तपाईंले प्रार्थना गर्नु हुँदा, के परमेश्वरले सुन्नु हुन्छ?
कुनै विशेष काम अरूलाई सुम्पने हो कि स्वयं गर्ने हो, त्यस कुराको फैसला एक जना मुख्य अधिकृतले गर्दछ। त्यसै गरी, कुनै पनि कुरामा ब्रह्माण्डको शासकले व्यक्तिगत रूपमा चासो कुन हदसम्म लिनु हुने हो, त्यसको फैसला उहाँले नै गर्नु हुन्छ। शास्त्रहरूबाट हामी सिक्तछौं कि हाम्रा प्रार्थनाहरूमा व्यक्तिगत चासो लिने फैसला परमेश्वरले गर्नु भएको छ र यसकारण हाम्रा प्रार्थनाहरूमा हामीले उहाँलाई नै सम्बोधन गर्नु पर्दछ।—भजनसंग्रह ६६:१९; ६९:१३.
परमेश्वरको यस फैसलाबाट आफ्ना नम्र सेवकहरूका प्रार्थनाहरूमा उहाँको व्यक्तिगत चासो देखिन्छ। उहाँकहाँ प्रत्येक कुरा र चिन्ता लिएर आउनु मानिसहरूलाई निरुत्साहित पार्नुको सट्टा, उहाँले तिनीहरूलाई आग्रह गर्नु हुन्छ: “निरन्तर प्रार्थना गरिरहो,” “प्रार्थनामा अटूटसँग लागिरहो,” “तेरो भारी परमप्रभुमा [यहोवामा, न्यु. व.] राख,” “तिमीहरूको सारा फिक्री उहाँमाथि राखिदेओ।”—१ थिस्सलोनिकी ५:१७; रोमी १२:१२; भजनसंग्रह ५५:२२; १ पत्रुस ५:७.
परमेश्वरले उहाँका सेवकहरूका प्रार्थनाहरूलाई ध्यान दिन न चाहनु भएको भए उहाँसित हामीले सम्पर्क राख्ने यस प्रकारको प्रबन्ध मिलाउनु भएर त्यस प्रबन्धको प्रयोग गर्ने प्रोत्साहन उहाँले कहिले पनि दिनु हुने थिएन। यसकारण, मानिसहरूले परमेश्वरसँग सजिलैसित सम्पर्क राख्न उहाँले सम्भव पारिदिनु भएकोले पनि उहाँ वास्तवमा सुन्नु हुन्छ भन्ने कुरा प्रमाणित हुँदछ। हो, उहाँले आफ्ना प्रत्येक सेवकका प्रार्थनाहरूलाई ध्यान दिएर सुन्नु हुन्छ।
साथै, यो कुरा बिर्सनु भएन कि परमेश्वरले प्रार्थना सुन्नु हुन्छ भनेर बाइबलमा स्पष्टसँग उल्लेख गरिएको छ। उदाहरणका लागि, प्रेरित यूहन्नाले लेख्छन्: “औ उहाँमा भएको हाम्रो हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहन्छ।” (१ यूहन्ना ५:१४) दाऊद राजाले यहोवा परमेश्वरलाई “प्रार्थना सुन्नु हुने” भन्दै सम्बोधन गरे र “उहाँले मेरो सोर सुन्नु हुनेछ,” भनी आत्मविश्वासका साथ भने।—भजनसंग्रह ५५:१७; ६५:२.
यसकारण, प्रार्थना गर्नु निःसन्देह आफैमा एउटा लाभदायक कुरा भएता पनि, शास्त्र भन्छ कि एक जना धर्मी मानिसले प्रार्थना गर्दा त्यसमा अझ अर्को कुरा पनि थपिन्छ। अथवा, त्यस बेला कसैले सुनिरहेको हुन्छ। त्यो सुन्ने व्यक्ति परमेश्वर हुनुहुन्छ।—याकूब ५:१६-१८.
सुनुवाइ भएका प्रार्थनाहरू
विभिन्न मानिसहरूका प्रार्थनाहरू परमेश्वरले सुन्नु भएर जवाफ दिनु भएका विवरणहरू बाइबलभरि पाइन्छन्। ती व्यक्तिहरूका अनुभवहरूबाट यो स्पष्टसँग प्रमाणित हुँदछ कि आफ्ना सोंच-विचारहरूलाई क्रमानुसार व्यक्त गर्नका लागि मात्र प्रार्थना लाभदायक होइन। प्रार्थना बमोजिम आफूले गरिएका व्यक्तिगत प्रयासहरूमै प्रार्थनाबाट हुने लाभ सीमित छैन।
उदाहरणका लागि, इस्राएलको राजगद्दी हड़पने अब्शालोमको षड़यन्त्रलाई सामना गर्नु पर्दा, राजा दाऊदले यस प्रकार प्रार्थना गरे: “हे परमप्रभु [यहोवा, न्यु. व.] अहीतोपेलको [अब्शालोमको सल्लाहकार] सल्लाहलाई व्यर्थ तुल्याइदिनु होस्।” यो कुनै साधारण बिन्ती थिएन किनभने “मानिसहरू अहीतोपेलको सल्लाहलाई ईश्वरवाणी खोजेझैं खोज्थे। . . . अहितोपेलको सल्लाहलाई खूबै कदर गर्थे।” तर यस पश्चात्, दाऊद राजाको सत्ता पल्टाइ दिन अहीतोपेलले दिएको योजनालाई अब्शालोमले अस्वीकार गरे। किन? “यो ता अहीतोपेलको राम्रो सल्लाहलाई विफल बनाउने औ यसरी अब्शालोमको विनाश गर्ने परमप्रभुको [यहोवाको, न्यु. व.] अभिप्राय . . . थियो।” कुरा स्पष्ट छ। दाऊदको प्रार्थनाको सुनाइ भयो।—२ शमूएल १५:३१; १६:२३; १७:१४.
त्यस्तैगरी, आफ्नो ज्यानै खतरामा पार्ने रोगबाट मुक्त हुन पाउँ भनेर हिजकियाहले परमेश्वरसँग बिन्ती गरे पछि तिनी निको भए। के प्रार्थनाद्वारा उपलब्ध कुनै मानसिक लाभको कारण हिजकियाह निको भएका थिए र? पटक्कै होइन! यहोवाले हिजकियाहलाई अगमवक्ता यशैया द्वारा पठाउनु भएको सन्देश यस्तो थियो: “मैले तेरो प्रार्थना सुने र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु।”—२ राजा २०:१-६.
दानियलले आशा गरेको भन्दा अलिक बेर पछि मात्र तिनको प्रार्थनाको जवाफ आए तापनि, तिनलाई यहोवाको दूतले यो आश्वासन दिए: “तिम्रा प्रार्थनाहरूको सुनाइ भएको छ।” हन्ना, येशूका चेलाहरू र फौजी अफसर कर्नीलियस जस्ता अरूहरूले चढ़ाएका प्रार्थनाहरूको जवाफ मात्र मानवीय योग्यता द्वारा प्राप्त भएको हो भन्न मिल्दैन। अतः, बाइबलले स्पष्टसँग सिकाउँदछ कि ईश्वरीय इच्छा बमोजिमका प्रार्थनाहरूलाई परमेश्वरले स्वीकार्नु हुन्छ, सुन्नु हुन्छ र तिनीहरूको जवाफ पनि दिनु हुन्छ।—दानियल १०:२-१४; १ शमूएल १:१-२०; प्रेरित ४:२४-३१; १०:१-७.
तर आज परमेश्वरले आफ्ना विश्वासी सेवकहरूका प्रार्थनाहरूको जवाफ कसरी दिनु हुन्छ?
प्रार्थनाहरूका जवाफहरू
माथि उल्लेखित प्रार्थनाहरूको जवाफ विशेष र चमत्कारपूर्ण ढङ्गहरूमा आयो। तर कृपया यो एउटा कुरा मनमा याद राख्नु होस् कि बाइबलका समयहरूमा पनि प्रार्थनाहरूका धेरै जसो जवाफहरू त्यति सजिलैसँग महसुस गर्न सकिन्दैन थियो। किनभने परमेश्वरका सेवकहरूलाई धर्मको मार्गमा अड़ेर बस्न सक्षम पार्नका लागि ती प्रार्थनाहरू अकसर नैतिक शक्ति र ज्योति प्रदान गर्नु सित सम्बन्धित हुन्थिए। खासगरी, मसीहीहरूका लागि, प्रार्थनाहरूको जवाफ प्रदर्शनात्मक अथवा शक्तिशाली कार्यको रूपमा न आएर, ती विशेष तवरमा आध्यात्मिक विषय-वस्तुबारे हुन्थिए।—कलस्सी १:९.
यसकारण, तपाईंले चाहनु भएको अथवा आशा गर्नु भएकै ढङ्गमा तपाईंका प्रार्थनाहरूको जवाफ आएन भने निराशित न हुनु होस्। उदाहरणका लागि, कुनै कठिन परीक्षा हटाइ दिनुको सट्टा, परमेश्वरले तपाईंलाई त्यो सहन सक्ने “शक्तिको सर्वश्रेष्ठता” दिन रोज्नु होला। (२ कोरिन्थी ४:७; २ तिमोथी ४:१७) यस प्रकारको शक्तिलाई हामीले कहिले महत्त्वहीन ठान्नु हुँदैन र यहोवाले वास्तवमा हाम्रो प्रार्थना एकदमै सुनी दिनु भएन भन्ने निष्कर्षमा पनि आउनु भएन।
अरूको कुरा त के, स्वयं परमेश्वरको पुत्र, येशू ख्रीष्टसँगै घटेको घटनालाई विचार गर्नु होस्। अरूहरूका नजरमा एक जना ईश्वर-निन्दक भएर मर्न न चाहनु भएको हुनाकारण, उहाँले यस प्रकार प्रार्थना गर्नु भयो: “हे पिता, तपाईंको इच्छा भए, कचौरा मबाट हटाइ दिनुहोस्।” के परमेश्वरले यो प्रार्थनालाई प्रसन्नतापूर्वक स्वीकार्नु भयो? हो, स्वीकार्नु भयो भनेर हिब्रू ५:७ मा प्रमाण पाउँदछौं। तापनि यहोवाले उहाँको पुत्रलाई काठमा मर्नु पर्ने आवश्यकताबाट छुट दिनु भएन। बरु, “स्वर्गबाट एउटा दूत उहाँलाई सामर्थ्य दिनलाई उहाँकहाँ देखा परे।”—लूका २२:४२, ४३.
के त्यो एउटा प्रदर्शनात्मक र चमत्कारपूर्ण जवाफ थियो? हामी कसैका लागि पनि त्यो त्यस्तै लाग्ने थियो। तर यस प्रकारको शक्तिको स्रोत, यहोवा परमेश्वरका लागि यो कुनै चमत्कार थिएन। र येशू चाहिं, उहाँ पहिले स्वर्गमा हुनु भएको समय देखिनै, मानिसहरूकहाँ स्वर्गदूतहरू देखा पर्ने कुरासित परिचित हुनु हुन्थ्यो। यसकारण एक जना स्वर्गदूत देखा पर्दा हामीमाथि जतिको ठूलो प्रभाव पर्न सक्तछ, त्यतिकै ठूलो प्रभाव येशूमा पर्ने थिएन। तरै पनि, येशूले उहाँ स्वर्गमा हुनु भएको बेला देखिन् निस्सन्देह चिन्नु भएकै स्वर्गदूत आएर उहाँमाथि आउन लागेको परीक्षाको सामना गर्न उहाँलाई बल दियो।
आज आफ्ना विश्वासी सेवकहरूका प्रार्थनाहरूको जवाफ दिनु हुँदा, सहन सक्ने आवश्यक शक्ति यहोवाले घरिघरि दिइरहनु हुन्छ। यस प्रकारको मदद अकसर हामीले चिनेकै सह-उपासकहरूको मार्फत प्रोत्साहनको रूपमा पाउन सक्छौं। सायद, हामीले भोग्नु परेका जस्ता कठिनाइहरू हाम्रा सँगी-सेवकहरूले कहिले अनुभवनै गरेका छैनन् भन्दै, हामीलाई ढाडस दिन तिनीहरूलाई सुहाँउदैन भनी के हामी तिनीहरू द्वारा आएको प्रोत्साहन अस्वीकार गर्न चाहन्छौं होला र? येशूले पनि उहाँकहाँ देखापरेका स्वर्गदूत प्रति ठीक यस्तै विचार राख्न सक्नु हुन्थ्यो। तर त्यसो गर्नुको सट्टा, उहाँले स्वर्गदूत द्वारा आएको प्रोत्साहनलाई यहोवाबाट आएको आफ्नो प्रार्थनाको जवाफ हो भनी स्वीकार्नु भयो र विश्वासिलो भएर पिताको इच्छा पूरा गर्न सक्नु भयो। हामी पनि आफ्ना प्रार्थनाहरूको जवाफमा परमेश्वरले दिनु हुने शक्तिलाई खुसीका साथ स्वीकार गरौं। र याद राख्नु होस् कि केही समयका लागि यस प्रकार धैर्य धारण गरी सके पछि अकसर प्रशस्त आशिषहरू पाइन्छन्।—उपदेशक ११:६; याकूब ५:११.
परमेश्वर सुन्नु हुन्छ भनी विश्वस्त हुनु होस्
तुरुन्तै जवाफ पाउनु भएन भन्दैमा प्रार्थनाको शक्तिमा विश्वास गर्न न छाड़नु होस्। कुनै व्यक्तिगत क्लेशबाट मुक्त हुन अथवा परमेश्वरको सेवामा अझ बढ़ी जिम्मावारी पाउँ भनेर गरिएका प्रार्थनाहरूको जवाफका निम्ति हामीले कहिलेकाहीं परमेश्वरको उचित समयका लागि पर्खेर बस्नु पर्ला। (लूका १८:७, ८; १ पत्रुस ५:६) तपाईं कुनै गहन व्यक्तिगत मामलाबारे प्रार्थना गर्नु हुँदैछ भने, आफ्नो हार्दिक इच्छा र शुद्ध नियतको प्रमाण तपाईंको दृढ़ाग्रह द्वारा परमेश्वरलाई प्रकट गर्नु होस्। जोडसित केही बेरसम्म स्वर्गदूतसित कुश्ती लड़े पछि, यस प्रकारको भावना व्यक्त गर्दै याकूबले भने: “मलाई आशिर्वाद नदिउञ्जेल म तपाईंलाई जानदिन्नँ।” (उत्पत्ति ३२:२४-३२) हामीहरूले पनि बिन्ती गरी रह्यौं भने, समयमा आशिष पाउने छौं भन्ने त्यस्तै विश्वास हामीले राख्नु पर्दछ।—लूका ११:९.
एउटा आखिरी विचार। ब्रह्माण्डका सर्वसत्ताधारीले हाम्रा प्रार्थनाहरू सुनी दिनु हाम्रा निम्ति एउटा विशेष सौभाग्यको कुरा हो। यसकारण, यहोवा परमेश्वरले उहाँको वचन द्वारा हामीसँग उहाँका आवश्यकताहरू बारे कुरा गर्नु हुँदा, के हामी पनि सावधानीपूर्वक सुन्ने गर्छौं? हाम्रा प्रार्थनाहरू द्वारा हामी आफ्ना सृष्टिकर्त्तासित घनिष्ठ हुन सक्ने भएकोले, उहाँले हामीलाई भन्नु हुने सबै कुरालाई विशेष ध्यान दिएर हामीले सुन्न चाहनेछौं। (w 4/15/92)
[पृष्ठ ६-मा भएको चित्र]
परमेश्वरले प्रार्थनाहरू सुन्ने गर्नु हुन्छ. के हामी पनि उहाँले आफ्नो वचन द्वारा बोल्नु हुँदा सुन्ने गर्छौं?