प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ६/१५ pp. ५-८
  • विश्‍वभरि घृणाको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वभरि घृणाको अन्त
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यातना शिविरमा घृणामाथि विजयी
  • घृणा गर्ने समय
  • घृणारहित संसार
  • के घृणा कहिल्यै अन्त हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ६/१५ pp. ५-८

विश्‍वभरि घृणाको अन्त

लगभग दुइ हजार वर्षअघि एउटा अल्पसंख्यक समूह घृणाको केन्द्रबिन्दु भएको थियो। टर्टुलियनले प्रारम्भिक मसीहीहरूप्रति त्यतिबेलाको रोमी मनोवृत्तिलाई यसरी वर्णन गर्छन्‌: “पानी परेन, भुइँचालो गए, अनिकाल वा रोगव्याधि आदि जेसुकै भए तापनि मसीहीहरूमाथि दोष थोपारिन्थ्यो र यस्तो जनआवाज सुनिन्थ्यो, ‘मसीहीहरूलाई लगेर सिंहहरूलाई खुवाऊ!’”

घृणाको पात्र बन्‍नु परे तापनि प्रारम्भिक मसीहीहरूले अन्यायको बदला लिने प्रलोभनहरूको विरोध गरे। येशू ख्रीष्टले डाँडाको प्रख्यात उपदेशमा यसो भन्‍नुभयो: “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।’”—मत्ती ५:४३, ४४.

‘शत्रुलाई घृणा गर्नु’ सही कुरा हो भन्‍ने विश्‍वास यहूदीहरूको मौखिक परम्परा थियो। तथापि, हामीले हाम्रा साथीलाई मात्र होइन, शत्रुलाई पनि प्रेम गर्नुपर्छ भनी येशूले भन्‍नुभयो। यो गाह्रो छ तर असम्भव भने छैन। शत्रुलाई प्रेम गर्नुको अर्थ तिनको सम्पूर्ण तौरतरिका वा कार्यहरू मन पराउनु होइन। मत्तीको विवरणमा पाइने युनानी शब्द, अगापे-बाट लिइएको हो। यसले सैद्धान्तिक प्रेमबारे वर्णन गर्छ। अगापे अर्थात्‌ सैद्धान्तिक प्रेम प्रकट गर्ने मानिसले आफूलाई घृणा वा दुर्व्यवहार गर्ने शत्रुको समेत भलाइ गर्छ। किन? किनभने यो ख्रीष्टको अनुकरण र घृणामाथि विजय प्राप्त गर्ने तरिका हो। एक युनानी शास्त्रज्ञले यस्तो टिपोट गरे: “[अगापे-ले] रिस र कटुता राख्ने हाम्रो स्वाभाविक प्रवृत्तिमाथि विजय हासिल गर्न मदत गर्छ।” तर घृणाले भरिएको आजको संसारमा के यो प्रभावकारी हुनेछ?

मसीही हुँ भनी दाबी गर्ने सबै ख्रीष्टको उदाहरण अनुसरण गर्न कटिबद्ध छैनन्‌ भनेर हामीले स्वीकार्नुपर्छ। हालै रूवाण्डामा भएका अत्याचारहरू जातीय समूहहरूले गर्दा भएका थिए र ती समूहका थुप्रै सदस्यहरूले आफू मसीही हुँ भन्‍ने दाबी गर्छन्‌। पेलर डेस एस्पेलोसेन, एक रोमन क्याथोलिक नन हुन्‌ र उनी रूवाण्डामा कार्यरत भएकी २० वर्ष भइसक्यो। उनले यस उल्लेखनीय उदाहरण स्मरण गरिन्‌। आफूले प्रयोग गर्ने गरेको तरवार चलाउँदै एक जना मानिस उनको चर्चमा आए। ननले तिनलाई सोधिन्‌: “मानिसहरूलाई मारेर के गरेको यो? के तिमी ख्रीष्टलाई सम्झँदैनौ?” तिनले ख्रीष्टलाई सम्झेको दाबी गरे अनि चर्चभित्र घुँडा टेकेर जोसका साथ रोजरी जप्न थाले। तर जप्न सकिनेबित्तिकै पुनः मारकाट गर्न थाले। त्यस ननले स्वीकारिन्‌, “हामीले उचित ढंगमा सुसमाचार सिकाइरहेका छैनौं भनी यसले देखाउँछ।” तथापि, त्यस्ता असफलताहरूको अर्थ येशूको समाचारमा त्रुटि छ भन्‍ने होइन। साँचो मसीही धर्म अभ्यास गर्नेहरूले निस्सन्देह घृणामाथि विजय प्राप्त गर्नसक्छन्‌।

यातना शिविरमा घृणामाथि विजयी

म्याक्स्‌ लिब्स्टर, एक जन्मजात यहूदी हुन्‌ र तिनी नाजी विध्वंसबाट बचे। तिनको थरको अर्थ “प्रिय” हो तर तिनले अचाक्ली घृणा देखेका छन्‌। आफूले नाजी जर्मनीमा प्रेम र घृणाबारे सिकेको कुरा तिनी वर्णन गर्छन्‌।

“म सन्‌ १९३० को दशकतिर मानहाइम, जर्मनीमा हुर्कें। सबै यहूदीहरू जर्मनहरूलाई शोषण गर्ने धनी नाफाखोर हुन्‌ भनी हिटलर दाबी गर्थे। तर यथार्थमा मेरो बुबा एक गरिब सार्की हुनुहुन्थ्यो। तापनि नाजी अफवाहको प्रभावमा छिमेकीहरूले हामीसित दुश्‍मनी गर्नथाले। म किशोरावस्थामा छँदा एक जना छिमेकीले मेरो निधारमा जबरजस्ती सुंगुरको रगत छर्किदियो। यो घोर अपमान भावी घटनाक्रमको पूर्वाभास मात्रै थियो। सन्‌ १९३९ मा गेस्टापोले मलाई गिरफ्तार गरेर मेरा सम्पूर्ण सम्पत्ति जफत गऱ्‍यो।

“जनवरी १९४० देखि मे १९४५ सम्म पाँच बेग्लाबेग्लै यातना शिविरहरूमा मैले ज्यान जोगाउन संघर्ष गर्नुपऱ्‍यो: साक्सेनहाउसेन, नोएनगाम, अस्वीच, बुना र बुखेनवाल्ड। मसँगै साक्सेनहाउसेन यातना शिविरमा पठाइनुभएको मेरो बुबा सन्‌ १९४० को भयानक जाडोमा मर्नुभयो। म आफैले उहाँको शवलाई बोकेर दाहस्थलसम्म पुऱ्‍याएँ, जहाँ लाशहरूका थुप्रो जलाउन तयार पारिएका थिए। मेरो परिवारका जम्माजम्मी आठ जना सदस्यहरू यातना शिविरहरूमा मरे।

“कैदीहरूले एसएस सुरक्षाकर्मीभन्दा कापोस-लाई बढी घृणा गर्थे। कापोस, एसएस सुरक्षाकर्मीहरूलाई सहयोग गर्ने कैदीहरू थिए र फलस्वरूप तिनीहरू कृपापात्र भएका थिए। तिनीहरूलाई खाना वितरण गर्ने जिम्मा लगाइएको थियो र तिनीहरूले अन्य कैदीहरूलाई निर्ममतापूर्वक पिट्‌थे। तिनीहरूले प्रायजसो पक्षपातपूर्ण र मनपरी व्यवहार गर्थे। त्यसैले होला मसित एसएस सुरक्षाकर्मी र कापोस-लाई घृणा गर्ने पर्याप्त कारण थियो तर मैले घृणाभन्दा प्रेम शक्‍तिशाली हुन्छ भन्‍ने कुरा आफू कैदी छँदा सिकें।

“कैदीहरूमध्ये यहोवाका साक्षीहरू पनि थिए र तिनीहरूको दृढताले मलाई तिनीहरूको विश्‍वास शास्त्रमा आधारित हुनुपर्छ भनेर विश्‍वस्त गरायो। फलतः म पनि साक्षी भएँ। मैले नोएनगाम यातना शिविरमा भेटेको साक्षी, अर्न्स्ट भावरले मलाई ख्रीष्टको मनोवृत्ति खेती गर्न आग्रह गरे। बाइबल भन्छ, ‘उहाँले गाली खानुहुँदा आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।’ (१ पत्रुस २:२३) सबैको न्यायकर्ता, परमेश्‍वरको हातमा बदला लिने जिम्मेवारी छोडेर मैले त्यसै गर्न खोजें।

“प्रायजसो अज्ञानताले गर्दा मानिसहरू खराब कामहरू गर्छन्‌ भनेर मैले शिविरमा छँदा सिकें। सबै एसएस सुरक्षाकर्मीहरू खराब थिएनन्‌—तिनीहरूमध्ये एक जनाले मेरो ज्यान जोगाएको थियो। मलाई एक पटक मरणासन्‍न हुने गरी झाडापखाला लागेको थियो र काम गर्ने ठाउँबाट शिविरसम्म हिंड्‌नसमेत नसक्ने भएँ। म भोलिपल्ट बिहान अस्वीचको बाफ भट्टीमा पठाइने थिएँ तर मेरै गाउँबाट आएका एक एसएस सुरक्षाकर्मीले मलाई बचाए। तिनले मलाई एसएस भोजनालयमा काम मिलाइदिए र त्यहाँ मैले निको नहोउञ्जेल अलि आराम गर्न पाएँ। तिनले एक दिन मसमक्ष यो कुरा स्वीकारे: ‘म्याक्स्‌, मलाई त आफू बेतोड अनि अनियन्त्रित रेलमा यात्रा गरिरहेको जस्तो लाग्छ। रेलबाट हाम्फालें भने मर्नेछु। रेलमै बसें भने कतै दुर्घटनाग्रस्त हुनेछु!’

“यी मानिसहरूलाई पनि मलाई जति नै प्रेम चाहिएको थियो। वास्तवमा, मलाई प्रेम र अनुकम्पाको साथै परमेश्‍वरप्रति मेरो विश्‍वासले यस दयनीय अवस्था र दिनहुँ मृत्युदण्डको खतरा सामना गर्न मदत पुऱ्‍याएको थियो। म कुनै हानिबिना बचें भन्‍नु उपयुक्‍त नहोला तर मेरा भावनात्मक घाउहरू भने कम थिए।”

अहिले ५० वर्षपछि पनि म्याक्स्‌ले देखाउने न्यानोपन र दया, तिनका शब्दहरूको जल्दोबल्दो पुष्टि हो। यो अनुभव म्याक्स्‌को मात्र होइन। तिनीसित घृणामाथि विजय हासिल गर्ने ठोस कारण थियो—तिनी ख्रीष्टको अनुकरण गर्न चाहन्थे। शास्त्रअनुरूप चल्ने अन्य व्यक्‍तिहरूले पनि त्यसै गरेका छन्‌। फ्रान्सको यहोवाका साक्षी, सिमोनले निःस्वार्थ प्रेमको अर्थ कसरी सिकिन्‌ भनेर यसरी बताउँछिन्‌।

“दोस्रो विश्‍व-युद्ध हुनुभन्दा केही समयअघि मेरी आमा, एमा साक्षी हुनुभएको थियो। प्रायजसो अज्ञानताले गर्दा मानिसहरूले खराब कामहरू गर्छन्‌ भनेर उहाँले मलाई सिकाउनुहुन्थ्यो। तिनीहरूले हामीलाई घृणा गर्दा हामीले पनि तिनीहरूलाई घृणा गऱ्‍यौं भने हामी साँचो मसीहीहरू होइनौं किनभने हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र खेदो गर्नेहरूको निम्ति प्रार्थना गर्नुपर्छ भनेर येशूले सिकाउनुभएको छ भनी उहाँले बुझाउनुहुन्थ्यो।—मत्ती ५:४४.

“यो विश्‍वास गम्भीर परीक्षामा परेको एउटा परिस्थिति मैले बिर्सेकी छैन। फ्रान्समा नाजी अधिपत्यको समयतिर एउटै घरमा बस्ने हाम्रो छिमेकीबाट आमाले निकै दुःख भोग्नुपऱ्‍यो। तिनले गेस्टापोलाई आमाको चुक्ली लगाइदिइन्‌ र फलस्वरूप जर्मन यातना शिविरमा आमाले दुइ वर्ष बिताउनुपऱ्‍यो अनि त्यहाँ उहाँको झन्डै मृत्यु भएको थियो। युद्धपश्‍चात्‌ फ्रान्सेली सिपाहीले त्यस स्त्री जर्मन सहयोगी भएको आरोप लगाउँदै मेरी आमालाई एउटा कागतमा हस्ताक्षर गर्न लगाए। तर ‘परमेश्‍वर न्यायकर्ता र असल अनि खरा- बको इनामदाता हुनुहुन्छ’ भनेर बताउँदै मेरी आमाले हस्ताक्षर गर्न इन्कार गर्नुभयो। त्यसको केही वर्षपश्‍चात्‌ यही छिमेकी घातक अर्बुद रोगले गर्दा बिरामी परिन्‌। त्यस्तो विपत्तिमा रमाउनुको साटो तिनको जीवनका आखिरी क्षणहरू यथाशक्य आरामदायी बनाउन मेरी आमाले त्यस छिमेकीको निकै स्याहारसुसार गर्नुभयो। घृणामाथि सत्यको यो विजयलाई म कहिल्यै बिर्सनेछैन।”

अन्यायको सामना गर्नुपर्दा सैद्धान्तिक प्रेमको शक्‍तिलाई यी दुइ उदाहरणहरूले प्रष्ट पार्छ। तथापि, बाइबलले भन्छ, “प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय छ।” (उपदेशक ३:१, ८) त्यो कसरी हुनसक्छ?

घृणा गर्ने समय

परमेश्‍वरले सबै प्रकारको घृणालाई निन्दा गर्नुहुन्‍न। येशू ख्रीष्टको सन्दर्भमा बाइबलले यसो भन्छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ।” (हिब्रू १:९) तथापि, खराबीलाई घृणा गर्नु र खराबी गर्ने व्यक्‍तिलाई घृणा गर्नुमा भिन्‍नता छ।

येशूले प्रेम र घृणाबीच सही सन्तुलनको उदाहरण देखाउनुभयो। उहाँले कपटलाई घृणा गर्नुभयो तर कपटीहरूको सोचाइ परिवर्तन गर्न तिनीहरूलाई मदत दिनुभयो। (मत्ती २३:२७, २८; लूका ७:३६-५०) उहाँले हिंसाको निन्दा गर्नुभयो तर आफूलाई प्राणदण्ड दिने व्यक्‍तिहरूको निम्ति प्रार्थना गर्नुभयो। (मत्ती २६:५२; लूका २३:३४) अनि संसारले कुनै कारणबिना उहाँलाई घृणा गरे तापनि संसारको निम्ति जीवन प्रदान गर्न आफ्नो प्राण अर्पण गर्नुभयो। (यूहन्‍ना ६:३३, ५१; १५:१८, २५) उहाँले हाम्रो निम्ति सैद्धान्तिक प्रेम र ईश्‍वरीय घृणाको सिद्ध उदाहरण बसाल्नुभयो।

अन्यायले गर्दा येशूजस्तै हामी पनि नैतिकताको आधारमा आक्रोशित हुनसक्छौं। (लूका १९:४५, ४६) तथापि, बदला लिने अधिकार मसीहीहरूलाई दिइएको छैन। पावलले रोमका मसीहीहरूलाई यस्तो सल्लाह दिए, “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। . . . बदला नलेओ, . . . खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।” (रोमी १२:१७-२१) हामीले व्यक्‍तिगत तवरमा कसैलाई घृणा गर्न वा खराबीको बदला लिन इन्कार गर्दा प्रेम विजयी हुन्छ।

घृणारहित संसार

विश्‍वव्यापी तवरमा घृणा विलीन हुन लाखौं मानिसहरूमा जरा गाडेको मनोवृत्ति परिवर्तन हुनैपर्छ। यो कसरी प्राप्त गर्न सकिन्छ? प्राध्यापक अर्भिन स्टाउब निम्न सुझाव दिन्छन्‌: “हामीले जसको नोक्सान गर्छौं, उसको मोल घटाउँछौं र जसको मदत गर्छौं उसको मोल बढाउँछौं। हामीले मदत गरेका मानिसहरूलाई अझ बढी मूल्यांकन गर्नसक्छौं। साथै अरूलाई मदत गर्दा प्राप्त हुने अन्तरनिहित सन्तुष्टि अनुभव गरेपछि आफूलाई अरूप्रति चासो राख्ने मदतगार व्यक्‍तिको रूपमा देख्छौं। हाम्रो एउटा लक्ष्य, अरूको यथासम्भव भलाइ गर्ने समाजको सृजना गर्ने हुनुपर्छ।”—द रूट्‌स अफ इभिल.

अर्को शब्दमा भन्‍ने हो भने, घृणाको अन्त गर्न आपसी मदतद्वारा प्रेमसित बाँच्न सिक्ने समाज अर्थात्‌ पूर्वाग्रह, राष्ट्रियता, जातिवाद र कुलवादले पैदा गरेको दुश्‍मनी बिर्सनसक्ने समाज सृजना गर्नु आवश्‍यक छ। के त्यस्तो समाज अस्तित्वमा छ? चीनको सांस्कृतिक क्रान्तिमा व्यक्‍तिगत तवरमा घृणा सामना गरेका एक मानिसको अनुभवलाई ध्यान दिनुहोस्‌।

“‘वर्गीय संघर्षमा’ सम्झौता गर्ने कुनै ठाउँ हुँदैन भनेर हामीलाई सांस्कृतिक क्रान्ति सुरु हुँदा सिकाइयो। घृणा नै सर्वव्यापी मनोवृत्ति थियो। म रेड गार्डमा भर्ती भएँ र मैले मेरो परिवारलगायत जताततै ‘माओ समूहका शत्रुहरूलाई’ खोज्न थालें। त्यतिबेला किशोरावस्थामा नै भए तापनि घर-घरमा खानतलास गरेर ‘प्रतिगामी तत्त्वहरूका’ प्रमाणहरू खोज्ने कार्यमा मैले भाग लिएँ। ‘क्रान्तिविरोधीहरूको’ आलोचना गर्न मैले एउटा आमसभा पनि सञ्चालन गरें। निस्सन्देह, यी आरोपहरू कहिलेकाहीं राजनैतिक कुराहरूभन्दा व्यक्‍तिगत दुश्‍मनीमा आधारित हुन्थे।

“मैले जवान, वृद्ध, पुरुष, महिलालगायत थुप्रै मानिसहरूलाई शारीरिक दण्ड दिएको देखें, जुन पछि झन्‌ झन्‌ क्रूर हुँदै गयो। मेरो एक जना शिक्षक असल मानिस थिए तर तिनलाई अपराधीजस्तो सडकमा खुलेआम घुमाइयो। दुइ महिनापछि मेरो स्कूलको अर्को एक जना आदरणीय शिक्षक शुचो नदीमा मृत फेला पऱ्‍यो र मेरो अंग्रेजी शिक्षकलाई झुन्डिएर मर्न बाध्य तुल्याइयो। म स्तब्ध र अचम्मित भएँ। तिनीहरू दयालु थिए। तिनीहरूप्रति यस्तो व्यवहार गरिनु उचित थिएन! अतः मैले रेड गार्डसित आफ्नो सारा सम्बन्ध विच्छेद गरें।

“मलाई लाग्छ, केही समय चीनमा व्याप्त घृणाको अवधिमा यो एक मात्र घटना थिएन। यस शताब्दीमा घृणाका थुप्रै कार्यहरू भएका छन्‌। तथापि, प्रेमले घृणामाथि विजय प्राप्त गर्नसक्छ भनेर म विश्‍वस्त छु। मैले आफ्नै आँखाले यो देखेको छु। यहोवाका साक्षीहरूसित संगत गर्न थाल्दा विभिन्‍न जाति र पृष्ठभूमिका मानिसहरूप्रति तिनीहरूले देखाएको साँचो प्रेमले गर्दा म प्रभावित भएँ। बाइबलले प्रतिज्ञा गरेअनुसार सबैले प्रेम गर्न सिक्ने समयको म उत्सुकतापूर्वक प्रतीक्षा गर्छु।”

हो, घृणालाई निर्मूल पार्न सकिन्छ भन्‍ने जीवन्त प्रमाण यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय भ्रातृत्व हो। जुनसुकै पृष्ठभूमिबाट आएको भए तापनि साक्षीहरू पूर्वाग्रहको ठाउँमा पारस्परिक आदर राख्न र जातिवाद वा राष्ट्रवादको कुनै पनि अवशेष हटाउन प्रयत्नरत छन्‌। तिनीहरूको सफलताको एउटा आधार, सैद्धान्तिक प्रेम प्रकट गर्न येशू ख्रीष्टको अनुकरण गर्ने कटिबद्धता हो। अर्को आधार, आफूले भोगिरहेको अन्याय अन्त गर्न तिनीहरू परमेश्‍वरको राज्यको बाटो हेर्छन्‌।

घृणा गर्ने कुनै खराब तत्त्वसमेत नभएको घृणारहित संसार प्राप्त गर्ने एक मात्र ठोस समाधान परमेश्‍वरको राज्य हो। बाइबलमा “नयाँ स्वर्ग” भनी वर्णित यस स्वर्गीय सरकारले अन्यायरहित संसारको ग्यारेन्टी दिनेछ। यसले “नयाँ पृथ्वी” अथवा एकअर्कालाई प्रेम गर्न सिकाइएका मानिसहरूको नयाँ समाजमाथि शासन गर्नेछ। (२ पत्रुस ३:१३; यशैया ५४:१३) म्याक्स, सिमोन र अरू थुप्रैका उदाहरणहरूले पुष्टि दिएअनुसार यो शिक्षा अहिले पनि दिईंदैछ। यो घृणा र त्यसका कारक तत्त्वहरू हटाउने विश्‍वव्यापी कार्यक्रमको पूर्वाभास मात्रै हो।

त्यसको परिणामबारे यशैया अगमवक्‍ता मार्फत यहोवा यसो भन्‍नुहुन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न केही नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) परमेश्‍वर स्वयम्‌ले घृणाको अन्त भएको घोषणा गर्नुहुनेछ। त्यो साँच्चै प्रेम गर्ने समय हुनेछ।

[पृष्ठ ७-मा भएको चित्र]

म्याक्स्‌ लिब्स्टरको बायाँ पाखुरामा नाजीहरूले कैदी नम्बर खोपिदिए

[पृष्ठ ८-मा भएको चित्र]

घृणा चाँडै नै अतीतको कुरा हुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने