‘असल काममा धनवान् हुनुहोस्’
१ आफ्नो जोसिलो सेवकाईको अन्तिम वर्षहरूमा प्रेरित पावलको तिमोथी र तीतससँग घनिष्ठ रहेर काम गरे। तिनीहरू दुवैलाई पावलले प्रोत्साहनका उस्तै-उस्तै शब्दहरू लेखे। उनले तीतसलाई यसो भने, “परमेश्वरमा विश्वास गर्ने जतिले असल काम कायम राख्ने चेष्टा” गर्नुपर्छ। (ती. ३:८) उनले तिमोथीलाई परमेश्वरमा आशा राख्नेहरू ‘असल काममा धनवान्’ हुनुपर्छ भने। (१ तिमो. ६:१७, १८) यो हामी सबैका लागि अत्युत्तम सल्लाह हो! तर हामीलाई जीवनमा असल कामहरू गर्न कुन कुराले प्रेरित गर्नेछ? अनि आगामी दिनहरूमा हामी कस्ता विशेष कामहरू गर्न सक्नेछौं?
२ असल काममा धनवान् हुने उत्प्रेरणा, यहोवाप्रतिको हाम्रो प्रेम र विश्वासका साथै उहाँले हाम्रोलागि दिनुभएको अद्भुत आशाको कारण उत्पन्न हुन्छ। (१ तिमो. ६:१९; ती. २:११) विशेष गरी वर्षको यस समयमा हामीलाई यहोवाले आफ्नो पुत्रलाई यस पृथ्वीमा आफ्नो पिताको नाउँ उच्च पार्न र इच्छुक मानवजातिहरूको लागि अनन्त जीवनको बाटो खोलिदिन पठाउनुभयो भन्ने कुरा सम्झाइन्छ। (मत्ती २०:२८; यूह. ३:१६) यो कुरा मार्च २८ का दिन हुने ख्रीष्टको मृत्युको स्मरणार्थमा प्रस्ट पारिनेछ। अनन्त जीवन प्राप्त गर्ने आशा भएको कारण के हामी ‘असल काममा धनवान्’ हुन उत्प्रेरित हुँदैनौं र? पक्कै हुन्छौं! हामी कस्ता कामहरू गर्न सक्छौं?
३ मार्च र त्यसपछि गर्नुपर्ने असल कामहरू: विश्वभरिका यहोवाका साक्षीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण अवसर अर्थात् स्मरणार्थ उत्सवमा हामी निश्चय उपस्थित हुन्छौं। (लूका २२:१९) तर यस अवसरको आनन्द हामी जतिसक्दो धेरै मानिसहरूसँग बाँड्न चाहन्छौं। सन् २००२ को यरबूक-मा दिइएको सेवा रिपोर्ट हेर्नुभयो भने, गत वर्ष पृथ्वीका धेरै भागहरूमा प्रकाशकहरूको संख्याभन्दा तीन, चार, पाँच गुणा वा सोभन्दा बढी मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित भएको कुरा थाह पाउनुहुनेछ। पक्कै पनि यसको लागि आफ्नो इलाकामा स्मरणार्थको निमन्त्रणा बाँड्न मण्डलीले लगनशील प्रयत्न गरेको हुनुपर्छ। त्यसैकारण, मुक्तिको आशाबारे सिक्नका लागि स्मरणार्थमा उपस्थित हुन मानिसहरूलाई निमन्त्रणा दिन अहिलेदेखि मार्च २८ को बीचसम्म हामी जतिसक्दो धेरैभन्दा धेरै समय बिताउन चाहन्छौं।
४ अप्रिल महिनामा स्कूलहरू बन्द हुने भएकोले बच्चा र आमाबाबुहरू दुवै त्यति व्यस्त हुँदैनन् र तिनीहरूसित फुर्सतको समय हुन्छ। यी अवसरहरूलाई हामी कसरी ‘असल काममा धनवान्’ हुनका लागि चलाउन सक्छौं? “सुकर्ममा जोशिलो” भएर, उत्साहपूर्वक सुसमाचार प्रचार कार्यमा भाग लिइरहेर। (ती. २:१४; मत्ती २४:१४) मार्च महिनामा तपाईंले सहायक अग्रगामी गर्न नसक्नुभए तापनि, के तपाईं अप्रिल र/वा मे महिनामा गर्न सक्नुहुन्छ कि? यदि तपाईंले मार्च महिनामा अग्रगामी गरिरहनुभएको छ भने, के तपाईं यसलाई निरन्तरता दिन सक्नुहुन्छ?
५ कोही-कोही जागिरेहरूले काममा जाँदासमेत सडक साक्षी दिएर वा बिहान चाँडै खुल्ने पसलहरूमा साक्षी दिएर एक घण्टा वा त्योभन्दा बढी समय बिताउन सकेका छन्। अरूले चाहिं दिउँसो खाना खाने समयलाई साक्षी दिनका लागि छुट्याउँछन्। कोही-कोहीले यस समयमा सँगी कामदारसँग बाइबल अध्ययन गर्न सकेका छन्। स्कूल चालु भएको समयमा पनि क्षेत्र सेवकाईका लागि समय छुट्याउने कतिपय गृहणी बहिनीहरूले स्कूल बन्द भएको समयमा अझ बढी समय दिन सकेका छन्। घरायसी कामकाजहरू सिद्धयाउन कहिलेकाहीं अलिकता चाँडो उठेर तिनीहरूले प्रचार र सिकाउने कामका लागि दिउँसो अझै बढी समय दिन सकेका छन्।—एफि. ५:१५, १६.
६ तपाईंले सहायक अग्रगामी गर्न नसक्नुभए तापनि आफ्नो व्यक्तिगत तालिकामा छाँटकाँट गरेर जतिसक्दो बढी सेवकाईमा भाग लिंदा तपाईं ‘असल गर्न, असल काममा उदारचित्त भएर धनवान् हुन’ र अरूहरूसँग सच्चाइ ‘बाँड़चुड़ गर्नामा तत्पर हुन’ सक्नुहुन्छ।—१ तिमो. ६:१८.
७ चेला बनाउने असल कामलाई सम्झनुहोस्: हरेक वर्ष चासो देखाउने मानिसहरू स्मरणार्थमा आउँछन्। स्मरणार्थ उत्सवमा उपस्थित चाहिं भएका तर अध्ययन भने नगरेकाहरूलाई मण्डलीका कसैले ध्यान दिन सक्छन् कि? तिनीहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत दिने हेतुले पुनःभेट गर्न सकिन्छ कि? स्मरणार्थ उत्सवमा उपस्थित भएकाहरूमध्ये कोही-कोही साक्षीहरूकै नातेदारहरू पनि हुन सक्छन्। अरूचाहिं पहिला कुनै समय अध्ययन गरेका र अलिकति प्रोत्साहन पाएको खण्डमा फेरि अध्ययन सुरु गरेर सभाहरूमा नियमित तवरमा उपस्थित हुने खालका मानिसहरू पनि हुन सक्छन्। हामीसँगसँगै तिनीहरू पनि यहोवाका सक्रिय साक्षी भएको देख्न पाउनु कत्ति खुसीको कुरा हुनेछ!
८ मार्च र त्यसपछिका महिनाहरूमा पनि सेवकाईमा अलिक बढी भाग लिनाले सम्भवतः हामीले फेरि भेट्नुपर्ने खालका चासो देखाउने थुप्रै मानिसहरूलाई भेट्न सक्नेछौं। अर्को भेटमा जवाफ दिने प्रतिज्ञा गरेर एउटा प्रश्न छोडेर फर्कनुहोस्। हामीले यसो गर्दा पुनःभेटको लागि बाटो तयार हुन्छ। जति सक्दो चाँडो पुनःभेट गर्नु राम्रो हुन्छ। पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्न सकेनौं भने तापनि सम्भव भएमा अर्को भेटमा भने बाइबल अध्ययन सुरु गर्न हामी कोसिस गर्नेछौं।
९ सडक साक्षीकार्यमा भाग लिंदा मानिसहरूसँग वार्तालाप सुरु गर्न हामी सजग हुनुपर्छ। सडक साक्षीकार्यको दौडान भेटिएका चासो देखाउने मानिसहरूले थुप्रै प्रकाशकहरूलाई नाम, ठेगाना र टेलिफोन नम्बरहरू दिएका छन्। यदि तपाईंले भेट्नुभएको व्यक्ति तपाईंको इलाकामा बस्दैन भने, राज्यभवनबाट कृपया फेरि जानुहोस्, (S-43) फाराम लिनुहोस् र भर्नुहोस् अनि मण्डलीका सचिवलाई दिनुहोस् र तिनले सो फाराम त्यस व्यक्ति बस्ने इलाकाको मण्डलीमा पठाउने छन्। सचिवले त्यसो गर्न असमर्थ भएको खण्डमा तिनले उक्त फाराम शाखा कार्यालयमा पठाउनेछन्। यस प्रकार चासो जगाउन सकिन्छ।
१० ठेगाना थाह छैन तर टेलिफोन नम्बरचाहिं थाह छ भने, टेलिफोनबाट पुनःभेट गर्नुहोस्। तपाईं कुन विषयमा छलफल गर्न चाहनुहुन्छ, पहिल्यै तयारी गर्नुहोस्। चाहिएको बेलामा तुरुन्तै खोल्नको लागि रीजनिङ पुस्तक ठिक्क पारेर राख्नुहोस्। धेरै जनाले घरमा भेट्न असाध्यै गाह्रो परेकाहरूलगायत अरू व्यक्तिहरूसँग टेलिफोनमार्फत् अध्ययन गरेर राम्रो नतिजा प्राप्त गरिरहेका छन्। एक जना बहिनीले ढोका-ढोकाको सेवकाईमा भेटेका आइमाईहरूको टेलिफोन नम्बर सोध्न थालिन्, जसको फलस्वरूप तिनले दुईवटा बाइबल अध्ययन सुरु गर्न सकिन्।
११ निष्क्रियहरूलाई मदत गर्न प्राचीनहरूलाई सहयोग र्नुहोस्: तिनीहरूप्रति मायालु चासो देखाउन प्राचीनहरू सधैं उत्सुक छन्। यस्ता कतिपय निष्क्रिय व्यक्तिहरू मण्डलीका सभाहरूमा पुनः उपस्थित हुन आफै अघि सरेका छन्। भजन ९१ मा वर्णन गरिएको आध्यात्मिक सुरक्षा प्राप्त गर्नका लागि तिनीहरूले यहोवाको संगठनसित नजिक हुनुपर्ने आवश्यकता महसुस गर्छन्। तिनीहरूमध्ये कोही-कोही क्षेत्र सेवकाईमा फेरि भाग लिनसमेत तयार भएका छन्। यस महिना स्मरणार्थमा उपस्थित हुने अरू निष्क्रिय व्यक्तिहरू पनि व्यक्तिगत बाइबल अध्ययन गर्न राजी हुन सक्छन्। यसो हो भने, मदत चाहनेहरूसँग अध्ययन गर्नका लागि प्राचीनहरूले कोही प्रकाशकहरूको प्रबन्ध मिलाउनेछन्। यसरी मदत गर्न तपाईंलाई खटाइएमा, तपाईंको सहयोगको गहिरो मूल्यांकन गरिनेछ।—रोमी १५:१, २.
१२ “असल काम कायम” राख्नुहोस्: एक वा त्योभन्दा बढी महिना सहायक अग्रगामी गर्नेहरूले त्यसपछिका महिनाहरूमा पनि क्षेत्रमा आफ्नो क्रियाकलाप बढेको अनुभव गरेका छन्। तिनीहरूले चासो देखाउने मानिसहरू भेटे र उनीहरूलाई फेरि भेट्नुपर्ने खाँचो महसुस गरे। यसले गर्दा चासो देखाउने मानिसहरूलाई भेट्न क्षेत्र सेवामा निस्कनको लागि अलि बढी प्रयत्न गर्न तिनीहरू उत्प्रेरित भए। केहीले बाइबल अध्ययन सुरु गरे र यसले तिनीहरूलाई सेवकाईमा अझ बढी भाग लिन मदत गऱ्यो।
१३ कोही-कोहीले त प्रचार गर्ने र चेला बनाउने कामबाट यति धेरै आनन्द प्राप्त गरे कि तिनीहरू आफूले केलाई प्राथमिकता दिइरहेको छु भनेर केलाउन अग्रसर भए। फलस्वरूप, कोही-कोहीले जागिरमा अलि कम समय बिताएर नियमित तवरमा सहायक अग्रगामी गर्न सके। अरूहरूले चाहिं नियमित अग्रगामीको सेवा गर्न सकेका छन्। तिनीहरूले संसारका कुराहरूमा होइन तर परमेश्वरमा आफ्नो पूर्ण भरोसा राख्न सके। ‘उदारचित्त र बाँडचुड गर्न तत्पर’ भएको कारण तिनीहरूले यहोवाको आशिष् पाएका छन् र यसले “साँच्चैको जीवन[को]” आनन्द उठाउने तिनीहरूको आशालाई पनि बलियो बनाएको छ। (१ तिमो. ६:१८, १९) निस्सन्देह, धेरैभन्दा धेरै जनाले अग्रगामी गर्दा त्यसबाट पूरै मण्डलीले लाभ उठाउँछ। अग्रगामीहरू आफ्ना अनुभवहरू अरूलाई बताउने र आफूसँग सेवकाईमा जान अरूहरूलाई पनि बोलाउने स्वभावका हुन्छन् र यसले मण्डलीको आध्यात्मिक वातावरणलाई झनै रमाइलो बनाउँछ।
१४ मसीही सेवकाईमा अझ बढी भाग लिएर यस स्मरणार्थको दौडान र त्यसपछि पनि हामी सबै ‘असल काममा धनवान्’ होऔं। आउनुहोस्, नयाँ धार्मिक पृथ्वीमा सधैंभरि बाँच्ने आशा प्रदान गर्नको लागि यहोवाले जे-जति गर्नुभएको छ, त्यसको लागि मूल्यांकन देखाऔं।—२ पत्रु. ३:१३.