प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१५ pp. २१-२५
  • चोरहरूले हतियारसहित हमला गर्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चोरहरूले हतियारसहित हमला गर्दा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुरक्षा अनि परमेश्‍वरको वचन
  • चोरीको खतरा कम गर्ने
  • चोरहरू हतियारसहित आउँदा
  • शान्त रहने
  • पश्‍चिम अफ्रिकामा चोरी विफल भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • डरको अन्त कहिले हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • चोररहित एउटा संसार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१५ pp. २१-२५

चोरहरूले हतियारसहित हमला गर्दा

एक विशिष्ट पश्‍चिम अफ्रिकी उपनगर इकोइमा महलहरू किल्लाहरूजस्ता भएका छन्‌। कतिपय महलहरूमा तीन मिटर अग्लो पर्खाल र त्यसमाथि घोच्ने चुच्चो काँटी, सिसाका टुक्रा वा काँडे तार राखेका हुन्छन्‌। छिस्किन, गजबार, सिक्रि र ताल्चा लगाइएका बडेमानका गेटहरूमा पहरादारहरू हुन्छन्‌। झ्यालहरूमा बार लगाइएका हुन्छन्‌। सुत्ने कोठा र घरका अन्य कोठीहरू स्टीलका गेटहरूले छुट्टाइएका हुन्छन्‌। राती आलसेसन, रटविलरजस्ता ठूलठूला कुकुरहरू खोरबाट छोडिन्छन्‌। चहकिला बत्तीहरूले उज्यालो बनाइन्छन्‌। सबै कुरा ठीकै चलिरहेको बेला कम्प्युटर प्रणालीद्वारा निगरानी राख्ने प्रविधिले सानो आवाज निकालिरहेको हुन्छ।

निस्सन्देह, आफ्नो घर सुरक्षित राख्नुपर्ने कुरालाई कसैले नकार्न सक्दैन। अखबारका शीर्षसमाचारहरूले यस्तो बिलौना गर्छ: “चोरहरूले हतियारसहित समुदायमा लुटपाट गर्छन्‌”; “केटाकेटी चोरहरूको उत्पात” र “सडक गुण्डाहरूले [शहर] कब्जा गर्दा आतंक।” यस्तै हालत छ थुप्रै देशहरूको। बाइबलले भविष्यवाणी गरेझैं हामी साँच्चै आखिरी दिनमा बाँचिरहेका छौं।—२ तिमोथी ३:१.

हतियारधारी चोरीहरूलगायत अपराध दर विश्‍वभरि बढिरहेको छ। सरकारहरू झन्‌ झनै आफ्नै नागरिकहरूलाई सुरक्षा दिन असमर्थ वा अनिच्छुक भइरहेका छन्‌। कुनै कुनै देशहरूमा थुप्रै प्रहरीहरू मदतको निम्ति गुहार्दा सघाउन असमर्थ छन्‌। अधिकांश दर्शकहरू मुछिन हिचकिचाउँछन्‌।

प्रहरी वा जनसाधारणमा पनि भर पर्न नसक्दा मानिसहरूसित आफ्नो सुरक्षा आफै गर्नु सिवाय अरू केही उपाय हुँदैन। विकासशील देशका एक मसीही प्राचीनले भने: “मदतको निम्ति खतरा संकेत बजायो कि त चोरहरूले तपाईंलाई अंगभंग गरिदिन्छ वा मारिदिन्छ। बाहिरी मदतको आशा गर्नु बेकार छ। मदत आए ठीकै छ तर आश नगर्नुहोस्‌ वा मदत नमाग्नुहोस्‌ किनभने मदत माग्नुको अर्थ झन्‌ धेरै समस्या निम्त्याउनु मात्र हुनसक्छ।”

सुरक्षा अनि परमेश्‍वरको वचन

मसीहीहरू यस संसारका भाग होइनन्‌ तर यसै संसारमा बाँचिरहेका छन्‌। (यूहन्‍ना १७:११, १६) अतः अरू सबैले जस्तै तिनीहरूले पनि आफ्नो सुरक्षाको निम्ति व्यवहारिक प्रबन्धहरू मिलाउँछन्‌। यद्यपि, यहोवालाई सेवा नगर्ने अधिकांश मानिसहरूजस्तो नभई परमेश्‍वरका जनहरूले मसीही सिद्धान्तको परिधिभित्र रहेर सुरक्षा खोज्छन्‌।

यसको विपरीत, कतिपय अफ्रिकी मुलुकका मानिसहरूले आफूलाई लुटपिटबाट जोगाउन टुनामुना लाउने गर्छन्‌। झाँक्रीले आफ्नो ग्राहकको नाडी, छाती वा ढाडमा घाउ बनाउँछ। अनि टुनामुना गरेको केही झोल पदार्थ घाउमा दलेर केही मन्त्र पढेपछि त्यो व्यक्‍तिलाई चोरहरूले केही हानि पुऱ्‍याउन सक्दैन भन्ठानिन्छ। अरू कतिले टुनामुना गरेका कुराहरू घरमा राख्यो भने चोरहरूबाट सुरक्षा हुन्छ भन्ठानेर त्यस्ता कुराहरू आफ्नो घरमा राख्छन्‌।

साँचो मसीहीहरू कुनै पनि प्रकारको टुनामुनासित खेलवाड गर्दैनन्‌। बाइबलले सबै प्रकारको प्रेतवादको विरोध गर्छ। विरोध गर्नु सही कुरा हो किनभने यसले मानिसहरू प्रेतहरूको सम्पर्क मात्र आउँछन्‌ र पृथ्वीमा हिंसा फैलाइरहेको पनि तिनीहरू नै हुन्‌। (उत्पत्ति ६:२, ४, ११) बाइबलले स्पष्टसित भन्छ: “बोक्सी-विद्या नचलाउनू।”—लेवी १९:२६.

केही मानिसहरू आफूसित बन्दुकहरू राखेर आफ्नो सुरक्षा खोज्छन्‌। तर मसीहीहरू येशूका शब्दहरू गम्भीरतासाथ लिन्छन्‌। उहाँले यसो भन्‍नुभयो: “तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।” (मत्ती २६:५२) परमेश्‍वरका जनहरूले ‘तरवार पिटेर हलोको फाली’ बनाएका छन्‌ र चोरी वा आक्रमणबाट जोगिन बन्दुकहरू किन्दैनन्‌।—मीका ४:३.

सुरक्षाको निम्ति हतियारसहित पहरादार राख्नेबारे के भन्‍न सकिन्छ नि? हुन त यो व्यक्‍तिगत निर्णयको विषय हो तर स्मरण रहोस्‌, त्यसो गर्नुको अर्थ अरू कसैको हातमा बन्दुक थमाउनु हो। चोर आउँदा मालिकले पहरादारबाट के आशा गर्छ? आवश्‍यक परेमा घरको मानिस तथा धनसम्पत्तिको सुरक्षा गर्न चोरलाई गोली हानेको के तिनी चाहन्छन्‌?

टुनामुना तथा हातहतियारहरू सुरक्षाको साधनको रूपमा लिन अस्वीकार गर्नेहरू परमेश्‍वर नचिन्‍ने मानिसहरूको नजरमा मूर्ख जस्तो देखिनसक्छन्‌। तथापि, बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” (हितोपदेश २९:२५) समूहगत रूपमा यहोवाले आफ्ना जनहरूलाई सुरक्षा प्रदान गर्नुभए तापनि आफ्ना सेवकहरूलाई हरेक अवसरमा बचाउन हस्तक्षेप गर्नुहुन्‍न। अय्यूब अत्यन्तै विश्‍वासीला व्यक्‍ति थिए तैपनि परमेश्‍वरले अय्यूबको पाल्तुपशुमाथि आक्रमण हुन दिनुभयो र तिनका चाकरहरू सबै मरे। (अय्यूब १:१४, १५, १७) परमेश्‍वरले प्रेरित पावललाई पनि “डाँकूहरूका जोखिममा” पर्न दिनुभयो। (२ कोरिन्थी ११:२६) तैपनि परमेश्‍वरले आफ्ना जनहरूलाई दिनुभएको सिद्धान्तहरूअनुसार जीवन बिताएको खण्डमा चोरीका खतराहरू कम हुनसक्छन्‌। उहाँले चोरीबाट नै नभए तापनि चोटबाट बच्नको निम्ति ज्ञान प्रदान गर्नुहुन्छ।

चोरीको खतरा कम गर्ने

बुद्धिमान पुरुषले धेरै वर्षअघि यस्तो टिप्पणी गरे: “धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१२) अर्को शब्दमा भन्‍ने हो भने, धनसम्पत्ति धेरै हुने मानिसलाई आफ्नो सम्पत्ति हराउला भन्‍ने यति पीर हुन्छ कि तिनी मस्त निदाउन सक्दैनन्‌।

तसर्थ पीर मात्र होइन तर चोरीको खतरा कम गर्ने एउटा तरिका महँगा महँगा सरसामानहरू प्रशस्त नथुपार्नु हो। ईश्‍वरीय प्रेरणाद्वारा एक जना प्रेरितले यसप्रकार लेखे: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूहन्‍ना २:१६) जुन अभिलाषाको कारण मानिसहरू महँगा महँगा सामानहरू किन्छन्‌ त्यही अभिलाषाले अरू मानिसलाई चोर्न उक्साउँछ। अनि “जीवनको शेखी” चोरहरूलाई चोर्न लोभ्याइरहेको हुन्छ।

तडकभडक नहुनुको अलावा चोरीबाट बच्ने अर्को तरिका तपाईं साँचो मसीही हुनुहुन्छ भनी देखाउनु हो। तपाईंले अरूलाई प्रेम गर्नुहुन्छ, आफ्नो कारोबारमा इमानदार हुनुहुन्छ भने समुदायका मानिसहरूले तपाईंलाई असल, आदर गर्न योग्य व्यक्‍तिको रूपमा चिन्‍नेछन्‌। (गलाती ५:१९-२३) त्यस्तो मसीही नाउँ कमाउनु हातहतियारभन्दा निकै ठूलो सुरक्षाको साधन हुनेछ।

चोरहरू हतियारसहित आउँदा

चोरहरू तपाईंको घरमा छिरेर तपाईंलाई हमला गर्न लाग्दा के गर्नुपर्छ? नबिर्सनुहोस्‌, तपाईंको जीवन धनसम्पत्तिभन्दा निकै महत्त्वपूर्ण छ। ख्रीष्ट येशूले भन्‍नुभयो: “दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चट्‌काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ। . . . यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।”—मत्ती ५:३९, ४०.

यो बुद्धिमानी सल्लाह हो। मसीहीहरूले अपराधीहरूलाई आफ्नो सम्पत्तिबारे जानकारी दिनुपर्छ भन्‍ने छैन तैपनि चोरहरूले प्रतिरोध गर्न लागेको, सहयोग नगरेको वा धोका दिन लागेको सुइँको पाए भने हिंस्रक हुने सम्भावना धेरै हुन्छ। थुप्रैले “आफैलाई कामोद्दीपनामा सुम्पिदिए[कोले]” तिनीहरूलाई दुष्ट र क्रूर व्यवहार गर्न धेरै समय लाग्दैन।—एफिसी ४:१९.

साम्युएल अपार्टमेन्ट भवनमा बस्छन्‌। चोरहरूले भवनलाई नै घेरे र सबै अपार्टमेन्टहरूमा एक एक गर्दै छिर्न थाले। साम्युएलले बन्दुकको आवाज, ढोकाहरू ढ्याङ्‌ङढुङ गरेको र मानिसहरू चिच्चाएको, रोएको र अलापविलाप गरेको आवाज सुने। भाग्नु त असम्भव थियो। साम्युएलले आफ्नी पत्नी र तीन छोरीहरूलाई भूँइमा घुँडा टेकेर हातमाथि उठाएर आँखा चिम्लेर बस्नु भने। चोरहरू घरभित्र छिर्दा साम्युएलले तिनीहरूको आँखामा हेरेर कुरा गरेनन्‌ किनभने अनुहार हेरेर कुरा गऱ्‍यो भने तिनीहरूलाई पछि चिन्ला भन्‍ने विचार गर्छन्‌ भनेर तिनलाई थाह थियो। “भित्र आउनुहोस्‌” तिनले भने। “तपाईंहरूलाई जे जे लग्न मन पर्छ खुसीसाथ लैजानुहोस्‌। हामी यहोवाका साक्षीहरू हौं र तपाईंहरूको प्रतिरोध गर्नेछैनौं।” यस्तो सुन्दा चोरहरू झस्किए। त्यसको लगभग एक घण्टापछि जम्माजम्मी १२ जना मानिसहरू हतियारसहित समूहमा आए। चोरहरूले गरगहना, पैसा र विद्युतीय सामानहरू लगे तापनि तिनीहरूले त्यस परिवारलाई पिटेनन्‌ वा त्यस भवनका अरू मानिसहरूलाई जस्तो छुराले घोपेनन्‌। साम्युएलको परिवारले तिनीहरूको ज्यान जोगिएकोमा यहोवालाई धन्यवाद दिए।

यसबाट प्रस्ट हुन्छ कि चोरहरूले पैसा र अन्य भौतिक सामानहरू खोज्दा प्रतिरोध गरिएन भने घाइते हुने सम्भावना धेरै कम हुन्छ।a

कहिलेकाहीं मसीहीहरूले साक्षी दिंदा पनि चोटपटक विरुद्ध सुरक्षा हुनसक्छ। अडाको घरमा चोरहरूले आक्रमण गर्दा उनले तिनीहरूलाई यसो भने: “मलाई थाह छ तपाईंहरूको लागि जीवन धान्‍न गाह्रो छ र त्यसैले तपाईंहरू यस काममा लागिरहनुभएको छ। हामी यहोवाका साक्षीहरू एक दिन सबैको निम्ति प्रशस्त खाना हुनेछ भनी विश्‍वास गर्छौं। परमेश्‍वरको राज्यअन्तर्गत सबै सुख अनि शान्तिमा बस्नेछन्‌।” यसो भन्दा आक्रमणकारी चोरहरू शान्त भए। तिनीहरूमध्ये एकले भने: “तपाईंको घरमा आएकोमा माफी चाहन्छौं तर हामी भोको छौं भनी तपाईंले पनि बुझ्नुपर्छ।” अडाको घरबाट तिनीहरूले सबै कुरा लगे तापनि उनी र उनको परिवारलाई केही हानि गरेनन्‌।

शान्त रहने

विशेषगरि चोरहरूको मुख्य उद्देश्‍य नै आफ्नो शिकारलाई तर्साउने हुँदा त्यस्तो खतरनाक स्थितिमा शान्त रहन सजिलो त हुँदैन। प्रार्थनाले हामीलाई मदत गर्नेछ। मदतको निम्ति मनमनै छोटो प्रार्थना गरे तापनि यहोवाले सुन्‍नुहुनेछ। बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।” (भजन ३४:१५) यहोवाले सुन्‍नुहुन्छ र त्यस्तो परिस्थिति शान्तपूर्वक सामना गर्न उहाँले बुद्धि दिनुहुन्छ।—याकूब १:५.

प्रार्थनाबाहेक शान्त रहने अर्को तरिका कथंकदाचित्‌ चोरी भइहाल्यो भने के गर्ने, के नगर्ने भनी पहिल्यै सोचविचार गर्नु हो। हो, कस्तो परिस्थिति आइपर्ला भनी पहिल्यै थाह पाउन त असम्भव हुन्छ। तैपनि आगलागी भएको भवनमा पर्दा के गर्ने भनी सुरक्षात्मक प्रक्रियाहरू विचार गर्नु बुद्धिमानी भएजस्तै चोरहरू आए भने के गर्ने पहिल्यै विचार गर्नु बेस हुनेछ। पहिल्यै विचार गर्दा शान्त रहन, नआत्तिन र घाइते हुनबाट बच्न मदत गर्छ।

लुटमारसम्बन्धी परमेश्‍वरको विचारधारा स्पष्टै बताइएको छ: “म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु, अन्यायको लूट मलाई घीन लाग्छ।” (यशैया ६१:८) यहोवाले इजकिएललाई लुटमार पनि गम्भीर पापको सूचिमा राख्न प्रेरित गर्नुभयो। (इजकिएल १८:१८) यद्यपि, सोही बाइबल पुस्तकले यदि चोरले पश्‍चाताप गर्छ र चोरी गरेको माल फर्काइदिन्छ भने परमेश्‍वरले कृपा देखाउनुहुन्छ भनी बताउँछ।—इजकिएल ३३:१४-१६.

अपराधले भरिएको संसारमा बाँचिरहे तापनि परमेश्‍वरको राज्यअन्तर्गत चोरी नहुने संसारमा जीवन बिताउने आशामा मसीहीहरू आनन्दित छन्‌। त्यस समयको सन्दर्भमा बाइबल यस्तो प्रतिज्ञा गर्छ: “[परमेश्‍वरका जनहरू] आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४.

पश्‍चिम अफ्रिकामा चोरी विफल भयो

युनिस अबुको वृत्तान्तमा आधारित

“हतियारधारी चोरहरूले हाम्रो घरमा मण्डली पुस्तक अध्ययन सञ्चालन हुने दिनमा आक्रमण गर्ने योजना बनाए। त्यो दिन भाइबहिनीहरू तथा जिज्ञासु व्यक्‍तिहरूको निम्ति हामी गेट पूरा खोल्छौं। सायद चोरहरूलाई हाम्रो बानी र सभाको समय थाह थियो। तिनीहरूले अर्को ठाउँबाट गाडी चोरेका हुन्‌ भनी हामीलाई पक्का थाह छ र पुस्तक अध्ययनको समयमा हाम्रो गेट बाहिर पर्खिरहे।

“तर संयोगले तिनीहरू आएको हप्ता क्षेत्रीय निरीक्षकको हप्ता पऱ्‍यो। त्यसैले हाम्रो घरमा भेला हुनुको साटो हामी राज्यभवनमा गयौं। सभापछि प्राचीनहरूको सभा थियो। साधारणतया म र बच्चाहरू घर जान्थ्यौं तर त्यस दिन मेरो श्रीमान्‌ले जो प्राचीन हुनुहुन्छ हामीलाई पर्खन आग्रह गर्नुभयो। धेरै समय लाग्दैन भन्‍नुभएकोले हामीले पर्ख्यौं।

“अनि घर जान तर्खर गर्दा हाम्रो गाडी चल्दै चलेन। क्षेत्रीय निरीक्षक भाइ र मेरो श्रीमान्‌ले बनाउनै सक्नुभएन। हामीले बोलाएको मिस्त्रीले पनि बनाउन सकेन।

“बच्चाहरू हिंडेर घर फर्कनुपऱ्‍यो। एकछिनपछि म पनि घर फर्कें। म दस बजेतिर घर पुगें। न म नता बच्चाहरू नै गाडीमा घर फर्क्यौं। गाडीमा फर्केको भए ठूलो गेट खोल्नुपर्थ्यो।

“मेरो सुत्ने कोठाभित्र छिर्दा मैले गोली चलेको आवाज सुनें। के भएको होला भनी विचार गरें। प्रहरीलाई टेलिफोन गर्न खोजें तर फोन लाइन काटिएको रहेछ। म तल कुदेर गएँ र स्टीलको ढोकामा ताला मारें र बीचको कोठामा फर्कें। बत्तीहरू निभाएँ। बच्चाहरू अतालिरहेका थिए त्यसैले तिनीहरूलाई शान्त रहन भनें। सुरक्षाको निम्ति हामी मिलेर यहोवालाई प्रार्थना गऱ्‍यौं। यतिबेलासम्म मेरो श्रीमान्‌ गाडी बनाउने कोसिसमा राज्यभवनमै हुनुहुन्थ्यो।

“झ्यालबाट हेर्दा एक जना मानिस गेटबाहिर भूइँमा लडिरहेको देखें। यसो हेर्दा चोरहरू गइसकेका जस्तो देखिन्थ्यो त्यसैले मैले घाइते मानिसलाई गाडीमा हालेर अस्पताल कुदाएँ। खतरा थियो तर मैले त्यसो गर्नुपर्थ्यो। तर दुःखको कुरा तिनी भोलि पल्टै मरेछन्‌।

“तर परिस्थिति अझ यो भन्दा पनि नराम्रो हुनसक्थ्यो। क्षेत्रीय निरीक्षकको भ्रमणको कारण हाम्रो घरमा पुस्तक अध्ययन भएन। गाडी बिग्रनुको अर्थ हामी सपरिवार सँगै घर फर्केनौं। गाडी नबिग्रिएको भए मेरो श्रीमान्‌लाई चोरहरूले पक्कै समात्ने थिए तर उहाँ घर ढिला आइपुग्नु भयो। त्यस रात जे जति भयो, यी सबै कुराहरू हाम्रै फाइदाको निम्ति भयो।

“यहोवा हाम्रो बलियो गढ र शरणस्थान हुनुहुन्छ। शास्त्रपदले भनेझैं ‘परमप्रभुले शहरको रक्षा नगर्नु भएता पाले व्यर्थैमा जागो रहन्छ।’ ”—भजन १२७:१.

[फुटनोट]

a निस्सन्देह, सबै अवसरमा प्रतिरोध नगरी बस्दैनौं। परमेश्‍वरको व्यवस्था भंग हुने कुनै पनि मामिलामा यहोवाका सेवकहरूले सहयोग गर्दैनन्‌। उदाहरणका लागि, एक मसीही स्वेच्छाले आफूलाई बलात्कृत हुन दिंदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने