अध्याय १५
येसु “पृथ्वीमा न्याय कायम” गर्नुहुन्छ
१, २. येसु किन रिसाउनुभयो?
येसुको रिस स्पष्टै देखिन्थ्यो र उहाँ रिसाउनुको जायज कारण पनि थियो। उहाँ रिसाउनुभएको कुरा कल्पना गर्न हामीलाई गाह्रो लाग्ला किनकि उहाँ कोमल स्वभावको व्यक्ति हुनुहुन्थ्यो। (मत्ति २१:५) तर उहाँको रिस नियन्त्रणमा थियो किनकि उहाँ धार्मिकताको लागि रिसाउनुभएको थियो।a तर यी शान्तिप्रिय व्यक्ति किन रिसाउनुभयो? घोर अन्याय भएको देखेर।
२ यरुसलेमको मन्दिर येसुको लागि असाध्यै प्यारो थियो। किनकि स्वर्गमा बस्नुहुने उहाँको बुबाको उपासना गर्ने पवित्र ठाउँ संसारभरि त्यो मात्रै थियो। विभिन्न ठाउँका यहुदीहरू यहोवाको उपासना गर्न लामो यात्रा गरेर त्यही मन्दिरमा आउँथे। परमेश्वरको डर मान्ने अन्यजातिहरू पनि मन्दिरमा उनीहरूको लागि छुट्ट्याइएको चोकमा आएर उहाँको उपासना गर्थे। तर पृथ्वीमा आफ्नो सेवाको सुरुतिर येसु मन्दिरमा जानुहुँदा त्यहाँको माहोल देखेर चकित हुनुभयो किनकि त्यो ठाउँ परमेश्वरको उपासनास्थलभन्दा पनि बजारजस्तो देखिन्थ्यो। त्यहाँ व्यापारीहरू र पैसा साट्नेहरूको भीड लागेको थियो। मन्दिरमा सर्वसाधारणमाथि घोर अन्याय भइरहेको थियो किनकि ती व्यापारीहरूले त्यस ठाउँलाई मानिसहरूलाई लुट्ने अखडा बनाएका थिए। कसरी?—युहन्ना २:१४.
३, ४. यहोवाको मन्दिरमा व्यापारीहरूले सर्वसाधारणलाई कसरी ठगिरहेका थिए र येसुले यो अवस्था सुधार्न के गर्नुभयो?
३ धर्मगुरुहरूले मन्दिरको कर तिर्न एउटा खास किसिमको सिक्का मात्र प्रयोग गर्न पाउने नियम बनाएका थिए। त्यसैले मन्दिरमा आउनेहरूले त्यस्ता सिक्काहरू लिन आफ्नो पैसा साट्नुपर्थ्यो। पैसा साट्नेहरूले मन्दिर परिसरभित्रै टेबुलहरू राखेर कारोबार गर्थे र त्यसबापत मानिसहरूबाट थप शुल्क लिने गर्थे। व्यापारीहरूले बलिको लागि चाहिने जनावरहरू बेचेर पनि निकै नाफा कमाउँथे। हुनत मन्दिरमा आउनेहरूले सहरको जुनसुकै व्यापारीबाट जनावरहरू किन्न सक्थे तर मन्दिरका अधिकारीहरूले ती जनावरहरू बलि चढाउन लायकका छैनन् भनेर अस्वीकार गर्न सक्थे। तर मन्दिर परिसरभित्रै किनिएका जनावरहरूचाहिँ बलिदानको रूपमा स्विकारिने पक्का थियो। मानिसहरूसित ती व्यापारीहरूबाट जनावर किन्नुबाहेक अरू कुनै उपाय थिएन। त्यसैले ती व्यापारीहरूले जनावरहरू असाध्यै महँगो दाममा बेच्थे।b यो केवल व्यापार मात्र नभई ठगी नै थियो।
४ येसुले यस्तो अन्याय सहन सक्नुभएन किनभने त्यो उहाँको बुबाको घर थियो। उहाँले डोरीको कोर्रा बनाएर भेडा र गाईवस्तुको बगाललाई त्यहाँबाट लघार्नुभयो, पैसा साट्नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो अनि तिनीहरूको टेबुल पल्टाइदिनुभयो। ती सिक्काहरू छनछन गर्दै मार्बलको भुईँमा खसेको कल्पना गर्नुहोस्! उहाँले ढुकुर बेच्नेहरूलाई यस्तो कडा आदेश दिनुभयो: “यी सब यहाँबाट लगिहाल!” (युहन्ना २:१५, १६) त्यहाँ कसैले पनि यी साहसी पुरुषलाई रोक्ने हिम्मत गरेन।
“यी सब यहाँबाट लगिहाल!”
छोरा बुबाको अनुकरण गर्नुहुन्छ
५-७. (क) न्यायप्रति येसुको दृष्टिकोण कस्तो थियो र किन? उहाँको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (ख) सैतानले गर्दा भएको अन्यायविरुद्ध येसु कसरी लड्नुभयो र भविष्यमा पनि उहाँले कसरी त्यसो गर्नुहुनेछ?
५ पछि ती व्यापारीहरूले मन्दिरमा फेरि व्यापार गर्न थाले। लगभग तीन वर्षपछि येसुले मन्दिरमा त्यस्तै अन्याय देख्नुभयो। त्यसैले उहाँले आफ्नो बुबाको भनाइ उद्धरण गर्दै ती व्यापारीहरूलाई यसो भन्नुभयो: “तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।” (यर्मिया ७:११; मत्ति २१:१३) लोभी व्यापारीहरूले मानिसहरूलाई ठगिरहेको र परमेश्वरको मन्दिरलाई अशुद्ध बनाएको देख्दा येसुले आफ्नो बुबाले जस्तै महसुस गर्नुभयो। यो अचम्मलाग्दो कुरा होइन किनकि उहाँले स्वर्गमा हुनुहुने आफ्नो बुबाबाट युगौँयुगदेखि सिक्दै आउनुभएको थियो। यसले गर्दा उहाँले न्यायप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सक्नुभयो। त्यसैले हामीले येसु ख्रिष्टको उदाहरणमा मनन गऱ्यौँ भने मात्र यहोवाको न्याय कस्तो किसिमको गुण हो भन्ने कुरा स्पष्टसित बुझ्न सक्नेछौँ।—युहन्ना १४:९, १०.
६ सैतानले यहोवा परमेश्वर झूटा हुनुहुन्छ र उहाँको शासनले उहाँको प्रजाको भलो गर्दैन भन्ने आरोप लगाएर उहाँको घोर निन्दा गऱ्यो। त्यतिबेला यहोवाको एक मात्र छोरा येसु पनि उहाँसँगै हुनुहुन्थ्यो। पछि सैतानले परमेश्वरका सेवकहरू उहाँप्रतिको प्रेमले गर्दा नभई आफ्नो स्वार्थ पूरा गर्न मात्र उहाँको सेवा गर्छन् भनेर चुनौती दिएको पनि येसुले सुन्नुभएको थियो। सैतानका यस्ता झूटा आरोपहरू सुन्दा उहाँलाई पक्कै दुःख लागेको हुनुपर्छ। तर यी विवादहरू सुल्झाउन आफूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ भनेर थाह पाउँदा उहाँ कत्ति खुसी हुनुभयो होला! (२ कोरिन्थी १:२०) तर उहाँले यो कसरी गर्नुहुने थियो?
७ हामीले अध्याय १४ मा सिकेझैँ येसु ख्रिष्टले यहोवाका सेवकहरूको सत्यनिष्ठामाथि सैतानले उठाएको प्रश्नको जोडदार जवाफ दिनुभयो र त्यसपछि कसैले पनि यस्तो प्रश्न उठाउने आँट गरेनन्। यसरी येसुले परमेश्वरको नाममा लागेको कलङ्क मेटाउन आधार तयार पार्नुभयो। साथै उहाँले यहोवाको शासन गर्ने तरिका गलत छ भन्ने आरोपलगायत सैतानको सबै आरोपलाई झूटो प्रमाणित गर्न बाटो तयार पार्नुभयो। यहोवाको मुख्य माध्यमको रूपमा भविष्यमा येसु ख्रिष्टले पूरै पृथ्वीमा परमेश्वरको न्याय स्थापना गर्नुहुनेछ। (प्रेषित ५:३१) पृथ्वीमा हुनुहुँदा उहाँले आफ्नो जीवनशैलीबाट पनि यहोवाको न्याय झल्काउनुभयो। यहोवाले उहाँबारे यसो भन्नुभयो: “म तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्।” (मत्ति १२:१८) येसुले कसरी त्यसो गर्नुभयो?
येसु “न्याय के हो” भनी सिकाउनुहुन्छ
८-१०. (क) धर्मगुरुहरूले बनाएका मौखिक नियम तथा परम्पराले गैर-यहुदी र स्त्रीप्रतिको घृणालाई कसरी बढावा दियो? (ख) ती नियमहरूले विश्रामदिनसम्बन्धी नियमलाई कसरी बोझिलो बनाइदियो?
८ येसु परमेश्वरको व्यवस्थालाई प्रेम गर्नुहुन्थ्यो र त्यसअनुसार जीवन बिताउनुहुन्थ्यो। तर उहाँको समयका धर्मगुरुहरूले व्यवस्थालाई बङ्ग्याएका थिए र व्यवस्थाका नियमहरूको गलत अर्थ लगाएका थिए। त्यसैले येसुले तिनीहरूलाई यसो भन्नुभयो: “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू . . . न्याय, कृपा र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गर्छौ।” (मत्ति २३:२३) हो, व्यवस्थाका ती शिक्षकहरूले मानिसहरूलाई “न्याय के हो” भनेर सिकाएका थिएनन् बरु उल्टै परमेश्वरको न्यायलाई ओझेलमा पारेका थिए। कसरी? आउनुहोस्, केही उदाहरण विचार गरौँ।
९ यहोवाले इस्राएलीहरूलाई मूर्तिपूजक राष्ट्रका मानिसहरूदेखि अलग्गै बस्न निर्देशन दिनुभएको थियो। (१ राजा ११:१, २) तर केही कट्टर धर्मगुरुले यहुदीहरूलाई अन्यजातिका मानिसहरूलाई तुच्छ नजरले हेर्न सिकाउँथे। मिस्नाहमा यस्तो नियमसमेत थियो: “आफ्नो वस्तुभाउलाई अन्यजातिहरूको पौवामा नछोड्नू किनकि तिनीहरूले पशुकरणी गर्न सक्छन्।” यसरी सम्पूर्ण गैर-यहुदीलाई समेटेर यस्तो नियम बनाउनु अन्यायपूर्ण थियो र यस्तो नियम मोसाको व्यवस्थासित पनि फिटिक्कै मेल खाँदैन थियो। (लेवी १९:३४) धर्मगुरुहरूका अन्य नियमहरूले स्त्रीहरूलाई तुच्छ नजरले हेर्न सिकाउँथ्यो। मिस्नाहको एउटा नियमअनुसार पत्नी आफ्नो पतिको छेउमा नभई तिनको पछिपछि हिँड्नुपर्थ्यो। साथै सार्वजनिक ठाउँमा पुरुषले स्त्रीसित कुरा गर्न मिल्दैन थियो, चाहे ऊ आफ्नी पत्नी नै किन नहोस्। दासहरूले जस्तै स्त्रीहरूले अदालतसामु गवाही दिन पाउँदैन थिए। सार्वजनिक रूपमा गरिने एउटा प्रार्थनामा पुरुषहरूले आफू स्त्री नभएकोमा परमेश्वरलाई धन्यवाद समेत दिने गर्थे।
१० धर्मगुरुहरूले बनाएका नीतिनियमले गर्दा परमेश्वरको व्यवस्था ओझेलमा पऱ्यो। विश्रामदिनसम्बन्धी नियमलाई विचार गरौँ। विश्रामदिनमा काम गर्नु हुँदैनथ्यो बरु त्यो दिन परमेश्वरको उपासना गर्न, आध्यात्मिक स्फूर्ति पाउन र आराम गर्न छुट्ट्याइएको थियो। तर फरिसीहरूले यस नियमलाई अझै बोझिलो बनाइदिएका थिए। केलाई “काम” भन्ने र केलाई नभन्ने, तिनीहरू आफैले तय गरेका थिए। तिनीहरूले कामलाई ३९ वटा वर्गमा विभाजन गरेका थिए, जसमा कटनी गर्नु र सिकार गर्नु पनि समावेश थियो। यस्तो वर्गीकरणले गर्दा अरू पनि थुप्रै प्रश्न खडा भए। जस्तै: कसैले विश्रामदिनमा उपियाँ मऱ्यो भने के उसले सिकार गरिरहेको हुन्छ? कसैले खेतबाट अन्नको बाला टिपेर खायो भने के उसले कटनी गरिरहेको हुन्छ? अथवा कसैले बिरामीलाई निको पाऱ्यो भने के उसले काम गरिरहेको हुन्छ? यस्ता प्रश्नहरू खडा भएकोले एक-एक विषयमा विस्तृत र कडा नियमहरू बन्न थाले।
११, १२. फरिसीहरूले बनाएका धर्मशास्त्रविपरीतका परम्पराहरूको येसुले कसरी खण्डन गर्नुभयो?
११ यस्तो वातावरणमा येसुले मानिसहरूलाई न्याय के हो भनेर कसरी बुझाउनुहुने थियो? उहाँले आफ्नो शिक्षा र जीवनशैलीद्वारा ती धर्मगुरुहरूविरुद्ध साहसी भई खडा भएको देखाउनुभयो। सुरुमा उहाँका केही शिक्षाबारे विचार गरौँ। ती धर्मगुरुहरूले बनाएका अनगिन्ती नियमहरूको विरोध गर्दै येसुले यसो भन्नुभयो: “तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ।”—मर्कुस ७:१३.
१२ फरिसीहरूले विश्रामदिनसम्बन्धी नियमलाई सही तरिकामा बुझेका छैनन् भनेर येसुले सशक्त ढङ्गमा सिकाउनुभयो। वास्तवमा तिनीहरूले यस नियमको मुख्य आशय नै बुझेका थिएनन्। येसुले मसीह नै “विश्रामदिनको प्रभु हो” र तिनीसित विश्रामदिनमा पनि बिरामीहरूलाई निको पार्ने अधिकार छ भनेर बताउनुभयो। (मत्ति १२:८) यस कुरालाई जोड दिन उहाँले विश्रामदिनमा खुलेआम चमत्कार गरेर थुप्रै बिरामीलाई निको पार्नुभयो। (लुका ६:७-१०) यसरी उहाँले हजार वर्षीय शासनमा पृथ्वीबाट रोगबिमार हटाउनुहुनेछ भन्ने कुराको पूर्वझलक देखाउनुभयो। वास्तवमा येसुको हजार वर्षीय शासन महान् विश्रामदिन हुनेछ किनकि त्यतिबेला शताब्दियौँदेखि पाप र मृत्युको दासत्वमा परेका वफादार मानिसहरूले विश्राम पाउनेछन्।
१३. पृथ्वीमा येसुको सेवाको काम सिद्धिएपछि कुन व्यवस्था अस्तित्वमा आयो र यो कसरी मोसाको व्यवस्थाभन्दा फरक थियो?
१३ येसुले अर्को तरिकामा पनि न्याय के हो भनेर प्रस्ट पार्नुभयो। पृथ्वीमा उहाँको सेवाको काम सिद्धिएपछि एउटा नयाँ व्यवस्था अर्थात् “ख्रिष्टको व्यवस्था” अस्तित्वमा आयो। (गलाती ६:२) मोसाको व्यवस्थामा जस्तो यो नयाँ व्यवस्थामा तीनथुप्रो लिखित नियम थिएनन् बरु यो व्यवस्था सिद्धान्तमा आधारित थियो। तर यसमा केही स्पष्ट आज्ञाहरू पनि थिए। तीमध्ये एउटालाई येसुले “नयाँ आज्ञा” भन्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि आपसमा प्रेम गर्नुपर्छ भनेर सिकाउनुभयो। (युहन्ना १३:३४, ३५) हो, “ख्रिष्टको व्यवस्था”-अनुसार चल्नेहरू सबैको मुख्य चिनारी आत्मत्यागी प्रेम नै हुनुपर्थ्यो।
न्यायको जीवन्त उदाहरण
१४, १५. येसुले आफ्नो अख्तियारको सीमा बुझेको कसरी देखाउनुभयो र यो किन आश्वासनदायी छ?
१४ येसुले प्रेमबारे सिकाउनु मात्र भएन बरु उहाँ आफै पनि “ख्रिष्टको व्यवस्था”-अनुसार चल्नुभयो। यो कुरा उहाँको जीवनशैलीमा प्रस्टै देखिन्थ्यो। न्याय के हो भनेर उहाँको जीवनशैलीमा कसरी देखिन्थ्यो, अब तीन वटा उदाहरण विचार गरौँ।
१५ पहिलो, येसु आफूबाट कुनै पनि अन्याय नहोस् भनेर सधैँ होसियार हुनुहुन्थ्यो। सायद तपाईँले याद गर्नुभएको छ होला, त्रुटिपूर्ण मानिसहरू अहङ्कारी हुँदा र तिनीहरूले आफ्नो अख्तियारको सीमा नाघ्दा तिनीहरूबाट थुप्रै अन्यायपूर्ण काम हुने गर्छ। तर येसुले कहिल्यै त्यसो गर्नुभएन। एकचोटि एक जना मानिसले उहाँकहाँ आएर यसो भने: “गुरुज्यू, मेरो दाइलाई हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशबण्डा गर्न भनिदिनुहोस्।” तर येसुले तिनलाई भन्नुभयो: “ए मित्र, तिमीहरू दुई जनाबीच न्याय गरिदिन वा अंशबण्डा गरिदिन कसले मलाई नियुक्त गऱ्यो?” (लुका १२:१३, १४) के यो साँच्चै उल्लेखनीय छैन र? येसुजत्तिको बुद्धिमान्, समझदार अनि परमेश्वरबाट अख्तियार पाएको व्यक्ति पृथ्वीमा अरू कोही थिएन। तैपनि उहाँले यस मामिलामा हात हाल्नुभएन किनकि आफूसित त्यस्तो अख्तियार छैन भनेर उहाँले बुझ्नुभएको थियो। पृथ्वीमा आउनुभएपछि मात्र होइन, स्वर्गमा हुनुहुँदा पनि उहाँ सधैँ आफ्नो मर्यादामा रहनुभयो। (यहुदा ९) येसुले नम्र हुँदै न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिनुभयो र उहाँले नै सही तरिकामा न्याय गर्नुहुन्छ भन्ने कुरामा भरोसा गर्नुभयो। येसुको यो गुण साँच्चै उल्लेखनीय छ।
१६, १७. (क) परमेश्वरको राज्यको सुसमाचार सुनाउनुहुँदा येसुले कसरी न्याय झल्काउनुभयो? (ख) येसुको न्यायमा कसरी कृपा देखिन्थ्यो?
१६ दोस्रो, येसुले कुनै पक्षपात नगरी सबैलाई परमेश्वरको राज्यको सुसमाचार सुनाएर पनि न्याय भन्ने गुण झल्काउनुभयो। उहाँले सबै किसिमका मानिसलाई सुसमाचार सुनाउन हरप्रयास गर्नुभयो, चाहे तिनीहरू धनी होऊन् वा गरिब। अर्कोतर्फ फरिसीहरू गरिब र सर्वसाधारणलाई तुच्छ नजरले हेर्थे; तिनीहरू उनीहरूलाई एमहारेट्स अर्थात् “धर्तीका मानिसहरू” भन्थे। तर येसुले साहसी हुँदै त्यस्तो अन्यायलाई सच्याउनुभयो। उहाँले मानिसहरूलाई सुसमाचार सुनाउँदा मात्र होइन, तिनीहरूसँगै खाँदा, तिनीहरूलाई खुवाउँदा, निको पार्दा वा मरेकाहरूलाई जीवित पार्दा “सबै किसिमका मानिस”-लाई मदत गर्न चाहनुहुने परमेश्वरको न्याय झल्काउनुभयो।c—१ तिमोथि २:४.
१७ तेस्रो, येसुको न्यायमा कृपा भन्ने गुण देखिन्थ्यो। उहाँले पापीहरूलाई समेत मदत गर्न सक्दो गर्नुभयो। (मत्ति ९:११-१३) उहाँ निस्सहायहरूलाई मदत गर्न पनि सधैँ तयार हुनुहुन्थ्यो। उदाहरणको लागि, येसुले त्यतिबेलाका धर्मगुरुहरूले जस्तो अन्यजातिलाई घृणा गर्नुपर्छ भनेर सिकाउनुभएन। हुनत उहाँ यहुदीहरूको लागि पठाइनुभएको थियो तैपनि उहाँले केही अन्यजातिलाई कृपा देखाउँदै मदत गर्नुभयो र सिकाउनुभयो। उदाहरणको लागि, उहाँ एक जना रोमी सैनिक अफिसरको नोकरलाई निको पार्न पनि तयार हुनुभयो र ती अफिसरबारे यसो भन्नुभयो: “मैले उसको जस्तो ठूलो विश्वास इस्राएलमा अरू कसैको पाइनँ।”—मत्ति ८:५-१३.
१८, १९. (क) येसुले स्त्रीहरूको कदर गरेको कसरी देखाउनुभयो? (ख) येसुको उदाहरणले साहस र न्यायबीचको सम्बन्ध बुझ्न कसरी मदत गर्छ?
१८ त्यसैगरि येसुले स्त्रीहरूप्रति त्यतिबेलाका मानिसहरूको जस्तो दृष्टिकोण राख्नुभएन। बरु उहाँले साहसी भई जे सही छ, त्यही गर्नुभयो। त्यतिबेला सामरियाली स्त्रीहरूलाई अन्यजातिलाई जत्तिकै अशुद्ध ठानिन्थ्यो। तैपनि येसुले सुखारको इनारमा एक जना सामरियाली स्त्रीलाई साक्षी दिन अप्ठ्यारो मान्नुभएन। वास्तवमा उहाँले आफू प्रतिज्ञा गरिएको मसीह हुँ भनेर पहिलो चोटि ती स्त्रीलाई नै बताउनुभएको थियो। (युहन्ना ४:६, २५, २६) फरिसीहरूले स्त्रीहरूलाई परमेश्वरको व्यवस्था सिकाउनु पर्दैन भन्थे तर येसुले भने आफ्नो समय र शक्ति लगाएर स्त्रीहरूलाई पनि सिकाउनुभयो। (लुका १०:३८-४२) त्यतिबेलाको समाजमा स्त्रीहरूले दिने गवाहीलाई मान्यता दिइँदैनथ्यो। तैपनि येसु जीवित हुनुभएपछि उहाँ सुरुमै केही स्त्रीहरूसामु देखा पर्नुभयो। यति मात्र नभई उहाँले आफ्ना चेलाहरूलाई यस महत्त्वपूर्ण घटनाबारे बताउने सुअवसर ती स्त्रीहरूलाई नै दिनुभयो। यसरी उहाँले तिनीहरूको कदर गरेको देखाउनुभयो।—मत्ति २८:१-१०.
१९ हो, येसुले न्याय के हो भनेर प्रस्ट पार्नुभयो। कतिपय अवस्थामा त उहाँले त्यसको लागि आफ्नो ज्यानकै जोखिम मोल्नुभयो। येसुको उदाहरणले सही तरिकामा न्याय गर्न साहस चाहिन्छ भनेर बुझ्न मदत गर्छ। त्यसैले बाइबलमा येसुलाई “यहुदाको कुलको सिंह” भनिनु उचित छ। (प्रकाश ५:५) सिंहले साहसिक न्यायलाई चित्रण गर्छ भनेर सायद तपाईँले सम्झनुभएको छ होला। अब चाँडै नै येसुले अझ व्यापक रूपमा न्याय गर्नुहुनेछ। त्यतिबेला उहाँले साँचो अर्थमा “पृथ्वीमा न्याय कायम” गर्नुहुनेछ।—यसैया ४२:४.
मसीही राजाले “पृथ्वीमा न्याय कायम” गर्नेछन्
२०, २१. अहिले मसीही राजाले पृथ्वीभरि र ख्रिष्टियन मण्डलीमा कसरी न्याय कायम गर्दै हुनुहुन्छ?
२० सन् १९१४ मा राजा हुनुभएदेखि येसुले पृथ्वीमा न्याय कायम गर्दै आउनुभएको छ। कसरी? उहाँले मत्ति २४:१४ मा गरिएको भविष्यवाणी पूरा गर्ने काममा सक्रियतासाथ नेतृत्व लिइरहनुभएको छ। येसुका चेलाहरूले संसारभरि नै मानिसहरूलाई परमेश्वरको राज्यबारे सिकाइरहेका छन्। उहाँले जस्तै तिनीहरू पनि पक्षपात नगरी र न्यायपूर्ण तरिकामा सुसमाचार सुनाउँछन्। जवान होस् वा वृद्ध, धनी होस् वा गरिब, पुरुष होस् वा स्त्री, सबैले न्यायका परमेश्वर यहोवालाई चिन्ने सुअवसर पाइरहेका छन्।
२१ येसुले मण्डलीको शिरको रूपमा ख्रिष्टियन मण्डलीभित्र पनि न्याय कायम गर्दै हुनुहुन्छ। भविष्यवाणी गरिएझैँ उहाँले मण्डलीमा नेतृत्व लिन “वरदानको रूपमा पुरुषहरू” अर्थात् वफादार एल्डरहरू नियुक्त गर्नुभएको छ। (एफिसी ४:८-१२) परमेश्वरको बहुमूल्य बगालको हेरविचार गर्दा ती एल्डरहरूले येसु ख्रिष्टको अनुकरण गर्दै न्यायलाई बढावा दिन्छन्। येसु आफ्ना अनुयायीहरूसित तिनीहरूको ओहदा, प्रतिष्ठा वा आर्थिक अवस्थाको आधारमा नभई न्यायपूर्ण तरिकामा व्यवहार गरिएको चाहनुहुन्छ भन्ने कुरा ती एल्डरहरू सधैँ मनमा राख्छन्।
२२. संसारमा अन्याय व्याप्त भएको देख्दा यहोवालाई कस्तो लाग्छ र उहाँले आफ्नो छोरालाई कुन कामको लागि नियुक्त गर्नुभएको छ?
२२ येसुले अब चाँडै यस पृथ्वीमा पहिला कहिल्यै नगरिएको तरिकामा न्याय कायम गर्नुहुनेछ। अहिलेको यस भ्रष्ट संसारमा अन्याय व्याप्त छ। एकातर्फ मानिसहरू युद्धको लागि हातहतियार बनाउन अनि सुखसयलका सरसामान जुटाउन पैसाको खोला बगाउँछन् र त्यसमै समय खेर फाल्छन्। अर्कोतर्फ अनिकालले गर्दा थुप्रै केटाकेटीले भोकभोकै ज्यान गुमाइरहेका छन्। तर यो त संसारमा भइरहेको घोर अन्यायको एउटा सानो उदाहरण मात्र हो र यसलाई कहिल्यै माफी दिन सकिँदैन। यहोवाले अन्यायलाई सधैँभरि सहनुहुनेछैन बरु अब चाँडै उहाँको रिस दन्कनेछ। उहाँले यस दुष्ट संसारविरुद्ध युद्ध गरेर सम्पूर्ण अन्याय-अत्याचार हटाउन आफ्नो छोरालाई नियुक्त गर्नुभएको छ।—प्रकाश १६:१४, १६; १९:११-१५.
२३. आरमागेडोनपछि पनि येसुले कसरी न्याय कायम गर्नुहुनेछ?
२३ तर यहोवाले गर्नुहुने न्यायको अर्थ दुष्टहरूको विनाश मात्र त होइन। बरु उहाँले आफ्नो छोरालाई “शान्तिका राजकुमार”-को रूपमा शासन गर्न पनि नियुक्त गर्नुभएको छ। आरमागेडोनको लडाइँपछि येसुले संसारभरि शान्ति स्थापना गर्नुहुनेछ र उहाँले “न्यायसाथ शासन” गर्नुहुनेछ। (यसैया ९:६, ७) त्यसपछि उहाँले संसारबाट सम्पूर्ण अन्याय-अत्याचार हटाउनुहुनेछ, जसले गर्दा अहिले मानिसहरूले दुःख र विपत्ति भोगिरहेका छन्। यसरी उहाँले सदाको लागि वफादार हुँदै यहोवाको सिद्ध न्यायलाई उच्च पारिरहनुहुनेछ। त्यसैले हामीले पनि अहिले नै यहोवाको न्यायको अनुकरण गर्न सिक्नु आवश्यक छ। हामी कसरी त्यसो गर्न सक्छौँ, त्यसबारे अर्को अध्यायमा छलफल गर्नेछौँ।
a धार्मिकताको लागि रिसाउने सन्दर्भमा येसु यहोवाजस्तै हुनुहुन्छ किनकि यहोवा पनि हरेक किसिमको दुष्टताविरुद्ध आफ्नो “रिस प्रकट गर्न तयार हुनुहुन्छ।” (नहुम १:२) उदाहरणको लागि, यहोवादेखि तर्केर गएका इस्राएलीहरूले उहाँको भवनलाई “डाँकुहरूको ओडार” बनाएका छन् भनेर बताउनुभएपछि उहाँले यसो भन्नुभयो: “मेरो रिस र क्रोध यो ठाउँमा खनिनेछ।”—यर्मिया ७:११, २०.
b मिस्नाहअनुसार (यहुदीहरूको लिखित नियम र परम्पराको सङ्ग्रह) यस घटनाको केही वर्षपछि मन्दिरमा ढुकुरहरू असाध्यै महँगो दाममा बेचिएको कुरालाई लिएर मानिसहरू विद्रोहमा उत्रिए। त्यस विद्रोहपछि ढुकुरको दाम झन्डै ९९ प्रतिशतले घटाइयो। यस्तो मुनाफादायी व्यापारबाट कसलाई सबैभन्दा धेरै फाइदा भइरहेको थियो? केही इतिहासकारअनुसार मन्दिरका बजारहरू प्रधानपुजारी हन्नासको घरानाको हातमा थियो। यस्तो व्यापारबाट हन्नासको पुजारी परिवारले अकुत धन कमाएको थियो।—युहन्ना १८:१३.
c फरिसीहरूले व्यवस्थाको ज्ञान नभएका अन्यजातिहरूलाई तुच्छ नजरले हेर्थे र तिनीहरूलाई “श्रापित” भन्थे। (युहन्ना ७:४९) उनीहरू त्यस्ता मानिसहरूलाई सिकाउनु हुँदैन, तिनीहरूसित लेनदेन गर्नु हुँदैन र तिनीहरूसँगै बसेर खानु वा प्रार्थना गर्नु हुँदैन भन्ने गर्थे। उनीहरू आफ्नी छोरीको विवाह अन्यजातिसित गराइदिनु भनेको उसलाई जङ्गली जनावरहरूको बीचमा लगेर छोडिदिनुभन्दा पनि खतरनाक कुरा हो भन्ने गर्थे। उनीहरू त्यस्ता मानिसहरूसित फेरि जीवित हुने आशा छैन समेत भन्थे।