प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अप्रिल pp. २६-३१
  • जवान भाइहरू हो, मर्कुस र तिमोथिको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवान भाइहरू हो, मर्कुस र तिमोथिको अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मर्कुसको अनुकरण गर्नुहोस्‌—सेवा गर्न इच्छुक हुनुहोस्‌
  • तिमोथिको अनुकरण गर्नुहोस्‌—अरूप्रति साँचो चासो देखाउनुहोस्‌
  • पावलको मायालु सल्लाहबाट लाभ उठाउनुहोस्‌
  • अरूको सेवा गर्दा आशिष्‌ पाइन्छ
  • “मण्डलीहरूलाई सुदृढ बनाउँदै”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अप्रिल pp. २६-३१

अध्ययन लेख १८

गीत ६५ बढ्‌दै जाऊ!

जवान भाइहरू हो, मर्कुस र तिमोथिको अनुकरण गर्नुहोस्‌

“मर्कुसलाई सँगै लिएर आऊ किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌।”—२ तिमो. ४:११

सिक्न सकिने कुरा

यहोवाको र भाइबहिनीको अझ धेरै सेवा गर्न चाहिने गुणहरू विकास गर्नेबारे जवान भाइहरूले मर्कुस र तिमोथिबाट के सिक्न सक्छन्‌?

१-२. मर्कुस र तिमोथि कस्ता कारणले गर्दा पछि हट्‌न सक्थे?

जवान भाइहरू हो, के तपाईँ यहोवाको लागि र मण्डलीका भाइबहिनीहरूको लागि अझ धेरै गर्न चाहनुहुन्छ? पक्कै पनि चाहनुहुन्छ। थुप्रै जवान भाइहरू राजीखुसीले अरूको सेवा गर्न तयार भएको देख्न पाउनु साँच्चै खुसीको कुरा हो। (भज. ११०:३) तर त्यसो गर्न सजिलो त छैन। पछि आफ्नो जीवन कस्तो होला भन्‍ने डरले गर्दा के तपाईँ यहोवाको सेवामा अझ धेरै गर्न हिचकिचाइरहनुभएको छ? अथवा आत्मविश्‍वासको कमीले गर्दा के तपाईँ कुनै असाइनमेन्ट स्विकार्नदेखि पछि हट्‌दै हुनुहुन्छ? त्यसो हो भने चिन्ता नगर्नुहोस्‌! किनभने त्यस्तो महसुस गर्ने तपाईँ मात्र हुनुहुन्‍न।

२ मर्कुस र तिमोथिले पनि त्यस्तै महसुस गरेका थिए। तर पछि गएर के होला, कसो होला भन्‍ने डरले गर्दा वा आत्मविश्‍वासको कमीले गर्दा तिनीहरू अरूको सेवा गर्नदेखि पछि हटेनन्‌। मर्कुसबारे विचार गरौँ। सायद तिनी आफ्नी आमासँगै आरामदायी जीवन बिताइरहेका थिए। त्यतिबेला तिनले प्रेषित पावल र बर्णाबाससँगै तिनीहरूको पहिलो मिसनरी यात्रामा जाने निम्तो पाए। (प्रेषि. १२:१२, १३, २५) तिनी यहोवाको सेवामा अझ धेरै गर्न आफ्नो घर छोडेर जान तयार भए। सुरुमा तिनी एन्टिओक गए। त्यसपछि तिनी पावल र बर्णाबाससँगै टाढा टाढासम्म गए। (प्रेषि. १३:१-५) अब तिमोथिबारे विचार गरौँ। सायद तिनी आफ्नो आमाबुबासँगै बसिरहेको बेला पावलले तिनलाई सेवाको काममा आफूसँगै जान बोलाए। तिनी जवानै थिए र तिनीसित त्यति अनुभव पनि थिएन। त्यसैले तिनमा आत्मविश्‍वासको कमी थियो होला। तैपनि तिनी पछि हटेनन्‌। (१ कोरिन्थी १६:१०, ११ र १ तिमोथि ४:१२ तुलना गर्नुहोस्‌।) तिनले पावलको निम्तो स्विकारेर उनीसँगै गए र थुप्रै आशिष्‌हरू पाए।—प्रेषि. १६:३-५.

३. (क) मर्कुस र तिमोथि पावलको लागि प्रिय थिए भनेर किन भन्‍न सक्छौँ? (२ तिमोथि ४:६, ९, ११) (चित्र पनि हेर्नुहोस्‌।) (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे विचार गर्नेछौँ?

३ मर्कुस र तिमोथीले युवावस्थामै थुप्रै अनुभव बटुले अनि गहन जिम्मेवारीहरू सम्हाल्न पनि सिके। तिनीहरू दुवै जना पावलको लागि एकदमै प्रिय भएका थिए। त्यसैले पावल आफ्नो जीवनको अन्तिम घडीतिर तिनीहरू आफूसँगै भएको चाहन्थे। त्यसैले तिनीहरूलाई आफूकहाँ छिट्टै आउन भने। (२ तिमोथि ४:६, ९, ११ पढ्‌नुहोस्‌।) कस्ता गुणहरूले गर्दा मर्कुस र तिमोथि पावलको लागि प्रिय बने? जवान भाइहरूले कसरी तिनीहरूको अनुकरण गर्न सक्छन्‌? अनि एक जना बुबाले जस्तै पावलले दिएको मायालु सल्लाहबाट जवान भाइहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

चित्रहरूको सँगालो: १. मर्कुसले पावल र बर्णाबासको लागि खानेकुरा तयार पार्दै छन्‌। २. तिमोथि पत्र पढ्‌दै छन्‌ र एल्डरहरू ध्यान दिएर सुन्दै छन्‌।

जवान छँदा मर्कुस र तिमोथिले गहन जिम्मेवारीहरू सम्हाले (अनुच्छेद ३ हेर्नुहोस्‌)b


मर्कुसको अनुकरण गर्नुहोस्‌—सेवा गर्न इच्छुक हुनुहोस्‌

४-५. मर्कुसले अरूको सेवा गर्न इच्छुक भएको कसरी देखाए?

४ एउटा स्रोत सामग्रीअनुसार अरूको सेवा गर्नु भनेको “लगनशील र मेहनती भई” अरूलाई मदत गर्न अग्रसर हुनु हो। यस सन्दर्भमा मर्कुसले राम्रो उदाहरण बसाले। पावलले तिनलाई दोस्रो मिसनरी यात्रामा सँगै लैजान नचाहँदा मर्कुसको निकै चित्त दुखेको हुनुपर्छ र तिनी निराश भएका हुन सक्छन्‌। (प्रेषि. १५:३७, ३८) तैपनि मर्कुसले भाइबहिनीहरूको सेवा गर्न छोडेनन्‌।

५ मर्कुस आफ्नो नातेदार बर्णाबाससँग अर्कै इलाकामा सेवा गर्न गए। त्यसको लगभग ११ वर्षपछि पावल रोममा पहिलो चोटि झ्यालखानामा पर्दा तिनलाई साथ दिनेहरूमध्ये मर्कुस पनि थिए। (फिले. २३, २४) पावलले मर्कुसले दिएको साथको असाध्यै मोल गरे र तिनीबाट “निकै सान्त्वना” पाएको कुरा बताए।—कल. ४:१०, ११.

६. मर्कुसले परिपक्व भाइहरूसित सङ्‌गत गरेर कस्तो लाभ उठाए? (फुटनोट हेर्नुहोस्‌।)

६ मर्कुसले परिपक्व भाइहरूसित सङ्‌गत गरेर धेरै कुरा सिके। रोममा पावलसित केही समय बिताएपछि मर्कुस बेबिलोनमा प्रेषित पत्रुसकहाँ गए। तिनीहरू यत्ति घनिष्ठ भए कि पत्रुसले तिनलाई “मेरो छोरा मर्कुस” भने। (१ पत्रु. ५:१३) सँगै सेवा गर्दा पत्रुसले आफ्नो जवान साथी मर्कुसलाई येसुको जीवन र सेवाबारे थुप्रै रोचक कुराहरू बताएका हुन सक्छन्‌। पछि मर्कुसले सुसमाचारको किताब लेख्दा ती कुराहरू समावेश गरे।a

७. सङ-उले कसरी मर्कुसको अनुकरण गरे? (चित्र पनि हेर्नुहोस्‌।)

७ मर्कुस यहोवाको सेवामा सक्रिय भई लागे र परिपक्व भाइहरूसित सङ्‌गत गरिरहे। तपाईँ कसरी मर्कुसको अनुकरण गर्न सक्नुहुन्छ? सायद तपाईँ सहायक सेवक वा एल्डरको रूपमा सेवा गर्न चाहनुहुन्छ होला। तर अझै पनि सहायक सेवक वा एल्डर नियुक्‍त हुनुभएको छैन होला। त्यसो हो भने निराश नहुनुहोस्‌। यहोवा र भाइबहिनीको सेवा गर्ने मौकाहरू खोजिरहनुहोस्‌। अहिले एल्डरको रूपमा सेवा गरिरहेका सङ-उको अनुभव विचार गरौँ। जवान छँदा तिनी आफूलाई अरू जवान भाइहरूसित तुलना गर्थे। तिनीहरूमध्ये कसै-कसैले मण्डलीमा जिम्मेवारीहरू पाए तर तिनले भने पाएका थिएनन्‌। त्यतिबेला सङ-उले आफूलाई बेवास्ता गरिएको जस्तो महसुस गरे। त्यसैले पछि तिनले त्यसबारे मण्डलीका परिपक्व दाइहरूसित कुरा गरे। तिनलाई एक जना एल्डरले तिनले गरिरहेको असल काम अरूले याद नगरे पनि अरूको सेवा गर्न चाहिँ नछोड्‌नू भन्‍ने सुझाव दिए। त्यसैले तिनले वृद्धहरू र सभामा आउन-जान मदत चाहिएकाहरूलाई मदत गर्न थाले। अहिले तिनी यसो भन्छन्‌: “अरूको सेवा गर्नु भनेको वास्तवमा के हो भनेर मैले राम्रोसँग बुझ्न सकेँ। अरूलाई व्यावहारिक मदत दिँदा पाइने आनन्द आफैले महसुस गर्न सकेँ।”

एक जवान भाइ पाको दाइलाई आफ्नो गाडीमा सभाभवन ल्याउँदै छन्‌।

परिपक्व दाइहरूसित सङ्‌गत गर्दा जवानहरूले कस्तो लाभ उठाउन सक्छन्‌? (अनुच्छेद ७ हेर्नुहोस्‌)


तिमोथिको अनुकरण गर्नुहोस्‌—अरूप्रति साँचो चासो देखाउनुहोस्‌

८. पावल किन तिमोथिलाई सँगै लैजान चाहन्थे? (फिलिप्पी २:१९-२२)

८ पावलले कुनै-कुनै सहरमा विरोध भोग्नुपरेको थियो। तर तिनी फेरि ती सहरहरूमा प्रचार गर्न जान चाहन्थे। त्यसैले तिनीसँगै जाने साथीहरू पनि तिनीजस्तै साहसी हुनुपर्थ्यो। सुरुमा पावलले एक जना अनुभवी भाइ सिलासलाई रोजे। (प्रेषि. १५:२२, ४०) पछि तिनले जवान भाइ तिमोथिलाई पनि रोजे। पावल किन तिमोथिलाई सँगै लैजान चाहन्थे? एउटा कारण भनेको तिनले राम्रो नाम कमाएका थिए। (प्रेषि. १६:१, २) साथै तिनी मानिसहरूको साँचो चासो राख्थे।—फिलिप्पी २:१९-२२ पढ्‌नुहोस्‌।

९. तिमोथि भाइबहिनीहरूको साँचो चासो राख्थे भनेर किन भन्‍न सक्छौँ?

९ पावलसँगै मिलेर सेवाको काम गर्न थालेदेखि नै तिमोथिले आफ्नो होइन, अरूको हित हुने कुरामा ध्यान दिएको देखाए। त्यसैले पावल बिरिया छोडेर जानुपर्दा तिमोथिलाई भने त्यहीँ छोडे। किनकि तिनले त्यहाँका नयाँ चेलाहरूको राम्ररी ख्याल राख्नेछन्‌ भन्‍ने कुरामा पावल ढुक्क थिए। (प्रेषि. १७:१३, १४) त्यतिबेला सिलास बिरियामै थिए। त्यसैले तिमोथिले तिनीबाट पनि धेरै कुरा सिकेको हुनुपर्छ। पछि पावलले थिस्सलोनिकाका भाइबहिनीहरूलाई बलियो पार्न तिमोथि एक्लैलाई त्यहाँ पठाए। (१ थिस्स. ३:२, फुटनोट) पावलसँग यात्रा थालेदेखि लगभग १५ वर्षको दौडान भाइबहिनीप्रतिको तिमोथिको प्रेम झन्‌झन्‌ बलियो हुँदै गयो। तिनी भाइबहिनीको दुःखलाई आफ्नै दुःख सम्झन्थे र तिनीहरू रुँदा तिनीहरूसितै रुन्थे। (रोमी १२:१५; २ तिमो. १:४) आज जवान भाइहरूले कसरी तिमोथिको अनुकरण गर्न सक्छन्‌?

१०. उ-जेले भाइबहिनीहरूलाई व्यक्‍तिगत चासो देखाउन कसरी सिके?

१० उ-जे नाम गरेका एक जवान भाइले अरूलाई व्यक्‍तिगत चासो देखाउन सिके। पहिला तिनलाई आफूभन्दा पाको उमेरका दाइदिदीहरूसित कुराकानी गर्न अप्ठ्यारो लाग्थ्यो। त्यसैले सभाभवनमा तिनीहरूलाई अभिवादन मात्र गर्थे। एक जना एल्डरले तिनलाई अरूसित कुराकानी थाल्नेबारे यस्तो सुझाव दिए: “आफूले कुरा गर्न लागेको व्यक्‍तिको कुन कुरा मन पर्छ, त्यसबारे उसलाई बताऊ अनि उसलाई कुन विषयमा कुरा गर्न चासो लाग्छ, त्यो पनि विचार गर।” उ-जेले त्यो सुझाव लागू गरे। तिनी अहिले एल्डर भइसकेका छन्‌। तिनी यसो भन्छन्‌: “अहिले मलाई विभिन्‍न उमेरका भाइबहिनीहरूसित कुराकानी गर्न सजिलो लाग्छ। मैले भाइबहिनीहरूको अवस्था पहिलाभन्दा राम्ररी बुझ्न सकेको छु। त्यसैले तिनीहरूलाई आवश्‍यक मदत दिन सक्छु।”

११. जवान भाइहरूले मण्डलीका भाइबहिनीहरूलाई कसरी व्यक्‍तिगत चासो देखाउन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

११ तपाईँ जवान भाइहरूले पनि अरूप्रति व्यक्‍तिगत चासो देखाउन सिक्न सक्नुहुन्छ। सभामा विभिन्‍न उमेर र पृष्ठभूमिका भाइबहिनीहरूसित कुरा गर्नुहोस्‌, तिनीहरूको हालखबर सोध्नुहोस्‌ र तिनीहरूले आफ्नो कुरा बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌। यसरी कुराकानी गर्दा तिनीहरूलाई कस्तो मदत चाहिएको छ भनेर थाह पाउन सक्नुहुनेछ। जस्तै, तपाईँले मण्डलीको कुनै वृद्ध दम्पतीलाई JW लाइब्रेरी एप चलाउन मदत चाहिएको थाह पाउनुभयो भने तिनीहरूलाई त्यो चलाउन सिकाउन सक्नुहुन्छ। अथवा तिनीहरूले प्रचारमा सँगै जान साथी मिलाइसकेका छैनन्‌ भनेर थाह पाउनुहोला। त्यतिबेला तिनीहरूसँगै प्रचारकार्यमा जान सक्नुहुन्छ। यसरी अरूलाई मदत गर्न अग्रसर हुँदा तपाईँले मण्डलीका सबैको लागि राम्रो उदाहरण बसालिरहनुभएको हुनेछ।

एक जवान भाइ पाको दाइसँगै घर-घरको साक्षीकार्यमा भाग लिँदै छन्‌। पाको दाइ घरधनीसित कुरा गर्दै छन्‌ र जवान भाइचाहिँ ट्याबलेटबाट भिडियो देखाउँदै छन्‌।

जवानहरूले मण्डलीका भाइबहिनीहरूलाई थुप्रै व्यावहारिक तरिकामा मदत गर्न सक्छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)


पावलको मायालु सल्लाहबाट लाभ उठाउनुहोस्‌

१२. पावलले तिमोथिलाई दिएका सल्लाहहरूबाट जवान भाइहरूले कसरी लाभ उठाउन सक्छन्‌?

१२ पावलले तिमोथिलाई आफ्नो छोराजस्तै ठानेर मायालु सल्लाहहरू दिए। ती लागू गर्दा तिमोथि आफ्नो जीवनमा सफल हुन सके र सेवाको काम राम्ररी पूरा गर्न सके। (१ तिमो. १:१८; २ तिमो. ४:५) तपाईँ जवान भाइहरूले पनि पावलले दिएका ती सल्लाहहरूबाट लाभ उठाउन सक्नुहुन्छ। कसरी? पावलले तिमोथिलाई लेखेका दुई वटा पत्रहरू पढ्‌नुहुँदा त्यो तपाईँकै लागि लेखिएको जस्तोगरि पढ्‌नुहोस्‌। त्यसपछि तपाईँ कुन सल्लाह आफ्नो जीवनमा लागू गर्न सक्नुहुन्छ, मनन गर्नुहोस्‌। आउनुहोस्‌, पावलले दिएका सल्लाहहरूमध्ये केही विचार गरौँ।

१३. यहोवाप्रतिको वफादारी र प्रेम विकास गर्न हामीले के गर्नुपर्छ?

१३ “परमेश्‍वरको भक्‍ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।” (१ तिमो. ४:७ख) परमेश्‍वरको भक्‍ति गर्नु भनेको के हो? यसको अर्थ यहोवाप्रति वफादार रहनु अनि उहाँलाई खुसी तुल्याउने कामहरू गर्नु हो। तर यहोवाप्रतिको यस्तो वफादारी र प्रेम हामीमा जन्मजातै हुने गुणहरू होइन। हामीले आफूमा यस्ता गुणहरू विकास गर्नुपर्छ। त्यसैले पावलले तिमोथिलाई “आफैलाई तालिम देऊ” भनेर सल्लाह दिए। “तालिम देऊ” भनेर अनुवाद गरिएको ग्रीक शब्द कुनै प्रतियोगितामा भाग लिन तयारी गरिरहेको खेलाडीले गर्ने कडा मेहनतलाई बुझाउन प्रयोग गरिन्थ्यो। त्यसैगरि हामीले पनि यहोवासित नजिक हुन मदत गर्ने आनीबानी विकास गर्न कडा मेहनत गर्नुपर्छ र आफैलाई अनुशासनमा राख्नुपर्छ।

१४. हामीले बाइबल पढ्‌नुको उद्देश्‍य के हुनुपर्छ? एउटा उदाहरण दिनुहोस्‌।

१४ हामीले दिनदिनै बाइबल पढ्‌ने बानी बसाल्नुपर्छ। तर बाइबल पढ्‌नुको मुख्य उद्देश्‍य भनेको यहोवासित नजिक हुनु हो भनेर हामीले बिर्सनु हुँदैन। उदाहरणको लागि, येसु र धनी जवान मानिसको विवरण पढ्‌नुहुँदा त्यसबाट यहोवाबारे के सिक्न सक्छु भनेर विचार गर्नुहोस्‌। (मर्कु. १०:१७-२२) त्यो जवान मानिसले येसु नै मसीह हुनुहुन्छ भन्‍ने कुरा बुझेको थियो। तर उसमा विश्‍वासको कमी थियो। तैपनि ऊप्रति येसुको मनमा माया पलायो। जवान मानिसले के गर्नुपर्छ भनेर उहाँले मायालु तरिकामा बताइदिनुभयो। उहाँ उसले सही निर्णय गरेको चाहनुहुन्थ्यो। यहोवा त्यो मानिसप्रति कस्तो महसुस गर्नुहुन्छ भन्‍ने कुरा येसुको व्यवहारबाट प्रस्ट देखियो। (युह. १४:९) यो विवरण पढ्‌नुहुँदा आफ्नो अवस्थाबारे पनि विचार गर्नुहोस्‌ र आफैलाई सोध्नुहोस्‌: “यहोवासित अझ नजिक हुन र भाइबहिनीको अझ धेरै सेवा गर्न म के गर्न सक्छु?”

१५. जवान भाइहरूले राम्रो उदाहरण बसाल्नु किन महत्त्वपूर्ण छ? (१ तिमोथि ४:१२, १३)

१५ “विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।” (१ तिमोथि ४:१२, १३ पढ्‌नुहोस्‌।) पावलले तिमोथिलाई पढ्‌ने र सिकाउने जस्ता सीपहरू मात्र होइन, प्रेम, विश्‍वास अनि चोखो आचरणजस्ता गुणहरू विकास गर्न पनि सल्लाह दिए। किन? बोलेर भन्दा गरेर देखाउनु अझ प्रभावकारी हुन्छ। मानौँ, तपाईँले प्रचारकार्यमा जोसिलो हुनेबारे भाषण दिने असाइन्मेन्ट पाउनुभयो। तपाईँ आफै प्रचारकार्यमा जोसिलो हुनुहुन्छ भने त्यो विषयमा ढुक्क भएर भाषण दिन सक्नुहुन्छ। तपाईँको राम्रो उदाहरण देख्दा भाइबहिनीहरू तपाईँले भनेको कुरा लागू गर्न उत्प्रेरित हुनेछन्‌।—१ तिमो. ३:१३.

१६. (क) जवान भाइहरू कुन पाँच वटा क्षेत्रमा उदाहरणीय बन्‍न सक्छन्‌? (ख) जवान भाइहरूले आफ्नो “बोली”-लाई कसरी उत्थानदायी बनाउन सक्छन्‌?

१६ पहिलो तिमोथि ४:१२ मा पावलले जवान भाइहरूले राम्रो उदाहरण बसाल्न सक्ने पाँच वटा क्षेत्रबारे उल्लेख गरेका छन्‌। यी क्षेत्रहरूबारे एकएक गर्दै व्यक्‍तिगत अध्ययन गर्नुभए कसो होला? तपाईँ उदाहरणीय बन्‍न सक्ने एउटा क्षेत्रबारे विचार गरौँ। त्यो हो, “बोली।” तपाईँ आफ्नो बोली अरूको उत्थान हुने तरिकामा कसरी प्रयोग गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। जस्तै, तपाईँ आमाबुबासँगै बस्नुहुन्छ भने उहाँहरूले तपाईँको लागि जे-जति गरिरहनुभएको छ, त्यसको लागि कृतज्ञता व्यक्‍त गर्न अझ धेरै मौका खोज्नु भए कसो होला? सभामा कुनै भाग प्रस्तुत गरेको भाइबहिनीलाई तिनको प्रस्तुतिको कुन कुरा मन पऱ्‍यो भनेर बताउन सक्नुहुन्छ। तपाईँ आफ्नै शब्दमा टिप्पणी दिने प्रयास पनि गर्न सक्नुहुन्छ। यसरी तपाईँले आफ्नो बोलीलाई उत्थानदायी बनाउने प्रयास गर्दै हुनुहुन्छ भने तपाईँले आध्यात्मिक प्रगति गरिरहेको स्पष्टै देखिन्छ।—१ तिमो. ४:१५.

१७. जवान भाइहरूले कसरी आध्यात्मिक लक्ष्यहरू हासिल गर्न सक्छन्‌? (२ तिमोथि २:२२)

१७ ‘युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग र धार्मिकताको पछि लाग।’ (२ तिमोथि २:२२ पढ्‌नुहोस्‌।) पावलले तिमोथिलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्न बाधा पुऱ्‍याउन सक्ने र यहोवासितको सम्बन्धलाई खतरामा पार्न सक्ने इच्छाहरूविरुद्ध लड्‌न सल्लाह दिए। हुनत कुनै-कुनै कुरा आफैमा गलत हुँदैनन्‌ तर हामी त्यसमा बढ्‌तै भाग लिन्छौँ भने त्यसले आध्यात्मिक गतिविधिलाई दिनुपर्ने समय खाइदिन सक्छ। उदाहरणको लागि, तपाईँले खेलकुदमा, इन्टरनेट चलाउन वा भिडियो गेम खेल्न कति समय बिताउँदै हुनुहुन्छ, विचार गर्नुहोस्‌। के तपाईँ त्यसबाट केही समय निकालेर आध्यात्मिक गतिविधिहरूको लागि प्रयोग गर्न सक्नुहुन्छ? जस्तै, तपाईँ आफ्नो सभाभवनको मर्मतसम्भारमा वा ट्रली साक्षीकार्यमा भाग लिन सक्नुहुन्छ। यस्ता गतिविधिहरूमा भाग लिनुभयो भने तपाईँले नयाँ-नयाँ साथीहरू बनाउन सक्नुहुनेछ। अनि त्यस्ता साथीहरूले तपाईँलाई आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न मदत गर्नेछन्‌।

अरूको सेवा गर्दा आशिष्‌ पाइन्छ

१८. मर्कुस र तिमोथिले कस्ता आशिष्‌हरू पाए?

१८ मर्कुस र तिमोथिले अरूको अझ धेरै सेवा गर्न त्यागहरू गरे। यसो गर्दा तिनीहरूले थुप्रै आशिष्‌ पाए र आनन्दित हुन सके। (प्रेषि. २०:३५) भाइबहिनीहरूको सेवा गर्न मर्कुस टाढा टाढासम्म गए। साथै तिनले येसुको जीवन र सेवाबारे पनि लेखे। त्यसैगरि तिमोथिले मण्डलीहरू स्थापना गर्न र भाइबहिनीहरूलाई बलियो बनाउन पावललाई मदत गरे। मर्कुस र तिमोथिको आत्मत्यागी मनोभाव देखेर यहोवा पक्कै खुसी हुनुभयो।

१९. पावलले तिमोथिलाई दिएका सल्लाहहरू जवान भाइहरूले किन लागू गर्नुपर्छ र यसो गर्दा कस्ता आशिष्‌हरू पाइन्छ?

१९ पावल तिमोथिलाई कति धेरै माया गर्थे भन्‍ने कुरा तिनले तिमोथिलाई लेखेका पत्रहरूबाट प्रस्ट हुन्छ। ती पत्रहरूबाट यहोवा तपाईँ जवान भाइहरूलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा पनि देखिन्छ। तपाईँ जीवनमा सफल भएको उहाँ चाहनुहुन्छ। त्यसैले एक जना मायालु बुबाले जस्तै पावलले दिएका सल्लाहहरू आफ्नो जीवनमा लागू गर्नुहोस्‌। अनि अरूको अझ धेरै सेवा गर्ने इच्छा बढाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ अहिले पनि आनन्दित हुनुहुनेछ। अनि भविष्यमा पाइने “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्नुहुनेछ।—१ तिमो. ६:१८, १९.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • तपाईँले मर्कुसको उदाहरणबाट के सिक्नुभयो?

  • अरूको साँचो चासो राख्ने सन्दर्भमा तपाईँ कसरी तिमोथिको अनुकरण गर्न सक्नुहुन्छ?

  • पावलले दिएका कस्ता सल्लाहहरूले जवान भाइहरूलाई आध्यात्मिक प्रगति गर्न मदत गर्छ?

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

a पत्रुस गहिरो भावना भएको व्यक्‍ति भएकोले तिनले मर्कुसलाई येसुले विभिन्‍न अवस्थामा कस्तो महसुस गर्नुभयो अनि कस्तो प्रतिक्रिया देखाउनुभयो भनेर राम्रोसित बताउन सके। त्यसैले मर्कुसले आफ्नो किताबमा येसुको भावना र व्यवहारबारे राम्ररी व्याख्या गर्न सके।—मर्कु. ३:५; ७:३४; ८:१२.

b चित्रको व्याख्या: मिसनरी यात्राको दौडान मर्कुसले पावल र बर्णाबासको सेवासुसार गर्दै छन्‌। तिमोथि भाइबहिनीहरूलाई बलियो बनाउन र प्रोत्साहन दिन एउटा मण्डलीको भ्रमण गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने