ईश्वरीय अधीनताले हामीबाट के माग गर्दछ?
“यसकारण परमेश्वरको अधीनमा बस।”—याकूब ४:७.
१. हामीले उपासना गर्ने परमेश्वरबारे के भन्न सकिन्छ?
यहोवा एउटा कस्तो अद्भुत परमेश्वर हुनुहुन्छ! धेरै कुराहरूमा अतुलनीय, अनुपम, बेजोड र निरुपम! उहाँ परमप्रधान सर्वसत्ताधारी हुनुहुन्छ जसमा सारा वास्तविक अख्तियार निहित छ। उहाँ अनादिदेखि अनन्तसम्म हुनुहुन्छ। उहाँ यति तेजश्वी हुनुहुन्छ, उहाँलाई देखेर कोही पनि जीवित रहन सक्तैन। (प्रस्थान ३३:२०; रोमी १६:२६) उहाँको शक्ति र बुद्धि अपार छन् न्याय सम्पूर्णतया सिद्ध छ र प्रेमको उहाँ साक्षात प्रतीक हुनुहुन्छ। उहाँ हाम्रो सृष्टिकर्ता, न्यायकर्ता, कानुनदाता र राजा हुनुहुन्छ। हरेक असल वरदान र सिद्ध उपहार उहाँबाटै आउँछ।—भजनसंग्रह १००:३; यशैया ३३:२२; याकूब १:१७.
२. ईश्वरीय अधीनतामा कुन कुन कुराहरू समावेश छन्?
२ यी सबै कुरालाई ध्यानमा राखेर हेर्दा उहाँको अधीनमा बस्ने हाम्रो कर्तव्यबारे कुनै प्रश्नै उठ्दैन। तर यसमा हाम्रालागि कुन कुन कुरा विथोलित छ? धेरै कुराहरू। हामीले व्यक्तिगत रूपमा यहोवा परमेश्वरलाई देख्न सक्तैनौं। यसकारण एउटा प्रशिक्षित अन्तस्करणले दिएको निर्देशन मान्नु, परमेश्वरको पार्थिव सङ्गठनलाई सहयोग पुर्याउनु, सांसारिक अख्तियारवालाहरूलाई मान्यता दिनु र परिवारभित्र अगुवाइको सिद्धान्तलाई आदर गर्नु जस्ता कुराहरू यसमा विथोलित छन्।
एउटा सफा अन्तस्करण कायम राख्न
३. आफ्नो अन्तस्करण सफा राख्नका लागि हामीले कुन कुन निषेधाज्ञाहरूको पालन गर्नुपर्छ?
३ एउटा सफा अन्तस्करण कायम राख्नका लागि मानिसहरूले कार्यान्वयन गर्न नसक्ने नियमहरू अथवा सिद्धान्तहरूलाई हामीले पालन गर्नुपर्छ। उदाहरणका लागि दशाज्ञाको दसौं आज्ञाले लोभ नगर्नु भन्छ। तर यस आज्ञालाई कुनै पनि मानव अख्तियारले कार्यान्वयन गर्नु सक्तैन थियो। अतः दशाज्ञा ईश्वरले नै दिएको हुनु पर्छ। किनभने आफूले कार्यान्वयन गर्न नसक्ने नियम अथवा त्यसलाई तोडेमा सजाय दिने खण्ड नभएको आज्ञा कुनै पनि मानवीय कानुनदाताले बनाउने थिएन। यसप्रकारको आज्ञाद्वारा यहोवा परमेश्वरले प्रत्येक इस्राएलीलाई—उसले एउटा सफा अन्तस्करण राख्न चाहेमा—आफ्नो गोठाला आफै हुने मौका दिनुभयो। (प्रस्थान २०:१७) यस्तैगरी, परमेश्वरको राज्यको हकदार हुनमा बाधा पुऱ्याउने शरीरका केही कामहरू “डाह” र “शत्रुता” हुन्। अब कसैले यी प्रतिक्रियाहरू देखाएमा उसलाई मानवीय न्यायाधीशहरूले सजाय दिन सक्तैनन्। (गलाती ५:१९-२१) तापनि हामी एउटा सफा अन्तस्करण कायम राख्न चाहन्छौं भने ती कुराहरूबाट अलग बस्नै पर्छ।
४. आफ्नो अन्तस्करण सफा राख्नका लागि हामीले बाइबलका कुन कुन सिद्धान्तहरूअनुसार जीवन बिताउनु पर्छ?
४ हो, हामीले बाइबलका सिद्धान्तहरू अनुरूप जीवन बिताउनै पर्छ। ती सिद्धान्तहरूको निचोर येशू ख्रीष्टले औंल्याउनु भएका दुईवटा आज्ञाहरूमा पाउन सकिन्छ। मोशाको व्यवस्थाको सबैभन्दा महान आज्ञा के हो भनेर येशूलाई प्रश्न गर्दा, उहाँले उक्त आज्ञाहरू यसप्रकार प्रस्तुत गर्नुभयो: “तैंले आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। . . . तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३६-४०) यहाँ प्रस्तुत दोस्रो आज्ञामा कुन कुरा समावेश छ, सो मत्ती ७:१२-मा उल्लिखित येशूका यी शब्दहरूमा पाउन सकिन्छ: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौं, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षा हुन्।”
५. यहोवा परमेश्वरसित हामीले आफ्नो सम्बन्धलाई कसरी राम्रो राख्न सक्छौं?
५ अरूले देखून् व नदेखून्, हामीले चाहिं आफूलाई थाह भएको ठीक कुरा गर्नु र गलत कुराबाट अलग बस्नु पर्छ। हामीले गर्नु पर्ने कुरा नगरेर अथवा नगर्नु पर्ने कुरा गरेर उम्कन सम्भव भए तापनि उक्त सिद्धान्त लागू हुन्छ। यसको अर्थ स्वर्गमा हुनुहुने हाम्रो पितासँग राम्रो सम्बन्ध कायम राख्नु र प्रेरित पावलले हिब्रू ४:१३-मा व्यक्त गरेको यस चेताउनीलाई मनमा राख्नु हो: “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।” असल कुरा गर्नमा निरन्तर लागिरह्यौं भने दियाबलको धूर्त चालाहरूसित सङ्र्घष गर्न, संसारका दबाउहरूको विरोध गर्न र वंशानुगत प्राप्त स्वार्थपूर्ण मानसिक झुकावसित लड्न हामीले मद्दत पाउने छौं।—एफिसी ६:११ सङ्ग तुलना गर्नुहोस्।
परमेश्वरको सङ्गठनप्रति अधीनता
६. पूर्व मसीही समयमा यहोवाले क-कसलाई सञ्चार माध्यमको रूपमा प्रयोग गर्नुभयो?
६ बाइबलका सिद्धान्तहरूलाई आफ्नो जीवनमा कसरी प्रयोगमा ल्याउनु पर्ने हो, सो कुराको फैसला गर्ने अधिकार यहोवाले प्रत्येक व्यक्तिलाई दिनु भएको छैन। मानवजातिको इतिहासको सुरुदेखि नै परमेश्वरले मानिसहरूलाई सञ्चार माध्यमको रूपमा चलाउँदै आउनु भएको छ। अतः हव्वाका लागि परमेश्वरको वक्ता आदम दिए। निषेध गरिएको फलको आज्ञा हव्वाको सृष्टि हुनुभन्दा अघि नै आदमलाई दिइएको थियो। यसकारण हव्वाका लागि परमेश्वरको इच्छा के थियो, सो तिनलाई आदमले नै बताएको हुनुपर्छ। (उत्पत्ति २:१६-२३) जलप्रलय हुनुभन्दा अघिको संसार र आफ्नो परिवारका लागि नूह परमेश्वरको अगमवक्ता थिए। (उत्पत्ति ६:१३; २ पत्रुस २:५) अब्राहाम आफ्नो परिवारका लागि परमेश्वरका वक्ता थिए। (उत्पत्ति १८:१९) इस्राएली जातिका लागि परमेश्वरको अगमवक्ता र सञ्चार माध्यम मोशा थिए। (प्रस्थान ३:१५, १६; १९:३, ७) तिनीपछि बप्तिस्मा दिने यूहन्नाको पालोसम्म परमेश्वरले आफ्नो इच्छा उहाँका जन- हरूलाई बताउनका लागि धेरै अगमवक्ताहरू, याजकहरू र राजाहरू प्रयोग गर्नुभयो।
७, ८. (क) मसीह आउनु भएपछि क-कसलाई परमेश्वरको वक्ताहरूको रूपमा प्रयोग गरियो? (ख) ईश्वरीय अधीनताले आज यहोवाका साक्षीहरूबाट के माग गर्दछ?
७ मसीह येशू ख्रीष्ट आउनु भएपछि परमेश्वरले उहाँलाई र उहाँका नजिकका प्रेरितहरू र चेलाहरूलाई आफ्नो वक्ताको रूपमा प्रयोग गर्नुभयो। पछि चाहिं येशू ख्रीष्टका विश्वासिलो र अभिषिक्त अनुयायीहरूले “विश्वासी र बुद्धिमान दास”-को रूपमा काम गर्ने थिए। तिनीहरूले यहोवाका जनहरूलाई बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा कसरी प्रयोगमा ल्याउनु पर्ने हो, सो बताउने थिए। ईश्वरीय अधीनताको अर्थ यहोवा परमेश्वरले चलाउनु भइरहेको माध्यमलाई मान्यता दिनु थियो।—मत्ती २४:४५-४७; एफिसी ४:११-१४.
८ आज “विश्वासी र बुद्धिमान दास” यहोवाका साक्षीहरूका माझमा छन् र तिनको प्रतिनिधित्व यी साक्षीहरूको परिचालक निकायले गर्दछ। यस कुरालाई वास्तविकताले प्रमाणित गर्छ। अनि यस निकायले विभिन्न जिम्मेवारीहरू उठाउन र कामलाई स्थानीय स्तरमा निर्देशन दिन प्राचीनहरू र परिभ्रमण प्रतिनिधिहरू जस्ता निरीक्षकहरू खटाउने गर्छ। हिब्रू १३:१७ अनुसार, प्रत्येक समर्पित साक्षी यी निरीक्षकहरूको अधीनमा बस्नु ईश्वरीय अधीनताको एउटा माग हो: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्। यो तिनीहरूले आनन्दसाथ गरून्। दु:ख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।”
अनुशासन स्वीकार्नु
९. ईश्वरीय अधीनतामा अक्सर कुन कुन कुरा समावेश हुन्छन्?
९ अक्सर ईश्वरीय अधीनताको अर्थ निरीक्षकहरूको हैसियतमा सेवा गर्नेहरूबाट आउने अनुशासन स्वीकार्नु हो। हामीले सधैं स्वयंलाई अनुशासनमा राखेनौं भने अनुभव र अख्तियार भएका जनहरू अर्थात् हाम्रा मण्डलीका प्राचीनहरूबाट सो सल्लाह र अनुशासनको हामीलाई खाँचो पर्न सक्छ। यसप्रकारको अनुशासन स्वीकार्नु बुद्धिको मार्ग पछ्याउनु हो।—हितोपदेश १२:१५; १९:२०.
१०. अनुशासन दिने मानिसहरूको कर्तव्य के हो?
१० स्पष्टतः, अनुशासन दिने प्राचीनहरू स्वंय नै ईश्वरीय अधीनताका उदाहरणहरू हुनुपर्छ। कसरी? गलाती ६:१ अनुसार, सल्लाह दिने तिनीहरूको ढङ्ग राम्रो मात्रै हुने बाहेक तिनीहरू स्वयं पनि अनुकरणीय हुनुपर्छ: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” अर्को शब्दमा भन्ने हो भने, ती प्राचीनको सल्लाह र तिनको उदाहरण मिल्नु पर्छ। दोस्रो तिमोथी २:२४, २५ र तीतस १:९-मा पनि यही चेताउनी दिएको छ। हो, हप्की अथवा सुधार दिनेहरू कहिले पनि कठोर हुनु हुँदैन। एकातिर परमेश्वरको वचनमा उल्लिखित सिद्धान्तहरूलाई तिनीहरूले दृढतासाथ समर्थन गर्नुपर्छ भने अर्कोतिर तिनीहरू सधैं नै संयमी र दयालु हुनु पर्छ। निष्पक्ष भएर तिनीहरूले अरूको कुरा सुनी दिनुपर्छ। थकित र बोझले लादिएकाहरूलाई तिनीहरूले आराम दिन सक्नुपर्छ।—मत्ती ११:२८-३० सङ्ग तुलना गर्नुहोस्।
उच्च अख्तियारवालाहरूप्रति अधीनता
११. सांसारिक अख्तियारवालाहरूसित राखिने सम्बन्धमा मसीहीहरूले कुन कुन आवश्यकताहरू पूरा गर्नु पर्छ?
११ ईश्वरीय अधीनताको एउटा अर्को आवश्यकता सांसारिक अख्तियारवालाहरूको आज्ञा पालन गर्नु हो। रोमी १३:१-मा हामीलाई यो सल्लाह दिएको छ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्वरबाट खटिएका हुन्छन्।” यी शब्दहरूअनुसार हामीले सवारी नियमहरू पालन गर्नुपर्छ र प्रेरित पावलले रोमी १३:७-मा उल्लेख गरे झैं, कर र तिरोहरू बुझाउन बिर्सनु हुँदैन।
१२. सिजरप्रतिको हाम्रो अधीनता कुन अर्थमा सापेक्षिक हो?
१२ तथापि, सिजरप्रति देखाइने यो सारा अधीनता सापेक्षिक हुनुपर्छ। हामीले सधैं नै येशू ख्रीष्टले भन्नुभएको सिद्धान्तलाई मनमा राख्नुपर्छ। त्यो सिद्धान्त मत्ती २२:२१-मा यसप्रकार लेखबद्ध गरिएको छ: “यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” अक्सफर्ड न्यु इन्टरनेशनल भर्सन, स्कोफिल्ड स्टडी बाइबल-मा, रोमी १३:१-को पाद-टिप्पणीले यो दृष्टिकोण प्रस्तुत गर्छ: “यसको अर्थ तिनले अनैतिक तथा गैर-मसीही नियमहरू पनि पालन गर्नुपर्छ भनेको होइन। त्यस्ता नियमहरू आइपर्दा तिनको कर्तव्य मानिसको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु हो। (प्रेरित ५:२९; दानिएल ३:१६-१८; ६:१०)”
परिवारभित्र ईश्वरीय अधीनता
१३. परिवारभित्र ईश्वरीय अधीनता देखाउँदा त्यसका सदस्यहरूले कुन कुन आवश्यकताहरूलाई पूरा गर्नु पर्छ?
१३ परिवारभित्र पति र पिताले अगुवाको काम गर्दछन्। यसकारण पत्नीहरूले एफिसी ५:२२, २३-मा दिएको यो सल्लाह मान्नु आवश्यक पर्छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्, जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।”a छोरा-छोरीहरूले चाहिं आफ्ना लागि आफ्नै नियमहरू बनाउने गर्दैनन् तर आमा र बाबु दुवैप्रति ईश्वरीय अधीनता देखाउँछन्। यसको व्याख्या एफिसी ६:१-३-मा पावलले गरेका छन्: “हे बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञापालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्।”
१४. ईश्वरीय अधीनताले परिवारका अगुवाहरूबाट के माग गर्छ?
१४ हुनःत पत्नीहरू र छोरा-छोरीहरूलाई ईश्वरीय अधीनता प्रकट गर्नु तब सजिलो हुन्छ, जब पति र पिताहरूले स्वयं ईश्वरीय अधीनता देखाउने गर्छन्। अर्थात् जब तिनीहरूले पनि बाइबलका सिद्धान्तहरूअनुसार अगुवाइ गर्ने गर्छन्। बाइबलका त्यस्ता केही सिद्धान्तहरू एफिसी ५:२८, २९ र ६:४-मा पाउन सकिन्छ: “त्यसरी नै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्छ।” “औ ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेतावनीमा पालन-पोषण गर।”
ईश्वरीय अधीनता देखाउनमा मदत दिने केही कुराहरू
१५. आत्माको कुन चाहिं फलले हामीलाई ईश्वरीय अधीनता प्रकट गर्ने मदत दिन्छ?
१५ यी विभिन्न क्षेत्रहरूमा हामीलाई ईश्वरीय अधीनता देखाउन कुन कुन कुराहरूले मद्दत दिन सक्छन्? सर्वप्रथम, निस्वार्थ प्रेम—अर्थात् यहोवा परमेश्वर र हामीमाथि उहाँले खटाउनु भएकाहरूका लागि प्रेमले। हामीलाई १ यूहन्ना ५:३-मा यसो भनिएको छ: “किनभने हामीले उहाँका आज्ञा पालन गर्नु नै परमेश्वरप्रतिको प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्।” यही कुरालाई येशूले यूहन्ना १४:१५-मा जोड दिनु भएको थियो: “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।” हो, आत्माको यो सर्वप्रथम गुण प्रेमले नै यहोवाले हाम्रालागि गरी दिनु भएका सबै कुराको मूल्याङ्कन गर्न र ईश्वरीय अधीनता प्रयोगमा ल्याउन हामीलाई मद्दत दिनेछ।—गलाती ५:२२.
१६. ईश्वरीय अधीनता देखाउँदा ईश्वरीय भयले के मदत दिन सक्छ?
१६ हामीलाई मद्दत दिनसक्ने दोस्रो कुरा ईश्वरीय भय हो। यहोवा परमेश्वरलाई अप्रसन्न पार्न हामी डरायौं भने यो हाम्रोलागि मद्दतकारी हुन सक्छ। किनभने परमेश्वरको भय मान्नु “दुष्टतालाई घृणा गर्नु” हो। (हितोपदेश ८:१३) निःसन्देह, यहोवालाई अप्रसन्न तुल्याउने डर हामीमा छ भने, मानिसको डरको कारण हामी झुक्ने छैनौं। जस्तोसुकै कठिनाइको सामना गर्नु परे तापनि ईश्वरीय भयले हामीलाई परमेश्वरको सर-सल्लाह मान्ने मद्दत पनि दिनेछ। यसबाहेक, त्यसले हामीलाई परीक्षाहरूको अथवा गलत कार्य गर्ने मानसिक झुकावहरूको सिकार हुनबाट बचाउनेछ। यहोवाको डरले गर्दा नै अब्राहाम आफ्नो प्रिय पुत्र इसहाकलाई बलिदान चढाउन तयार भएका थिए र यहोवाको भयको कारण नै यूसुफले पनि पोतिफरकी पत्नीको अनैतिक सुझावको सफलतापूर्वक प्रतिरोध गर्न सके।—उत्पत्ति २२:१२; ३९:९.
१७. ईश्वरीय अधीनता प्रकट गर्दा विश्वासले के भूमिका निभाउँछ?
१७ मदतको तेस्रो स्रोत यहोवा परमेश्वरमा विश्वास गर्नु हो। विश्वासले हामीलाई हितोपदेश ३:५ र ६-मा उल्लिखित यो सल्लाह मान्ने सहायता दिन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” विश्वासले विशेषतः त्यतिखेर मद्दत दिन्छ जब हामीमाथि कुनै अन्याय अथवा हाम्रो जाति वा राष्ट्रियता वा कुनै व्यक्तिगत अमेलको कारण हामी हेलाको पात्र भएको जस्तो हामीलाई लाग्छ। प्राचीन अथवा सहायक सेवकको हैसियतमा सेवा गर्न आफ्नो सिफारिस नहुँदा तिनीहरूलाई नराम्रोसित उपेक्षा गरियो भनी कसैकसैले ठान्न सक्छन्। तर हामीमा विश्वास छ भने यहोवाले सबै कुरा ठीक पार्नु हुनेछ भनी हामी उहाँमाथि भरोसा राख्नेछौं। र त्यस बेला आफूमा चाहिं हामीलाई धैर्यपूर्ण सहनशीलता बढाउने खाँचो होला।—विलापगीत ३:२६.
१८. ईश्वरीय अधीनता प्रदर्शित गर्दा हामीलाई मद्दत दिने चौथो कुरा के हो?
१८ मदत दिने चौथो कुरा नम्रता हो। एकजना नम्र व्यक्तिलाई ईश्वरीय अधीनता प्रकट गर्नु गाह्रो हुँदैन किनभने ‘नम्रतापूर्वक तिनले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छन्।’ नम्र व्यक्ति आफूलाई “सबैभन्दा सानो” पार्न तयार हुन्छन्। (फिलिप्पी २:२-४; लूका ९:४८) तर घमण्डी मान्छेलाई अधीनता मन पर्दैन। अधीनमा बस्नु पर्दा तिनलाई झर्को लाग्छ। यस्तो भन्छन्, यसप्रकारको व्यक्ति आलोचना सुनेर विपत्तिबाट बाँच्नुभन्दा प्रशंसा सुनेर मर्नु रुचाउँछ।
१९. वाचटावर सोसाइटीका एउटा भूतपूर्व सभापतिले नम्रताको एउटा के असल उदाहरण प्रस्तुत गरे?
१९ नम्रता र ईश्वरीय अधीनताको एउटा राम्रो उदाहरण एक पटक वाचटावर बाइबल एन्ड ट्र्याक्ट सोसाइटीका दोस्रो सभापति, जोसेफ रदरफर्डले प्रस्तुत गरे। जर्मनीमा हिटलरले यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाउँदा सभाहरू र प्रचार कार्यमा लागेको प्रतिबन्धको कारण अब के कसो गर्ने हो भनी त्यहाँका भाइहरूले जोसेफ रदरफर्डलाई पत्रद्वारा सोधी पठाए। तिनले यो खबर बेथेल परिवारलाई सुनाए। तर साथै जर्मन भाइहरूमाथि आइपर्न सक्ने कडा सजायहरूलाई विचार गर्दा तिनीहरूलाई के भनी पठाउनु पर्ने हो, सो तिनले बुझ्न नसकेको कुरा पनि खुल्लमखुल्ला स्वीकारे। तिनीहरूलाई के भन्नु पर्ने हो, कसैलाई थाह भएमा तिनी खुशीसाथ सुन्न तयार हुनेछन् भनी तिनले सबैलाई भने। कस्तो नम्र प्रवृत्ति!b
ईश्वरीय अधीनता प्रकट गर्दा हुने लाभहरू
२०. ईश्वरीय अधीनताद्वारा के आशिषहरू पाउँन सकिन्छ?
२० तर ईश्वरीय अधीनता प्रकट गर्दा हुने लाभहरू के हुन्? यो प्रश्न सोध्नु कुनै अनुचित कुरा होइन। र लाभहरू पनि धेरै छन्। स्वतन्त्र भएर काम गर्नेहरूको भागमा पर्ने चिन्ता र नैराश्यताबाट हामी बाँच्छौं। हामीले यहोवा परमेश्वरसित एउटा राम्रो सम्बन्ध कायम राख्न सक्छौं। आफ्ना मसीही भाइहरूसित हाम्रो सम्बन्ध अति नै राम्रो हुन्छ। यसबाहेक, कानुनअनुसार हिंड्ने गर्दा हामी सांसारिक अख्तियारवालाहरूसित अनावश्यक झमेलामा पर्दैनौं। साथै हामी पति, पत्नी, आमा-बाबुहरू र छोरा-छोरीहरू, सबैले एउटा सुखी पारिवारिक जीवनको आनन्द उठाउन सक्छौं। यसबाहेक ईश्वरीय अधीनता कायम राख्दा हामी हितोपदेश २७:११-मा उल्लिखित यस सल्लाहअनुसार काम गरिरहेका हुनेछौं: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (w93 2/1)
[फुटनोटहरू]
a एकजना अग्रगामीले एउटा अविवाहित अग्रगामीसित कुरा गर्दा आफ्नी पत्नीबाट पाएको आदर र प्रेमपूर्ण सहयोगको प्रशंसा गरे। यी अविवाहित अग्रगामीको विचारमा ती विवाहित अग्रगामीले आफ्नी पत्नीका अन्य अरू गुणहरूको विषयमा पनि चर्चा गर्नु थियो। तर पत्नीको प्रेमपूर्ण सहयोग वैवाहिक आनन्दका लागि कति महत्त्वपूर्ण हुन सक्छ भन्ने कुरा वर्षौं पश्चात् यी अविवाहित अग्रगामीले स्वयं विवाह गरी सकेपछि बुझ्न सके।
b धेरै समय प्रार्थना र परमेश्वरको वचनको अध्ययनमा लगाएपछि जोसेफ रदरफर्डले जर्मनीका भाइहरूलाई दिनु पर्ने जवाफ स्पष्टसित फेला पारे। तिनीहरूले के गर्नु अथवा के नगर्नु पर्ने हो, त्यो बताउने जिम्मेवारी तिनको थिएन। तिनीहरूसित परमेश्वरको वचन थियो। सभाहरूमा भेला हुने र साक्षी दिने काम सम्बन्धमा के गर्नु पर्ने हो सबै कुरा त्यही वचनमा नै स्पष्टसित बताइएको थियो। अतः जर्मनीका भाइहरू भूमिगत भए। तापनि ठाउँ-ठाउँमा भेला हुँदै र यहोवाको नाउँ र उहाँको राज्यबारे साक्षी दिंदै तिनीहरूले यहोवाका आदेशहरू पालन गरी नै रहे।
पुनःरावलोकनका लागि प्रश्नहरू
▫ परमेश्वरले सञ्चार माध्यमको रूपमा कुन कुन मानिसहरूलाई प्रयोग गर्नु भयो र तिनीहरूप्रति उहाँका सेवकहरूको कर्तव्य के थियो?
▫ कुन विभिन्न सम्बन्धहरूमा ईश्वरीय अधीनता लागू हुन्छ?
▫ ईश्वरीय अधीनता देखाउनमा हामीलाई कुन कुन गुणहरूले मदत दिनेछ?
▫ ईश्वरीय अधीनताद्वारा के आशिषहरू पाउँन सकिन्छ?
[पृष्ठ १४-मा भएको चित्र]
परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँको इच्छा बताउनका लागि, यरूशलेमको मन्दिरको सङ्गठनात्मक प्रबन्धलाई प्रयोग गर्नुभयो
[पृष्ठ १६-मा भएको चित्र]
ईश्वरीय अधीनता हामीले प्रदर्शित गर्न सक्ने केही क्षेत्रहरू