प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ४/१ pp. २२-२६
  • मूर्तिपूजादेखि किन जोगिएर बस्नु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मूर्तिपूजादेखि किन जोगिएर बस्नु?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजा भनेको के हो?
  • मूर्तिपूजाको सम्बन्धमा यहोवाको दृष्टिकोण
  • परीक्षामा पर्दा वफादार रहने
  • मूर्तिहरूले अदालतमा हार खाए
  • भूतहरूलाई बलिदानहरू
  • जोगिएर बस्ने आवश्‍यकता किन?
  • के तपाईं मूर्तिपूजादेखि जोगिएर बस्नु हुनेछ?
  • हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मूर्तिपूजाबाट भाग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ४/१ pp. २२-२६

मूर्तिपूजादेखि किन जोगिएर बस्नु?

“हे मेरा साना केटा-केटी हो, मूर्तिहरूबाट जोगिएर बस।”—१ यूहन्‍ना ५:२१.

१. यहोवाको उपासना मूर्तिपूजाबाट किन मुक्‍त छ?

यहोवा कुनै धातु, काठ, अथवा ढुङ्‌गाको मूर्ति हुनुहुन्‍न। उहाँलाई कुनै एउटा पार्थिव मन्दिरभित्र राख्न सकिंदैन। उहाँ मानिसहरूले देख्न नसक्ने सर्वशक्‍तिमान आत्मा हुनु भएकोले उहाँको एउटा मूर्ति बनाउन असम्भव छ। अतः यहोवाको शुद्ध उपासना हर प्रकारको मूर्तिपूजाबाट मुक्‍त हुनुपर्छ।—प्रस्थान ३३:२०; प्रेरित १७:२४; २ कोरिन्थी ३:१७.

२. कुन प्रश्‍नहरूलाई हामीले ध्यान दिनु पर्दछ?

२ यदि तपाईं यहोवाको उपासक हुनुहुन्छ भने तपाईंले सोध्न सक्नुहुन्छ, ‘मूर्तिपूजा भनेको के हो? भूतकालमा यहोवाका सेवकहरूले कसरी यसबाट आफूलाई बचाउन सके? र आज मूर्तिपूजादेखि किन जोगिएर बस्ने?’

मूर्तिपूजा भनेको के हो?

३, ४. मूर्तिपूजाको परिभाषा कसरी गर्न सकिन्छ?

३ साधारणतया, मूर्तिपूजामा एक प्रकारको समारोह वा विधिविधान मुछिएको हुन्छ। मूर्तिपूजा भनेको एउटा मूर्तिलाई अर्चना, प्रेम, उपासना, वा त्यसको आराधना गर्नु हो। र मूर्तिचाहिं के हो नि? त्यो भक्‍तियोग्य कुनै एउटा वस्तुको प्रतीक, प्रतिनिधि, वा आकार हो। अक्सर मूर्तिपूजा एउटा वास्तविक वा अनुमानित उच्च शक्‍ति भएको कुनै सजीव अस्तित्वलाई (मानव, जनावर, वा सङ्‌गठन) गरिन्छ। तर निर्जिव वस्तुहरूको पनि (एउटा शक्‍ति वा प्रकृतिको कुनै एउटा वस्तु) मूर्तिपूजा गर्न सकिन्छ।

४ शास्त्रमा हिब्रू शब्दहरूले मूर्तिलाई सम्बोधन गर्दा अक्सर या त निकम्मापनलाई बोध गराउने, अथवा तिरस्कार जनाउने शब्दहरूको रूपमा प्रयोग गरिएका हुन्छन्‌। तीमध्ये प्रयोग गरिएका केही शब्दहरू यस प्रकार छन्‌, “खोपिएको वा ढालेर बनाइएको मूर्ति” (अक्षरसः खोपेर बनाएको कुनै चीज; “ढालेको मूर्ति, प्रतिमा, आराध्य देवता” (ढालेर बनाएको कुनै वस्तु); “वीभत्स मूर्ति”; “खोक्रो मूर्ति” (अक्षरसः निरर्थक); “फोहोरलाग्दो मूर्ति”। यूनानी शब्द आइडोलोनबाट अंग्रेजी शब्द “आइडल,” अर्थात्‌ “मूर्ति” शब्द लिइएको हो।

५. सबै प्रतिमाहरू आराध्य मूर्ति होइनन्‌ भनेर किन भन्‍न सकिन्छ?

५ सारा प्रतिमाहरू आराध्य मूर्ति होइनन्‌। वाचाको सन्दूकका लागि सुनका दुईवटा करूबहरू बनाउने र पवित्रस्थानलाई छोप्ने दशवटा तम्बुको भित्रपट्टी र पवित्रस्थानलाई महा पवित्रस्थानबाट अलग पार्ने पर्दामा त्यस्ता आत्मिक जीवहरूलाई प्रतिनिधित्व गर्ने गरी बुट्टा भर्नु भनी परमेश्‍वर स्वयंले इस्राएलीहरूलाई अह्राउनु भयो। (प्रस्थान २५:१, १८; २६:१, ३१-३३) मूलतः स्वर्गीय करूबहरूलाई प्रतिनिधित्व गर्ने ती प्रतीकहरूलाई कार्यवाहक पूजाहारीहरूले मात्र देख्तथिए। (हिब्रू ९:२४, २५ सङ्‌ग तुलना गर्नु होस्‌।) पवित्रस्थानमा भएका करूबहरूका ती प्रतिनिधिहरूको उपासना गरिंदैन थियो, किनभने धर्मी स्वर्गदूतहरूसमेतले पनि उपासना स्वीकार गर्दैन थिए।—कलस्सी २:१८; प्रकाश १९:१०; २२:८, ९.

मूर्तिपूजाको सम्बन्धमा यहोवाको दृष्टिकोण

६. मूर्तिपूजाको सम्बन्धमा यहोवाको के दृष्टिकोण छ?

६ यहोवाका सेवकहरू मूर्तिपूजाबाट जोगिएर बस्छन्‌ किनकि उहाँ सबै प्रकारका मूर्तिपूजाको विरूद्धमा हुनुहुन्छ। आराधना र उपासना गरिने वस्तुको रूपमा प्रतिमाहरू न बनाउनु भन्‍ने आदेश परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभयो। दस आज्ञाहरूमा यी शब्दहरू पाइन्छन्‌: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ, पिता-पुर्खाले गरेको अधर्म र मेरो अवहेलनाको दण्ड तिनीहरूका सन्तानहरू, तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि कृपा गर्ने परमेश्‍वर म हुँ।”—प्रस्थान २०:४-६.

७. यहोवा किन सबै प्रकारको मूर्तिपूजाको विरुद्ध हुनुहुन्छ?

७ सबै प्रकारका मूर्तिपूजाको विरुद्धमा यहोवा किन हुनुहुन्छ? किनभने मुख्यत: उहाँ ऐकान्तिक भक्‍ति खोज्नुहुन्छ, जुन कुरा हामीले माथि भनिएका दस आज्ञाहरू मध्येको दोस्रो आज्ञामा देख्यौं। साथै उहाँले आफ्ना अगमवक्‍ता यशैयाद्वारा भन्‍नुभयो: “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ, मेरो स्तुति ढालेर बनाएका मूर्तिहरूलाई दिनेछैनँ।” (यशैया ४२:८) एक समयमा त इस्राएलीहरू यस हदसम्म मूर्तिपूजाको जालमा फँसेका थिए कि “तिनीहरूले आफ्ना छोरा-छोरीहरू भूतहरूलाई बलि चढाए।” (भजनसंग्रह १०६:३६, ३७) मूर्तिपूजकहरूले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार मात्र गर्दैनन्‌ तर उहाँको मुख्य विरोधी शैतान, र साथै भूतहरूको हितमा समेत काम गर्दछन्‌।

परीक्षामा पर्दा वफादार रहने

८. तीन जना हिब्रूहरू शद्रक, मेशक, र अबेद्‌नगोले कुन परीक्षाको सामना गर्नु परेको थियो?

८ यहोवा प्रतिको वफादारीले पनि हामीलाई मूर्तिपूजाबाट जोगिन सक्षम बनाउँछ। यो कुरा दानियलको तेस्रो अध्यायमा वर्णन गरिएको घटनाबाट प्रदर्शित हुन्छ। आफूले स्थापित गरेको सुनको एउटा ठूलो मूर्तिको उद्‌घाटन गर्न बाबेलका राजा नबूकदनेसरले आफ्नो राज्यका राजकर्मचारीहरूलाई भेला गरे। त्यस आदेशमा बाबेल प्रान्तको शासनको काममा नियुक्‍त गरिएका तीन जना हिब्रू प्रशासकहरू—शद्रक, मेशक, र अबेद्‌नगो समेत सामेल थिए। केही खास किसिमका बाजाहरूको ध्वनि सुन्‍नासाथै त्यहाँ उपस्थित सबैले नै त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत्‌ गर्नु भन्‍ने आज्ञा थियो। बाबेल साम्राज्यलाई प्रतिनिधित्व गर्ने एउटा मूर्तिको सामू ती तीन जना हिब्रूहरूलाई घोप्टो परेर दण्डवत्‌ गराउने बाबेलको असली देवता, शैतानको यो एउटा प्रयास थियो। कल्पना गर्नुहोस्‌ कि तपाईं त्यहाँ उपस्थित हुनुहुन्छ।

९, १०. (क) तीन जना हिब्रूहरूले के अडान लिए, र तिनीहरूले के इनाम पाए? (ख) तीन जना हिब्रूहरूले लिएको कदमबाट यहोवाका साक्षीहरूले के प्रोत्साहन पाउन सक्छन्‌?

९ हेर्नुहोस्‌! तीन जना हिब्रूहरू उभिरहेका छन्‌। मूर्तिहरू बनाएर वा खोपेर बनाइएका प्रतिमाहरूलाई दण्डवत्‌ नगर्नु भन्‍ने परमेश्‍वरको व्यवस्थाको तिनीहरू सम्झना गर्दछन्‌। नबूकदनेसरले एउटा अन्तिम चेतावनी दिन्छन्‌—दण्डवत्‌ गर वा मर! तर यहोवाप्रतिको वफादारीले गर्दा तिनीहरू भन्दछन्‌: “हामीलाई दन्केको भट्टीबाट बचाउनसक्ने कोही ईश्‍वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्‍वरनै हुनुहुन्छ। औ उहाँले हामीलाई हजूरका हातबाट पनि बचाउनु हुनेछ। तर त्यसो भएन भने पनि, हे महाराज, यो कुरा हजूरलाई थाह होस्‌, कि हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं, अथवा हजूरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।”—दानियल ३:१६-१८.

१० परमेश्‍वरका यी वफादार सेवकहरू दन्केको भट्टीमा फालिन्छन्‌। भट्टीमा चार जनालाई हिंडि रहेको देख्ता अचम्म पर्दै नबूकदनेसरले ती तीन जना हिब्रूहरूलाई भट्टीबाट बाहिर निस्केर आउन भन्दछन्‌, र तिनीहरू कतै घाउचोट नलागि बाहिर निस्किन्छन्‌। त्यो देख्ता राजा उत्तेजित भएर भन्दछन्‌: “शद्रक, मेशक, र अबेद्‌नगोका परमेश्‍वर धन्यका होऊन्‌, जसले उहाँमाथि विश्‍वास गर्ने र राजाको हुकुम नमानी आफ्नै परमेश्‍वरबाहेक हामी अरू देवताको सेवा गर्नेछैनौं भनी आफूलाई आगोमा तर्पिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्ना स्वर्गदूतहरू [आगोको भट्टीमा हुने चौथो व्यक्‍ति] पठाउनु भयो . . . किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैन।” (दानियल ३:२८, २९) परमेश्‍वरप्रति वफादार हुन, संसारमा तटस्थ भएर बस्न, र मूर्तिपूजाबाट जोगिनका निम्ति आजका यहोवाका साक्षीहरूलाई ती तीन जना हिब्रूले देखाएको निष्ठाले प्रोत्साहन दिन्छ।—यूहन्‍ना १७:१६.

मूर्तिहरूले अदालतमा हार खाए

११, १२. (क) यशैयाले यहोवा र मूर्तिदेवताका सम्बन्धमा के लेखेका थिए? (ख) यहोवाले चुनौती दिनु हुँदा अन्यजातिका देवताहरूको के गति भयो?

११ मूर्तिहरूको अर्चना व्यर्थ हो भन्‍ने कुरा नै मूर्तिपूजाबाट जोगिने एउटा अर्को कारण हो। मानिसले बनाएका केही मूर्तिहरू सजीव जस्ता देखिन सक्छन्‌—अक्सर तिनीहरूको एउटा मुख, आँखाहरू, र कानहरू हुन्छन्‌—तर तिनीहरू बोल्न, देख्न, वा सुन्‍न र आफ्ना भक्‍तहरूका निम्ति केही पनि गर्न सक्‍तैनन्‌। (भजनसंग्रह १३५:१५-१८) यो कुरा सा० यु० पू० आठौं शताब्दीमा प्रदर्शित भएको थियो, जुन बेला यहोवा र मूर्ति-देवताहरूका बीच अदालतमा चलेको एउटा मुद्दामा गरिनेजस्तो वयान गर्दै परमेश्‍वरका अगमवक्‍ता यशैयाले यशैया ४३:८-२८ मा लेखेका थिए। यस बयानमा परमेश्‍वरका जन इस्राएलीहरू एक पक्षमा र संसारका अन्य जातिहरू अर्को पक्षमा थिए। यहोवाले अन्यजातिका झूटा देवताहरूलाई “पहिलेका कुराहरूलाई” सही ढङ्‌गमा भविष्यवाणी गर्न भनी चुनौती दिनुभयो। कसैले पनि सो गर्न सकेनन्‌। आफ्ना जनहरू तर्फ फर्केर यहोवाले भन्‍नुभयो: “तिमीहरू मेरा साक्षी हौ . . . र मनै परमप्रभु हुँ।” अन्यजातिहरूले नता तिनीहरूका देवताहरू यहोवा भन्दा पहिले देखिन्‌ अस्तित्वमा थिए भन्‍ने कुरा साबित गर्न सके, न तिनीहरूले भविष्यवाणी नै गर्न सके। तर यहोवाले बाबेलको नाश हुने कुरा र त्यहाँ बन्धनमा परेका उहाँका जनहरूको छुटकाराबारे अग्रिमवाणी गर्नुभयो।

१२ त्यसभन्दा पनि बढी, छुटकारा पाएका परमेश्‍वरका सेवकहरूले हामी “यहोवाका हौं” भन्‍न सके, जुन कुरा यशैया ४४:१-८ मा वर्णन गरिएको छ। उहाँ आफैले भन्‍नुभयो: “मनै पहिलो र पछिल्लो हुँ, मबाहेक अरू परमेश्‍वर छैन।” यस कुराको मूर्ति-देवताहरूले प्रतिरोध गर्न सकेका छैनन्‌। आफ्ना जनहरूबारे यहोवाले फेरि भन्‍नुभयो, “तिमीहरू मेरा साक्षी हौ।” अझ थप्दै भन्‍नुभयो: “के मबाहेक अरू परमेश्‍वर छ र? अहँ, कोही चटान छैन।”

१३. मूर्तिपूजाले एउटा मूर्तिपूजकको सम्बन्धमा के प्रकट गर्दछ?

१३ हामी मूर्तिपूजादेखि यस कारणले पनि जोगिएर बस्छौं कि यसमा लाग्नुको अर्थ अज्ञानता हो। आफूले छानेको रूखको कुनै एउटा भागबाट मूर्तिकारले उपासनाका निम्ति एउटा देवता बनाउँछ, र अर्को भागलाई चाहिं आफ्नो भोजन पकाउनका निम्ति दाउरा बनाएर आगो बाल्दछ। (यशैया ४४:९-१७) कस्तो मूर्खता! ती देवताहरूले आफ्नो देवत्वलाई प्रमाणित गर्न सक्ने कुनै पनि चित्त बुझ्दो साक्षी दिन असमर्थ भएको कारणले पनि मूर्तिदेवताहरू बनाउने र त्यसको भक्‍तिगर्ने व्यक्‍ति लज्जित हुन्छ। तर यहोवाको ईश्‍वरत्व निर्विवाद छ, किनभने उहाँले बाबेलबाट आफ्ना जनहरूको छुटकाराबारे अग्रिमवाणी मात्र गर्नु भएन तर त्यसलाई गरी छाड्‌नु भयो। यरूशलेममा मानिसहरू पुनः बसोबास गर्न थाले, यहूदाका शहरहरूको पुनर्निर्माण भयो, र बाबेलको “सागर”—यूफ्रेटिस जो सुरक्षाको एउटा स्रोत थियो, सुकेर गयो। (यशैया ४४:१८-२७) परमेश्‍वरले अग्रिमवाणी गर्नु भएअनुसार फारसका राजा कोरेसले बाबेलमाथि विजय गरे।—यशैया ४४:२८–४५:६.

१४. विश्‍व अदालतमा सदाका लागि के कुरा प्रमाणित हुनेछ?

१४ देवत्वसम्बन्धी मुद्दामा मूर्ति-देवताहरू हारे। र जुन गति बाबेलको भयो, झूठो धर्मको विश्‍व साम्राज्य, महान बाबेलको पनि निश्‍चय नै सोही गति हुनेछ। त्यो र त्यसका सारा देवताहरू, धार्मिक विधिविधानहरू, र मूर्तिपूजाका सारा वस्तुहरू सदाका लागि खतम हुनेछन्‌। (प्रकाश १७:१२–१८:८) ब्रह्‍माण्डको सर्वोच्च अदालतमा यहोवा नै जीवित र साँचो परमेश्‍वर हुनुहुन्छ र आफ्नो अगमवाणी उहाँ पूरा गर्नुहुन्छ भन्‍ने कुरा सदाका निम्ति प्रमाणित हुनेछ।

भूतहरूलाई बलिदानहरू

१५. यहोवाका जनहरू र मूर्तिपूजाको सम्बन्धमा पवित्र आत्मा र प्रथम शताब्दीको सञ्चालक निकायले के सङ्‌केत दियो?

१५ यहोवाका जनहरू परमेश्‍वरको आत्मा र सङ्‌गठनद्वारा निर्देशित भएका हुनाले पनि मूर्तिपूजाबाट जोगिएर बस्तछन्‌। प्रथम शताब्दीका यहोवाका सेवकहरूको सञ्चालक निकायले सङ्‌गी मसीहीहरूलाई भन्यो: “किनभने यी जरूरतका कुराहरू बाहेक अरू बढ्‌ता बोझ तपाईंहरूलाई नबोकाउनामानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्‌, जुन कुराहरूबाट अलग रहनुभयो भने बढिया हुनेछ। तपाईंहरूको भलो होस्‌।”—प्रेरित १५:२८, २९.

१६. मूर्तिहरूलाई बलिदान चढाइएका वस्तुहरूबारे पावलले भनेका कुरालाई तपाईं आफ्नै शब्दमा कसरी व्यक्‍त गर्नु हुनेछ?

१६ मूर्तिपूजादेखि जोगिएर बस्नुको अर्को कारण हो प्रेतवादबाट अलग्ग बस्नु। प्रभुको साँझको भोजनको सम्बन्धमा कोरिन्थका मसीहीहरूलाई प्रेरित पावलले यसो भने: “मूर्तिपूजाबाट अलग रहो. . . . आशिषको त्यो कचौरा जसको निम्ति हामी आशिष माग्छौं, के त्यो ख्रीष्टको शरीरको सम्भागी होइन? त्यो रोटी जसलाई हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरको सम्भागी होइन र? किनकि हामी धेरै छौं, तापनि एउटै रोटी—एउटै शरीर हौं, किनभने हामी सबै एउटै रोटीबाट खान्छौं। शरीर अनुसारका इस्राएललाई हेर, बलिदानको वस्तु खानेहरूको सम्भागी के वेदी सँगै हुँदैन र? त म के भनूँ? के मूर्तिलाई चढाएको वस्तु केही हो? अथवा के मूर्ति केही चीज हो र? तर अन्यजातिहरू जो बलि चढाउँछन्‌ परमेश्‍वरलाई होइन, तर भूत-प्रेतहरूलाई चढाउँछन्‌, औ तिमीहरू भूत-प्रेतहरूसित सह-भागी होओ भन्‍ने म इच्छा गर्दिनँ। तिमीहरूले प्रभुको कचौरा र भूत-प्रेतको कचौरा दुवैबाट पिउन सक्‍तैनौ। तिमीहरूले ‘प्रभुको टेबल’ र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्‍तैनौ। अथवा ‘के हामी प्रभुलाई रीस उठाऔं?’ के हामी उहाँ भन्दा बलिया छौं र?”—१ कोरिन्थी १०:१४-२२.

१७. सा०यु० प्रथम शताब्दीमा मूर्तिलाई बलिदान चढाइएको मासुलाई एउटा मसीहीले कुन परिस्थितिमा खान सक्थ्यो, र किन?

१७ एउटा जनावरको केही भाग एउटा मूर्तिलाई चढाइन्थ्यो, एक भाग पूजाहारीहरूलाई दिइन्थ्यो, र उपासकले भोज गर्न केही भाग पाउँथ्यो। साथै, केही मासु बजारमा बिक्री पनि हुन सक्थ्यो। मन्दिरको विधिविधानअनुसार आफूले मासु नखाने भए तापनि एक जना मसीहीका निम्ति मूर्ति भएको मन्दिरमा जानु अनुचित थियो, किनभने त्यसो गर्दा अरूहरू ठोकर खान सक्ने थिए अथवा ऊ आफै पनि झूटो उपासनातिर तानिन सक्थ्यो। (१ कोरिन्थी ८:१-१३; प्रकाश २:१२, १४, १८, २०) कुनै मूर्तिलाई एउटा जनावर बलिदान चढाउँदैमा त्यसको मासुमा कुनै परिवर्त्तन हुँदैन थियो, त्यसकारण बजारबाट कुनै पनि मसीहीले सो मासु किन्‍न सक्थ्यो। कसैको घरमा मासु खान दिंदा त्यो मासु कहाँबाट ल्याइएको हो भनी सोध्ने आवश्‍यकता पनि थिएन। तर त्यो मासु “बलिदान चढाइएको” थियो भनी कसैले भन्यो भने कुनै मानिसले पनि ठोकर नखाउन्‌ भन्‍ने हेतुले त्यो मासु उसले खाँदैन थियो।—१ कोरिन्थी १०:२५-२९.

१८. एउटा मूर्तिलाई बलि चढाइएको कुनै कुरालाई खानेहरू कसरी भूत-प्रेतसित सम्मिलित हुन सक्थे?

१८ विधिविधानपछि चढाइएको मासुमा ईश्‍वरको बास हुन्छ र उपासकले दिएको भोजमा खानेहरू जतिको शरीरमा ईश्‍वर पस्नु हुन्छ भन्‍ने धारणा अक्सर हुन्थ्यो। जसरी सङ्‌गै बसेर खाने मानिसहरूले आपसमा एउटा बन्धन जोड्‌थे, त्यसैगरी बलिदान चढाइएको जनावरको मासु खाने सबै नै त्यो मूर्तिले प्रतिनिधित्व गरेको प्रेत-देवतासितको समागममा र त्यसको वेदीमा भागीदारहरू हुन्थे। प्रेतहरूले मूर्तिपूजाद्वारा मानिसहरूलाई एकमात्र साँचो परमेश्‍वरको उपासनाबाट टाढा लग्थे। (यर्मिया १०:१-१५) यसमा कुनै आश्‍चर्य छैन कि यहोवाका जनहरू मूर्तिलाई बलि चढाइएका चीजहरूबाट आफूलाई अलग राख्तथिए! परमेश्‍वरप्रतिको वफादारी, उहाँको पवित्र आत्मा र सङ्‌गठनको निर्देशनलाई स्वीकार, र प्रेतवादबाट आफूलाई अलग राख्ने दृढताले पनि मूर्तिपूजादेखि जोगिएर बस्न आज एउटा शक्‍तिशाली प्रेरणा दिन्छ।

जोगिएर बस्ने आवश्‍यकता किन?

१९. पुरातन एफिससमा कुन प्रकारको मूर्तिपूजा गरिन्थ्यो?

१९ मूर्तिपूजादेखि मसीहीहरू होशियारीका साथ जोगिएर बस्तछन्‌ किनभने यसका अनेक रूप छन्‌, र एउटा मात्र पनि मूर्तिपूजक काम आफूबाट हुन गएमा तिनीहरूको विश्‍वास सङ्‌कटमा पर्न सक्‍तछ। प्रेरित यूहन्‍नाले आफ्ना सङ्‌गी विश्‍वासीहरूलाई भने: “मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्‍ना ५:२१) यो सल्लाहको आवश्‍यकता परेको थियो किनभने अनेक प्रकारको मूर्तिपूजाले तिनीहरूलाई घेरेको थियो। यूहन्‍नाले एफिसस शहरबाट लेखे, जुन शहर जादू-टोना र झुट्टा देवताहरूका दन्त्य-कथाहरूले भरिपूर्ण थियो। संसारका सात अद्‌भुत कुराहरूमध्येको एउटा कुरा एफिससमा थियो—आर्टेमिसको (डायना भनिने देवी) मन्दिर, जुन ठाउँ अपराधीहरू लुक्ने र अनैतिक विधिविधानको केन्द्र थियो। एफिससका दार्शनिक हेराक्लिटसले मन्दिरको वेदीमा जाने अँध्यारो बाटोलाई नीच कुराको अँध्यारोसित तुलना गरेका छन्‌, र मन्दिरसङ्‌ग सम्बन्धित मानिसहरूको नैतिकता जनावरहरूको भन्दा खराब थियो भन्‍ने तिनको धारणा थियो। त्यसो हुनाले, एफिसीका मसीहीहरूले भूत-प्रेतवाद, अनैतिकता, र मूर्तिपूजाको विरुद्धमा दृढता देखाउनु परेको थियो।

२०. कुनै पनि किसिमको मूर्तिपूजाबाट अलग्ग बस्नु किन आवश्‍यक थियो?

२० मूर्तिपूजासित सम्बन्धित सानो भन्दा सानो कुरासमेतबाट पनि आफूलाई अलग राख्न मसीहीहरूमा बलियो दृढताको आवश्‍यकता चाहिन्छ किनभने परीक्षामा पर्दा मानवजाति परमेश्‍वरप्रति विश्‍वासी रहिरहने छैनन्‌ भन्‍ने दियाबलले चुनौती दिएको छ। शैतानलाई उपासना गर्ने किसिमको एउटा मात्र कार्य गऱ्‍यौं भने उसले गरेको दावालाई समर्थन पुऱ्‍याएको हुनेछ। (अय्यूब १:८-१२) येशूलाई “जगत्‌का सबै राज्य र तिनका गौरव” देखाउँदा शैतानले भन्यो: “तपाईंले घोप्टेर मलाई दण्डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” ख्रीष्टले त्यस कुरालाई अस्वीकार गर्नु भएर विश्‍व-सार्वभौमिकतको विवादमा यहोवाको पक्षलाई समर्थन गर्नुभयो र दियाबललाई एउटा झूटो साबित गर्नुभयो।—मत्ती ४:८-११; हितोपदेश २७:११.

२१. रोमी सम्राटका सम्बन्धमा विश्‍वासी मसीहीहरूले के गर्न अस्वीकार गरे?

२१ येशूका पहिलेका अनुयायीहरूले पनि शैतानलाई दण्डवत्‌ गरेर त्यसको पक्षलाई समर्थन गरेनन्‌। तिनीहरूले सरकारी “उच्च अख्तियारवालाहरूलाई” उचित आदर देखाए, तर ज्यान गुमाउनु परे तापनि तिनीहरूले रोमी सम्राटको सम्मानमा चाहिं धूप-बत्ती बालेनन्‌। (रोमी १३:१-७) यस सम्बन्धमा दानियल पी० मानिक्सले लेखे: “मसीहीहरूको सुविधाका लागि बाहिर पटाङ्‌गीमा आगो बलिरहेको एउटा वेदी राखिएको भए तापनि केही मसीहीहरूले मात्र मतत्याग गरे। एउटा कैदीले एक चुटकी धूप त्यस आगोमा छर्कि दिए मात्र पनि पुग्थ्यो र उसलाई बलिदान चढाएको एउटा प्रमाणपत्र दिएर मुक्‍त गरिन्थ्यो। उसले सम्राटको उपासना गरेको होइन, खाली रोमी राज्यको प्रमुखको हैसियतमा तिनको दैवी चरित्रको स्वीकृती मात्र जनाएको हो भनी उसलाई सावधानीपूर्वक व्याख्या गरिन्थ्यो। यसो हुँदा हुँदै पनि आफू मुक्‍त हुने यस प्रकारको मौकाको फायदा अक्सर कुनै पनि मसीहीहरूले उठाएनन्‌।” (दोज एबाउट टु डाई, पाना १३७) यसप्रकारको परीक्षामा पर्दा के तपाईं सबै प्रकारको मूर्तिपूजाको पूर्णतया प्रतिरोध गर्न सक्नुहुन्थ्यो?

के तपाईं मूर्तिपूजादेखि जोगिएर बस्नु हुनेछ?

२२, २३. तपाईं मूर्तिपूजादेखि जोगिएर बस्नु किन जरुरी छ?

२२ स्पष्टतया मसीहीहरू हर प्रकारको मूर्तिपूजादेखि जोगिनु पर्दछ। यहोवाले ऐकान्तिक भक्‍तिको माग गर्नुहुन्छ। बाबेलका राजा नबूकदनेसरले स्थापित गरेको ठूलो मूर्तिलाई पूजा गर्न अस्वीकार गरेर तीन जना विश्‍वासी हिब्रूहरूले एउटा असल उदाहरण प्रस्तुत गरे। विश्‍व अदालतमा चलेको मुद्दाको सम्बन्धमा अगमवक्‍ता यशैयाले लेख्दा यहोवा एकमात्र साँचो र जीवित परमेश्‍वर हुनुहुन्छ भनी दर्शाएका थिए। उहाँका पहिलेका मसीही साक्षीहरूले मूर्तिहरूलाई बलि चढाइएका वस्तुहरूबाट आफूलाई अलग्ग राख्नु परेको थियो। तीमध्येका धेरै नै वफादार जनहरूले कस्तै दबाव पर्दा पनि यहोवालाई अस्वीकार गरेको देखिने एउटासम्म मूर्तिपूजक काम गरेनन्‌।

२३ अतः के तपाईं व्यक्‍तिगत रूपमा मूर्तिपूजादेखि जोगिएर बस्नु भएको छ? के तपाईं परमेश्‍वरलाई ऐकान्तिक भक्‍ति चढाई रहनु भएको छ? के तपाईं यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहुन्छ र उहाँ नै एक मात्र साँचो र जीवित परमेश्‍वर हुनुहुन्छ भनी प्रशंसा गर्नुहुन्छ? गर्नुहुन्छ भने, हर प्रकारको मूर्तिपूजाको विरुद्धमा सदा स्थिर रहने दृढ सङ्‌कल्प तपाईंमा हुनुपर्दछ। तर तपाईंलाई हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नका लागि अझै कुन शास्त्रीय बुँदाहरूले मदत पुऱ्‍याउन सक्नेछन्‌? (w93 1/15)

तपाईंका विचारहरू के छन्‌?

▫ मूर्तिपूजा के हो?

▫ सबै प्रकारको मूर्तिपूजाको विरुद्धमा यहोवा किन हुनुहुन्छ?

▫ मूर्तिपूजाको सम्बन्धमा तीन जना हिब्रूहरूले के अडान लिए?

▫ मूर्तिलाई बलि चढाइएका चीजहरू खाँदा भूत-प्रेतहरूसित कसरी सम्मिलित हुन सकिन्थ्यो?

▫ मूर्तिपूजादेखि आफूलाई जोगाएर राख्न किन जरुरी छ?

[पृष्ठ २५-मा भएको चित्र]

आफ्नो जीवन खतरामा परे तापनि, ती तीन जना हिब्रूहरू मूर्तिपूजामा सम्मिलित भएनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने