सुकर्मद्वारा यहोवाको महिमा गर्नुहोस्
१ डरलाग्दो आँधी चलिरहेको बेला ओत लाग्ने ठाउँ पाउनु कत्ति आनन्दको कुरा हुन्छ! भित्र न्यानो अनि सुरक्षित हुनुका साथै घरधनी पाहुना सत्कार गर्न रुचाउने खालका रहेछन् भने तपाईंलाई त्यहाँ बस्न खुसी लाग्छ। राज्य प्रचार कार्यले मानिसहरूलाई शैतानको रीतिरिवाजबाट त्यस्तै ओत लाग्ने ठाउँतिर डोऱ्याउँछ। के हाम्रो दैनिक चालचलनले अरूलाई यो आश्रयस्थल कत्तिको मोहक छ भनेर देखाउनसक्छ? सक्छ, किनभने येशूले मानिसहरूले हाम्रो ‘सुकर्म देखेर स्वर्गमा हुनुहुने हाम्रा पिताको महिमा गर्नेछन्’ भन्नुभयो।—मत्ती ५:१६.
२ हामीले अरूलाई यहोवा र उहाँको संगठनतिर आकर्षित गर्न कस्तो चालचलन देखाउनसक्छौं? लूका ६:३१ र १०:२७ मा लिपिबद्ध येशूका शब्दहरूअनुरूप जीवन बिताएर त्यसो गर्नसक्छौं। यस प्रेमरहित अनि स्वार्थी संसारबाट भिन्न भएर सँगी मानवहरूप्रति मायालु व्यवहार प्रकट गर्न यसले हामीलाई उत्प्रेरित गर्नेछ।
३ समुद्री यात्राले गर्दा रिंगटा चलिरहेको आइमाईले आफ्नो बच्चाको राम्रो ख्याल राख्न नसकिरहेको एक जना बहिनीले देखिन्। यस बहिनीले बच्चालाई आफूले हेर्ने प्रस्ताव राखिन्। त्यस आइमाईले यसको साटो कसरी तिर्नसकूँला भन्ने जिज्ञासा प्रकट गर्दा ती बहिनीले यसो भनिन्: ‘तपाईंको घरमा कुनै दिन यहोवाका साक्षीहरू आउँदा तिनीहरूको कुरा ध्यान दिएर सुन्नुहोस्।’ उक्त आइमाईले त्यसै गरिन् र अहिले तिनी र तिनको श्रीमान् साक्षीहरू भएका छन्। सुकर्मले गर्दा तिनीहरूले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाए।
४ हाम्रो सम्पूर्ण जीवन थोलित छ: काम अथवा स्कूल अनि मनोरञ्जनको दौडान हामीले देखाउने चालचलनले छरछिमेकमा हामी अनि हाम्रो धर्मप्रतिको दृष्टिकोणलाई असर गर्नसक्छ। त्यसैले, हामीले आफैलाई यस्तो प्रश्न सोध्नु राम्रो हो: ‘मानिसहरूले म र मेरो परिवारलाई कुन दृष्टिकोणले हेर्छन्? के छिमेकीहरूले हाम्रो घर र घर वरपरका ठाउँ सफासुग्घर देखेका छन्? हाम्रा सहकर्मी र सहपाठीहरूले हामीलाई समयनिष्ठ अनि मेहनती भनेर चिनेका छन्? के अरूले हाम्रो पहिरन अनि रूपरंग भद्र अनि आदरयोग्य ठानेका होलान्?’ हाम्रो सुकर्मले अरूलाई यहोवाको उपासनाप्रति आकर्षित गर्नसक्छ।
५ पत्रुसले मसीहीहरू उपहासको तारो बन्नेछन् भनेर चेताउनी दिए। (१ पत्रु. ४:४) त्यसैले, हाम्रो चालचलन अरूको निम्ति नकारात्मक कुरा गर्ने माध्यम नहोस् भनेर हामीले पक्का गर्नुपर्छ। (१ पत्रु. २:१२) हाम्रो दैनिक कार्यहरूले हामीले उपासना गर्ने परमेश्वरको महिमा गर्छ भने हामी सबैभन्दा माथि राखिएको बत्तीजस्तै भएर अरूलाई यहोवाले प्रबन्ध गर्नुभएको सुरक्षित ओत लाग्ने ठाउँमा आमन्त्रित गरिरहेका हुनेछौं।—मत्ती ५:१४-१६.