प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 फेब्रुअरी pp. ३-७
  • यहोवाको उद्देश्‍य पूरा हुनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उद्देश्‍य पूरा हुनेछ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताको सुरुको उद्देश्‍य के थियो?
  • कुरा कहाँ बिग्रियो?
  • फिरौतीले यहोवासितको सम्बन्ध सुधार्छ
  • यहोवाले आफूकहाँ फर्कन ढोका खोलिदिनुभयो
  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नु[भयो]”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 फेब्रुअरी pp. ३-७
आदम र हव्वा अदनको बगैंचामा; सर्पले हव्वासित कुरा गर्छ, उनले त्यो फल खान्छिन्‌ र आदमलाई दिन्छिन्‌

यहोवाको उद्देश्‍य पूरा हुनेछ!

“मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशै. ४६:११.

गीत: १४७, १४९

हामीले के सिक्यौं?

  • यहोवाले कुन उद्देश्‍य राखेर मानिस सृष्टि गर्नुभयो?

  • यहोवाको उद्देश्‍य पूरा हुन नदिन कस्तो विद्रोह गरियो?

  • यहोवाको उद्देश्‍य कसरी पूरा हुनेछ?

१, २. (क) यहोवाले हामीलाई कुन कुरा बताउनुभएको छ? (ख) यशैया ४६:१०, ११ र ५५:११ मा हामी कस्तो आश्‍वासन पाउँछौं?

बाइबलको सुरुको वाक्यमै यस्तो सरल तर गहन कुरा लेखिएको छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्प. १:१) परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरू, जस्तै: अन्तरिक्ष, प्रकाश, गुरुत्वाकर्षणबारे हामीलाई एकदमै थोरै मात्र थाह छ। अनि हामीले ब्रह्‍माण्डको एउटा सानो अंश मात्र देखेका छौं। (उप. ३:११) तर यहोवाले पृथ्वी र मानिसजातिको लागि राख्नुभएको उद्देश्‍यबारे हामीलाई बताउनुभएको छ। परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएका मानिसहरूको लागि पृथ्वी एउटा सुहाउँदो घर हुने थियो। (उत्प. १:२६) तिनीहरू यहोवा परमेश्‍वरका सन्तान हुने थिए र उहाँ तिनीहरूको बुबा हुनुहुने थियो।

२ उत्पत्तिको अध्याय तीनमा बताइएअनुसार यहोवाको उद्देश्‍य पूरा हुनदेखि रोक्ने एउटा अवरोध देखा पऱ्‍यो। (उत्प. ३:१-७) तर यसले उहाँको उद्देश्‍य पूरा हुनदेखि कुनै हालतमा रोक्न सक्ने थिएन। यहोवाको बाटोमा कोही पनि तगारो बन्‍न सक्दैन। (यशै. ४६:१०, ११; ५५:११) त्यसैले हामी पक्का हुन सक्छौं, यहोवाको सुरुको उद्देश्‍य ठीक समयमै पूरा हुनेछ!

३. (क) हामीले बाइबलको कस्ता महत्त्वपूर्ण शिक्षाहरू बुझ्नुपर्छ? (ख) अहिले हामी किन ती शिक्षाहरूबारे फेरि छलफल गर्दै छौं? (ग) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

३ परमेश्‍वरले पृथ्वी र मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य अनि उहाँको उद्देश्‍यमा येशू ख्रीष्टको प्रमुख भूमिकाबारे हामीलाई राम्ररी थाह छ। यी बाइबलका आधारभूत शिक्षाहरू हुन्‌। सायद हामीले बाइबलबारे सिक्न थाल्दा सुरु-सुरुतिरै यी कुराहरू बुझ्यौं। पछि आफूले सिकेका यी कुराहरू अरू नम्र मानिसहरूलाई पनि सुनायौं। अहिले हामी मण्डलीसँगै मिलेर यो लेख छलफल गर्दै छौं र येशू ख्रीष्टको मृत्युको स्मरणार्थमा धेरैभन्दा धेरै मानिसलाई निम्तो दिने काममा जोडतोडले लागिरहेका छौं। (लूका २२:१९, २०) स्मरणार्थमा उपस्थित हुनेहरूले परमेश्‍वरको उद्देश्‍यबारे थुप्रै कुरा सिक्न पाउनेछन्‌। अब स्मरणार्थ उत्सव आउनै लागेको छ। त्यसैले यस उत्सवप्रति बाइबल विद्यार्थीहरू र नम्र मानिसहरूको चासो जगाउन यी प्रश्‍नहरूबारे विचार गर्नु समय सुहाउँदो छ: परमेश्‍वरले सुरुमा कुन उद्देश्‍य राखेर पृथ्वी र मानिस सृष्टि गर्नुभयो? पछि कहाँ कुरा बिग्रियो? येशूको फिरौतीको बलिदानलाई परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने मुख्य माध्यम किन भन्‍न सक्छौं?

सृष्टिकर्ताको सुरुको उद्देश्‍य के थियो?

४. सृष्टिले कसरी यहोवाको महिमाको वर्णन गर्छ?

४ यहोवा महान्‌ सृष्टिकर्ता हुनुहुन्छ। उहाँले बनाउनुभएको सबै कुरा उच्च स्तरको छ। (उत्प. १:३१; यर्मि. १०:१२) सृष्टिमा देखिने सुन्दरता र तालमेलबाट हामी के सिक्न सक्छौं? यहोवाले साना-ठूला सबै कुरा कुनै न कुनै उद्देश्‍य राखेर बनाउनुभएको छ। उहाँले बनाउनुभएको सृष्टिलाई नियाल्दा हामी उहाँको गुणगान नगरी बस्नै सक्दैनौं! मानव शरीरका कोषहरूको जटिलता, भर्खरै जन्मेको बच्चाको सुन्दरता अथवा सूर्यास्तको मनमोहक दृश्‍य देखेर कोचाहिं दङ्‌ग नपर्ला र? सृष्टिका यी कुराहरू हेरेर हामी मक्ख पर्छौं किनभने हामीसित सुन्दर कुराहरू हेरेर रमाउन सक्ने क्षमता छ।—भजन १९:१; १०४:२४ पढ्‌नुहोस्‌।

५. सृष्टिका कुराहरू व्यवस्थित रूपले चलोस्‌ भनेर यहोवाले के गर्नुभएको छ?

५ यहोवाले सृष्टि गर्नुभएका कुराहरूमा उहाँले तोक्नुभएको सीमा देख्न सक्छौं र ती हाम्रै फाइदाका लागि हुन्‌। उहाँले सबै कुरा व्यवस्थित रूपले चलोस्‌ भनेर भौतिक र नैतिक नियमहरू बनाउनुभएको छ। (भज. १९:७-९) त्यसैले उहाँले ब्रह्‍माण्डमा भएका सबै कुरालाई तिनीहरूको भूमिकाअनुसार आ-आफ्नै स्थान र काम दिनुभएको छ। सृष्टिका कुराहरू आपसमा तालमेल मिलाएर चलोस्‌ भनेर यहोवाले एउटा स्तर तोक्नुभएको छ। जस्तै: गुरुत्वाकर्षण शक्‍तिलाई विचार गरौं। यसले पृथ्वीको चारैतिर रहेको वायुमण्डललाई आफ्नो ठाउँमा राख्छ। साथै समुद्र र यसको उर्लंदो छाललाई नियन्त्रणमा राख्छ। यस्तो भौतिक तालमेलले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। मानिसलगायत सम्पूर्ण सृष्टि यिनै सीमाभित्र रहेर चलहल गर्छन्‌ र आ-आफ्नो भूमिका पूरा गर्छन्‌। परमेश्‍वरले एउटा उद्देश्‍यसहित पृथ्वी र मानिस बनाउनुभएको हो भनेर सृष्टिमा देखिने तालमेलले प्रमाणित गर्छ। प्रचारकार्यमा भाग लिंदा के हामी यस्तो व्यवस्थित सृष्टिकर्तातर्फ मानिसहरूको ध्यान खिच्न चाहँदैनौं र?—प्रका. ४:११.

६, ७. यहोवाले आदम र हव्वालाई कस्ता उपहारहरू दिनुभएको थियो?

६ मानिसहरू सधैंभरि पृथ्वीमा बाँचोस्‌ भन्‍ने यहोवाको सुरुको उद्देश्‍य थियो। (उत्प. १:२८; भज. ३७:२९) उहाँले आदम र हव्वाको खुसीको लागि कुनै कन्जुस्याइँ नगरी प्रशस्त उपहार दिनुभयो। (याकूब १:१७ पढ्‌नुहोस्‌) यहोवाले तिनीहरूलाई छनौट गर्ने स्वतन्त्रता, सोचविचार गर्ने क्षमता र अरूलाई माया गर्ने अनि मित्रताबाट आनन्द उठाउने क्षमता दिनुभयो। सृष्टिकर्ताले आदमलाई आज्ञाकारी हुन के गर्नुपर्छ भनेर बताउनुभयो। आदमले आफ्ना आवश्‍यकताहरू कसरी पूरा गर्ने र पशुपन्छी अनि अदनको बगैंचाको कसरी हेरचाह गर्ने भनेर सिके। (उत्प. २:१५-१७, १९, २०) यहोवाले आदम र हव्वालाई स्वाद लिने, स्पर्श गर्ने, हेर्ने, सुन्‍ने र सुँघ्ने क्षमतासहित सृष्टि गर्नुभएको थियो। त्यसैले पहिलो मानव दम्पतीले प्रमोदवनको सुन्दरता र उब्जनीबाट पूरा आनन्द उठाउन सक्थे। तिनीहरूको लागि प्रमोदवनमा रमाइलो कामको कुनै अभाव थिएन। तिनीहरूले आफ्नो कामबाट गहिरो सन्तुष्टि पाउन सक्थे र नयाँ-नयाँ कुराहरू पत्ता लगाइरहन सक्थे।

७ परमेश्‍वरको उद्देश्‍यमा अरू कुन कुरा समावेश थियो? यहोवाले आदम र हव्वालाई त्रुटिरहित छोराछोरी जन्माउने क्षमतासहित सृष्टि गर्नुभएको थियो। तिनीहरूको सन्तानले पूरै पृथ्वी भरेको उहाँ चाहनुहुन्थ्यो। यहोवाले आदम र हव्वालाई माया गर्नुभएझैं तिनीहरू र तिनीहरूका सन्तानले पनि आफ्ना छोराछोरीलाई माया गरेको उहाँ चाहनुहुन्थ्यो। सम्पूर्ण स्रोतसाधनले भरपुर पृथ्वी मानिसहरूको स्थायी घर हुने थियो।—भज. ११५:१६.

कुरा कहाँ बिग्रियो?

८. परमेश्‍वरले उत्पत्ति २:१६, १७ मा किन त्यस्तो नियम दिनुभयो?

८ परमेश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य तुरुन्तै पूरा भएन। किन? यहोवाले आदम र हव्वालाई एउटा सरल नियम दिनुभएको थियो। यो नियमले तिनीहरू परमेश्‍वरले तोक्नुभएको सीमाभित्र बस्छन्‌ कि बस्दैनन्‌ भन्‍ने कुराको जाँच गर्ने थियो। परमेश्‍वरले यस्तो नियम दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्प. २:१६, १७) यो नियम आदम र हव्वाले बुझ्नै नसक्ने खालको वा पालन गर्न गाह्रो थिएन। किनभने यहोवाले तिनीहरूलाई अरू खानेकुरा प्रशस्तै दिनुभएको थियो।

९, १०. (क) सैतानले यहोवालाई कस्तो आरोप लगायो? (ख) आदम र हव्वाले कस्तो निर्णय गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

९ सैतानले सर्पलाई चलाएर हव्वालाई झुक्क्यायो अनि यहोवाप्रति अनाज्ञाकारी हुन लगायो। (उत्पत्ति ३:१-५ पढ्‌नुहोस्‌; प्रका. १२:९) परमेश्‍वरले मानव सन्तानलाई “कुनै [पनि] रूखको फल नखानू” भन्‍ने आज्ञा दिनुभएको छ भनेर विवाद खडा गऱ्‍यो। त्यसले वास्तवमा यसो भन्‍न खोज्दै थियो: ‘के यसको मतलब तिमी आफूले चाहेको केही पनि गर्न सक्दैनौ?’ त्यसले सरासर यस्तो झूट पनि बोल्यो: “तिमीहरू कदापि मर्दैनौ।” त्यसपछि सैतानले हव्वालाई परमेश्‍वरको कुरा सुन्‍नु आवश्‍यक छैन भनेर बहकाउन यसो भन्यो: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌।” यहाँ सैतानले के भन्‍न खोज्दै थियो भने त्यो फल खाएर तिनीहरूले ज्ञान पाएको यहोवा चाहनुहुन्‍न। साथै त्यसले यस्तो झूटो आश्‍वासन दियो: “असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”

१० अब आदम र हव्वाले के गर्ने भनेर निर्णय गर्नुपर्थ्यो। यहोवाको कुरा सुन्‍ने कि सैतानको? तिनीहरूले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने निर्णय गरे। यसरी तिनीहरूले सैतानको विद्रोहमा साथ दिए। तिनीहरूले यहोवा आफ्नो बुबालाई त्यागे र तिनीहरूकै सुरक्षाको लागि दिइएको नियम तोडे।—उत्प. ३:६-१३.

११. यहोवा किन विद्रोह हेरेर चुप रहनुहुन्‍न?

११ यहोवाको विद्रोह गरेर आदम र हव्वाले आफ्नो त्रुटिरहित शरीर गुमाए। त्यति मात्र होइन, त्यो विद्रोहले गर्दा यहोवासितको सम्बन्ध बिग्रियो किनभने उहाँको “दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्न सक्नुहुन्‍न, औ दुष्टकर्म देखेर चूप्प रहन सक्नुहुन्‍न।” (हब. १:१३) यदि उहाँ चुप रहनुभएको भए स्वर्ग र पृथ्वीमा रहेका सबै जीवित प्राणीले दुःख पाउने थिए। त्योभन्दा महत्त्वपूर्ण कुरा, आदम र हव्वाले पाप गर्दा परमेश्‍वरले कुनै कदम नचाल्नुभएको भए उहाँ भरोसायोग्य परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा प्रश्‍न खडा हुने थियो। तर आफूले बनाएको स्तर यहोवा कहिल्यै तोड्‌नुहुन्‍न, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। (भज. ११९:१४२) त्यसैले छनौट गर्ने स्वतन्त्रता छ भन्दैमा आदम र हव्वासित परमेश्‍वरको नियमलाई बेवास्ता गर्ने अधिकार थिएन। यहोवाको विद्रोह गरेकोले तिनीहरू मरे र माटैमा फर्किए।—उत्प. ३:१९.

१२. आदमका सन्तानलाई के भयो?

१२ आदम र हव्वाले निषेधित फल खाएपछि तिनीहरू परमेश्‍वरको विशाल परिवारको सदस्य भइरहन सकेनन्‌। परमेश्‍वरले तिनीहरूलाई अदनको बगैंचाबाट निकाल्नुभयो र त्यहाँ तिनीहरू कहिल्यै फर्कन पाउने थिएनन्‌। (उत्प. ३:२३, २४) यसरी यहोवाले तिनीहरूलाई गल्तीको सजाय भोग्न दिनु न्यायसङ्‌गत थियो। (व्यवस्था ३२:४, ५ पढ्‌नुहोस्‌) त्रुटिपूर्ण भइसकेकोले तिनीहरूले पूर्ण रूपमा परमेश्‍वरका गुणहरू झल्काउन सक्ने थिएनन्‌। आदमले सुन्दर भविष्यको आशा गुमाए तर त्यति मात्र होइन, तिनले आफ्नो सन्तानलाई त्रुटिपूर्ण अवस्था, पाप र मृत्यु पनि सारे। (रोमी ५:१२) तिनको गल्तीले गर्दा तिनका सन्तानले अनन्त जीवनको आशा गुमाए। साथै न आदम र हव्वाले न त तिनीहरूका छोराछोरीले त्रुटिरहित सन्तान जन्माउन सक्ने थिए। आदम र हव्वालाई परमेश्‍वरको विद्रोह गर्न लगाएदेखि आजसम्म पनि सैतानले मानिसहरूलाई गलत काम गर्न उक्साउँदै छ।—यूह. ८:४४.

फिरौतीले यहोवासितको सम्बन्ध सुधार्छ

१३. मानिसहरूले के गरेको यहोवा चाहनुहुन्छ?

१३ यहोवाले मानिसहरूलाई प्रेम गर्न छोड्‌नुभएको छैन। आदम र हव्वाले विद्रोह गरे पनि मानिसहरूले आफूसँग राम्रो सम्बन्ध राखेको उहाँ चाहनुहुन्छ। उहाँ कोही पनि मरेको चाहनुहुन्‍न। (२ पत्रु. ३:९) त्यसैले मानिसहरूले परमेश्‍वरसितको सम्बन्ध सुधार्न सकोस्‌ भनेर उहाँले अदनमा विद्रोह हुनेबित्तिकै प्रबन्ध मिलाउनुभयो। आफ्नो न्यायको स्तर नबङ्‌ग्याईकन उहाँले कसरी यस्तो प्रबन्ध मिलाउनुभयो? आउनुहोस्‌, हेरौं।

१४. (क) यूहन्‍ना ३:१६ अनुसार मानिसहरूले अनन्त जीवन पाऊन्‌ भनेर परमेश्‍वरले कस्तो प्रबन्ध गर्नुभयो? (ख) चासो दिने व्यक्‍तिहरूसित हामी कुन प्रश्‍नबारे छलफल गर्न सक्छौं?

१४ यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌। स्मरणार्थ उत्सवमा आउनेहरूमध्ये केहीलाई यस पदबारे थाह हुन सक्छ। तर प्रश्‍न उठ्‌छ, येशूको बलिदानले कसरी अनन्त जीवन सम्भव तुल्यायो? स्मरणार्थ उत्सवको लागि निम्तो दिंदा, स्मरणार्थ उत्सवमा उपस्थित हुँदा र यसमा उपस्थित भएकाहरूलाई फेरि भेट्‌दा हामी तिनीहरूलाई यस महत्त्वपूर्ण प्रश्‍नको जवाफ बुझ्न मदत गर्न सक्छौं। फिरौतीको प्रबन्ध गरेर यहोवाले देखाउनुभएको प्रेम र बुद्धिबारे राम्ररी बुझ्न थालेपछि तिनीहरू यहोवाप्रति कृतज्ञ हुनेछन्‌। फिरौतीसम्बन्धी कस्ता बुँदाहरूलाई हामी जोड दिन सक्छौं?

१५. येशू कसरी आदमभन्दा फरक हुनुहुन्थ्यो?

१५ यहोवाले फिरौतीको मोल तिर्न सक्ने त्रुटिरहित मानिसको प्रबन्ध गर्नुभयो। त्यो मानिस यहोवाप्रति वफादार रहन र आशाविहीन मानिसहरूको लागि आफ्नो जीवन बलिदान दिन तयार हुनुपर्थ्यो। (रोमी ५:१७-१९) यहोवाले सबैभन्दा पहिलो सृष्टिको जीवन स्वर्गबाट पृथ्वीमा सार्नुभयो। (यूह. १:१४) त्यसैले आदमजस्तै येशू पनि त्रुटिरहित हुन सक्नुभयो। यहोवाले त्रुटिरहित मानिसको लागि तोक्नुभएको स्तरअनुसार चल्न आदम चुके तर येशू भने चुक्नुभएन। कठिन परीक्षा आइपर्दा समेत येशूले कहिल्यै पाप गर्नुभएन न त परमेश्‍वरको कुनै नियम तोड्‌नुभयो।

१६. फिरौतीको बलिदान किन अनमोल उपहार हो?

१६ येशू त्रुटिरहित हुनुभएकोले आफ्नो जीवन बलिदान दिएर मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गर्न सक्नुहुन्थ्यो। आदम त्रुटिरहित छँदा जस्तो थिए, येशू पनि त्यस्तै हुनुहुन्थ्यो। उहाँ परमेश्‍वरप्रति पूर्णतया वफादार र आज्ञाकारी हुनुहुन्थ्यो। (१ तिमो. २:६) येशूले फिरौतीस्वरूप आफ्नो जीवन बलिदान दिनुभयो। यसले गर्दा “धेरैको निम्ति”—पुरुष, स्त्री र केटाकेटी सबैको निम्ति अनन्त जीवनको बाटो खुल्यो। (मत्ती २०:२८) फिरौतीको बलिदान परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा गर्ने मुख्य माध्यम हो। (२ कोरि. १:१९, २०) फिरौतीले सबै वफादार मानिसलाई अनन्त जीवनको आशा दिन्छ।

यहोवाले आफूकहाँ फर्कन ढोका खोलिदिनुभयो

१७. फिरौतीले गर्दा के सम्भव भएको छ?

१७ यहोवा आफैले ठूलो मोल चुकाउनुपरे तापनि उहाँले फिरौतीको प्रबन्ध गर्नुभयो। (१ पत्रु. १:१९) उहाँ मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले आफ्नो एक मात्र छोरा हाम्रो खातिर मर्नको लागि पठाउनुभयो। (१ यूह. ४:९, १०) एक अर्थमा भन्‍नुपर्दा येशू मानव बुबा आदमको बराबर हुनुभयो। (१ कोरि. १५:४५) यसरी येशूले मानिसलाई जीवन मात्र होइन, परमेश्‍वरको परिवारमा फर्कने मौका पनि दिनुभयो। यहोवाले आफ्नो न्यायको स्तर नबङ्‌ग्याईकन येशूको बलिदानको आधारमा मानिसहरूलाई आफ्नो परिवारको सदस्यको रूपमा स्विकार्न सक्नुहुन्छ। सबै वफादार मानिस त्रुटिरहित अवस्थामा पुग्ने दिनबारे सोच्दा के हामी खुसीले गद्‌गद हुँदैनौं र? त्यतिबेला स्वर्ग र पृथ्वीमा रहेका यहोवाको परिवारका सदस्यहरू पूर्णतया एकतामा रहनेछन्‌। हामी साँचो अर्थमा परमेश्‍वरका छोराछोरी हुनेछौं।—रोमी ८:२१.

१८. “सबै कुरा” यहोवाको “अधीनमा” कहिले हुनेछ?

१८ आदम र हव्वाले यहोवालाई त्यागे तापनि उहाँले मानिसहरूलाई प्रेम गर्न छोड्‌नुभएन। अनि हामी त्रुटिपूर्ण भए तापनि यहोवाप्रति वफादार रहनदेखि सैतानले रोक्न सक्दैन। यहोवाले फिरौतीको प्रबन्धमार्फत आफ्ना सबै छोराछोरीलाई पूर्णतया असल ठहऱ्‍याउनुहुनेछ। “ज-जसले छोरालाई हेर्छ र ऊमाथि विश्‍वास गर्छ,” तिनीहरू सबैले अनन्त जीवन पाउँदा कस्तो होला, कल्पना गर्नुहोस्‌। (यूह. ६:४०) यहोवाले अपार प्रेम देखाउँदै र बुद्धि प्रयोग गर्दै आफ्नो सुरुको उद्देश्‍यअनुसारै मानव परिवारलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। त्यसपछि “सबै कुरा” हाम्रा बुबा यहोवाको “अधीनमा” हुनेछ।—१ कोरि. १५:२८.

१९. (क) फिरौतीप्रतिको कृतज्ञताले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ? (“को योग्य छ भनी खोजिरहौं” भन्‍ने पेटी हेर्नुहोस्‌) (ख) फिरौतीको प्रबन्धबारे अर्को लेखमा के छलफल गर्नेछौं?

१९ फिरौतीप्रतिको कृतज्ञताले हामीलाई यस अनमोल उपहारबाट अरूले पनि लाभ उठाओस्‌ भनेर सक्दो कोसिस गर्न उत्प्रेरित गर्नुपर्छ। फिरौतीको प्रबन्धमार्फत यहोवाले सबै मानिसलाई अनन्त जीवनको आशा दिनुहुन्छ भनेर मानिसहरूले थाह पाउनु आवश्‍यक छ। फिरौतीको प्रबन्धबाट हुने लाभ अरू पनि छन्‌। येशूको बलिदानले अदनको बगैंचामा सैतानले खडा गरेको प्रश्‍नहरूको कसरी जवाफ दियो, यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

यहोवाको साक्षीले स्मरणार्थ उत्सवको निम्तो दिंदै

को योग्य छ भनी खोजिरहौं

स्मरणार्थको निम्तोपर्ची हामीले व्यापक रूपमा वितरण गर्ने प्रकाशनहरूमध्ये एक हो। हामीले गत वर्ष करिब ४४,००,००,००० वटा पर्ची ५३० भन्दा धेरै भाषामा प्रकाशित गऱ्‍यौं। तपाईंसँग केही निम्तोपर्ची बाँकी छ कि? के थाह, त्यो निम्तोपर्ची पाएर कुनै योग्य व्यक्‍तिले स्मरणार्थमा उपस्थित हुने निर्णय गर्न सक्छन्‌!—मत्ती १०:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने