प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१ pp. १०-१४
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याग्रस्त परिवार
  • डाहले जरा गाड्‌छ
  • यूसुफका सपनाहरू
  • घृणाले उग्र रूप लिन्छ
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यूसुफलाई दाइहरूले घृणा गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१ pp. १०-१४
यूसुफ

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | यूसुफ

“मैले देखेको सपना सुन्‍नुहोस्‌”

यूसुफ व्यापारीहरूको दलबाट भागेर जाने तीव्र इच्छाले पूर्वतिर हेर्दैछन्‌। पूर्वतिर ती डाँडाहरू पारि हेब्रोनमा तिनको घर छ। सायद त्यति टाढा पनि छैन। तिनको बुबा याकूबलाई चाहिं आफ्नो प्यारो छोरामाथि के-के बितिसक्यो, अत्तोपत्तो छैन। तिनी साँझको कामधन्दामै व्यस्त छन्‌। तर अब यूसुफ भने आफ्नो बुबाकहाँ फर्केर जान सक्नेछैनन्‌। उमेर ढल्किसकेका आफ्नो प्यारो बुबाको अनुहार अब कहिल्यै देख्न पाउनेछैन जस्तो तिनलाई लागिरहेको छ। व्यापारीहरू दक्षिणतर्फ जाने बाटोमा आ-आफ्ना ऊँटहरूलाई धपाउँदै यात्रा गर्दैछन्‌ र यूसुफमाथि कडा निगरानी पनि राख्दै छन्‌। आखिर तिनीहरूले यूसुफलाई किनेका हुन्‌। ती व्यापारीहरूका लागि यूसुफ तिनीहरूले आफूसँगै ल्याएको विभिन्‍न प्रकारका सुगन्धित लेप र तेल जत्तिकै मूल्यवान्‌ थिए। टाढा पर्ने मिश्र देशमा यी कुराहरू बेच्दा निकै फाइदा हुन्थ्यो।

त्यतिखेर यूसुफ लगभग १७ वर्षका थिए होलान्‌। कल्पना गर्नुहोस्‌, यूसुफ पश्‍चिमतिर आकाशमा हेर्दै छन्‌। भूमध्यसागरको क्षितिजमा घाम डुब्नै लागेको छ। यूसुफ भने आफ्नो जीवनमा अचानक आएको परिवर्तन सम्झेर टोलाउँदै छन्‌। यूसुफलाई आफ्नै दाजुभाइले मार्न खोजेका थिए र दासको रूपमा बेचेका थिए। यो कुरा विश्‍वास गर्न तिनलाई असाध्यै गाह्रो भइरहेको छ। तिनले आँसु थाम्नै सकिरहेका छैनन्‌। आफ्नो भविष्य कस्तो हुने हो भनेर यूसुफले केही अनुमान लाउन सकिरहेका छैनन्‌।

दासको रूपमा बेचिएका यूसुफ व्यापारीहरूको दलसित हिंड्‌दै

यूसुफले आफ्नो स्वतन्त्रता गुमाए तर विश्‍वास भने गुमाएनन्‌

आखिर यूसुफ यस्तो डरलाग्दो परिस्थितिमा कसरी परे? आफ्नै परिवारका सदस्यहरूबाट धोका पाएका यी युवकको विश्‍वासबाट हामी के सिक्न सक्छौं?

समस्याग्रस्त परिवार

यूसुफको परिवार निकै ठूलो थियो। तर तिनीहरू एकअर्कासित मिल्दैन थिए र परिवार सुखी थिएन। बहुविवाहले विकराल समस्याहरू निम्त्याउँछ भन्‍ने कुराको एउटा स्पष्ट प्रमाण यूसुफको परिवार हो। त्यतिखेर बहुविवाह गर्ने चलन सामान्य थियो। तर परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा भने मानिसले एक जनासित मात्र विवाह गर्न पाउने स्तर राख्नुभएको थियो। यो स्तरलाई परमेश्‍वरको छोराले पुनर्स्थापित नगर्नु भएसम्म बहुविवाहको चलनलाई परमेश्‍वरले सहनु भयो। (मत्ती १९:४-६) यूसुफका बुबा याकूबका दुई पत्नी लेआ र राहेल अनि तिनीहरूका दासीहरू जिल्पा र बिल्हा तर्फबाट कम्तीमा १४ जना छोराछोरीहरू जन्मिएका थिए। सुरुदेखि नै याकूब राहेललाई मनपराउँथे। तर याकूबसँग राहेलकी दिदी लेआको विवाह भने याकूबलाई झुक्याएर गरिएको थियो। याकूब लेआलाई भन्दा राहेललाई धेरै प्रेम गर्थे। यी दुई स्त्रीहरू बीच डाह र प्रतिस्पर्धा हुन थाल्यो। अनि त्यसले गर्दा तिनीहरूका छोराछोरीहरू बीच पनि त्यस्तै दुस्मनी मौलायो।—उत्पत्ति २९:१६-३५; ३०:१, ८, १९, २०; ३७:३५.

राहेलले धेरै वर्षसम्म सन्तान जन्माउन सकिनन्‌। तर पछि तिनले यूसुफलाई जन्माइन्‌। त्यसैले याकूब आफ्नो बुढेसकालको छोरो यूसुफलाई अरू छोराछोरीभन्दा धेरै माया गर्थे। उदाहरणको लागि एकदिनको कुरालाई विचार गर्नुहोस्‌। याकूब आफ्नो पूरै परिवारसित तिनका दाइ एसावलाई भेट्‌न गएका थिए। एसाव पहिले याकूबलाई मार्न चाहन्थे। त्यसैले एसावले आक्रमण गरिहालेमा राहेल र यूसुफ चाहिं बच्न सकून्‌ भनेर याकूबले परिवारका अरू सदस्यलाई अघि-अघि पठाए। तर राहेल र यूसुफलाई भने पछाडि सबैभन्दा सुरक्षित स्थानमा राखे। सायद यो तनावपूर्ण दिनलाई यूसुफले कहिल्यै बिर्सन सकेनन्‌। त्यही दिन बिहान यूसुफले याकूब खोच्याउँदै हिंडेको देखेका थिए। आफ्नो वृद्ध तर बलवान्‌ बुबा किन यसरी हिंड्‌नुभएको होला भनेर यूसुफले अचम्म मानेको हुनुपर्छ। अनि बुबाले अघिल्लो रात शक्‍तिशाली स्वर्गदूतसित कुस्ती लडेकोले पो त्यस्तो भएको रहेछ भनी थाह पाउँदा यूसुफ तीनछक परे होलान्‌। तर याकूबले किन कुस्ती लडेका थिए? किनभने तिनी यहोवा परमेश्‍वरबाट आशिष्‌ पाउन चाहन्थे। इनामस्वरूप यहोवाले तिनको नाउँ याकूबलाई परिवर्तन गरेर इस्राएल राखिदिनुभयो। पछि एउटा पूरै राष्ट्रले तिनको नाउँ वहन गर्ने थियो। (उत्पत्ति ३२:२२-३१) याकूबका छोराहरूको वंशबाटै इस्राएल राष्ट्रका कुलहरू बन्‍नेछन्‌ भनी पछि यूसुफले बुझे।

जवान छँदै यूसुफले आफ्नो सबैभन्दा प्यारो व्यक्‍तिसितको बिछोडको पीडा सहनु पऱ्‍यो। तिनको सानो भाइ बिन्यामीन जन्मने बित्तिकै तिनकी आमा राहेलको मृत्यु भयो। त्यसैले यूसुफका बुबा साह्रै शोकित भए। कल्पना गर्नुहोस्‌, याकूब आफ्नो छोरा यूसुफको आँखाबाट आँसु पुछ्‌दै छन्‌ र पुनर्जीवनको आशाबारे बताएर तिनलाई सान्त्वना दिंदै छन्‌। यही आशाबाट याकूबका हजुरबुबा अब्राहामले पनि सान्त्वना पाएका थिए। एकदिन आफ्नी आमालाई यहोवा परमेश्‍वरले फेरि जीवित पार्नुहुनेछ भनेर थाह पाउँदा यूसुफ कत्ति खुसी भए होलान्‌। “जीवितहरूका परमेश्‍वर” यहोवा, जो उदार हुनुहुन्छ, उहाँप्रति यूसुफको प्रेम झन्‌ प्रगाढ भएको हुनुपर्छ। (लूका २०:३८; हिब्रू ११:१७-१९) आफ्नी श्रीमती राहेलको मृत्युपछि याकूबले राहेलबाट जन्मेका आफ्ना दुई छोराहरूलाई झन्‌ धेरै माया गर्न थाले।—उत्पत्ति ३५:१८-२०; ३७:३; ४४:२७-२९.

अरूलाई भन्दा धेरै माया दिएपछि धेरैजसो छोराछोरी पुलपुलिन्छन्‌ र बिग्रिन्छन्‌। तर यूसुफले भने आफ्ना आमाबुबाका राम्रा गुणहरूबाट धेरै कुरा सिके। तिनले परमेश्‍वरमाथि आफ्नो विश्‍वास बलियो बनाए। साथै सही र गलतबीच भिन्‍नता छुट्ट्याउने क्षमता विकास गरे। यूसुफ १७ वर्षको छँदा भएको एउटा घटना विचार गर्नुहोस्‌। त्यतिखेर तिनी दाइहरूलाई गोठालोको काममा सघाउँथे। तिनले आफ्ना केही दाइहरूले खराब काम गरिरहेको याद गरे। यस्तो अवस्थामा ती दाइहरूसितको सम्बन्ध नटुटोस्‌ भनेर तिनी मुखमा बुजो हालेर बस्न पनि सक्थे। सायद तिनलाई त्यसै गर्नु बेस हो जस्तो पनि लाग्यो कि? तर तिनले त्यसो गरेनन्‌; आफ्नो बुबालाई सबै कुरा बताइदिएर जे सही छ, त्यही गरे। (उत्पत्ति ३७:२) यूसुफले साहसी भई यस्तो कदम चालेको कारण याकूब पनि आफूले यूसुफलाई विशेष ठान्‍नु उचित छ भनी विश्‍वस्त भएको हुनुपर्छ। जवान ख्रीष्टियनहरूको लागि यूसुफ कत्ति राम्रो उदाहरण! आफ्ना दाजुभाइ वा साथीले गरेको गम्भीर गल्तीलाई लुकाउने दबाब महसुस हुँदा जवान ख्रीष्टियनहरूले यूसुफको उदाहरण अनुकरण गर्नुपर्छ र गल्ती गर्नेलाई मदत गर्न सक्ने व्यक्‍तिकहाँ गएर सबै कुरा खुलस्त बताउनु पर्छ।—लेवी ५:१.

हामी सबैले यूसुफको परिवारबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। साँचो ख्रीष्टियनहरू बहुविवाह त गर्दैनन्‌ तर तिनीहरूको पनि सौतेलो परिवार हुन सक्छ। परिवारमा सौतेनी आमाबुबा, दाजुभाइ, दिदीबहिनी र छोराछोरी हुन सक्छन्‌। याकूबको परिवारबाट पक्षपातले पारिवारिक एकतालाई खलबल्याउँछ भन्‍ने पाठ सिक्न सक्छौं। बुद्धिमान्‌ आमाबुबाले आफ्ना छोराछोरी र सौतेनी छोराछोरी सबैले बराबर माया पाएको महसुस गराउनुपर्छ। साथै हरेकसित विशेष क्षमता छ र सबैले परिवार सुखी बनाउन योगदान दिन सक्छन्‌ भनेर आमाबुबाले छोराछोरीलाई विश्‍वस्त बनाउनु पर्छ।—रोमी २:११.

डाहले जरा गाड्‌छ

याकूब यूसुफलाई विशेष किसिमको लबेदा लगाइदिंदै

यूसुफ वफादार र सत्यको लागि दृढ भएकोले याकूबले तिनलाई अरूलाई भन्दा बढी माया गरे

यूसुफले सत्यको लागि अडान लिएकोले नै होला, याकूबले तिनलाई सम्मान गरे। याकूबले आफ्नो छोराको लागि विशेष किसिमको लबेदा ल्याइदिए। (उत्पत्ति ३७:३) सायद यो लबेदा बाहुला भएको, लामो र निकै सुन्दर लुगा थियो। त्यसबेला विशेषगरि राजकुमार र खानदानी व्यक्‍तिहरूले मात्र त्यस्तो खालको लुगा लगाउँथे जस्तो देखिन्छ।

यूसुफलाई माया गरेकोले नै याकूबले तिनलाई उपहार दिएका थिए। बुबाबाट पाएको सम्मान र मायाको चिनोले पक्कै पनि यूसुफको मन छोयो होला। तर त्यही लबेदाले यूसुफको जीवनमा ठूलठूला समस्या निम्त्याउने थियो। याद गर्नुहोस्‌, यूसुफ गोठालोको काम गर्थे। त्यसको मतलब तिनले कडा शारीरिक परिश्रम गर्नु पर्थ्यो। जवान यूसुफ शानदार लुगा लगाएर लामा-लामा घाँसहरू पन्छाउँदै लखतरान भएर हिंड्‌दा, चट्टानमा चढ्‌दा वा काँडाको झाडीबाट हराएको भेडा निकाल्न खोज्दा कस्तो देखिन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! तर यो भन्दा पनि गम्भीर अर्को एउटा समस्या थियो। याकूबको मायाको चिनोले यूसुफ र तिनका दाजुभाइको सम्बन्धमा नराम्रो असर पुऱ्‍याउने थियो।

यस विषयमा बाइबलमा यस्तो लेखिएको पाउँछौं: ‘यूसुफका बाबुले अरू दाज्यू-भाइहरूभन्दा तिनलाई बढी माया गरेको देखी तिनका दाज्यूहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्दैन थिए।’a (उत्पत्ति ३७:४) हुन त यूसुफका दाइहरूले डाह गर्नु स्वाभाविकै थियो। तर तिनीहरूले आफ्नो खराब भावनालाई काबूमा राख्न नसक्नु तिनीहरूको मूर्खता थियो। (हितोपदेश १४:३०; २७:४) आफूले पाउनु पर्ने ध्यान वा सम्मान अरू कसैले पाउँदा तपाईंलाई कहिल्यै डाह लागेको छ? वा रिसले मुरमुरिनु भएको छ कि? यूसुफका दाइहरूलाई सम्झनुहोस्‌। डाहको कारण तिनीहरू साह्रै खराब काम गर्न पुगे, जसको लागि पछि तिनीहरू निकै पछुताउनु पर्ने थियो। तिनीहरूको उदाहरणले हामी ख्रीष्टियनहरूलाई डाह गर्नुको साटो ‘रमाउने मानिसहरूसित रमाउनु’ नै कता हो कता बुद्धिमानी हो भन्‍ने कुरा सिकाउँछ।—रोमी १२:१५.

दाइहरूले यूसुफलाई घृणा गर्छन्‌ भनेर तिनलाई पक्कै थाह थियो। तर त्यसो भन्दैमा तिनले दाइहरूको अगाडि आफ्नो सानदार लुगा लुकाउन खोजे त? सायद तिनले त्यसो गर्न दबाब महसुस गरे। तर याद गर्नुहोस्‌, याकूबले यूसुफलाई दिएको लुगा मायाको चिनो थियो। त्यसैले यूसुफ बुबाले देखाउनु भएको भरोसा तोड्‌न चाहँदैन थिए। तिनले वफादार भई त्यो लुगा लगाइरहे। यूसुफको उदाहरणले हामीलाई राम्रो पाठ सिकाउँछ। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले कहिल्यै पक्षपात गर्नुहुन्‍न। तर कहिलेकाहीं उहाँ आफ्ना केही वफादार सेवकहरूलाई अरूलाई भन्दा धेरै प्रेम देखाउनुहुन्छ। साथै, परमेश्‍वर आफ्ना सेवकहरूलाई यो दुष्ट र अनैतिक संसारबाट अलग रहन आग्रह गर्नुहुन्छ। विशेष किसिमको लुगाले गर्दा यूसुफ अरूभन्दा फरक देखिएझैं साँचो ख्रीष्टियनहरूको व्यवहारले गर्दा तिनीहरू संसारका मानिसहरूभन्दा फरक देखिन्छन्‌। साँचो ख्रीष्टियनहरूको त्यस्तो व्यवहार देखेर कोही-कोही डाहले जल्छन्‌ र तिनीहरूलाई घृणा गर्छन्‌। (१ पत्रुस ४:४) त्यसोभए ख्रीष्टियनहरूले आफ्नो साँचो चिनारी लुकाउनु सही हो त? पक्कै होइन। यूसुफले आफ्नो लुगा नलुकाए जस्तै हामी पनि परमेश्‍वरको सेवकको रूपमा आफ्नो चिनारी कहिल्यै नलुकाऔं।—लूका ११:३३.

यूसुफका सपनाहरू

केही समय पछि यूसुफले दुइटा अनौठा सपनाहरू देखे। पहिलो सपनामा यूसुफ आफ्ना दाइहरूसित अन्‍नका बिटाहरू बाँधिरहेका थिए। तर तिनको बिटा उठेर ठाडो भयो अनि तिनका दाइहरूका बिटाहरूले तिनको बिटालाई घेरे र दण्डवत्‌ गरे। दोस्रो सपनामा चाहिं सूर्य, चन्द्र र एघारवटा ताराले यूसुफलाई दण्डवत्‌ गरे। (उत्पत्ति ३७:६, ७, ९) अब यस्तो जीवन्त अनि अचम्मलाग्दो सपना देखेपछि यूसुफले के गरे?

परमेश्‍वर यहोवाले नै यूसुफलाई ती सपनाहरू देखाउनु भएको थियो अनि ती सपनाहरू भविष्यसूचक थिए। ती सपनामा भएको सन्देश यूसुफले अरूलाई बताएको परमेश्‍वर चाहनुहुन्थ्यो। यूसुफपछि थुप्रै भविष्यवक्‍ताले परमेश्‍वरका अटेरी जनहरूलाई उहाँको सन्देश र न्यायदण्ड सुनाए। एक अर्थमा यूसुफले पनि ती भविष्यवक्‍ताहरूको जस्तै काम गर्नुपर्ने थियो।

यूसुफले कौशलतापूर्वक आफ्ना दाइहरूलाई यसो भने: “मैले देखेको सपना सुन्‍नुहोस्‌।” तिनका दाइहरूले सपनाको अर्थ बुझिहाले तर तिनीहरूलाई त्यो पटक्कै मनपरेन। अनि तिनीहरूले भने: “के तँ साँच्चिनै हामीमाथि राज्य गर्ने भइस्‌? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” विवरण अझै यसो भन्छ: “यसैकारण तिनको सपना र तिनका कुराहरूका निम्ति तिनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे।” यूसुफले आफूले देखेको दोस्रो सपना पनि आफ्ना बुबा र दाइहरूलाई भन्दा तिनीहरूले नाक खुम्च्याए। हामी यस्तो लेखिएको पाउँछौं: “तिनका बाबुले तिनलाई हप्काएर भने, ‘तैंले देखेको यो सपना के हो? के साँच्चिनै म र तेरी आमा र तेरा दाज्यूहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोगी दिने?’” तर यूसुफका बुबाले भने यी कुराहरूलाई मनैमा राखे। सायद तिनले सोचे होलान्‌, कतै परमेश्‍वर यहोवा नै यूसुफसित कुरा गर्दै हुनुहुन्छ कि?—उत्पत्ति ३७:६, ८, १०, ११.

यहोवा परमेश्‍वरले आफ्नो भविष्यसूचक सन्देश सुनाउन आफ्ना सेवकहरूलाई प्रयोग गर्दै आउनुभएको छ। तर यस्ता सन्देशलाई मानिसहरूले मनपराएका छैनन्‌ बरु उल्टो परमेश्‍वरका सेवकहरूको खेदो गरेका छन्‌। यस प्रकारको सन्देश सुनाउनेहरूमा यूसुफ पहिलो व्यक्‍ति थिएनन्‌, न त अन्तिम नै थिए। सबैभन्दा महान्‌ सन्देशवाहक त येशू हुनुहुन्छ। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌।” (यूहन्‍ना १५:२०) जवान यूसुफले देखाएको विश्‍वास र साहसबाट सबै उमेरका ख्रीष्टियनहरूले पाठ सिक्न सक्छन्‌।

घृणाले उग्र रूप लिन्छ

केही समयपछि याकूब आफ्नो जवान छोरा यूसुफलाई यात्रामा पठाउँछन्‌। यूसुफका दाइहरू उत्तरतिर पर्ने शकेम भन्‍ने ठाउँमा बगाल चराउन गएका थिए। केही समय अघि मात्र तिनीहरूले शकेमबासीलाई आक्रमण गरेका थिए। त्यसैले याकूब आफ्ना छोराहरूको विषयमा चिन्तित हुनु स्वाभाविकै थियो। याकूबले यूसुफलाई तिनीहरूको हालखबर बुझ्न पठाए। यूसुफलाई त्यतिखेर कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त! दाइहरूले तिनलाई पहिलेभन्दा धेरै घृणा गर्छन्‌ भनेर यूसुफलाई थाह थियो। अब झन्‌ बुबाको प्रतिनिधि भएर जाँदा तिनका दाइहरूलाई कस्तो लाग्ने थियो होला? जे भए पनि यूसुफ आज्ञाकारी भएर दाइहरूको हालखबर बुझ्न निस्के।—उत्पत्ति ३४:२५-३०; ३७:१२-१४.

शकेम हेब्रोनबाट झन्डै ८० किलोमिटर उत्तरमा पर्थ्यो। त्यहाँ पुग्न हिंडेर कम्तीमा पनि चार देखि पाँच दिन लाग्थ्यो। यूसुफ शकेममा पुगेपछि तिनका दाइहरू त त्यहाँबाट २२ किलोमिटर टाढा उत्तरमा पर्ने दोतान भन्‍ने ठाउँमा गएका रहेछन्‌ भनी तिनले थाह पाए। यूसुफ दोतान नजिकै आइपुग्दा तिनका दाइहरूले टाढैबाट यूसुफ आउँदै गरेको देखे। यूसुफलाई देख्ने बित्तिकै तिनीहरूको पारो तातेर आयो। विवरण यसो भन्छ: “तिनीहरूले आपसमा भने, ‘त्यो स्वप्न-दर्शी आउँदैछ। लौ, अब हामी त्यसलाई मारेर एउटा खाडलमा फालिदिऔं। ‘जङ्‌गली पशुले त्यसलाई खाएछ क्यार’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्‌, हेरौंला।’” तर रूबेन भने यूसुफलाई बचाउन चाहन्थे। त्यसैले यूसुफलाई जिउँदै खाडलमा फ्याँकिदिन रूबेनले आफ्ना भाइहरूलाई मनाए।—उत्पत्ति ३७:१८-२२.

यूसुफका दाइहरूले तिनलाई मार्ने योजना बनाएका छन्‌ भनेर तिनलाई थाह थिएन। तिनले आफ्ना दाइहरूलाई शान्तिसित भेट्‌ने आशा गरिरहेका थिए। तर यूसुफका दाइहरूले भने तिनलाई आक्रमण गरे! तिनीहरूले यूसुफको विशेष लुगा जबरजस्ती खोसे अनि तिनलाई घिसार्दै पानी नभएको सुख्खा खाडलतिर लगे र त्यहाँ फालिदिए। हुत्तिंदै यूसुफ तल खाडलमा खसे! यत्ति ठूलो धक्का लागेपछि तिनी खडा त भए तर खाडलबाट भने निस्किनै सकेनन्‌। खाडलबाट माथि हेर्दा तिनले आकाश बाहेक अरू केही देखेनन्‌, दाइहरूको आवाज पनि बिस्तारै मधुरो हुँदै गयो। यूसुफ मदतको लागि बिन्ती गर्दै चिच्याए, कराए। तर तिनका दाइहरूले फिटिक्कै वास्ता गरेनन्‌। बरु तिनीहरूले नजिकै बसेर खाना खाए, कत्ति निठुर! रूबेनको अनुपस्थितिमा तिनीहरूले फेरि यूसुफलाई मार्ने विचार गरे। तर त्यसो नगरी यूसुफलाई त्यहाँबाट यात्रा गरिरहेका व्यापारीहरूको हातमा बेच्न यहूदाले आफ्ना दाजुभाइलाई आग्रह गरे। दोतान भन्‍ने ठाउँ मिश्र देशतिर यात्रा गर्ने व्यापारीहरूको बाटो नजिकै पर्थ्यो। केही समय नबित्दै इश्‍माएली र मिद्यानी व्यापारीहरूको यात्री दल त्यहाँ आइपुग्यो। रूबेन फर्केर आइपुग्नु अघि नै तिनीहरूले २० शेकेल लिएर यूसुफलाई दासको रूपमा बेचिसकेका थिए।b—उत्पत्ति ३७:२३-२८; ४२:२१.

यूसुफका दाइहरूले तिनलाई खाडलमा फालेर तिनको लबेदा खोस्दै

यूसुफले सत्यको लागि अडान लिए। तर तिनका दाइहरूले तिनलाई घृणा गरे

यस लेखको सुरुमा उल्लेख गरिएको विवरण सम्झनुहोस्‌। यूसुफलाई दक्षिणतिर मिश्र देश जाने बाटोमा लगिंदै गर्दा तिनले सबै कुरा गुमाइसके जस्तो देखिन्थ्यो। तिनलाई जबरजस्ती तिनको परिवारबाट अलग पारिएको थियो। वर्षौंसम्म तिनले आफ्नो परिवारमाथि के-के आइपऱ्‍यो, केही थाह पाउने थिएनन्‌। तिनलाई लिन आउँदा खाडलमा नदेखेर रूबेनले कत्ति पीडा महसुस गरे, यूसुफको मृत्यु भयो भन्‍ने झूटो खबर पाउँदा याकूबले कत्ति बिलौना गरे, यूसुफले थाह पाउऩे थिएनन्‌। त्यतिखेर जीवित तिनका वृद्ध हजुरबुबा इसहाक अनि प्यारो भाइ बिन्यामीन, जसलाई तिनले पछि झलझली सम्झने थिए, उनीबारे पनि तिनलाई अत्तोपत्तो हुने थिएन। त्यसोभए अब यूसुफसित केही बाँकी थिएन त?—उत्पत्ति ३७:२९-३५.

यूसुफसित अझै यस्तो एउटा कुरा थियो, जुन तिनका दाइहरूले कहिल्यै खोस्न सक्दैनथे। त्यो थियो, तिनको विश्‍वास। यूसुफले आफ्नो परमेश्‍वर यहोवालाई राम्ररी चिनेका थिए र कुनै पनि कुराले तिनको विश्‍वास छिन्‍न सक्ने थिएन। घर-परिवार गुमाएको वा बन्दी भएर मिश्र देशसम्म लामो यात्रा गर्नुपर्दा अनेकन्‌ कष्ट भोग्नुपरेको भए तापनि तिनको विश्‍वास कमजोर भएन। न त पोतीफर नाम गरेका धनी मिश्रीको घरमा दासको रूपमा बेचिंदा महसुस गर्नुपरेको अपमानले नै तिनको विश्‍वास डगमगायो। (उत्पत्ति ३७:३६) बरु तिनले भोग्नु परेका दुःखकष्टले तिनको विश्‍वास र परमेश्‍वरको नजिक भइरहने तिनको अडानलाई अझै बलियो बनायो। यूसुफको बलियो विश्‍वासको कारण पछि तिनी परमेश्‍वर यहोवा र समस्यामा परेका आफ्नो परिवारको लागि कसरी उपयोगी साबित भए भनेर प्रहरीधरहरा-का भविष्यका अङ्‌कहरूमा पढ्‌नेछौं। साँच्चै! हामीले यूसुफको विश्‍वास अनुकरण गर्नु बुद्धिमानी हुनेछ।

a केही अनुसन्धानकर्ताका अनुसार याकूबले यूसुफलाई उपहार दिएका हुनाले वास्तवमा याकूब तिनलाई जेठो छोरोले पाउने अधिकार दिन चाहन्थे भनी यूसुफका दाइहरूले सोचेको हुनुपर्छ। याकूब सबैभन्दा पहिले राहेललाई विवाह गर्न चाहन्थे अनि तिनलाई औधी प्रेम गर्थे र यूसुफ चाहिं राहेलको जेठो छोरा हुन्‌ भनी यूसुफका दाइहरूलाई थाह थियो। साथै याकूबको पहिलो छोरा रूबेनले आफ्नो बुबाकी भित्रिनीसित नाजायज सम्बन्ध राखेर याकूबको बदनाम हुने काम गरेका थिए। यस्तो कामले गर्दा रूबेन जेठो अधिकार पाउन योग्य थिएनन्‌।—उत्पत्ति ३५:२२; ४९:३, ४.

b बाइबलको यो सानो अंश पनि सही साबित भएको छ। त्यतिखेरको लेखोटले देखाएअनुसार मिश्र देशमा दासको मोल २० शेकेल थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने