो भौतिक आवश्यकता पूरा गर्नुहुनेछ भन्ने कुरामा ढुक्क हुन सक्छौँ।
निर्जनभूमिमा धेरैले कस्तो मनोवृत्ति देखाए र त्यसबाट हामी के सिक्न सक्छौँ? (अनुच्छेद ८ हेर्नुहोस्)
९. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?
९ आज पनि यहोवा आफ्ना जनहरूलाई मदत गर्न इच्छुक हुनुहुन्छ। त्यसको मतलब हामीले कहिल्यै पनि आर्थिक नोक्सानी भोग्नु पर्दैन वा कहिल्यै भोकभोकै बस्नु पर्दैन भन्ने होइन।b तर एउटा कुरा भने पक्का छ, यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। परीक्षाहरू आइपर्दा उहाँले हामीलाई सम्हाल्नुहुनेछ। यहोवाले हाम्रो भौतिक आवश्यकता पूरा गरिदिनुहुनेछ भनेर भरोसा राखेको हामी कसरी देखाउन सक्छौँ? आउनुहोस्, यी दुई वटा क्षेत्रबारे विचार गरौँ: (१) आर्थिक समस्या हुँदा र (२) भविष्यको लागि योजना बनाउँदा।
आर्थिक समस्या हुँदा
१०. हामीलाई कस्तो आर्थिक समस्या हुन सक्छ?
१० यो संसारको अन्त नजिकिँदै जाँदा आर्थिक अवस्था झन्झन् नाजुक हुँदै जानेछ। राजनैतिक उथलपुथल, द्वन्द्व, प्राकृतिक प्रकोप वा महामारीले गर्दा हाम्रो जीवन झन्झन् कष्टकर बन्न सक्छ। अचानक हाम्रो जागिर, धनसम्पत्ति वा घरबार गुम्न सक्छ। हामीले नयाँ जागिर खोज्नुपर्ने वा पूरै परिवार अर्को ठाउँमा बसाइँ सर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा निर्णयहरू गर्नुपर्दा यहोवामाथि भरोसा राखेको कसरी देखाउन सक्छौँ?
११. आर्थिक समस्या हुँदा तपाईँले के गर्नुपर्छ? (लुका १२:२९-३१)
११ आर्थिक समस्या हुँदा तपाईँले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यहोवालाई आफ्नो चिन्ता-फिक्रीबारे बताउनु हो। (हितो. १६:३) सही निर्णय गर्न यहोवासित बुद्धि माग्नुहोस्। साथै आफ्नो अवस्थाबारे “अचाक्ली चिन्ता” नगर्न र शान्त रहन सकूँ भनेर उहाँलाई बिन्ती गर्नुहोस्। (लुका १२:२९-३१ पढ्नुहोस्।) आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन सकूँ भनेर उहाँसित मदत माग्नुहोस्। (१ तिमो. ६:७, ८) व्यावहारिक सुझावको लागि हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। थुप्रैले jw.org मा भएका भिडियो तथा लेखहरूबाट आर्थिक समस्याको सामना गर्न मदत पाएका छन्।
१२. परिवारको हित हुने निर्णय गर्न एक जना ख्रिष्टियनले आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छन्?
१२ कसै-कसैले आफ्नो परिवारलाई छोडेर टाढा जानुपर्ने किसिमको काम गर्ने निर्णय गरेका छन्। तर पछि तिनीहरूले आफ्नो त्यो निर्णय गलत थियो भनेर महसुस गरे। त्यसैले नयाँ काम स्विकार्नुअघि कति तलब आउँछ भनेर मात्र नहेर्नुहोस्। बरु आध्यात्मिक रूपमा कस्तो मोल चुकाउनुपर्ने हुन सक्छ भनेर पनि विचार गर्नुहोस्। (लुका १४:२८) आफैलाई सोध्नुहोस्: ‘जीवनसाथीबाट टाढा बस्नुपर्दा मेरो वैवाहिक जीवनमा कस्तो असर पुग्छ? के म नियमित रूपमा सभामा जान अनि साक्षीकार्यमा भाग लिन सक्छु?’ तपाईँका छोराछोरी पनि छन् भने आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘परिवारलाई छोडेर गएँ भने के मैले छोराछोरीलाई “यहोवा परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन सक्छु?’ (एफि. ६:४) बाइबललाई आदर नगर्ने परिवार अनि साथीभाइको कुरा सुनेर होइन बरु यहोवाको सोचाइ बुझेर त्यसअनुसार निर्णय गर्नुहोस्।c पश्चिम एसियामा बस्ने टोनिको अनुभव विचार गरौँ। तिनलाई विदेशमा गएर काम गर्ने थुप्रै प्रस्ताव आएको थियो। तर तिनले त्यसबारे प्रार्थना गरे र आफ्नी पत्नीसित कुरा गरे। त्यसपछि तिनले ती प्रस्तावहरू नस्विकार्ने बरु घरखर्च कम गर्ने निर्णय गरे। अहिले टोनि यसो भन्छन्: “मैले त्यस्तो निर्णय गरेकोले थुप्रैलाई यहोवाबारे सिक्न मदत दिन सकेको छु। हाम्रा छोराछोरीले पनि रमाउँदै यहोवाको सेवा गरिरहेका छन्। मत्ति ६:३३ मा पाइने सल्लाहअनुसार जीवन बितायौँ भने यहोवाले सधैँ हाम्रो ख्याल राख्नुहुन्छ भनेर हामी आफैले अनुभव गरेका छौँ।”
भविष्यको लागि योजना बनाउँदा
१३. बूढाबूढी भएपछि आफ्नो खर्च धान्न सजिलो होस् भनेर हामी अहिले के गर्न सक्छौँ?
१३ हामीलाई बूढाबूढी भएपछि आफ्नो खर्च कसरी धान्ने होला भनेर चिन्ता लाग्न सक्छ। त्यसैले भविष्यको लागि केही योजनाहरू पनि बनाउँछौँ होला। त्यस्ता योजनाहरू बनाउँदा हामी यहोवामाथि भरोसा राखेको देखाउन सक्छौँ। बाइबलले हामीलाई भविष्यबारे पनि सोच्न र अहिले मेहनती भएर काम गर्न प्रोत्साहन दिन्छ। (हितो. ६:६-११) त्यसैले आफ्नो अवस्थाले दिन्छ भने भविष्यको लागि केही बचत गर्नु बुद्धिमानी हो। रुपैयाँ-पैसाले केही हदसम्म सुरक्षा दिन्छ। (उप. ७:१२) तर भौतिक कुराहरू थुपार्नकै लागि रातदिन नभनी खटिनु बुद्धिमानी होइन।
१४. भविष्यको लागि योजना बनाउँदा हामीले हिब्रू १३:५ मा बताइएको कुरा किन बिर्सनु हुँदैन?
१४ येसुले “परमेश्वरको नजरमा धनी हुनु” बुद्धिमानी हो तर आफ्नो लागि धनसम्पत्ति थुपार्नु मूर्खता हो भनेर बताउनुभयो। (लुका १२:१६-२१) भोलि के हुन्छ कसैलाई पनि थाह छैन। (हितो. २३:४, ५; याकु. ४:१३-१५) येसुले उहाँको चेला हुन चाहनेहरू आफ्नो सरसम्पत्ति ‘त्याग्न समेत’ तयार हुनुपर्छ भनेर बताउनुभयो। (लुका १४:३३) प्रथम शताब्दीमा यहुदियाका ख्रिष्टियनहरूले त्यस्तै त्याग गर्नुपरेको थियो। (हिब्रू १०:३४) अहिले पनि थुप्रै भाइबहिनीले आफ्नो जागिर वा भौतिक कुराहरू गुमाउनुपरेको छ किनभने तिनीहरूले राजनैतिक गतिविधिमा मुछिन इन्कार गरे। (प्रका. १३:१६, १७) तिनीहरूले त्यस्तो त्याग गर्न सक्नुको कारण के थियो? तिनीहरू यहोवाको यो प्रतिज्ञामा पूरापूर भरोसा राख्छन्: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” (हिब्रू १३:५ पढ्नुहोस्।) बूढाबूढी भएपछि खर्च धान्न सजिलो होस् भनेर हामी अहिले आफ्नो तर्फबाट सक्दो गर्छौँ। तर सोच्दै नसोचेको कुनै कुरा भइहाल्यो भने पनि यहोवाले ख्याल राख्नुहुनेछ भन्ने कुरामा पूरा भरोसा राख्छौँ।
१५. आमाबुबाले छोराछोरीलाई कुन उद्देश्य राखेर हुर्काउनुपर्छ? (चित्र पनि हेर्नुहोस्।)
१५ कुनै-कुनै समाजमा मानिसहरूले छोराछोरी जन्माउनुको मुख्य कारण भनेकै बूढाबूढी भएपछि तिनीहरूले पाल्छन् भनेर हो। तिनीहरू एक अर्थमा छोराछोरीलाई “भविष्यको लगानी” ठान्छन्। तर बाइबलले भने आमाबुबाले छोराछोरीको भौतिक आवश्यकता पूरा गर्नुपर्छ भनेर बताउँछ। (२ कोरि. १२:१४) हुनत आमाबुबा बूढाबूढी भएपछि तिनीहरूलाई आर्थिक वा अन्य मदत चाहिन सक्छ र थुप्रै छोराछोरीले खुसीसाथ त्यस्तो मदत दिन्छन्। (१ तिमो. ५:४) यहोवामाथि भरोसा राख्ने आमाबुबाले आफ्ना छोराछोरीले पछि आर्थिक रूपमा मदत गरोस् भनेर होइन बरु तिनीहरू यहोवाका असल सेवक बनून् भन्ने उद्देश्य राखेर हुर्काउँछन्। यसरी छोराछोरी हुर्काउने आमाबुबा साँच्चै खुसी हुन सक्छन्।—३ युह. ४.
यहोवामाथि भरोसा राख्ने दम्पतीहरूले भविष्यको लागि योजना बनाउँदा बाइबल सिद्धान्तहरू राम्ररी विचार गर्छन् (अनुच्छेद १५ हेर्नुहोस्)d
१६. आमाबुबाले छोराछोरीलाई आफ्नो खुट्टामा उभिन कसरी सिकाउन सक्छन्? (एफिसी ४:२८)
१६ छोराछोरीलाई आफ्नो खुट्टामा उभिन सिकाउँदा यहोवामाथि भरोसा राख्न पनि सिकाउनुहोस्। यहोवामाथि भरोसा राख्ने सन्दर्भमा तपाईँ आफैले राम्रो उदाहरण बसाल्नु महत्त्वपूर्ण छ। तिनीहरूलाई सानैदेखि मेहनती हुन सिकाउनुहोस्। (हितो. २९:२१; एफिसी ४:२८ पढ्नुहोस्।) स्कुल जान थालेपछि तिनीहरूलाई लगनशील विद्यार्थी बन्न मदत गर्नुहोस्। कस्तो शिक्षा लिने र कस्तो सीप सिक्ने भनेर आमाबुबाले छोराछोरीलाई मदत गर्न सक्छन्। तर त्यस्तो मदत दिन आमाबुबाले उपयोगी बाइबल सिद्धान्तहरू खोजेर त्यसबारे थप अनुसन्धान गर्नुपर्छ। आमाबुबाबाट यस्तो मदत पाउँदा छोराछोरी आत्मनिर्भर हुन सक्नेछन् र यहोवाको सेवामा पूरापूर भाग लिन सक्नेछन्।
१७. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?
१७ यहोवाका वफादार सेवकहरू उहाँ तिनीहरूको भौतिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ र त्यसो गर्न इच्छुक पनि हुनुहुन्छ भनेर ढुक्क हुन सक्छन्। यस संसारको अन्त नजिकिँदै जाँदा हामीले यहोवामाथि अझ धेरै भरोसा राख्नुपर्ने हुन्छ। हाम्रो अवस्था जस्तोसुकै भए पनि उहाँले हाम्रो भौतिक आवश्यकता पूरा गर्न आफ्नो शक्ति प्रयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त भइरहौँ। हामी जहाँसुकै भए पनि हामीलाई मदत गर्न उहाँको शक्तिशाली र पराक्रमी हात कहिल्यै छोटो हुँदैन!
गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!
a अक्टोबर २०२३ अङ्कको प्रहरीधरहरा-मा “पाठकहरूको प्रश्न” हेर्नुहोस्।
b सेप्टेम्बर १५, २०१४ अङ्कको प्रहरीधरहरा-मा “पाठकहरूको प्रश्न” हेर्नुहोस्।
c अप्रिल १५, २०१४ अङ्कको प्रहरीधरहरा-मा “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन” लेख हेर्नुहोस्।
d चित्रको व्याख्या: यहोवामाथि भरोसा राख्ने दम्पती आफ्नी छोरीसित कुरा गर्दै छन्, जो तिनको पतिसित सभाभवन निर्माणकार्यमा सेवा गर्दै छिन्।